२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

संस्थानले धान खरिद नगर्दा किसान मर्कामा

बढी उत्पादन हुने धानको मूल्य नै संस्थानले निर्धारण गरेको छैन
खरिद नगर्दा किसानले बिचौलियालाई सस्तोमा बेच्न बाध्य
कमल पन्थी

गुलरिया — खाद्य संस्थानअन्तर्गत आधुनिक कारखाना राजापुरले धान खरिद नगर्दा किसान मर्कामा परेका छन् । यस क्षेत्रमा बढी उत्पादन हुने धानको मूल्य संस्थानले निर्धारण नगर्दा किसानले बेच्न नपाएका हुन् ।

संस्थानले दुई महिनाअघि मोटो धानको समर्थन मूल्य कायम गरेको थियो । राजापुरमा उत्पादन हुने धानमध्ये मोटो र मसिनो २० प्रतिशत जति मात्रै उत्पादन हुन्छ । यस क्षेत्रमा ८० प्रतिशत उत्पादन हुने मकवानपुरे धानको हालसम्म मूल्य नतोक्दा किसानले संस्थानलाई बेच्न पाएका छैनन् । उनीहरूले घरखर्च चलाउन र ऋण तिर्न बिचौलियालाई सस्तोमा बिक्री गर्न बाध्य छन् ।

संस्थाको यस वर्ष मोटो धान खरिद लक्ष्य ३० हजार क्विन्टल छ । मोटो धानकै उत्पादन कम भएकाले धान खरिद न्यून भएको संस्थानले जनाएको छ । संस्थानको लापरबाहीले मकवानपुर धान खरिद प्रक्रिया नभएको स्थानीय किसान वीरबल थारूले बताए । हरेक वर्ष यो धान खरिद गर्दै आएको संस्थानले यस वर्ष मोटो धानको समर्थन मूल्य कायम गरेको हो । उद्योग वाणिज्य संघ राजापुरका पूर्वअध्यक्ष रामकुमार वैश्यले संस्थान प्रमुखको हेलचेक््रयाइँले किसान सस्तो मूल्यमा व्यवसायीलाई धान बेच्न बाध्य भएको आरोप लगाए । संस्थानले मोटो धान प्रतिक्विन्टल २ हजार तोकेको छ । ‘व्यक्तिगत फाइदाका कारण संस्थानले ढिलो मूल्य कायम गरेको छ,’ उनले भने, ‘किसानले धान व्यापारीलाई बेचेपछि व्यवसायीसँग महँगोमा खरिद गर्ने गरेका छन् ।’

राजापुर क्षेत्रका किसानको धान खरिद गर्ने उद्देश्यले ०४४ सालमा जापान सरकारको सहयोगमा खाद्य संस्थानले आधुनिक धानचामल कारखाना निर्माण गरेको थियो । यस वर्ष लक्ष्य पूरा गर्न संस्थानले छिमेकी जिल्ला कैलालीबाट धान खरिद गरिरहेको छ ।

संस्थानका प्रमुख भोजराज पाण्डेले कैलालीबाट धान खरिद भइरहेको जनाए । केन्द्रले मकवानपुर र मसिनो धानको मूल्य कायम नगरेकाले मोटो खरिद गरिएको उनको भनाइ छ ।

प्रकाशित : माघ १७, २०७४ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?