१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बैंकिङ समूहको कारोबार बढ्दो

काठमाडौं — पछिल्ला साताहरूमा कुल कारोबारमा बैंकिङ समूहको हिस्सा बढ्दो छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीलाई १० वटा समूहमा वर्गीकरण गरी कारोबार गराउँदै आएको छ । तीमध्ये बैंकिङ समूहको हिस्सा प्राय: धेरै रहन्छ । तर, केही महिनायता बैंकिङ समूहको हिस्सा घट्दो क्रममा थियो ।

बैंकिङ समूहको कारोबार बढ्दो

खासगरी बैंकहरूले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेपछि यो समूहको कारोबार हिस्सा घटिरहेको थियो । यस्तो हिस्सा केही सातायता फेरि बढ्न थालेको छ । यो साता कुल कारोबारमा बैंकिङ समूहको हिस्सा ४३.४५ प्रतिशत छ । 

गत साता यस्तो हिस्सा साढे २९ प्रतिशत थियो ।
 यसको अर्थ वाणिज्य बैंकहरूको सेयरमा लगानीकर्ताको आकर्षण बढ्यो भन्नेचाहिँ होइन । बैंकिङ समूहको परिसूचक वृद्धिसँगै कारोबार हिस्सा बढेको भए आकर्षण बढेको रूपमा विश्लेषण गर्न सकिन्थ्यो । तर, कारोबार हिस्सा बढे पनि उक्त समूहको परिसूचक घटेको छ । आइतबार १ हजार ३ सय ५.२१ विन्दुमा रहेको बैंकिङ समूहको परिसूचक बिहीबार १ हजार २ सय ९५.७८ मा ओर्लेको छ । यसरी परिसूचक घट्नुको अर्थ यो समूह अन्तर्गतका कम्पनीको सेयर बिक्री चाप बढिरहनु भएको विश्लेषकहरू बताउँछन् । 
साप्ताहिक कारोबारमा बैंकिङपछि ठूलो हिस्सा बिमा समूहले ओगटेको छ । यो समूहको कारोबार हिस्सा १४.६२ प्रतिशत छ । गत साता यो समूहको हिस्सा २४.५१ प्रतिशत थियो । यो साता संस्थापक सेयरको कारोबार हिस्सा ११.३८, विकास बैंकको ६.८६, लघुवित्तको ६.०७, जलविद्युत्को ९.०६ प्रतिशत छ ।
 गत साता करिब ५० प्रतिशतले घटेको कुल कारोबार यो साता साढे ६१ प्रतिशतले बढ्यो । सार्वजनिक बिदाले गर्दा गत साता ३ दिन मात्र बजार खुलेको थियो । यो साता पाँचै दिन सेयर कारोबार भएको छ । यसकारण गत साताको तुलनामा कारोबार रकममा उच्च वृद्धि देखिएको हो । करिब २३ हजार ७ सय कारोबारबाट १ सय ७९ कम्पनीका ५७ लाख ९५ हजार सात सय कित्ता सेयर किनबेच भए । ती खरिद–बिक्रीबाट २ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६१.५४ प्रतिशतले बढी हो । गत साता ३३ लाख ७० हजार ६ सय ८० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८१ करोड २७ लाख ८२ हजार रुपैयाँको कारोबार भएको थियो । 
साप्ताहिक कारोबारमा नेप्से परिसूचक १६.३९ अंकले घट्यो । 
तर, साताको पहिलो दिनको तुलनामा यो १०.३४ अंकले मात्र घटेको छ । आइतबार १ हजार ५ सय ३०.४९ विन्दुमा रहेको नेप्से बिहीबार १ हजार ५ सय २०.१५ मा ओर्लेको हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३.०२ र व्यापारमा रहेका सबै कम्पनीको कारोबार मापक फ्लोट परिसूचक १.५३ अंकले ऋणात्मक रहे । 
यो साता कारोबार रकम (४३ करोड ३६ लाख ८० हजार रुपैयाँ) का आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा छ । कारोबार भएको सेयर संख्या (४ लाख ८२ हजार कित्ता) का आधारमा ग्लोबल 
आईएमई बैंक सबैभन्दा अघि छ । कारोबार संख्या (३६१६ वटा) का आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नै अग्रस्थानमा छ ।
साप्ताहिक कारोबारमा उत्पादन तथा प्रशोधन र ‘अन्य’ बाहेक सबै समूहको परिसूचक घटे । यी समूहको परिसूचक क्रमश: ८४.१२ र १९.३८ अंकले बढे । 
यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन । अल्पाइन डेभलपमेन्ट बैंक, हिमालयन जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकको हकप्रद सेयर सूचीकृत भए । यसैगरी, नेको इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । 

प्रकाशित : पुस २, २०७४ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?