३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विकास बजेटमा सांसद हाबी, पूर्वमन्त्रीले माइन्युटै च्याते

आश गुरुङ

लमजुङ — निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट विनियोजनमा सांसदको हाबी हुने गरेको छ । आफ्नै स्वार्थका योजनामा उनीहरूले बजेट विनियोजन गर्दा पूर्वाधार विशेष कार्यक्रममा विरोध र प्रस्ताव अस्वीकृत भएका छन् ।

पूर्वाधार कार्यक्रमको बजेट विनियोजन गर्ने क्रममा कुरा नमिल्दा पूर्वमन्त्री शिवलाल थापामगरले माइन्युट नै च्याते । राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका केन्द्रीय अध्यक्षसमेत रहेका उनी समानुपातिकतर्फका सांसद हुन् ।

तनहुँ घर भएका उनले छिमेकी जिल्ला लमजुङको २ नम्बर क्षेत्रमा आफ्नो सांसद विकास कोषको ५० लाख रुपैयाँ खर्चनेछन् । कार्यक्रम निर्देशन तथा व्यवस्थापन समितिको सदस्यको हैसियतबाट उनले आफ्ना योजना पेस गरे । शनिबारको बैठकमा उनका योजनालाई समितिका संयोजक सांसद चन्द्रबहादुर कुँवरले ठाडै अस्वीकार गरे । केपी ओली सरकारको पालामा विज्ञान तथा प्रविधिमन्त्री बनेका उनले आफ्ना कुराको सुनुवाई भएको भन्दै माइन्युट च्यातेको स्विकारे । बैठकसमेत बहिस्कार गरे ।

कुँवरले गत वर्ष ३५ लाख बजेट विनियोजन गरेको आफ्नै घर जाने र वरपरको बाटो कालोपत्रे गर्ने, स्ल्याब बनाउने भन्दै यसपटक ५० लाख रुपैयाँ विनियोजन गरेका छन् । उक्त योजना २ नम्बर क्षेत्रमा निर्माण हुने सबैभन्दा ठूलो रकमको योजना हो । घर वरपरकै क्षेत्र जोडिने गरी दुईवटा सडकलाई २४ लाख रुपैयाँ विनियोजन गरेका छन् ।

सुन्दरबजार नगरपालिका ६, फेदीकुना घर रहेका उनले वितरण गर्न पाउने १ करोड ९१ लाखमध्ये १ करोड ४ लाख रुपैयाँ सुन्दरबजार नगरपालिकाभित्र मात्रै विनियोजन गरेका छन् । २ नम्बर क्षेत्रमा सुन्दरबजारसहित तीन नगरपालिका र छ गाविस छन् । ग्रामीण क्षेत्र, मगर वा दुरा संग्रहालयका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गर्न प्रस्ताव गर्दा कुँवर नमानेको पूर्वमन्त्री थापामगरले आरोप लगाए ।

गत वर्ष कुँवरले एकलौटी रूपमा योजना पेस गरेको र समितिले आफूलाई नबोलाई बजेट विनियोजन गरेको भन्दै सांसद भीष्म अधिकारीले आपत्ति जनाएका थिए । २० लाख रुपैयाँ बजेट अबन्डा राखेर कुँवरको अध्यक्षतामा बसेको बैठकले १ करोड ३० लाख बजेट विनियोजन गरेको थियो । उक्त रकम फ्रिज भएको थियो । यसपटक सांसद अधिकारीको पुख्र्यौली घर रहेको दुराडाँडा क्षेत्रमा सडक स्तरोन्नतिका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि उनी चुप लागेका छन् । सांसद दिलबहादुर घर्तीको पुख्र्यौली घर जिता क्षेत्रमा ३० लाख रुपैयाँको सडक योजना राखिएपछि उनी पनि मौन छन् ।

कुँवरका तुलनामा १ नम्बर क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदको हाबी नभएको जिविस कर्मचारीले बताएका छन् । स्रोतका अनुसार अधिकांश योजना सांसद जमिन्द्रमान घलेले प्रस्तावका परेका छन् । तर, उक्त क्षेत्रका अन्य दुई सांसदले यसको विरोध गरेका छैनन् । जिविसका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २ नम्बर क्षेत्रको बजेट विनियोजन गर्ने क्रममा पूर्वमन्त्रीले माइन्युट च्यातेको बताए ।

उनका अनुसार १ नम्बर क्षेत्रको त्यस्तो खासै केही भएन । ‘१ नम्बर क्षेत्रका तीनजना माननीयहरू पहिल्यै मिलेर आएको जस्तो देखियो । प्रस्ताव गरेपछि तीनैजनाले हुन्छ भनेर हस्ताक्षर गर्नुभयो । मिटिङ सकियो,’ उनले भने, ‘२ नम्बरको राम्रो भएन । माइन्युट नै च्यात्नेसम्मको अवस्था आयो ।’

स्थानीय विकास अधिकारी शेखर पौड्यालले योजना सन्तुलित ढंगले परेको दाबी गरे । उनका अनुसार सडक योजनामा बढी मात्रामा बजेट विनियोजन गरिएका छन् । उनले घुमाउरो भाषामा प्रत्यक्ष निर्वाचित सांसदले बढी आयोजना प्रस्तावमा ल्याउने गरेको बताए । तर, ती आयोजनाहरू जिल्ला परिषद्, नगर परिषद् र गाउँ परिषद्ले सिफारिस गरेका योजनाहरू रहेको जिविसले जनाएको छ । ‘निर्वाचित सांसद संयोजक हुने भएकाले बढी आयोजना प्रस्ताव गर्नु स्वाभाविक हो,’ उनले भने, ‘आवश्यकता भएको ठाउँमा बजेट विनियोजन भएको छ । कार्यान्वयनतर्फ लाग्नुपर्छ ।’

जिविसका अनुसार २ नम्बर क्षेत्रमा १९ वटा र १ मा २५ वटा योजना छनोट गरेर बजेट विनियोजन गरिएको छ । नौ/नौ लाख रुपैयाँ कन्टिन्जेन्सी काटिएको छ । २ नम्बर क्षेत्रमा १५ वटा सडक, तीनवटा विद्यालय र एउटा खेल मैदानका योजनामा बजेट विनियोजन गरिएका छन् । १ मा १९ वटा सडक, एउटा आरोग्य केन्द्र, चारवटा भवन र पाइप साथै तारजाली खरिद योजनामा बजेट विनियोजन गरिएको छ ।

प्रकाशित : मंसिर १४, २०७३ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?