२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

हस्तान्तरण हुन सकेन चमेलिया

मनोज बडु

दार्चुला — सरकारी लगानीबाट निर्माण भएको ७ नम्बर प्रदेशकै सबैभन्दा ठूलो चमेलिया जलविद्युत् आयोजनाको एक महिनाअघि औपचारिक उद्घाटन गरिएको भएपनि अझै हस्तान्तरण हुन सकेको छैन ।

हस्तान्तरण हुन सकेन चमेलिया

चमेलिया निर्माणमा संलग्न चिनियाँ र कोरियाली कम्पनीले कागजी प्रक्रिया मिलाउन बाँकी रहेको र निर्माणतर्फ फिनिसिङ कार्य सम्पन्न हुन केही समय लाग्ने हुँदा आयोजना नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गर्न बाँकी रहेको हो । शैल्यशिखर नगरपालिका १ बलाँचमा रहेको आयोजनाले माघको दोस्रो साताबाट व्यावसायिक उत्पादन सुरु गरेको हो । माघ २७ मा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आयोजनाको उद्घाटन गरेका हुन् ।

आयोजनाको सिभिल निर्माणमा संलग्न सीजीजीसी कम्पनी र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कार्यमा संलग्न केएनएचपी कम्पनीले आयोजना हस्तान्तरण गर्न अझै डेढ महिनाजति समय लाग्ने आयोजना प्रमुख अजयकुमार दाहालले बताए ।

नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्व रहेको चमेलिया जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि दुवै कम्पनीले हस्तान्तरण गर्नुपर्ने प्रावधान छ । ‘आधारभूत कार्यहरू सकिएपछि तत्काल विद्युत् उत्पादन सुरु गरिएको हो,’ आयोजना प्रमुख दाहालले भने, ‘केही कागजी प्रक्रिया र सामान्य कार्य पूरा हुन बाँकी छ ।’ आयोजनाको मुख्य कार्य व्यावसायिक रूपमा विद्युत् उत्पादन गरिएपछि तत्काल औपचारिक उद्घााटन गरिएको उनको भनाइ छ । सिभिलतर्फको कार्य चिनियाँ कम्पनीको जिम्मा रहेको हुनाले अहिले आयोजनास्थल बलाँचमा रहेको पावरहाउस अगाडिको आँगन कंक्रिट गर्ने काम भइरहेको छ ।

‘आयोजनाको परामर्शदाता कम्पनीले तोकेको डिजाइनअनुसारको फिनिसिङ कार्य अन्तिम चरणमा पुगेको छ,’ आयोजना प्रमुख दाहालले भने, ‘पावरहाउसभित्रै इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल कार्यको फिनिसिङ सकिएको छैन ।’ आयोजना स्थलमा निर्माण भएका संरचनाको रंगरोगन अपरेट गर्ने प्रविधि नयाँ जनशक्तिलाई सिकाइँदै छ । आयोजना प्रमुख दाहालले भने, ‘सबै उपकरण प्रयोगको अवस्थासहितको विवरण प्राधिकरणलाई बुझाएसँगै हस्तान्तरण कार्य सम्पन्न हुनेछ ।’

आयोजना निर्माणमा संलग्न दुवै कम्पनीले निर्माण कार्य सम्पन्न भएपछि सम्पूर्ण कार्यको प्रगति विवरण प्राधिकरणलाई बुझाउनुपर्ने भएकाले अहिले त्यही काममा आफू व्यस्त रहेको दाहालको भनाइ छ ।

आयोजना निर्माणमा संलग्न कोरियाली कम्पनी केएनएचपीसँगको सम्झौताअनुसार हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल कार्यमा आयोजना हस्तान्तरण भएपछि एक वर्षसम्मको अवधिमा कुनै समस्या आए कम्पनी जिम्मेवार हुन्छ । एक वर्षको डिफेक्ट लायबिलिटी पिरियड अर्थात डीएलपी हुने भएकाले यसको गणना हस्तान्तरण भएको दिनदेखि सुरु हुन्छ ।

आयोजनाको सिभिलतर्फको ठेकेदार चाइना सीजीजीसीले सन् २००७ को जनवरीदेखि काम थालनी गरेको थियो । बन्द हडताल, डिजाइन परिवर्तन, कमजोर भौगर्भिक अवस्थालगायत कारणबाट आयोजनाको निर्माण अवधि ११ वर्षसम्म लम्बिएको र लागतसमेत दोब्बरले वृद्धि हुन
पुगेको थियो ।

प्रकाशित : चैत्र १८, २०७४ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?