कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

स्थानीय तहमा पुगेन बैंकिङ सेवा

-स्थानीय तह निर्वाचनपश्चात् अधिकार र कर्मचारी गाउँमा पुगे पनि सामान्य बैंकिङ सेवा लिन सदरमुकाम आउनुपर्ने बाध्यता
-सुर्खेतका नौमध्ये पाँच स्थानीय तहमा अझै बैंक छैनन्
कान्तिपुर संवाददाता

सुर्खेत — नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई स्थानीय तहमा केन्द्रित भएर सेवा प्रदान गर्न निर्देशन दिए पनि अझ गाउँगाउँसम्म बैंक पुग्न सकेका छैनन् । सुर्खेतका नौमध्ये पाँच स्थानीय तहमा अझै बैंक छैन ।

स्थानीय तह निर्वाचनपश्चात् अधिकार र कर्मचारी गाउँमा पुगे पनि सामान्य बैंकिङ सेवा लिन सदरमुकाम आउनुपर्ने बाध्यता अझै हटेको छैन । सेवाग्राही मात्र नभई कर्मचारी, जनप्रतिनिधिसमेत बैंक खोज्दै वीरेन्द्रनगर धाउनुपरेको छ । लेकबेंसी नगरपालिकाका प्रमुख गगनसिं सुनारले खाता खोल्न, भुक्तानी लिन, नगद भौचर लिनसमेत सदरमुकाम आउनुपरेको बताए । लेकबेंसी सदरमुकामसँग जोडिएको नगरपालिका हो । ‘सदरमुकाम धाएर सानोतिनो कामका लागि बैंकमा लाइन लाग्दै अनावश्यक समय खर्च हुने गरेको छ,’ उनले भने, ‘बैंकहरूले सरकारको निर्देशन त पालना गर्नुपर्ने हो ।’ उनले योजनाको भुक्तानी, सामाजिक सुरक्षा रकम लिन सदरमुकाम आउनुपरेको बताए । सुर्खेतका चौकुने, बराहताल, चिंगाड, सिम्ता र लेकबेंसीमा बैंकिङ सेवा छैनन् ।

चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले सामान्य कामका लागि सदरमुकाम आउनुपरेको बताए । ‘गाउँमा बैंक नहुँदा अफिसको खाता खोल्न वीरेन्द्रनगर आउनुपरेको छ,’ अध्यक्ष शाहीले भने, ‘बैंककै कामले कर्मचारीदेखि हामी जनप्रतिनिधिले अनावश्यक समय खर्चनुपरेको छ ।’ लक्ष्मी बैंक आउने भनिए पनि शाखा खोल्न चासो नदिएको उनले सुनाए । सिम्ता गाउँपालिकामा पनि एनआईसी र लक्ष्मी बैंकमध्ये एकले सेवा दिने भनिएको पनि सेवा विस्तार गर्ने सुरसार देखिएका छैनन् । सदरमुकाम रहेको नगरपालिका वीरेन्द्रनगरमा भने नेपाल बैंक, वाणिज्य बैंकका साथै डेढ दर्जन बैंक छन् । पूर्वी सुर्खेतका भेरीगंगा, गुर्भाकोट नगरपालिका र पश्चिमका पञ्चपुरी नगरपालिकामा मात्र बैंकिङ सेवा पुगेको छ ।

बैंक सेवा नहुँदा कर्मचारी र जनप्रतिनिधिलाई मात्र होइन, व्यवसायी, सर्वसाधारणलाई समेत मर्का परेको छ । जिल्लास्तरका कार्यालयहरू स्थानीय तहमा गाभिइसक्दासमेत बैंकले आफ्नो शाखा विस्तार गर्न ढिलाइ गरेको सरोकारवालाको गुनासा छ । ‘बैंकहरू नाफामुखी मात्रै हुँदा समस्या आएको छ । सरकारकै निर्देशन मान्न अटेरी गरिरहेका छन्,’ सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले भने, ‘बैंकको सामान्य कामका लागि तीन दिन खर्च हुने गरेको छ ।’ बैंक टाढा हुँदा एकैछिनमा सम्पन्न हुने काम धेरै दिन लाग्ने गरेको उनले सुनाए । जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले तोकिएका बैंकलाई सम्बन्धित तहमा शाखा विस्तार गर्न दबाब दिइरहेको बताए ।

प्रकाशित : आश्विन ३१, २०७४ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?