एकै खोलामा ८ विद्युत् आयोजना

विप्लव भट्टराई

इलाम — पूर्वाञ्चलको विद्युत् अभाव टार्न उल्लेख्य भूमिका खेलेको इलामको एउटै खोलामा आठवटा विद्युत् आयोजना सञ्चालित छन् ।

एकै खोलामा ८ विद्युत् आयोजना

सिंगो जिल्लालाई दुई भागमा विभाजन गरेर बग्ने माईखोलामा पाँचवटा योजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन भइरहेको छ । तीनवटा आयोजना निर्माण क्रममा छन् ।

यी आयोजनाहरूले ८० दशमलव ७ मेगावाट विद्युत् उत्पादन गरिरहेका छन् । यसमा ठूलो हिस्सा माईखोलामा निर्मित आयोजनाको छ । माईखोलामै १६ दशमलव ८ मेगावाट क्षमताका २ आयोजना निर्माणका क्रममा छन् । काबेली करिडोरको सुनिश्चिताताले पनि यहाँ जलविद्युत् आयोजना निर्माण हुने क्रम बढेको हो । सबै आयोजनाले आफ्नो उत्पादन गोदकस्थित करिडोरको सबस्टेसनमा जोडेका छन् ।

दशकबीचमै धेरै आयोजना निर्माण भएका हुन् । दोस्रो ठूलो आयोजनाका रूपमा हिमाल दोलखाले गोदकमा ४ दशमलव ५ मेगावाटको योजना सम्पन्न गरेको हो । पुवाखोला हाइड्रोपछि हिमालले दशकअघि यो आयोजना निर्माण गरेको हो । यस आयोजनासहित पुवाखोला हाइड्रोबाट आएको पानीलाई पनि प्रयोग गरी हिमाल दोलखाले अर्को अयोजना निर्माण गरेको छ । क्यानेल सिस्टमबाट पानी लगेर बनाइएको यो आयोजनाको क्षमता ८ मेगावाट छ । हालै व्यावसायिक उत्पादनमा गएको आयोजनाका दुईवटा टरर्बाइनमध्ये एउटाबाट उत्पादन भइरहेको सुपरभाइजर आकाश चौधरीले जानकारी दिए । सन्दकपुर गाउँपालिकास्थित माबु, माईमझुवा, सुलुबुङ र जमुनामा पञ्चकन्या माईहाइड्रोका दुईवटा आयोजना सम्पन्न भई विद्युत उत्पादन गरिरहेका छन् । पञ्चकन्याले १२ मेगावाटको अप्परमाई र ६ दशमलव १ मेगावाटको क्यासकेट प्रोजेक्ट सञ्चालन गरेको हो । यो आयोजनाले प्रभावित बासिन्दाका लागि ११ लाख कित्ता सेयरसमेत वितरण गरिसकेको छ ।

सानिमा माईहाइड्रोले छुट्टाछुट्टै योजनामार्फत २९ मेगावाट विद्युत् उत्पादन गरेको छ । चिसापानी, सोयक र दानाबारीमा सानिमाले २२ मेगावाटको योजना सञ्चालन गरेको छ । त्यही पानीलाई प्रयोग गर्दै दानाबारीमा ७ मेगावटको क्यासकेट आयोजनासमेत सम्पन्न भई उत्पादन थालेको छ । सानिमाले सर्वसाधारणका लागि यसअघि नै सेयर वितरणसमेत गरेको छ ।

नगरपालिकाको सुम्बेक र माईजोगमाईको सिरिसेबीचमा अर्को आयोजना निर्माणाधीन छ । सुपरमाई हाइड्रोपावरले अघिल्लो वर्ष चैतदेखि निर्माण थालेको आयोजनाको सिभिलतर्फ ५० प्रतिशत काम सकिएको छ । ७.८ मेगावाट क्षमताको यो आयोजना आउँदो दसैंसम्म निर्माण सकिने जनाएको छ । सुरुङविहीन यो आयोजनामा ३ हजार ६ सय मिटर लामो दूरीमा पेनस्टक पाइप जडान गरी विद्युत् निकालिनेछ ।

