चियालाई प्रशोधन र बजार अभाव

विद्या राई

छिनामखु (भोजपुर) — चियाको उत्पादन सुरु भए पनि प्रशोधन तथा बजारीकरणका लागि आवश्यक पूर्वाधार अभावले बगानमै बेवारिसे अवस्थामा छन् । पातबाट चिया बनाउन 
सकिने अवस्था आइसक्दा पनि कृषकले प्रशोधन गर्ने ठाउँ पाएका छैनन् ।

कतिपय बगानका चियाबोट झाँगिएर ठूल्ठूला भइसकेका छन् । कृषकले डाला काटेर फालिदिने गरेका छन् । डेढ दशकअघि करोडौंको लगानीमा विस्तार गरिएका चियाखेती अचेल बालुवामा पानी खन्याएसरह भएको कृषकहरूको गुनासो छ ।


टेम्केमैयुङ ३ छिनामखुस्थित सावित्री थुलुङको सात सय रोपनी क्षेत्रफलमा लगाएको चिया बगानमै खेर गएको छ । उनका पति सहदेव थुलुङ हुँदै १५ वर्षअघिदेखि गाउँमा चियाखेती थालेका थिए । आफ्नो तथा छिमेकीको जग्गा किनेर आधुनिक खेती गर्ने लक्ष्यले कृषिकर्म सुरु गरेका थिए ।


उनीहरूले आसाम, दार्जिलिङ, धनकुटाबाट चियाको डाला ल्याएर खेती गरेका थिए । जतिबेला भोजपुर सडक सञ्जालमा जोडिएको थिएन । ‘पौने तीन करोड लगानी थियो,’ सावित्री भन्छिन्, ‘अहिले मध्यपहाडी राजमार्ग गाउँमा जोडिएको छ तर प्रशोधन गर्ने पूर्वाधार, बजारको अभावले गर्दा चिया बगानमै झाँगिएर गएको छ,’ उनले थपिन् । उनले पाँच/छ वर्षअघि हातेचियासमेत उत्पादन गर्न थालेका थिए । बजार नपाएपछि बीचैमा बन्द गरेका थिए । गाउँमा चियाखेतीको अभियन्ता सहदेवको ९ वर्षअघि गाडी दुर्घटनामा निधन भएको थियो ।


सहदेवकै बाटो पहिल्याएका हिन्दुराज बस्नेतको समस्या उस्तै छ । ५० रोपनीमा लगाएको चियाले उत्पादन दिन थालेको वर्षौं भइसक्यो । न प्रशोधन गर्ने ठाउँ छ न बजार छ । उनी केही वर्षअघि हातेचिया बनाउँथे । त्यसबाट लगानी नै नउठेपछि बीचैमा छाडे । गोडमेल र कटिङ गर्नसमेत छाडिदिएका छन् । बोट झाँगिएर जंगल भएका छन् । ‘आँखै अगाडि झाँगिएका बोट देख्दा मन कुडिन्छ नि, के गर्नु ठाउँ नपाएपछि,’ उनले भने । ६ वर्षअघि विस्तार गरेको चियाखेतीका लागि उनको १५ लाख खर्च भएको थियो । हालसम्म एक रुपैयाँ आम्दानी लिन सकेका छैनन् ।


‘राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा पुगे, बोर्डले जिल्ला कृषिमा पठायो, जिल्ला कृषिमा गए, स्थानीय तह देखाए, स्थानीय तहहरू आफैंमा अन्योल भएर बसेका छन्, हाम्रा कुरा कसरी सम्बोधन हुन्छ र खोई,’ बस्नेतले असन्तुष्टि पोखे । ५० रोपनीमा उत्पादन दिँदै आएको पदमप्रसाद राईको चिया बगानको पनि उही हालत छ ।


छिमेकीहरू फुर्वा शेर्पाले २८ रोपनीमा तथा शेरबहादुर बस्नेतले दुई रोपनीमा लगाएको चियाखेती बेवारिसे भएका छन् । ‘सरकारले घरैमा न रोजगारको सुविधा दिन सकेको छ न त व्यक्तिले थालेको लगानी उकास्न सघाएको छ,’ स्थानीय शिवजी राईले आक्रोशित हुँदै भने ।

यस सन्दर्भमा टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राई भन्छन्, ‘अहिलेसम्म यस्ता समस्या लिएर कृषक नआएका कारण थाहा थिएन, भर्खरै थाहा हुँदै छ, गाउँपालिकाले गर्न सक्ने व्यवस्थापनका लागि आगामी कार्यक्रममा समेट्नेछांै, कृषकहरू उत्साहित भएर आउनुपर्‍यो ।’

प्रकाशित : माघ ५, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?