२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

विशाखापट्टनम बन्दरगाहको प्रयोग बढ्दो

सरकारी निकायबीच समन्वयको अभावले समस्या

नयाँ दिल्ली — भारतको आन्ध्रप्रदेशस्थित विशाखापट्टनम् बन्दरगाहलाई नेपाली व्यवसायीले प्रयोग गर्ने क्रम बढ्न थालेको छ । दिल्लीस्थित नेपाली दूतावासको तथ्यांकअनुसार गत जनवरी महिनामा मात्र एक सय सात कम्पनीले सो बन्दरगाहको प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आयात गरेका थिए । 

एक कम्पनीले औसतमा ४० कन्टेनर ल्याउने गर्छन् । दिल्लीस्थित नेपाली दूतावासका मिनिस्टर इकोनोमिक कृष्णहरि पुष्करका अनुसार पछिल्लो केही महिनायता कोलकाता बन्दरगाह मार्फत हुने आयात विशाखापट्टनमतर्फ सरेको छ । हाल दूतावासले नै सो बन्दरगाहको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको छ । सुरुका केही महिनामा सो बन्दरगाह प्रयोगमा नेपाली व्यापारीहरू उदासीन देखिएका थिए ।


बन्दरगाह प्रयोगमा वृद्धि भए पनि सरकारी निकायहरूका बीचमा पर्याप्त समन्वयको अभावले गर्दा व्यापारीहरूले समस्या भोग्नुपरिरहेको छ । विशेषगरी काठमाडौं वाणिज्य मन्त्रालय, वाणिज्य विभाग, नेपाल राष्ट्र बैंकको बीचमा समन्वयको अभाव मात्र होइन नियमित सञ्चार एवं सम्पर्कको समेत समस्या देखा पर्ने गरेको अधिकारीको भनाइ छ । ‘अनलाइन मार्फत हुने काम र सञ्चार प्रक्रियामा मन्त्रालय तथा विभागले समयमा रेस्पोन्स नगर्दा केही समस्याहरू भोगिरहेका छौं,’ एक सरकारी अधिकारीले भने ।


विशाखापट्टनम बन्दरगाहको सबै कारोबार अनलाइनको माध्यमले नै हुने गरेको छ । तर सरकारी कार्यालयहरू प्रविधिमैत्री नहुँदा समस्या हुने गरेको सरकारी अधिकारीको गुनासो रहेको छ । यति मात्र होइन, दिल्लीस्थित नेपाली दूतावासमा सोही प्रयोजनका लागि पर्याप्त जनशक्तिको पनि अभाव छ । केही साताअघि दिल्ली आउँदा परराष्ट्र सचिव शंकरदास बैरागीले छिट्टै आवश्यक जनशक्ति व्यवस्थापन गर्ने आश्वासन दिएका थिए ।


कामको चाप बढदै गएपछि विशाखापट्टनममा महावाणिज्य दूतावास स्थापनाको अनुमतिका लागि नेपालले भारतसँग औपचारिक आग्रह गरिसकेको छ । भारतीय विदेश मन्त्रालयमा करिब २ महिनाअघि आग्रह गरिएको थियो । अधिकारीहरूका अनुसार भारत सरकारले आग्रह गर्नेबित्तिकै त्यहाँ कार्यालय स्थापना गर्ने प्रक्रिया सुरु हुनेछ । उक्त बन्दरगाहमा कार्यालय नहुँदा व्यापारीहरूले केही कठिनाइ तथा प्राविधिक समस्याहरू झेलिरहेका छन् । अहिले दिल्लीस्थित नेपाली दूतावासले नै सो बन्दरगाह हेरिरहेको छ । कन्सुलेट कार्यालय आवश्यक छ/छैन भन्ने विषयमा एक वर्षपहिला एक सरकारी टोलीले नै अध्ययन थालेको थियो ।


दिल्लीस्थित इन्स्टिच्युट फर डिफेन्स एनालाइसिसका फेलो निहार नायक यो बन्दरगाहबारे नेपाली व्यापारीमा कम सूचना रहेको बताउँछन् । उनी भन्छन्, ‘कोलकाता तथा विशाखापटनम बन्दरगाहको बारेमा तुलनात्मक अध्ययन गरेर जानकारी गराउन आवश्यक देखिन्छ । आवश्यक परेमा विशाखापट्टनम बन्दरगाहको बारेमा नेपाली मिडियामा विज्ञापन नै गरेर पनि पर्याप्त जानकारी गराउन आवश्यक देखिन्छ ।’


विशाखापट्टनमका उच्च अधिकारीहरूले यो बन्दरगाहका फाइदाहरूको नेपालका व्यापारीहरूलाई पर्याप्त जानकारी गराउन वाणिज्य मन्त्रालयलाई आग्रह गरिरहेको छ । नेपालका व्यापारीले किन यो बन्दरगाह कम प्रयोग गरिरहेका छन् भनी बन्दरगाहका अधिकारीहरूले बुझ्नसमेत चाहिरहेका छन् ।


अहिले नेपालले प्रयोग गरिरहेको कोलकाता बन्दरगाहभन्दा ७५० किलोमिटर टाढा रहे पनि अन्य विभिन्न कारणले गर्दा यो बन्दरगाह नेपालका लागि उपयोगी हुने अधिकारीहरूको राय छ । सबै काम अलनाइन मार्फत नै हुने भएकाले कोलकाता बन्दरगाहभन्दा यो वढी उपयोगी हुने बताइएको छ । सो बन्दरगाह मार्फत भएको पहिलो कारोबार नै विवादमा परेपछि विशाखापट्टनम बन्दरगाहका अधिकारीहरूले सो छानबिन गरी जानकारी गराउन निरन्तर ताकेता गरिरहेका छन् । सो विशाखापट्टनम मार्फत एक नेपाली व्यापारीले सामान छुटाई भारतमा नै सामान बेचेका थिए ।

प्रकाशित : माघ २८, २०७४ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?