अवैध धन नियन्त्रण गर्नुपर्छ : अर्थविद्- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

अवैध धन नियन्त्रण गर्नुपर्छ : अर्थविद्

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थविद्हरूले अवैध धनलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘देश विकासका कुराहरूलाई ध्यानमा राखेर अन्डरग्राउन्ड मनीलाई सर्फेसमा आउन दिने, त्यसलाई लिगलाइज हुन दिने, शुद्धीकरण हुने बाटो दिने र सरकारले त्यसबापत कर लिने’ अभिव्यक्ति दिएको भोलिपल्ट अर्थविद्हरूले नियन्त्रण गर्नुपर्ने बताएका हुन् । 

योजना आयोगका पूर्वउपाध्यक्षद्वय शंकर शर्मा, दीपेन्द्रबहादुर क्षेत्री र पूर्वसदस्य डिल्लीराज खनालले रिपोर्टर्स क्लब नेपालमा मंगलबार यस्तो धारणा राखेका हुन् । ‘इल्लिगल मनीलाई प्रोत्साहन गर्न थालियो भने राजनीतिज्ञहरूले छुट पाउँछन्, ब्युरोक्रेटहरूले छुट पाउँछन्, गुन्डागर्दी र धम्क्याएर आर्जन गरेको पैसा पनि लिगल बनाउने क्रम सुरु हुन्छ, त्यसैले यस्तो काम कहिल्यै पनि गर्नुु हुँदैन,’ शर्माले भने ।

निश्चित समय अवधिका लागि सरकारले आम्दानीको स्वयं घोषणा गरी अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रणमा लिन सकिने अर्थविद्हरूको धारणा छ । पूर्वगभर्नर एवम् राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष क्षेत्रीले अनौपचारिक अर्थलाई औपचारिक बनाउन सरकारले गम्भीर पहल लिनुपर्ने धारणा राखे । ‘परम्परागत रूपमा नेपालमा ७० प्रतिशत अर्थतन्त्र अनौपचारिक छ, यसका लागि एउटा बाटो खोल्नुपर्छ, यदि ओलीले त्यो हिसाबले भनेको हो भने यो स्वागतयोग्य कुरा हो,’ उनले भने । ओलीले आम्दानीको स्वयं घोषणाबारेमा चर्चा नै गरेका थिएनन् ।

क्षेत्रीले पूर्वअर्थमन्त्री कृष्णबहादुर महराले नेपालमा ५० प्रतिशत अनौपचारिक अर्थतन्त्र रहेको भनेर सार्वजनिक अभिव्यक्ति दिएको कुरा ‘अन रेकर्ड’ रहेकाले अहिले सत्य सावित हुँदै गरेको सुनाए । ‘५० प्रतिशत मात्रै होइन अझै बढी नै छ जस्तो लाग्छ,’ उनले भने । अर्का अर्थविद् खनालले अवैध धनलाई वैध गर्ने कुरालाई समान्तर अर्थतन्त्रको संज्ञा दिँदै पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने बताए । ‘कर छलेर आर्जन गरेको अवैध धनलाई वैध बनाउने काम गर्नु हुँदैन, यसलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्छ,’ उनले भने ।

ओलीले सोमबार सार्वजनिक गरेको धारणालाई लिएर अर्थविद्हरूले अवैध धनलाई नियन्त्रणमा

लिनुपर्ने बताएका हुन् । ओलीले अवैध धनलाई शुद्धीकरण हुन दिनुपर्ने धारणा राखेका थिए । हालको व्यवस्थाअनुसार ‘अन्डरग्राउन्ड मनी’ (अवैध धन) बाहिर निस्कन नसकेको भन्दै शुद्धीकरण हुन दिनुपर्ने धारणा राखेका हुन् ।

