१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विकासको आधार तयार

टिप्पणी
गोकर्ण अवस्थी

काठमाडौं — समृद्धि र स्थायित्वको नारासहित निर्वाचनमा होमिएर सरकार बनाउने प्रस्ट मत पाएको वाम गठवन्धनका लागि धेरै हदसम्म विकासको आधार तयार भइसकेको छ । केही महत्त्वपूर्ण ऐनहरू पारित भएका छन् भने कतिपय निर्माणको चरणमा छन् ।

विकासको आधार तयार

पूर्वाधार निर्माणको काम धेरै हदसम्म सुरु भइसकेको छ । आधार तयार भएका कामलाई मात्रै निरन्तरता दिन सकियो भने पनि अबको पाँच वर्षमा सरकारले सर्वसाधारणलाई अनुभूति हुने गरी भौतिक विकास दिन सक्नेछ । 

सकारात्मक आर्थिक परिसूचक
यो वर्ष बृहद् आर्थिक परिसूचक सकारात्मक छन् । गत आर्थिक वर्षमा ६.९ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो । यस वर्ष निर्वाचनका कारण उपभोग बढेर आर्थिक वृद्धिमा सहयोग पुगेको छ । नयाँ सरकारले पुँजीगत खर्च पनि बढाउन सके ६ प्रतिशतको वृद्धि हासिल हुन सक्ने बलियो सम्भावना छ । मूल्य वृद्धिदर असोजमा ३.१ प्रतिशत मात्रै छ । मुलुकको बाह्य व्यापारको अवस्था जनाउने शोधनान्तर अवस्था ४ अर्ब २७ करोड रुपैयाँले बचतमा छ । व्यापार घाटाबाहेक अन्य परिसूचक सकारात्मक नै रहेकाले वर्षान्तमा नयाँ सरकारले जस लिन सक्ने आधार छ । यसबाहेक धेरै निर्माणाधीन आयोजना पाँच वर्षभित्र सकिने अवस्थामा छन । नेपालीको औसत आम्दानीमा सामान्य वृद्धि भइरहेको छ । गरिबी पनि घटिरहेको छ ।
मेलम्ची र माथिल्लो तामाकोसी आयोजना
मेलम्ची खानेपानी र माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । नयाँ सरकारले यी आयोजनालाई आफ्नो सरकारले दिएको पहिलो ठूलो उपहार भनेर दाबी गर्न सक्नेछ । २०४८ देखि चर्चामा रहेको मेलम्ची आयोजनाबाट राजधानीवासीले आगामी वैशाखसम्म पानी पाउने सम्भावना बलियो छ । २०५८ देखि काम सुरु भएर करिब ३६ अर्ब खर्च भएको यो आयोजनाअन्तर्गत २७ किलोमिटर सुरुङ निर्माण अन्तिम चरणमा छ । माथिल्लो तामाकोसीबाट आगामी वर्ष यतिखेरसम्म बिजुली उत्पादन हुने प्रक्षेपण गरिएको छ । ४ 
सय ५६ मेगावाट क्षमताको यो आयोजना भूकम्पका कारण ढिलाइ भएको थियो ।
बुढीगण्डकी, पश्चिम सेती र माथिल्लो कर्णाली जलविद्युत् आयोजना पनि तत्काल अगाडि बढ्न सक्ने अवस्थामा छन । करिब ५ हजार मेगावाट क्षमताका विद्युत् आयोजनामा तत्काल काम सुरु गर्न सकिने अवस्था छ ।
तत्कालै चार ठूला सिँचाइ 
सरकारी लक्ष्यअनुसार काम भए पश्चिम नेपालमा निर्माणाधीन चार ठूला सिँचाइ आयोजनबाट दुई वर्षभित्र ठूलो क्षेत्रफल सिञ्चित भइसक्नेछ । सिक्टा, बबई, रानीजमरा कुलरिया र भेरी बबइ डाइभर्सन निर्माणको अन्तिम चरणमा रहेका आयोजना हुन् । ४२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने योजना रहेको सिक्टा दुई वर्षभित्र सकिने प्रक्षेपण योजना आयोगको छ । जंगल र ठेकेदारको लापरबाहीले सुस्त गतिमा चलिरहेको आयोजनामा सरकारले पहल गर्ने हो भने आर्थिक वर्ष २०७६/७७ सम्म आयोजना सम्पन्न हुनेछ । ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने अपेक्षा गरिएको बबई सिँचाइ आयोजना यसै वर्ष सकिने प्रक्षेपण छ । रानीजमरा कुलरिया आयोजनाले पनि सुदूरपश्चिमका २० हजार खेतीयोग्य जमिनलाई यसै वर्ष सिञ्चित गर्न सक्नेछ । भेरी बबई डाइभर्सन बहुद्देश्यीय आयोजना हो । ५१ हजार हेक्टरमा सिँचाइ गर्ने र ४८ मेगावाट बिजुली निकाल्ने योजना छ । आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ सम्मका काम सकिनेछ ।
मध्यपहाडी र हुलाकी राजमार्ग
सरकारले ध्यान दिने हो भने एक वर्षभन्दा कम समयमा मध्यपहाडी लोकमार्गले पूर्व पश्चिम जोडिसक्नेछ । यस सडकको लम्बाइ १७ सय ७६ किलोमिटर छ । केही पहिले बनेका र बाँकी नयाँ निर्माण गरी पाँचथरलाई बैतडीसम्म जोड्ने यो राजमार्ग पहाडको विकासको महत्त्वपूर्ण ‘लाइफलाइन’ बन्नेछ । केही ठाउँमा मुआब्जा विवाद, रेखांकनमा स्थानीयको अवरोध र ठेकेदारको लापरबाहीले काम सुस्त छ । यस राजमार्गले धेरै नयाँ र सुविधासम्पन्न सहर बन्ने आधार तयार पार्नेछ । जसले तराईतर्फ भइरहेको ठूलो बसाइ सराइ रोक्ने मात्र नभई नयाँ बजार र अर्थतन्त्रका नयाँ आधार तयार पार्नेछ । आयोगको राष्ट्रिय गौरवसम्बन्धी आयोजनाको प्रगति विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ मै सकिने उल्लेख छ । 
हुलाकी राजमार्ग तराईको दक्षिणी भेग हुदै झापा देखि कन्चनपुरको दोधरासम्म फैलिने रणनीतिक सडक हो । यो सडकको लम्बाइ १६ सय ६३ किलोमिटर लम्बाइ छ । जसमा एक सय २५ पुल बन्ने छन । आयोगका अनुसार यसको निर्माण लागत २५ अर्ब रुपैया अनुमान गरिएको छ । रकम अभाव, ठेकेदारको लापरवाही र पुल बनाउन नसक्नु यसमा काम अगाडि बढन नसक्नुका कारण हुन । भारत सरकारले रकम दिने सुनिश्चितता गरिसकेकाले पाच बर्षभित्र सजिलै यो सडक बन्न सक्छ । 
फास्ट ट्रयाक र निजगढ विमानस्थल
निजगढ विमानस्थलको निर्माण नसकिए पनि काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्रयाकको निर्माण पाँच वर्षभित्र सकिने सम्भावना बलियो छ । धेरै प्रयोगपछि सेनालाई बनाउन दिइएको यो आयोजना निर्माणमा सेना जुटिसकेको छ । करिब ८० किलोमिटर लम्बाइको यो सडकको लागत एक खर्ब ११ अर्ब रुपैयाँ अनुमान गरिएको छ । आर्थिक वर्ष २०८०/८१ सम्म सक्ने लक्ष्य छ । विमानस्थलमा पनि तार बार लगाउने काम सुरु भइसकेकाले राजनीतिक इच्छाशक्ति हुने हो भने यसमा पनि देखिने गरी काम गर्न सकिन्छ । 
भैरहवा र पोखरा विमानस्थल
पोखरा र भैरहवा क्षेत्रीय विमानस्थल पनि पाँच वर्षभित्र सकिने खालका आयोजना हुन् । ठेकेदारको किचलो मिलाउन सकियो भने भैरहवा विमानस्थल दुई वर्षभित्र सञ्चालनमा आउन सक्छ । पाँच वर्षभित्र पोखरा विमानस्थल पनि निर्माण सकिने सम्भावना छ । 


