‘मूल्य वृद्धिदर ५%’

यज्ञ बञ्जाडे

काठमाडौं — मुलुकको बजार भाउ नियाल्ने नेपाल राष्ट्र बैंकको आन्तरिक अध्ययनले चालु आर्थिक वर्षमा मूल्य वृद्धिदर ५ प्रतिशतभित्रै रहने देखिएको छ । विगत १० महिनामा मूल्य वृद्धिदरको स्थितिका आधारमा बाँकी दुई महिनाको समेत प्रक्षेपण गरेर केन्द्रीय बैंकले यो अवस्था देखाएको हो ।

चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाख) सम्मको औसत वार्षिक विन्दुगत मूल्य वृद्धिदर ४.८ प्रतिशत छ ।

यो चालु आर्थिक वर्षको वार्षिक लक्ष्यभन्दा २.७ प्रतिशत विन्दुले कम हो । चालु आर्थिक वर्षमा मूल्य वृद्धिदर ७.५ प्रतिशतभित्रै राख्ने लक्ष्य लिइएको थियो । १० महिनासम्मको तथ्यांक हेर्दा उक्त लक्ष्य सजिलै पूरा हुने देखिन्छ । यसअघि राष्ट्र बैंकले तय गरेका मूल्य वृद्धिदरका धेरै लक्ष्यहरू पूरा भएका छैनन् । यसकारण विरलै मात्र प्राप्त हुने मूल्य वृद्धिको वार्षिक लक्ष्य यो वर्ष पूरा हुने भएको हो । 

गत असोजसम्म केही उच्च रहेको मासिक मूल्य वृद्धिदर त्यसपछि घट्न थालेको थियो । गत फागुनमा यस्तो वृद्धिदर २.९ प्रतिशतमा झर्यो । त्यसपछिका महिनामा यस्तो दर थोरै बढे पनि अपेक्षाभन्दा कम नै छ । यसकारण बाँकी दुई महिनामा ७/७ प्रतिशतले मूल्य वृद्धि भएको अवस्थामा पनि वार्षिक मूल्य वृद्धिदर औसतमा ५.२ प्रतिशत रहनेछ । ‘जेठ र असारमा मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कमै हुने देखिन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । यसकारण चालु आर्थिक वर्ष वार्षिक मूल्य वृद्धिदर औसतमा ५ प्रतिशतभित्रै रहने आकलन गरिएको हो ।

‘चालु आर्थिक वर्षको वार्षिक औसत मूल्य वृद्धिदर ५ प्रतिशतकै हाराहारीमा रहने देखिन्छ,’ राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले भने । गत वर्षको आधार मूल्यको प्रभाव र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण समीक्षा अवधिमा उपभोक्ता मूल्य वृद्धिदरमा कमी आएको उनले बताए । ‘गत वर्ष मुलुकमा असहज परिस्थितिका कारण वार्षिक मूल्य वृद्धिदर झन्डै १० प्रतिशत थियो,’ थापाले भने, ‘यस वर्ष मुलुकको अवस्था सामान्य हुनुका साथै छिमेकी राष्ट्रहरूमा मूल्य वृद्धिदर न्यून रहेकाले फाइदा पुगेको हो ।’ गत वर्ष नाकाबन्दीका कारण बजार भाउ निकै अकासिएको थियो ।

यस वर्ष मूल्य वृद्धिदर न्यून रहे पनि आगामी वर्ष केही चाप हुने थापाको आकलन छ । ‘यो वर्ष लक्ष्य भेटे पनि आगामी वर्ष मूल्य वृद्धिदरमा पनि दबाब पर्ने देखिन्छ,’ उनले भने, ‘यो वर्षको कम आधार मूल्य, बजारमा बढ्दो मागलगायत कारण मूल्य वृद्धिमा दबाब पर्न सक्छ,’ उनले भने । यो वर्ष स्थानीय निकायमा ठूलो रकम विनियोजन भएको छ । त्यसले अनुत्पादक क्षेत्रमा खर्च बढ्ने भएकाले मूल्य वृद्धिदरमा चाप पर्ने उनको आकलन छ । 