नेपाल चेम्बर अफ कमर्सको ६७ औं वार्षिक साधारणसभाबाट निर्वाचित पदाधिकारीलाई पार्टी कार्यालय धुम्बाराहीमा सोमबार स्वागत गर्दै उनले भने, ‘देश विकासका कुराहरूलाई ध्यानमा राखेर अन्डरग्राउन्ड मनीलाई सर्फेसमा आउन दिने, त्यसलाई लिगलाइज हुन दिने, शुद्धीकरण हुने बाटो दिने र सरकारले त्यसबापत कर लिने गर्नुपर्छ ।’ उनको यो अभिव्यक्तिबारे सामाजिक सञ्जालहरूमा व्यापक आलोचना भएको छ ।

प्रकाशित : माघ १७, २०७४ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्

संस्थानले धान खरिद नगर्दा किसान मर्कामा

बढी उत्पादन हुने धानको मूल्य नै संस्थानले निर्धारण गरेको छैन
खरिद नगर्दा किसानले बिचौलियालाई सस्तोमा बेच्न बाध्य
कमल पन्थी

गुलरिया — खाद्य संस्थानअन्तर्गत आधुनिक कारखाना राजापुरले धान खरिद नगर्दा किसान मर्कामा परेका छन् । यस क्षेत्रमा बढी उत्पादन हुने धानको मूल्य संस्थानले निर्धारण नगर्दा किसानले बेच्न नपाएका हुन् ।

संस्थानले दुई महिनाअघि मोटो धानको समर्थन मूल्य कायम गरेको थियो । राजापुरमा उत्पादन हुने धानमध्ये मोटो र मसिनो २० प्रतिशत जति मात्रै उत्पादन हुन्छ । यस क्षेत्रमा ८० प्रतिशत उत्पादन हुने मकवानपुरे धानको हालसम्म मूल्य नतोक्दा किसानले संस्थानलाई बेच्न पाएका छैनन् । उनीहरूले घरखर्च चलाउन र ऋण तिर्न बिचौलियालाई सस्तोमा बिक्री गर्न बाध्य छन् ।
संस्थाको यस वर्ष मोटो धान खरिद लक्ष्य ३० हजार क्विन्टल छ । मोटो धानकै उत्पादन कम भएकाले धान खरिद न्यून भएको संस्थानले जनाएको छ । संस्थानको लापरबाहीले मकवानपुर धान खरिद प्रक्रिया नभएको स्थानीय किसान वीरबल थारूले बताए । हरेक वर्ष यो धान खरिद गर्दै आएको संस्थानले यस वर्ष मोटो धानको समर्थन मूल्य कायम गरेको हो । उद्योग वाणिज्य संघ राजापुरका पूर्वअध्यक्ष रामकुमार वैश्यले संस्थान प्रमुखको हेलचेक््रयाइँले किसान सस्तो मूल्यमा व्यवसायीलाई धान बेच्न बाध्य भएको आरोप लगाए । संस्थानले मोटो धान प्रतिक्विन्टल २ हजार तोकेको छ । ‘व्यक्तिगत फाइदाका कारण संस्थानले ढिलो मूल्य कायम गरेको छ,’ उनले भने, ‘किसानले धान व्यापारीलाई बेचेपछि व्यवसायीसँग महँगोमा खरिद गर्ने गरेका छन् ।’
राजापुर क्षेत्रका किसानको धान खरिद गर्ने उद्देश्यले ०४४ सालमा जापान सरकारको सहयोगमा खाद्य संस्थानले आधुनिक धानचामल कारखाना निर्माण गरेको थियो । यस वर्ष लक्ष्य पूरा गर्न संस्थानले छिमेकी जिल्ला कैलालीबाट धान खरिद गरिरहेको छ ।
संस्थानका प्रमुख भोजराज पाण्डेले कैलालीबाट धान खरिद भइरहेको जनाए । केन्द्रले मकवानपुर र मसिनो धानको मूल्य कायम नगरेकाले मोटो खरिद गरिएको उनको भनाइ छ ।

प्रकाशित : माघ १७, २०७४ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×