१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फस्टाउँदो गुराँस पर्यटन

चन्द्र कार्की

तेह्रथुम — म त लाली गुराँस भएछु
वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु...
साहित्यकार क्षेत्रप्रताप अधिकारीका शब्दमा स्वर सम्राट् नारायण गोपालले गीतमा भनेझैं पूर्वी पहाडको वसन्तपुरदेखि मिल्के भञ्ज्याङसम्मका लेकाली वन पाखाहरू यतीबेला राताम्मै छन् ।

फस्टाउँदो गुराँस पर्यटन

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्र थरीथरीका गुराँस फूलले फेरि पनि पर्यटक तान्ने अभियानमा छ । रंगीबिरंगी रूपमा जंगलभरि फुल्ने गुराँसले यो क्षेत्रको सौन्दर्यलाई उजिल्याएको छ ।

यी तीन जिल्लाको संगमस्थल टीएमजे अर्थात गुराँसको राजधानी । नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये यस क्षेत्रमा २८ प्रजातिका गुराँस आफ्ना रहर लाग्दा बैंस देखाउँदै तँछाडमछाड गर्दै फुल्ने तयारीमा छन् । गुराँसले मात्र होइन, पोखरी, सुन्दर ग्रामीण पहाडी बस्ती, मकालु र कञ्चनजंघा हिमशृंखला, एउटै उचाइको रमणीय पदमार्गलगायतले यो क्षेत्र यतिबेला उज्यालो भविष्यतर्फ लम्किरहेको छ । ‘अबको केही दिनपछि पूरै जंगल गुराँस फूलले राताम्मै देखिन थाल्छ,’ चौकी बजारमा रहेको लालीगुराँस होटलका सञ्चालक उदयकुमार लोले भने ।


वसन्तपुरबाट थोरै अगाडि बढेर टुटेदेउराली नपुग्दै मनोरम गुराँसको जंगलले स्वागत गर्छ । मकालु र कञ्चनजंघा हिमालको आधार शिविरलाई गन्तव्य बनाउने र अरुण र तमोर नदीको छालमा र्‍याफटिङ गरी आनन्द लिनेहरूलाई लोभ्याउन सक्ने प्राकृतिक सौन्दर्य पनि यो क्षेत्रसँग छ । वर्षको आठ महिना कुमारी रहने यो क्षेत्र गुराँस फूलकै कारण आन्तरिक तथा बाहय पर्यटकको मुख्य रोजाइमा पर्ने गर्छ । भारतको विहार र दार्जिलिङबाट नजिकको दूरीमा रहेको यो क्षेत्रमा त्यहाँका सौन्दर्यप्रेमीको ओहोरदोहोर केही वर्षदेखि चलिरहेको छ । स्थानीय बासिन्दामा गुराँस पर्यटनको अर्को ढोका पनि खुलेको छ ।

जति हेरे पनि नअघाउने विविधता बोकेको गुराँसको सौन्दर्यमा रमाउन आएका आन्तरिक तथा बाहय पर्यटकले तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको गुफा बजारसम्मका होटल तथा लजहरू भरिन थालेका छन् । वनभरि बैंस फक्राएर फुल्ने रंगीचंगी गुराँस, बाटाभरि भेटिने चौरी र खच्चडको लस्कर, ठटेउली पारामा गीत गाउँदै पिठयुँभरि भारी बोकेर हिँडडरहेका भरिया, ठाउँठाउँमा देखिने नागी र पोखरीहरू पर्यटकको मन लोभ्याउने थप आकर्षणहरू हुन् । वसन्तपुरमा सवारी साधन छोडेर उकालो लागेकाहरूको पदयात्राभर शुद्ध कोदोको तोङ्वा र सुकुटीको खान्की बिर्सी नसक्नुको हुन्छ । छुर्पी, गुराँसको जुस र ऐंसेलु र चुथ्रोको वाइन यस क्षेत्रका चाख्नैपर्ने खान्की हुन् । गुराँस संरक्षणको अभियानमा लागेका प्रदेश सभासदसमेत रहेका राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समितिका संयोजक लक्ष्मण तिवारी यो क्षेत्र विश्वभरिका पर्यटकका लागि गुराँस अध्ययन अवलोकन र सौन्दर्यका लागि पहिलो गन्तव्य बनेको बताउँछन् ।

