कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कृषकले पाएनन् भटमासको मूल्य

खगेन्द्र अवस्थी

बैतडी — बैतडीको दोगडाकेदार गाउँपालिका २ का अर्जुनसिंह कुँवर हरेक वर्ष ४/५ क्विन्टल भटमास बेच्छन् । पाँच वर्षयता उनले उत्पादन गरेको भटमासको मूल्य बढेको छैन । ०६८ मा ४८ रुपैयाँ किलोमा बिक्री गरेका कुँवरले ४ वर्षदेखि ५० का दरमा बेच्दै आएका छन् । 

कृषकले पाएनन् भटमासको मूल्य

थोक बिक्रेताले मूल्य कम तोक्दा कृषकले भटमासको मूल्य नपाएका हुन । ५/६ वर्षयता ५० रुपैयाँ किलोमा खरिद हुँदै आएको छ । चामल, गहुँलगायत अन्य खाद्यान्न र दालबालीको मूल्य बढे पनि भटमासले मूल्य नपाएको कृषकहरूको गुनासो छ । कात्तिकदेखि पुससम्म भटमास बिक्री हुने सिजन हो । बैतडीका प्राय: सबै गाउँमा उत्पादन हुने भटमास स्थानीय व्यापारीले थोक बिक्रेताले तोकेको मूल्यअनुसार खरिद गर्छन् । पछिल्ला वर्ष सिजनअगावै दलालहरू गाउँ पसेर भटमासको बुकिङ गर्दै आएका छन् । पछि मूल्य झन् घट्ने हल्ला फैलाएर सुरुमै सस्तोमा खरिद गराउने स्थानीय व्यापारीहरू बताउँछन् । ‘बजारमा मूल्य अझै घट्ने हल्ला फैलाउँछन्, भाउ घट्ने डरले हतार गरेर बेच्छौं,’ कुँवरले भने, ‘अन्य दाल किलो सय घटी छैन, धेरै वस्तु बन्ने भटमासको भाउ उस्तै छ ।’


स्थानीय ब्यापारीबाट धनगढीका थोक व्यापारीले खरिद गर्छन् । थोक बिक्रेताले मूल्य कम तोक्दा कृषकबाट सस्तोमा खरिद हुँदै आएको हो । सामान्य किनबेच हुने भटमासको ०५४/५५ यता व्यापार बढेको हो । सुरुका वर्षमा १८/२० रुपैयाँ प्रतिकिलोमा खरिद भएको व्यापारीहरू बताउँछन् । मोटो चामलको मूल्य १६ रुपैयाँ किलो हुँदा भटमास २० रुपैयाँमा बिक्री भएको थियो । सुरुका वर्ष स्थानीय व्यापारीले कृषकलाई चामलसित भटमास साट्दै आएका थिए । ५ वर्षदेखि धनगढीका व्यापारीले एउटै भाउ राखेको स्थानीय व्यापारीले बताए । ‘गत वर्ष ५० मा खरिद गरेर ५२ मा बेचेका थियौं,’ डिलासैनी गाउँपालिका ६ गोकुलेश्वरका व्यापारी नरबहादुर भण्डारीले भने, ‘धनगढीका थोक व्यापारीले तोकेको मूल्यमा बिक्री गर्नुपर्छ ।’


राम्रो उत्पादन र सजिलै बिक्री हुने भएकाले कृषकले भटमासको खेती बढाउँदै आएका छन् । सिँचाइ सुविधा नभएको जग्गामा समेत बर्खामा धान, मकैको सट्टामा भटमास खेती गरिँदै आएको छ । खेती स्याहार्न सजिलो भएकाले रोपाइँ हुने खेतमा समेत भटमास लगाउन थालेपछि मूल्य नपाउँदा मारमा परेको सुर्नया गाउँपालिका ६ का कृषक गणेश अवस्थीले बताए । भटमासबाट तेल, सोयबिन, दूधलगायतका खाद्य वस्तु बनाइन्छ । दाल र अन्य प्रयोजनमा होटल र उपभोक्ताले खरिद गर्छन् । बैतडीकै सुर्नया गाउँपालिका ८ मा एक सहकारीले भटमासको दूध बनाउन सुरु गरेको थियो । दूधले बजार नपाउँदा केही महिनामै उत्पादन बन्द गरेको थियो ।

प्रकाशित : पुस २६, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?