२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

विमानस्थल निर्माणमा सरकार उदासीन : सांसद

काठमाडौं — व्यवस्थापिका संसद्अन्तर्गतका समितिहरूको बैठकमा मन्त्री नै अनुपस्थित हुँदा विकास आयोजनाहरू प्रभावित हुने सांसदहरूले बताएका छन् । सार्वजनिक लेखा समिति, विकास समितिलगायतले विभिन्न आयोजनाका बारेमा बुझ्नका लागि बोलाउँदा सरकारका मन्त्री र सचिवहरूले नै अटेर गरेको उनीहरूको गुनासो छ ।

पछिल्लो समय भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका विषयमा सार्वजनिक लेखा समितिले पर्यटनमन्त्री जितेन्द्रनारायण देवसहितलाई बोलाएको थियो । ‘मन्त्रीलाई बोलायौं, आएनन् । सचिवलाई पनि बोलायौं, आएनन्,’ लेखा समितिले विमानस्थल निर्माणका समस्याबारे बोलाएको बैठकमा उनीहरू अनुपस्थित भएको समितिका सदस्य एवं सांसद पशुपति चौलागाईले जनाए ।

राष्ट्रिय गौरवको आयोजनामा पर्ने उक्त विमानस्थल स्थानीय ठेकेदारसँगको विवादले ६ महिना ढिलाइ भएको थियो । विवाद नमिलेपछि समितिले चासो देखाएको थियो । चिनियाँ मुख्य ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभीएसन एयरपोर्ट कन्स्ट्रक्सनले निर्माण सामग्री आपूर्तिका लागि सम्बन्धित कम्पनीहरूलाई अहिले थप पैसा निकासा गरी काम अघि बढाएको छ ।

सांसद चौलागाईले यस्ता आयोजना समयमा सक्न ठेकेदार कम्पनी, सरकार र सरोकारवाला निकाय सबैको हात हुने सुझाव दिए । ‘संसदीय समितिले समन्वय गर्छ । हामीले त्यो काम गरेका छौं । मन्त्री, सचिव टाढिएर आयोजना समयमै बन्न सक्दैन । सरकारको सहयोग पर्याप्त भएन भने उक्त एयपोर्ट फेरि ढिलाइ हुन सक्छ,’ सञ्चार केन्द्र नेपालले आइतबार राजधानीमा आयोजना गरेको एक अन्तरक्रियामा सांसद रामहरि खतिवडाले भने । भैरहवा विमानस्थल निर्माणका लागि आवश्यक माटो, ग्राभेलको व्यवस्था गर्न नागरिक उड्डयन प्राधिकरणले समेत ढिलाइ गरेको छ । सम्झौतामा ती सामग्री उपलब्ध गराउने जिम्मेवारी प्राधिकरणकै हुने उल्लेख छ ।

उक्त आयोजनाको प्रगति विवरण बुझ्न केही समयअघि लेखा समितिका सांसदहरू आयोजनास्थल नै पुगेका थिए । अहिले उक्त आयोजनाका लागि आवश्यक उपकरण, दक्ष प्राविधिकहरू झिकाइएको छ । दुई सातायता मुख्य ठेकेदार कम्पनी आफैं अग्रसर भई ३ वटा कम्पनीलाई पैसा निकासा गरेको छ । कामलाई तीव्र बनाउन चिनियाँ कम्पनीले ७८ करोड ४० लाख रुपैयाँ थप बजेट निकासा गरेको छ । सरकारी स्वामित्वको उक्त चिनियाँ कम्पनी आयोजनाको प्रगति विवरण बुझ्न उच्चस्तरीय टोलीसमेत नेपाल आउँदै छ ।

गौतम बुद्ध विमानस्थलसहित राष्ट्रिय गौरवका माथिल्लो तामाकोसी, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत आयोजना समयमा पूरा गराउने तर्फ पछिल्लो समय समितिहरूले सक्रियता देखाएका छन् । विकास समितिका सभापति रवीन्द्र अधिकारीले आयोजनालाई समयमै बनाउने हो र सफल बनाउने हो भने सरकारले क्षमता देखाउन सक्नुपर्ने सुझाव दिए । ‘सरकारको क्षमता नभएको होइन । तर, त्यो खालको इच्छाशक्ति छैन,’ सभापति अधिकारीले भने । उनले एसियाली विकास बैंक, विश्व बैंकजस्ता ठूला दाता संस्थामा हाबी भएको कर्मचारीतन्त्र र बेथितिले पनि आयोजनालाई प्रभावित तुल्याएको दाबी गरे ।

भैरहवा विमानस्थल एसियाली विकास बैंकको ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । एडीबीको चुस्त निरीक्षण र सरकारको तदारुकता भएमा आयोजनाको काम समयमै सकिने सभापति अधिकारीले बताए । स्थानीय ठेकेदार नर्थवेस्ट इन्फ्रा नेपाललले भुक्तानीअनुसार काम नगरेको, निर्माण सामग्री समयमै उपलब्ध नभएको जस्ता विवाद उक्त विमानस्थल निर्माणमा देखिएको थियो । चिनियाँ कम्पनीले काम अघि बढाउन एक दर्जन इन्जिनियरसहित १५ जना विज्ञहरू नेपाल झिकाइसकेको छ । निर्माणस्थलमा हाल कन्ट्रोल टावर, सबस्टेसन, टर्मिनल भवन र प्रशासकीय भवनहरू बन्दै छन् ।

प्रकाशित : आश्विन ९, २०७४ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?