चुनौती पनि कम छैनन्
बढ्दो खर्चका लागि स्रोतका व्यवस्थापन वित्तीय अनुशासन कायम राख्नु नयाँ सरकारका लागि सबैभन्दा पहिलो र ठूलो चुनौतीका रूपमा रहनेछ । लगातार बढिरहेको राजस्वको वृद्धिदरमा कमी आउनेछ । पछिल्लो तथ्यांकअनुसार लक्ष्यभन्दा ४ प्रतिशत कम राजस्व संकलन भएको छ । स्थानीय निकायका खातामा एक खर्ब ५० अर्ब रुपैयाँ निकासा भइसकेको छ । त्यो रकम खर्च नभए पनि फिर्ता लिन पाइँदैन । राजस्वले थेग्न नसकेका कारण पहिलो त्रैमासमै करिब ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकिएको छ ।
 अब प्रदेशको संचरना निर्माण र सरकार सञ्चालनका लागि करिब ८ खर्ब २० अर्ब रुपैयाँ लाग्ने अनुमान अर्थको छ । धेरैजसो रकम तत्काल आवश्यक पर्नेछ । विशेष गरी प्रदेशसभा, मन्त्रिपरिषद्, प्रदेशप्रमुख र मुख्यमन्त्रीको कार्यालय र निवासका लागि ठूलो रकम आवश्यक पर्नेछ । चालु खर्चका लागि वैदेशिक सहायता लिन बन्द भएको धेरै वर्ष भइसकेको छ । चालु आर्थिक वर्षमा त करिब एक खर्ब २ अर्ब रुपैयाँ गत वर्ष उठेको तर खर्च नभएको रकम सारिएको छ । तर अबको अवस्था भिन्न हुनेछ । 
दैनिक कार्य सञ्चालन खर्चका लागि विदेश वा स्वदेशबाटै पनि ऋण लिनुपर्ने आवश्यकता पर्‍यो भने वित्तीय क्षेत्र असन्तुलित हुन जानेछ । यसबाहेक अनावश्यक खर्चमा अंकुश लगाउन सकिएन भने धेरै रकमको दुरुपयोग हुन जानेछ । धेरै रकम वितरण गर्ने हो भने वित्तीय अनुशासनमा समस्या हुनेछ । पुँजी निर्माण गर्ने, रोजगारी अवसर सिर्जना गर्ने तथा उत्पादन बढाउने चुनौती छन् । यसका लागि राजनीतिक नेतृत्वमा आर्थिक सिर्जनशीलता आवश्यक छ । परम्परागत आर्थिक नीतिको निरन्तरताले नयाँ उपलब्धि हासिल गर्न सकिदैन । 

प्रकाशित : पुस २, २०७४ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?