ओरालो लाग्यो रेसम खेती

पोखरा/स्याङ्जा — रेसम खेतीमा संलग्न किसानको संख्या बढे पनि उत्पादन भने बर्सेनि घटन थालेको छ । रेसम विकास कार्यक्रम पोखराका अनुसार किरा नपाली घाँस गाईवस्तुलाई खुवाउने चलन बढदा यस्तो भएको हो । ‘रेसम खेतीका लागि भनेपछि बिरुवा दिइन्छ,’ कार्यालय प्रमुख श्रीकान्त पौडेलले भने, ‘तर, धागो उत्पादनमा नभई किम्बु गाईवस्तुलाई खुवाएको पाइयो ।’

ओरालो लाग्यो रेसम खेती

निर्मलपोखरीका केशव आचार्यले दशकअघि १५ रोपनीमा रेसम खेती गरेका थिए । तर, हाल उनको रेसम खेती चार रोपनीमा सीमित भएको छ । उत्पादन गर्दा बजार भाउ नपाइने र कामदार अभावले घटाउन बाध्य भएको उनले बताए । ‘व्यक्तिगतभन्दा समूहगत रूपमा पाल्दा राम्रो हुने रहेछ,’ उनले भने, ‘सरकारले प्राविधिक सहयोग, राहत, अनुदानसहित व्यवसायीकरणमा जोड दिएमा यो पर्यटन व्यवसाय जस्तै हुनेछ ।’ कोया, धागो निकाल्ने र कपडा पनि बुन्ने काम समूहमा गर्न सके राम्रो आम्दानी हुने उनको भनाइ छ । धागो निकालेर व्यापारी खोज्दा समस्या भएकाले सरकारले बजारीकरणमा पनि सहयोग गर्नुपर्ने उनले बताए । 

मेथ्लाङका सिद्धिबहादुर केसीले पनि १५ रोपनीमा खेती गर्दै आएका छन् । सरकारले यो व्यवसायमा सहयोग नगरेको उनको गुनासो छ । कास्कीका निर्मलपोखरी, देउराली, सराङकोट, धिताल, धम्पुस, पुरुन्चौरमा रेसम खेती हुँदै आएको छ । पर्वत, बाग्लुङ, म्याग्दीमा पनि किम्बुको बिरुवा लैजान थालिएको छ । तर, रेसम धागो भने उत्पादन भने भएको छैन । 

स्याङजा चापाकोटका किसान डिल्लीबहादुर माझीको कुनैबेला आम्दानीको मुख्य स्रोत रेसम खेती थियो । तर, पछिल्लो समया घटदो क्रमले उनी निराश छन् । ‘रेसम खेती मासिदै जाँदा विकल्प खोज्नुपर्ने बेला भएको छ,’ उनले भने, ‘नयाँ पुस्ताले झन्झट मान्दा पनि समस्या भएको हो ।’ बजारीकरणमा समस्या र सरकारले चासो नदिँदा जिल्लाका किसान रेसम खेती छाडदै गएका उनले बताए । 

कार्यालयका अनुसार फर्मभित्र आर्थिक वर्ष ०६८/६९ मा ४५० केजी विजकोया उत्पादन भएकोमा आव ०७२/०७३ मा आइपुग्दा जम्मा १ सय ५ केजी मात्रै उत्पादन भएको छ । यसैगरी किसानस्तरबाट ०६८/०६९ दुई टन कोया उत्पादन भएकामा गत वर्ष ७ सय केजीमा झरेको छ । पाँच वर्षको अवधिमा कास्कीमा २६ किसानबाट बढेर ६० पुगेको कार्यालय प्रमुख पौडेलले बताए । 

अनुदान तथा राहतका कार्यक्रम न्यून भएकाले बजेट वृद्धि गर्दै व्यावसायिकतातर्फ किसानलाई आकर्षण गराउन कार्यक्रम ल्याउनुपर्ने पौडेलको भनाइ छ । वार्षिक बजेट कम भएर पनि समस्या रहेको उनले बताए । रेसम खेतीलाई पशुपालनसँग पनि एकीकृत गर्दै अघि बढेमा व्यावसायिक रूप लिने उनको भनाइ छ । ‘छोटो समयमा उत्पादन लिन सकिने ठूलो सम्भावना भएको खेती हो,’ उनले भने, ‘भिरालो, कम मलिलो, अन्य खेती नहुने ठाउँमा यो गर्न सकिन्छ ।’ वर्षमा २/३ पटक किरा पाल्न सकिने र एक रोपनीबाट सिजनमा ५० किलोसम्म उत्पादन लिन सकिने र बजारको पनि समस्या नभएको व्यवसाय रहेको उनले बताए । 

रेसम खेती प्रवद्र्धन गर्न स्याङजाको वालिङ नगरपालिकास्थित त्रियासीमा रेसम खेती विकास कार्यालय स्थापना भएको थियो । जिल्लाको ४२ रोपनी क्षेत्रफलमा सुरुमा रेसम खेती गरिएको थियो । त्यसबेला भीरकोट, चापाकोट नगरपालिका, मनकामना, अर्जुनचौपारी गाउँपालिकालगायत स्थानमा हुन्थ्यो । तर, हाल देख्नसमेत गाह्रो भएको रेसमखेती विकास अधिकृत मगनीराम चौधरीले बताए । 

कृषकको जीवनस्तर उकास्ने, ग्रामीण, स्वरोजगार तथा वातावरण संरक्षणमा मद्दत गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको हो । ‘रेसम खेतीतर्फ कृषकको आकर्षण घटेको छ,’ उनले भने, ‘प्राविधिक समस्या, बजार मूल्यमा गिरावट, युवाको विदेश मोह, झन्झटिलो खेती प्रक्रियालगायत समस्याले यस्तो भएको हो ।’ 

प्रकाशित : वैशाख १५, २०७४ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?