साताको सेयर : कारोबार रकम करिब ५६ प्रतिशतले बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौं — सेयर कारोबार यस साता झण्डै ५६ प्रतिशतले बढयो । गत साता बजारमा २ अर्ब ३२ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा यो साता बढेर ३ अर्ब ६१ करोड ५७ लाख रुपैयाँ पुगेको हो । गत साताको तुलनामा यो साताको कारोबार रकम ५५.८० प्रतिशतले बढी हो ।

करिब ३५ हजार ८ सय ५० कारोबारबाट १ सय ७७ कम्पनीका ६८ लाख ४ हजार १ सय ६० कित्ता सेयर खरिदविक्री भए । गत साता करिब २५ हजार कारोबारबाट १ सय ७१ कम्पनीका ४३ लाख ७७ हजार ३ सय ७० कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

कारोबार रकम उच्च अंकले बढेपनि नेप्से परिसूचकमा भने कमी आएको छ । गत साताको तुलनामा यो साता समग्र नेप्से परिसूचक २४.२४ प्रतिशतले घटयो । आइतबार बजार खुल्दा १ हजार ५ सय ५४.५५ अंकमा रहेको नेप्से बिहीबार बन्द हुँदा १ हजार ५ सय ३०.३१ अंकमा छ । तर, साताको पहिलो दिनको तुलनामा नेप्से परिसूचक १०.६५ अंकले बढेको देखिन्छ । आइतबार नेप्से परिसूचक १ हजार ५ सय १९.६६ मा बन्द भएको थियो ।

साप्ताहिक कारोबारमा बैकिङ समूहको बजार हिस्सा ३९ प्रतिशत पुगेको छ । गत साता यो समूहको यस्तो हिस्सा ३५ प्रतिशत थियो । करिब एक महिना अघि २८ प्रतिशतको हाराहारीमा रहेको बैंकिङ समूहको हिस्सा पछिल्ला साताहरुमा बढदो क्रममा छ । सोही अवधिमा कुल कारोबारमा बिमा समूहको हिस्सा २०.४ प्रतिशत छ । गत साता कुल कारोबारमा बिमा समूहले १८.४७ प्रतिशत अंश ओगटेको थियो । यो साता लघुवित्त संस्थाको सेयर कारोबार हिस्सा उल्लेख्य रुपमा बढेको छ । गत साताको तुलनामा यो साता कुल कारोबारमा लघुवित्त समूह अन्तरगतका कम्पनीहरुको कारोबार हिस्सामा सामान्य कमी आएको छ । गत साता लघुवित्त कम्पनीहरुको हिस्सा साढे २०.८४ प्रतिशत थियो । यसैगरी, जलविद्युतको २.६८ प्रतिशत, संस्थापक सेयरको ७.३८ प्रतिशत र विकास बैंकको ७.८१ प्रतिशत रहेको नेप्सेले जनाएको छ ।

साप्ताहिक कारोबारमा बैकिङ, जलविद्युत र बिमा समूहका लगानीकर्ताको सम्पत्ति घट्यो । ती समूहको परिसूचक ऋणात्मक रहेपछि सेयरधनीको सम्पत्तिमा कमी आएको हो । पाँच दिनको कारोबारमा बिमा समूहको परिसूचक सबैभन्दा बढी १ सय ४२.५७ अंकले घटयो । यसैगरी, बैकिङ समूहको परिसूचक २२.४८, होटलको ३.९७, विकास बैंकको ६८.४८ र जलविद्युतको २२.१८ प्रतिशतले घटे । सोही अवधिमा वित्त कम्पनी, उत्पादन तथा प्रशोधन, व्यापार(ट्रेडिङ) र ‘अन्य’ समूहको परिसूचक क्रमश: ७.५१, १७.९३, १७.१४ र २.९८ अंकले बढेको नेप्सेले जनाएको छ । यद्यपि आइतबारको तुलनामा भने विकास बैंक बाहेक सबै समूहको परिसूचक बढे । 

साप्ताहिक कारोबार रकम (१९ करोड १४ लाख ४० हजार रुपैयाँ) का आधारमा नविल बैंक सबैभन्दा अघि छ । कारोबार सेयर संख्या (३ लाख ५४ हजार कित्ता) का आधारमा नेपाल बैंकको संस्थापक अग्रस्थानमा छ । तर, कारोबार संख्या (१ हजार ९ सय ४७ वटा) का आधारमा हिमालयन पावर पार्टनर सबैभन्दा अघि रहेको नेप्सेले जनाएको छ । 

यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रह्यो । विगतमा जस्तै गत साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन । उक्त अवधिमा मिर्मिरे माइक्रो क्रेडिट डेभलपमेण्ट बैंक, हाम्रो विकास बैंक र स्वरोजगार लघुवित्त विकास बैंकको हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । 

प्रकाशित : भाद्र ३१, २०७४ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्

अंहकारले माओवादी तेस्रो : दाहाल

कान्तिपुर संवाददाता

रुकुम — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी आफ्नै अहंकारले तेस्रो हैसियतमा सीमित हुन पुगेको बताएका छन् । पार्टीको पूर्वी रुकुम कमिटीले शनिबार रुकुमकोटमा आयोजना गरेको जनसभामा उनले यस्तो धारणा राखेका हुन् ।

२०६४ सालको संविधानसभा निर्वाचनबाट ठूलो दल बनेको माओवादी दम्भकै कारण २०७० सालको निर्वाचनमा तेस्रो पार्टीमा झरेको दाहालको भनाइ छ । ‘२०६४ को निर्वाचनबाट हामी सबैभन्दा ठूलो बनेका थियौं,’ उनले भने, ‘त्यति बेला कांग्रेस–एमाले मिल्दा पनि हामी जति थिएनन् तर २०७० सालसम्म आइपुग्दा हाम्रो दम्भ बढी भयो, त्यसैले तेस्रो शक्ति बन्नु परेको हो ।’ पार्टी सानो हुनुमा टुटफुट र अहंकार कारण रहेको दाहालले बताए । 

साबिक रुकुम तथा पूर्वी रुकुम जिल्लाका सबै स्थानीय तहमा माओवादीले जितेको भन्दै दाहालले अहंकार र दम्भ त्यागेर काम गर्न निर्वाचित पार्टी नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘अब माओवादी पुन: ठूलो पार्टी बनेर आउँदैछ,’ उनले भने, ‘हामी टुटेफुटेकाहरू मिल्दै आएका छौं, सच्च्याएर अघि बढाउँदै छौं ।’स्थानीय तहको तेस्रो तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा माओवादी सुधारिने विश्वास उनले व्यक्त गरेका छन् । दु:खी गरिब, असहाय, दलित, महिला, आदिवासी–जनजातिको पार्टी भनेकै माओवादी भएकाले अब फेरि ठूलो पार्टी बन्ने उनको दाबी छ । 

प्रकाशित : भाद्र ३१, २०७४ २०:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×