काठमाडौंबाट ३५ मिनेटको हवाई यात्रापछि विराटनगर आइपुगिन्छ । यहाँबाट चार घण्टाको सवारी साधनको यात्रापछि गुराँसे वनको प्रवेशद्वार वसन्तपुर पुगिन्छ । यहाँबाट सुरु हुने टीएमजेमा २ सयभन्दा बढी प्रजातिका वनस्पतिहरू पाइन्छन् । तँछाडमछाड गर्दै फुलेका प्राकृतिक गुराँस वनले पदयात्रा अवधिभर स्वागत गरिरहेझैं लाग्छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङका २३ गाविस क्षेत्रफलको अरुण र तमोर जलाधार क्षेत्रमा पर्ने टीएमजेमा गुराँसको सबैभन्दा अग्लो र होचो प्रजातिसमेत फुल्न थालेका छन् ।

यस क्षेत्रको गुराँस संरक्षणमा केही वर्षअघिसम्म सहयोग गरिरहेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) का अनुसार टीएमजे क्षेत्रमा ८० हजार जनसंख्या बस्छ । यस क्षेत्रमा गुराँसका रैथाने र नयाँ प्रजाति पनि भेटिने क्रम जारी रहेको आईयूसीएनले सार्वजनिक गरेको एक तथ्यांकमा उल्लेख छ । १ हजार ५ सयदेखि ५ हजार ५ सय मिटर उचाइमा फैलिएको यो क्षेत्र जैविक तथा सांस्कृतिक विविधता, प्राकृतिक स्रोत र सौन्दर्यको हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण छ ।

वनैभरि फुलेका विविध प्रजातिका रंगीबिरंगी गुराँस, सेताम्मे हिउँ, पदमार्गभरि भेटिने भारी बोकेका चौरी र खच्चडका लावालस्कर, मनोरम गुफापोखरी, स्विटजरल्यान्डको झझल्को दिने चौकी बजार, एसियाकै लामो हयात्रुङ झरना, जलजला पोखरी, लामपोखरी, रातपोखरी, पाँचपोखरी, चिचिलिङ पोखरी, विभिन्न गुफा अनि उच्च स्थानमा रहेका ताल तथा नागी र विभिन्न जातजातिको साझा सांस्कृतिक रहनसहनले पनि यस क्षेत्रमा आएका पर्यटकको मन जित्ने गरेको गुफा बजारबासी मकालु होटलका सञ्चालक हरि खनालले बताए ।

गुराँस भूमि भएर पदयात्रा गर्नेहरूका लागि यो रुटमा रहेका वसन्तपुर, टुटेदेउराली, घुर्मिसे, पाँचपोखरी, चौकी, लामपोखरी, मंगलबारे, श्रीमाने, गुफा बजारलगायत स्थानमा बसोबास गर्ने विभिन्न जातजातिका पञ्चेबाजा, बालन नाच, गुरुङ नाच, संगीनी नाच, शेर्पा नाच, धान नाच, च्याब्रुङ नाच, लामा नाच तथा भजनकिर्तनको मनोरञ्जनले गर्दा पर्यटकहरू आफ्नो बसाइ अवधि अरू केही दिन लम्ब्याउँछन् ।

मानव चाप कम रहेको यस क्षेत्रमा पुग्ने जोकोही आफ्नो बसाइ अवधि मनोरम गुराँस वनमा बिताउन लालायित हुन्छन् । सवारी साधनको यात्रालाई केही दिनका लागि चटक्कै छोडेर प्राकृतिक गुराँस वनको भ्रमणमा निस्किएकाहरू रमणीय गुराँस वनको सौन्दर्यमा केही समय भए पनि हराउँछन् । पर्यटन विकास तथा प्रवद्र्धन समिति अध्यक्ष गोविन्द ढुंगाना यहाँको गुराँस वन संरक्षण गर्न सके पर्यापर्यटनको राम्रो सम्भावना रहेको बताउँछन् ।

