कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आमाको बचतबाट व्यापार 

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — क्यानाडेली उद्यमी बनार्ड ‘ब्यारी’ शेरम्यान सानै उमेरमा आफ्नो बुबा गुमाएका थिए । आमाले छोराको पालनपोषण गर्न नसकेर आफ्ना देवर–देवरानीलाई जिम्मा लगाइदिएकी थिइन् । आमाको सानोतिनो जागिर थियो । त्यही जागिरबाट उपलब्ध हुने रकम उनी बचत गर्थिन् । एकदिन त्यही रकम छोराका लागि काम आयो । आमाको बचत रकमबाट शेरम्यानले व्यवसाय खरिद गरेका थिए । बुबा टोरेन्टोमा जिपर बनाउने कम्पनीमा काम गर्थे ।

आमाको बचतबाट व्यापार 

शेरम्यान ‘जेनेरिक’ औषधि कम्पनी ‘एपोटेक्स’ का अध्यक्ष एवं संस्थापक थिए । १५ डिसेम्बर २०१७ मा आफ्नी पत्नी हनीसँगै मृत अवस्थामा उनी फेला परेका थिए । टोरन्टोस्थित आफ्नै बंगलाको पुल नजिक दम्पतीका शव भेटिएका थिए । मृत्यु शंकास्पद र रहस्यमय भएकाले प्रहरीले गहन अनुसन्धान गरिरहेको छ । अर्बपति दम्पतीको मृत्यु भएको सात दिन भइसक्दा पनि मृत्युको कारण पत्ता लाग्न सकेको छैन । परोपकारी र समाजसेवीसमेत रहेका उनको श्रद्धाञ्जली सभामा मुलुकका गन्यमान्य व्यक्तिदेखि सयौं सर्वसाधारणको उपस्थिति थियो । ब्यारी र हनी शेरम्यानको छोराले आफ्ना आमाबुबाको मृत्युबारे गरिएको अडकलबाजीले आफू आतंकित भएको प्रतिक्रिया दिएको ‘एबीसी न्युज’ ले जनाएको छ । छोरा जोनाथन शेरम्यानलाई उद्धृत गर्दै उसले लेखेको छ, ‘बिनापुष्टिको समाचार र निराधार अडकलबाजीले हामीलाई थप पीडा महसुस भइरहेको छ ।’ प्रहरीले दुवैको घाँटीमा दबाब देखिए पनि जबर्जस्ती कसैले हत्या गरेको नदेखिएको प्रारम्भिक रिपोर्टमा उल्लेख गर्दै अनुसन्धान भइरहेको जनाएको छ । ‘द ग्लोब एन्ड मेल’ तथा ‘द टोरन्टो स्टार’ ले प्रहरी स्रोतलाई उद्धृत गर्दै ‘हत्या–आत्महत्या’ सिद्धान्ततर्फ संकेत गरेको जनाएको छ । तर, शेरम्यानको परिवारले उक्त समाचारको खण्डन गरेको छ ।

सन् १९७४ मा अमेरिकास्थित चर्चित इन्स्टिच्युट ‘एमआईटी’ बाट उनले रकेट विज्ञानमा डक्टरेट गरेका थिए । उनले टोरन्टो विश्वविद्यालयबाट इन्जिनियरिङ र म्यासाच्युसेटस इन्टिच्युट अफ टेक्नोलजी (एमआईटी) बाट अन्तरिक्ष–भौतिक विज्ञान–एस्ट्रोफिजिक्स) मा स्नातकोत्तर गरेका थिए । १६ वर्षकै उमेरमा टोरन्टो विश्वविद्यालयमा इन्जिनियरिङ विज्ञानमा भर्ना भएका थिए । विश्वविद्यालय तहमा उनको रुचि पढाइमा खुबै भएकाले उनी राम्रो अंकमा उत्तीर्ण भएका थिए । उनले आफ्नो थेथिसका लागि ‘गभर्नर जनरलर्स अवार्ड’ समेत पाएका थिए । शेरम्यान विद्यालयमा पढदा होस् या टोरन्टो विश्वविद्यालयको विद्यार्थी छँदा पनि काकाको ‘इम्पाएर ल्याबोरेटरिज’ मा नियमित काम गर्न जाने गर्थे । बाल्यकालमा शेरम्यान अलिक लजालु र अनौठो स्वभावका थिए । स्कुले जीवनमा उनले राम्रो गर्न नसकेपछि उच्च शिक्षामा आफ्नो प्रदर्शनलाई गजब शैलीमा उजागर गर्न सफल भएका थिए ।

