१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

होमस्टेबाट मासिक लाख आम्दानी

प्रताप विष्ट

हेटौंडा — मकवानपुर चित्लाङको ‘होमस्टे’ अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ । राजधानीको धूलो र धूवाँबाट मुक्त हुन आन्तरिक र बाहय पर्यटक स्वच्छ र स्वस्थ वातावरण खोज्दै चित्लाङका होमस्टेमा पुग्ने गरेका छन् ।

होमस्टेबाट मासिक लाख आम्दानी

मकवानपुर चित्लाङको ‘होमस्टे’ अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ ।

राजधानीको धूलो र धूवाँबाट मुक्त हुन आन्तरिक र बाहय पर्यटक स्वच्छ र स्वस्थ वातावरण खोज्दै चित्लाङका होमस्टेमा पुग्ने गरेका छन् । यहाँका होमस्टे पर्यटकहरूले खचाखच हुन थालेपछि व्यवसायी पनि उत्साही छन् । ‘अहिले होमस्टेमा बस्नेको संख्या पहिलाभन्दा निकै बढेको छ,’ चित्लाङे काजी होमस्टेका सञ्चालक रामकृष्ण बस्नेतले भने, ‘शुक्रबार र शनिबार त झनै धेरै पर्यटक आउँछन्, सबै होमस्टे भरिएर रिसोर्टतिर पनि पठाउनुपर्ने अवस्था छ ।’

चित्लाङमा अहिले करिब एक दर्जन होमस्टे सञ्चालनमा छन् । १५ जनादेखि सय जनासम्म अट्ने होमस्टेहरू सञ्चालनमा छन् । ‘सबै होमस्टेहरूमा गरी करिब २ सय जनालाई खाना बस्न दिन सक्ने क्षमताको छ,’ होमस्टे व्यवस्थापन समितिका सचिवसमेत रहेका काजी होमस्टेका सञ्चालक बस्नेतले भने, ‘ठूलो समूहमा आएका पाहुनाहरूलाई राख्न नसक्ने अवस्था छ । पर्यटक थपिएसँगै होमस्टे पनि थप्नुपर्ने भएको छ ।’

तत्कालीन जिविस मकवानपुरको सहयोगमा चित्लाङका स्थानीयलाई तालिम दिएर होमस्टे सुरु गरिएको थियो । २०६८ सालमा चित्लाङमा ४ वटा घर यसमा सहभागी थिए । त्यसयता आधा दर्जन थपिए पनि पर्यटकको भारलाई थेग्न भने सकेका छैनन् ।

डेढ सय जनाको टोली बास बस्न आए भने सबैलाई एउटै समूहको घरमा राख्न सकिँदैन । एउटा समूहदेखि अर्कोसम्म पुग्न टाढा हिँड्नुपर्छ । पर्यटकहरू बाँडिएर बस्न रुचाउँदैनन् ।

पर्यटक बढेसँगै होमस्टे सञ्चालकको आम्दानी पनि बढेको छ । पर्यटकलाई खान र बस्न दिएर हाल मासिक ३० हजारदेखि एक लाखसम्म आम्दानी गर्ने गरेको गुर्जुधारा होमस्टेका सञ्चालक बुद्धरत्न मानन्धरले बताए ।

आन्तरिक एवं बाह्य पर्यटकहरू धेरै आउने थालेकाले होमस्टेहरू पनि रिसोर्टमा परिणत हुने अवस्थामा पुगेका छन् । ‘होमस्टे र रिसोर्टको फरक–फरक स्वाद हुन्छ तर सबै होमस्टेहरू रिसोर्टमा परिणत होलान् भन्ने डर छ,’ व्यवस्थापन समितिका सचिव बस्नेतले भने, ‘सकेसम्म होमस्टेको स्वाद र पहिचानलाई बचाउने प्रयास गरिरहेका छौं ।’

थानकोट–चन्द्रागिरी केवलकार सञ्चालनमा आएयता चित्लाङमा पर्यटक बढ्न थालेका छन् । थानकोट–चन्द्रागिरी र चित्लाङको १२ किलोमिटर मोटरबाटो स्तरोन्नति भएपछि पर्यटक आवागमन हवात्तै बढ्ने होमस्टे सञ्चालकहरूको अपेक्षा छ ।

चित्लाङका बासिन्दाले पर्यटकहरूलाई स्थानीय बाजागाजासहित स्वागत गर्ने गरेका छन् भने चित्लाङमा उत्पादन गरिएका अर्गानिक खाद्य वस्तुहरू खान दिने गरेका छन् । होमस्टे सञ्चालकले स्थानीय स्तरमा उत्पादन हुने बेथेको साग, सिस्नो, फापरको रोटीदेखि विभिन्न परिकार बनाएर पर्यटक लोभ्याउने गरेका छन् ।

चन्द्रागिरीमा केवुलकार सञ्चालनसँगै चित्लाङमा प्राचीन सम्पदाको अध्ययन अवलोकन गर्न आउने पर्यटकको संख्या पनि बढेको छ । चित्लाङले पर्यटकहरूलाई लोभ्याउन सफल भएकाले पर्यटन बोर्डले चार वर्षअघि चित्लाङलाई पर्यटकीय गाविस घोषणा गरेको थियो ।
ट्राउट माछा र बाख्राको चीजको स्वाद चाख्नसमेत पर्यटकहरू चित्लाङ पुग्ने गरेका छन् । सम्राट अशोकले बनाएको अशोक चैत्य र किरात राजाहरूले बनाएका मन्दिर र शिलालेखका कारण इतिहासका विषयमा अध्ययन गर्न आउने पर्यटकको संख्यामा समेत वृद्धि भइरहेको छ ।

प्रकाशित : मंसिर १९, २०७४ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?