टीएमजे क्षेत्रको भ्रमणमा आउने पर्यटकले गुराँसको सौन्र्दय लिनेदेखि फूलबाट उत्पादन गरिएको जुस र वाइनको स्वादसमेत चाख्न पाउँछन् । यस क्षेत्रमा यात्रा गर्दा एउटै उचाइका रमणीय पहाड भएर यात्रा गर्नुपर्ने भएकाले उचाइ परिवर्तनका कारण उत्पन्न हुने हाइअल्टिच्युडको समस्या हुँदैन । टीएमजे क्षेत्रमा फुलेका यी गुराँसहरू आफ्ना रहर लाग्दा बंैस देखाइरहेका छन् । जसको अन्त्य कहाँ छ, सामान्य रूपमा छुटयाउन सकिँदैन । उन्मत्त बैंसले मात्तिएजस्तै देखिने यी गुराँस फूलले यो क्षेत्र र वरपरको वातावरणलाई कुत्कुत्याइरहेको छ । गुराँस वनको यात्रामा निस्कनेहरूका लागि वसन्तपुरदेखि मिल्के भञ्ज्याङसम्मको पदमार्गमा होटल तथा लजहरू खुलेका छन् ।

संरक्षणमा लाग्दा लाग्दै सांसद
तेह्रथुम वसन्तपुरका लक्ष्मण तिवारीको बाल्यकालको गुराँस जोगाउने सपना २६ वर्षसम्म पनि पूरा त भएको छैन तर उनी जोगाउने अभियानमा भने निरन्तर लागिरहेका छन् । यही अभियानको नेतृत्व गर्दा गर्दै गत असारमा सम्पन्न प्रदेशसभा सदस्यमा उनी तेह्रथुमबाट निर्वाचित भए । टीएमजे क्षेत्रलाई १ नम्बर प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बनाउने मुद्दालाई तिवारीले प्रदेशसभा बैठकमा उठाउने गरेका छन् । पूर्वी पहाडका तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा फैलिएको घना गुराँस वन पातलिदै जाँदा त्यसलाई रोक्न उनले यी जिल्लामा अभियान नै सञ्चालन गरेका थिए । अहिले तिवारीले प्रदेश सरकारको ध्यानाकर्षण गराइरहेका छन् । धेरै हदसम्म गुराँस वन फँडानी रोकिएको छ । एउटा युवाले सुरु गरेको ‘गुराँस वन जोगाऔं’ अभियानका कारण अहिले यी जिल्लाका लेकाली वनपाखाहरू वर्षको ३ महिना राताम्मै हुन्छन् । जसका कारण यस क्षेत्रले देशविदेशका पर्यटक पाएको छ । आर्थिक गतिविधि बढेको छ अनि वातावरणीय सौन्दर्य मौलाएको छ ।

गुराँस भन्ने बित्तिकै धेरैको मनमा राष्ट्रिय फूल लालीगुराँसको सम्झना आउँछ । तर, गुराँसका धेरै प्रजाति नेपालकै पूर्वी पहाडमा फुल्छन् भन्ने कमैलाई मात्र थाहा हुन सक्छ । यी तीन जिल्लाको संगमस्थल (टीएमजे) क्षेत्रमा २८ प्रजातिका गुराँस तँछाडमछाड गर्दै फुल्छन् । प्राकृतिक रूपमा फुलेका यी फूलको सौन्दर्य देखाएर स्थानीयले फाइदा लिन सक्ने सपना उनले आजभन्दा २६ वर्ष अगाडि नै देखेका थिए । ‘त्यो सपना अब भने पूरा होला कि जस्तो भएको छ,’ जो कोही सँग भेट हुँदा यहाँको गुराँस सौन्दर्यबारे बताएर नथाक्ने तिवारीले भने, ‘यहाँका बासिन्दाको भविष्य गुराँससँग जोडिएको छ ।’

तिवारीले यस क्षेत्रमा पाइने २८ प्रजातिका गुराँसको संरक्षण गर्न स्थानीयलाई प्रेरित मात्र गरेनन्, गुराँसका साथै लेकाली क्षेत्रको जैविक विविधता र सिमसार क्षेत्रको संरक्षण गर्न सके तल्लो कछाड र औल क्षेत्रमा हुने पानीको अभावलाई समेत पूर्ति गर्न सकिने सोच अघि सारे ।

प्रकाशित : चैत्र २४, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?