इलाम नगरपालिका र माईजोगमाईको सम्बेकबीच सगरमाथा हाइड्रोले पनि ९ मेगावाट विद्युत् आयोजना निर्माणको तयारी गरेको छ । यीबाहेक जिल्लाको जोगमाईमा ७.५ मेगावाटको जोगमाई खोला आयोजनाले विद्युत् उत्पादन गरिसकेको छ । पुवाखोलामा नेपाल विद्युत् प्राधिकरणबाहेक पुवामझुवामा जोशी हाइड्रोको ३ मेगावाट र शान्तिडाँडा र तोरीबारीबीचमा ४ दशमलव ४ मेगावाटको पुवाखोला वान आयोजनाले विद्युत् उत्पादन गर्दै आएका छन् ।

सबै आयोजनाको कुल लागत २० अर्ब रुपैयाँभन्दा धेरै छ । जिल्लामा विद्युत् आयोजना निर्माणको लहर चले पनि सम्झौताअनुसार खोलामा पानी नछोडिँदा समस्या देखिएको छ । सुक्खायाममा अधिकांश पानी आयोजनाले प्रयोग गर्दा त्यहाँको जैविक विविधता र सिँचाइमा समस्या हुने गरेको स्थानीयको भनाइ छ । कुनै बेला शव पखाल्ने पानीसमेत आयोजनाले नछाडेको उनीहरूको गुनासो छ । केही आयोजनाले खोलामा पानी आवश्यक पर्दा आयोजनाले फोनको भरमा पानी छाड्ने गरेको छ ।

सडक विस्तारसँगै विभिन्न सामाजिक कार्यका लागि पनि आयोजनाहरूले सघाएका कारण स्थानीय लाभान्वित भएका छन् ।

इलामका जलविद्युत् आयोजना
पुवाखोला : ६.२ मेगावाट नेपाल विद्युत् प्राधिकरण इनपा (सम्पन्न)
सानिमा : २२ मेगावाट सानिमा माई हाइड्रो चिसापानी, गोदक दानाबारी, सोयाक (सम्पन्न)
सानिमा क्यासकेट : ७ मेगावाट सानिमा माई हाइड्रो चिसापानी, गोदक दानाबारी, सोयाक (सम्पन्न)
अप्परमाई : १२ मेगावाट पञ्चकन्या माई हाइड्रो माबु, माईममझुवा, सुलुबुङ, जमना (सम्पन्न)
अप्परमाई क्यासकेट : ६.१ मेगावाट पञ्चकन्या माई हाइड्रो मावु, माईममझुवा, सुलुबुङ, जमना (सम्पन्न)
साना माईखोला : ४.५ मेगावाट हिमाल दोलखा गोदक (सम्पन्न)
जोगमाई : ७.५ मेगावाट जोगमाई खोला साना जलविद्युत् फिक्कल, नयाँबजार, नाम्सालिङ (सम्पन्न)
पुवाखोला १ : ४.४ मेगावाट जोशी हाइड्रो पावर इनपा (सम्पन्न)
माथिल्लो माईखोला : ३ मेगावाट जोशी हाइड्रो पावर पुवामझुवा (सम्पन्न)
माईखोला : ८ मेगावाट (सम्पन्न) हिमाल दोलखा गोदक (सम्पन्न)
सुपरमाई : ७.८ मेगावाट सुपरमाई हाइड्रो पावर सुम्बेक, बरबोटे, सोयाङ (निर्माणाधीन)
सगरमाथा हाइड्रो : ९ मेगावाट सगरमाथा हाइड्रो बरबोटे, सोयाङ (निर्माणाधीन)

प्रकाशित : चैत्र २४, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?