वैशाखमा वार्षिक विन्दुगत मूल्य वृद्धिदर ३.४ प्रतिशत छ । त्यसयताको तथ्यांक केन्द्रीय बैंकले सार्वजनिक गरेको छैन । अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब साढे ६ प्रतिशत विन्दुले कम हो । तर, गत चैतको तुलनामा यो ०.४ प्रतिशत विन्दुले कम हो । यो वर्ष बजारमा उपभोक्ताले सस्तोमा वस्तु तथा सेवा त पाएनन् तर वृद्धिदरको अंकमा भने निकै सुधार देखियो ।

यसकारण यो वर्ष मूल्य वृद्धिको क्षेत्रमा खासै चाप परेन । यसको अर्थ बजार भाउ बढ्दै हो तर कम दरले मात्रै । गैरखाद्य वस्तु तथा सेवाको मूल्य बढे पनि अन्तर्राष्ट्रिय जगतमा खाद्य वस्तुको मूल्य न्यून भएकै कारण मुलुकलाई ठूलो राहत मिलेको हो । गत वर्षको आधार मूल्यको प्रभाव र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण समीक्षा अवधिमा उपभोक्ता मूल्य वृद्धिमा कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा गत वैशाखसम्म काठमाडौं उपत्यकाको मूल्य वृद्धिदर सबैभन्दा कम छ । उक्त अवधिमा काठमाडौं उपत्यकाको मूल्य वृद्धिदर १.९ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा काठमाडांै उपत्यकामा यस्तो वृद्धिदर साढे ११ प्रतिशत थियो । काठमाडौं उपत्यकापछि कम मूल्य वृद्धि हिमालमा छ । गत वैशाखमा हिमाली क्षेत्रको मूल्य वृद्धिदर २.८ प्रतिशत, तराईमा ३.६ प्रतिशत र पहाडमा ४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको वैशाखमा पहाडमा ११ प्रतिशत, तराईमा ८.६ प्रतिशत, हिमालमा ९.१ प्रतिशत र काठमाडौं उपत्यकामा ११.५ प्रतिशत थियो ।

 

प्रकाशित : असार १२, २०७४ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भारतीय रेल्वेको जरिवाना ६ गुणासम्म बढ्यो

भूषण यादव

वीरगन्ज — भारतीय रेल्वेले सीमावर्ती रक्सौल स्टेसनको माल गोदाममा आउने र्याकको विलम्ब शुल्कमा भारी वृद्धि गरेको छ । पूर्व मध्य रेल समस्तीपुरले गत बिहीबार जारी गरेको सूचनाअनुसार विलम्ब शुल्क ६ गुणासम्म बढेको छ ।

यही जुन २४ शनिबारदेखि १० दिनका लागि नयाँ विलम्ब शुल्क लागू गरिएको रेल्वेले जनाएको छ । रेल्वेले अनलोडमा ९ घण्टा र गोदाममा राखिएको मालसामान हटाउन १२ घण्टा नि:शुल्क समय उपलब्ध छ । उक्त समयभित्र सामान हटाउन नसकेको खण्डमा एउटा बोगीको प्रतिघण्टा १ सय ५० भारतीय रुपैयाँको दरले जरिवाना लिने गरेको छ । एउटा रेल्वे र्याकमा ५९ वटासम्म बोगी हुन्छन् ।

आयातकर्ताका अनुसार ६ गुणा जरिवाना तिर्नुपरे एउटा र्याक नि:शुल्क समयभन्दा बढी रोकिएमा १० लाख ७९ हजार भारतीय रुपैयाँ जरिवाना दाखिला गर्नुपर्छ ।

वीरगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष ओमप्रकाश शर्माका अनुसार भारतीय रेल्वेले वृद्धि गरेको जरिवानाले आम नेपाली उपभोक्ता मारमा पर्ने छन् । ‘विलम्ब शुल्कको विरोध गरे पनि कतै सुनवाइ भएको छैन,’ उनले भने, ‘सरकारले नै सुनवाइ नगरिदिएपछि हाम्रो के नै लाग्छ र ?’ शुल्क वृद्धिले आयातित सामग्रीमा भर पर्नुपरेका नेपाली उपभोत्तामा असर पर्ने भएको छ । शुल्क वृद्धि बराबरको मूल्य उपभोग्य सामग्रीहरूमा थप हुनेछ ।
रक्सौल रेल्वे स्टेसनमा हाल क्लिंकर, जिप्सम, स्ल्याग, कोइलालगायतका वस्तु थुप्रिएका छन् । रेल्वेको पत्रमा तोकिएको समयभन्दा दुई घण्टासम्म ढिलाइ भएमा सामान्य दररेटमा जरिवाना लिइने उल्लेख छ । तर, त्यसपछिको विलम्ब समयमा जरिवानाको दररेट बढदै गएको छ ।

दुईदेखि चार घण्टासम्म दुई गुणा, चार घण्टादेखि ६ घण्टासम्म सामान्य दरको चार गुणा र ६ घण्टादेखि बढीमा ६ गुणा जरिवाना लिने उल्लेख छ । नयाँ दरमा आयातकर्ताले एक बोगीमा प्रतिघण्टा ९ सय भारतीय रुपैयाँ जरिवाना तिर्नुपर्छ । रक्सौल गोदामको मालसामान लोड गरी गन्तव्यसम्म लैजान कम्तीमा एक साता समय लाग्ने ती आयातकर्ताले बताए । त्यसमाथि केही दिनदेखि लगातारको वर्षाले रेल्वे स्टेसनको गोदामदेखि भारतीय कस्टम जोड्ने सडक हिलाम्मे बनेको छ । गोदाम वरिपरि पनि पानी जमेको छ । भारतीय रेल्वेले रक्सौल गोदाममा मालसामान थुप्रिने बित्तिकै जरिवाना दर बढाउने गरेको छ । नाकाबन्दी र महाभूकम्पको समयमा समेत जरिवाना बढाएको थियो ।

संविधान संशोधनबिना नै सरकारले दोस्रो चरणको निर्वाचन गरेको विरोधमा राष्ट्रिय जनता पार्टीले जेठ ३० देखि गरेको ५ दिन बन्दले सीमावर्ती रक्सोल रेल्वे स्टेसनको गोदाममा नेपाल आउने वस्तु थन्किएका छन् । आयातकर्ताका अनुसार थन्किएको वस्तु यथाशीघ्र ढुवानी गर्न दबाबका लागि भारतीय रेल्वेले जरिवाना वृद्धि गरेको हो । रक्सौल रेल्वे स्टेसनको गोदाममा अहिले ४६ हजार टन औद्यँेगिक कच्चा पदार्थ थुप्रिएको छ । उद्योगी व्यवसायीका अनुसार रेल्वेको गोदाममा ६ हजार र अन्यत्र ठाउँमा करिब ४० हजार टन नेपाल आउने मालवस्तु अलपत्र परेको छन् ।

गोदाममा सामान अनलोड गर्ने स्थान अभाव भएपछि रक्सौल रेल्वे स्टेसन नजिकै ९ वटा र्याक होल्डमा राखिएको छ । ‘यहाँको गोदाममा चाप बढेपछि रेल्वेको हाजीपुर कार्यालयले नेपाली मालसामान बोकेको ती र्याकलाई बाटोमै रोकिदिएको छ,’ संघका एक पदाधिकारीले भने, ‘एक र्याकमा करिब ३ हजार ८ सय टन कच्चा पदार्थ लोड हुने गरेको छ ।’ नेपालका लागि दैनिक ३ र्याक मालसामान रक्सौल स्टेसनमा आउने गरेको छ । केही दिनअघिसम्म भारतीय रेल्वेले मागको तुलनामा अति न्यून र्याक दिएपछि नेपालको आयात प्रभावित बनेको थियो । हाल चर्को जरिवानाको मारले सताएको छ ।

प्रकाशित : असार १२, २०७४ १०:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT