१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

किसानको मिहिनेत बिचौलियालाई फाइदा

काभ्रे — पनौती १० का प्रयाग केसीले यो वर्ष ७० हजार रुपैयाँको मात्रै सुन्तला बिक्री गरे । गत वर्ष १ लाख ५० हजार रुपैयाँमा बिक्री गरेका थिए । ‘राम्रो सुन्तला फलेको छैन भनेर यो वर्ष आधा मूल्य पनि पाइएन,’ उनले भने, ‘व्यापारीले बगैंचामा नै आएर मोलतोल गर्छन्, दिएको भाउ लिन बाध्य छौं ।’

किसानको मिहिनेत बिचौलियालाई फाइदा

व्यापारीले प्रतिकेजी २५ रुपैयाँमा किसानसँग उठाएर सुन्तला ग्रेडिङ गरेर प्रतिकिलो ५० सम्ममा होलसेललाई दिन्छन् । ग्राहकले सोही सुन्तलाको मूल्य ९० देखि १ सय १० रुपैयाँसम्म तिर्नुपर्छ । किसानले फलाएका सुन्तला कालीमाटी, बल्खु, बनेपालगायतका तरकारी बजारमा व्यापारीले दोब्बर मूल्यमा बिक्री गर्ने गरेका हुन् ।

बनेपामा फलफूल पसल सञ्चालन गर्दै आएका दीपक तिमल्सिना प्रतिकेजी २० रुपैयाँसम्म नाफा गर्ने गरेको स्विकार्छन् । ‘विभिन्न मूल्यका सुन्तला लिएर आउछौं र सोही अनुसार बिक्री गर्छौं,’ उनले भने, ‘प्रतिकिलो २० रुपैयाँसम्म नाफा त खानैपर्‍यो ।’ मधेस मूलका व्यापारी सुन्तलाको मोल गर्न दसैंअघि नै बैना गर्न किसानको बगैंचामा पुग्ने गरेका छन् । पछि मूल्यमा उतारचढाव आए पनि पुरानै मूल्य पाउँछन् । शंखुपाटीचौरका किसान माधवप्रसाद बजगाईले सुन्तलाको स्थायी बजार नभएका कारण किसानले भने जति मूल्य पाउन नसकेको गुनासो गरे । ‘सुन्तलाको स्थायी बजार नहुँदा व्यापारीले जति भन्यो त्यतिमा बेच्न बाध्य छौं,’ उनले भने, ‘हाम्रो मिहेनतमा फाइदा भने अरूले लिन्छन् ।’

वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डितले सरकारले मूल्य नतोक्ने भएकाले एकरूपता आउन नसकेको बताए । ‘कृषि विकास कार्यालयले मूल्य तोक्दैन,’ उनले भने, ‘किसान आफैंले कारोबार गर्ने भएकाले मूल्य फरक पर्ने गरेको छ ।’

उत्पादनमा कमी
गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा कमी आएको छ । भूकम्पले सुन्तलाका जराहरू छिनेपछि बोट सुक्दै गएका कारण सोचेजस्तो उत्पादन हुन नसकेको शंखुपाटीचौर कृषक सीताराम भट्टराईले बताए ।

‘भूकम्पले सुन्तलाका जराहरू छिन्दो रहेछ, त्यसले बिरुवाहरू सुक्दै गएका छन्,’ उनले भने, ‘हाँगा सुक्नेलगायतका रोग पनि देखिएका छन् ।’ १५ रोपनी क्षेत्रफलमा व्यवसायी सुन्तला खेती गर्दै आएका भट्टराईले अघिल्लो वर्ष ५ लाख रुपैयाँको बिक्री गरेकामा यो वर्ष कमी हुने बताए ।

अधिकृत पण्डितले यो वर्ष जिल्लामा १० प्रतिशतले सुन्तला उत्पादनमा कमी आउने अनुमान गरेको बताए । ‘सुन्तलाको फल कुवाउने औंसा (एक प्रकारको किरा) र सिट्रोल बिक्रा (बोटमा ऐंजेरु लाग्ने, हाँगा सुक्ने) जस्ता रोग देखापरेको छ,’ उनले भने । गत वर्ष १० हजार १ सय ५८ टन सुन्तला उत्पादन भएको थियो ।

 

प्रकाशित : पुस २८, २०७३ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?