प्लास्टिकको चामल पुष्टि भएन

असार ३१, २०७४

कान्तिपुर संवाददाता

काठमाडौं — सीतापाइलास्थित शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदामको चामल प्लास्टिक नभएको प्रमाणित भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमुना परीक्षणपछि चामल सक्कली नै भएको पुष्टि भएको हो ।

विभागले तयार पारेको प्रतिवेदन शुक्रबार नै काठमाडौं प्रहरी परिसरमा बुझाएको छ । परिसरका प्रमुख एसएसपी छविलाल जोशीले परीक्षणमा चामलमा प्लास्टिक नभेटिएको प्रतिवेदन विभागले पठाएको बताए । ‘चामलमा प्लास्टिक मिसावट नभएको भन्ने प्रतिवेदन पाएका छौं,’ उनले भने । 

परिसरले सक्कली चामलमा प्लास्टिकको चामल मिसाएर बेचेको आरोपमा बुधबार व्यापारी टंकप्रसाद शेरचनलाई पक्राउ गरेको थियो । चामलमा मिसावट भएको सूचनाका आधारमा प्रहरीले शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदाममा छापा मारेको थियो । 

गोदामबाट नक्कली भनेर नमुना ल्याएको चामल परीक्षण गर्दा सक्कली नै रहेको पुष्टि भएको हो । आरटीसी ब्रान्डको चामलको आधिकारिक बिक्रेता रहेका शेरचनको गोदाममा २० केजी तौलको पाँच सय बोरा लङ ग्रेन चामल थियो । हाल उक्त गोदाममा सिलबन्दी गरिएको छ । चामल सक्कली नै भएको पुष्टि भएपछि गोदाममा गरिएको सिल खोलिदिने एसएसपी जोशीले बताए । 

विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले अन्य चामलको तुलनामा केही कडा भए पनि प्लास्टिकको सम्भावना नरहेको बताए । ‘सामान्य चामलभन्दा प्लास्टिक उत्पादन केही महँगो पर्छ । प्लास्टिक मिसावट गरिएको चामल पकाउँदा छुट्टिन्छ,’ उनले भने, ‘हरेक दृष्टिकोणले सम्भावना छैन । चामलमा प्लास्टिकजन्य बाह्य पदार्थको सम्भावना छैन ।’ सामान्यभन्दा केही फरक र कडाचाहिँ रहेको जनाएको छ । सामान्य चामलभन्दा फरक हुँदा सर्वसाधारणमा शंका उब्जेको उनले बताए । 

उक्त चामलको नमुना विभागको टोलीले पनि ल्याएको थियो । उक्त नमुना परीक्षणमा पनि केही फेला नपरेको विभागले जनाएको छ । ‘परिसरले पठाएको नमुनाको प्रतिवेदन परिसरलाई बुझाएका छौं । विभागले पनि चामल ल्याएर नमुनाको अध्ययन गरेको थियो,’ उनले भने, ‘चामलमा कुनै प्लास्टिक मिसावट देखिँदैन । अखाद्य वस्तुको मिसावट देखिँदैन ।’ 

प्लास्टिकको चामल बिक्री सन्दर्भमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य पंविधि विभागमा उजुरी परेको थियो । विभागका अनुसार साउन १८ गते जिरामसिनो चामलमा प्लास्टिक मिसवट गरी बिक्री गरेको भन्दै देवराज सुवेदीले उजुरी गरेका थिए । विभागले नमुना परीक्षण गर्दा प्लास्टिकको उपस्थिति नरहेको पाइएको थियो । ‘उक्त चामल असार १९ गतेबाट विश्लेषण सुरु गरेका थियौं । शुक्रबार विश्लेषण समाप्त भएको छ,’ विभागका एक अधिकारीले भने, ‘परीक्षणका क्रममा चामलमा प्लास्टिकजन्य बाह्य पदार्थ भेटिएन ।’ प्रवक्ता वस्तीका अनुसार प्लास्टिक चामलसम्बन्धी विश्वका विभिन्न मुलुकमा हल्ला फैलिँदै आएको छ । तर, हालसम्म प्रमाणित हुन नसकेको विभागले जनाएको छ ।

कान्तिपुर

Link copied successfully