पढाइ सकेपछि उनले काकाको औषधि कम्पनी खरिद गरेका थिए । उनले उक्त कम्पनी काकाकाकीको असामयिक निधन हुनुभन्दा १७ दिनअघि मात्रै खरिद गरेका थिए । उक्त कम्पनीलाई उनी दुईजना कर्मचारीका साथ सुरु गरेका थिए । हाल उनको कम्पनीमा १० हजारभन्दा बढी कर्मचारी छन् । कम्पनीले उत्पादन गरेको २ सय ६० प्रकारका औषधिहरू १ सय १५ भन्दा बढी मुलुकमा बिक्री वितरण हुने गर्छ । उनको कम्पनीको औषधि क्यानाडामा मात्रै एक वर्षमा ८९ लाख प्रिस्किप्सनमार्फत बिक्री वितरण हुने गर्छ, जुन सम्भवत: एउटा रेकर्ड नै हो । कम्पनीको वार्षिक ग्लोबल रेभेन्यु (राजस्व) १ दशमलव ५ अर्ब अमेरिकी डलर रहेको छ । ‘एपोटेक्स’ ले राम्रा रसायन, पुर्जाबिनै बेच्न सकिने साधारण औषधि र डिस्पोजेबल प्लास्टिक निर्माण गर्छ । सन् २०१४ मा उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पद छाडे पनि अध्यक्षको भूमिका भने निर्वाह गर्दै आएका थिए । आफ्नै पौरख र परिश्रमबाट यिनी क्यानाडाकै धनाढ्यहरूमा दरिएका थिए । रिपोर्टहरूका अनुसार यिनको कम्पनीले सस्तो मूल्यका औषधिहरूसमेत उत्पादन गर्छ । अमेरिकी अखबार ‘फोब्र्स’ का अनुसार सन् २०१७ मा विश्वका अर्बपतिहरूको सूचीमा शेरम्यान ६६० औं र क्यानाडाका १२ औं सर्वाधिक धनाढय बन्न सफल भएका थिए । यसै वर्षको मार्चसम्ममा उनको कुल सम्पत्ति ३ अर्ब अमेरिकी डलर रहेको ‘फोब्र्स’ ले जनाएको छ । एउटा क्यानाडेली बिजनेस पत्रिकाले भने हालै ब्यारी शेरम्यानको कुल सम्पत्ति ३ दशमलव ६५ अर्ब अमेरिकी डलर रहेको उल्लेख गरेको छ ।

टोरन्टोको एउटा यहुदी परिवारमा शेरम्यानको जन्म भएको थियो । उनको पालनपोषण काका लोउस विन्टरले गरेका थिए । उनले काकाबाटै व्यापार गर्नसमेत सिकेका थिए । उक्त कम्पनी क्यानाडामै सबैभन्दा ठूलो औषधि उत्पादन गथ्र्यार्े । काका बाहिर जाँदा शेरम्यानले नै कम्पनीको रेखदेख र व्यवस्थापनको चाँजोपाँजो मिलाउँथे । काकाको ‘इम्पाएर’ कम्पनीले शेरम्यानलाई प्रशिक्षण र एपोटेक्स कम्पनीको विकास कसरी गर्ने भन्नेबारे जानकारी लिन सहयोग प्रदान गरेको थियो । परिणामस्वरूप कम्पनीले पहिलोपटक होफम्यान–ला रोचेको ‘भ्यालियम (डिआजेपाम) उत्पादन गर्ने अनुमति प्राप्त गरेको थियो । चार सन्तानका बुबा रहेका उनी आफ्नी पत्नीका साथ परोपकारको काममा समेत सक्रिय रहने गर्थे । दम्पतीले युनाइटेड जेबिस अपिललाई ५० मिलियन अमेरिकी डलर सहयोग गरेको थियो । उनले जीवनमा चारवटा कार मात्रै खरिद गरे र त्यसैमा चढेर यात्रा गर्थे । भडकिलो जीवनलाई उनले कहिल्यै महत्त्व दिएनन् । केही वर्षअघि पारिवारिक छुट्टीमा रहेको बेला उनले आफ्नो जीवन र क्यारियरबारे संक्षिप्तमा केही लेख्ने निर्णय गरेका थिए । उनले एउटा सानो पुस्तक नै प्रकाशित पनि गरेका थिए । पछि उनी राजनीतिमा लिबरल पार्टीका प्रमुख आर्थिक सहयोगी बनेका थिए ।

६५ वर्षको उमेरमा उनले प्रोस्टेट क्यान्सरमाथि विजय हासिल गरेका थिए । सफल शल्यक्रियापछि उनी जीवनमा कहिले पनि सेवा निवृत्त नहुने घोषणा गरेका थिए । एक साक्षात्कारमा उनले भनेका थिए, ‘मैले भर्खरै त काम सुरु गरेको छु । म अहिले विद्यालय बाहिरको एकजना विद्यार्थी झैं अवस्थामा छु ।’

केही सञ्चार माध्यमहरूले उनको मृत्यु हुनुभन्दा केही दिनअघि ७५ वर्षीय शेरम्यानलाई एकजना क्रूर लडाकुका रूपमा चित्रण गरेका थिए । उनी कारोबारी प्रतिद्वन्द्वहरूविरुद्ध एकताका सयवटासम्म मुद्दा हाल्न पुगेका थिए । अदालतमा उनका काकाका छोराको एउटा समूहसँग विगत १० वर्षदेखि मुद्दा लडिरहेका थिए । यो पारिवारिक विवादका कारण उनी धेरै निराश थिए । आफ्नो पुस्तकमा यसबारे बेलिविस्तार लगाएका छन् । काकाका छोराहरूले ‘अपोटेक्स’ कम्पनीबाट १ अर्ब अमेरिकी डलर अंश मागेका थिए । यसले उनी केही तनाव रहने गर्थे । आफैंले कमाएको सम्पत्तिमा हक दिनुपर्दा कसलाई पो दु:ख हुँदैन । काम नगर्ने तर सित्तैमा सम्पत्तिमा अंश खोज्नेहरूप्रति उनी निकै आक्रामक हुने गर्थे ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : पुस ८, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?