खर्च अभावले जहाज दुर्घटना छानबिन प्रभावित

सुरज कुँवर

काठमाडौं — कालिकोटमा दुर्घटना भएको एयर काष्ठमण्डपको कारण पत्ता लगाउन गठित जाँच आयोगको समय अवधि थप्दा पनि प्रतिवेदन आउन सकेको छैन । जाँचबुझका लागि आवश्यक खर्चको व्यवस्था हुन नसक्दा सरकारले तोकेको ६० दिनको भाका, त्यसपछि थपिएको ३५ दिनको समयसीमा सकिएको छ ।

एयर काष्ठमण्डपको प्याक ७५०–एक्सएल विमानको दुर्घटना जाँच गर्न गठन गरिएको आयोगले फेरि ४५ दिनको समय थप मागेको छ । तर, प्रतिवेदन समयमै आउनेबारे अझै विश्वस्त हुन नसकिएको अधिकारीहरू बताउँछन् ।

छानबिनमा संलग्न उच्चस्तरीय जाँच आयोगका अध्यक्ष पूर्वसचिव यज्ञ प्रसाद गौतम र सदस्यसचिव हरिबहादुर खड्का टिकट/खर्चको अभावमा काठमाडौंमै रुमलिरहेका छन् । जहाजको इन्जिन भने क्यानडा पुगिसकेको छ । एयर काष्ठमण्डपको जहाज दुर्घटना छानबिन बारेको यो पछिल्लो अवस्था हो ।

‘दुई सदस्य यसै साता क्यानडा जानुपर्ने । भिसा आइसक्यो तर टिकट खर्च अभावले उनीहरू यतै रोकिएका छन्,’ मन्त्रालय स्रोतले भन्यो । नेपालमा जहाज दुर्घटना भएपछि गठन हुने आयोगलाई आवश्यक पर्ने खर्च/भत्ता नेपाल सरकारले उपलब्ध गराउँछ । तर, जहाजका उपकरणको जाँच गर्न ‘विदेश जानुपरे कसले बेहोर्ने ?’ भन्नेबारे कानुन मौन भएकै कारण यो समिति अल्झनमा परिरहेको छ । ‘खासमा जहाजको फ्लाइट डाटा रेकर्ड र ककपिट भ्वाइस रेकर्ड रहने ब्याल्क बक्स, टिकास आदिबारे अध्ययन गर्नुपरे विदेश जाने चलन छ ।

यस्तो अवस्थामा खर्च कसले बेहोर्ने भन्नेबारे कुनै ऐन/नियम छैन तर सम्बन्धित एयरलायन्सले नै बेहोर्ने चलन कायम छ,’ उड्डयनमा संलग्न एक व्यवसायी भन्छन्, ‘नेपालमा चलेको यो गलत चलन हो यो त चोरसँग पुलिसले छानबिन गर्न पैसा मागे जस्तै हो । रोकिनुपर्छ । ’ दुर्गम उडानमा जहाज सञ्चालन गर्दै आएका ती व्यवसायीले जहाज कम्पनीकै खर्चमा विदेश जाँदा प्रतिवेदन प्रभावित हुने बताए । तर, जहाज दुर्घटनाबारे छानबिन गर्न विदेश जानैपरे सम्बन्धित एयरलाइन्सले नै खर्च बेहोर्ने चलन सरकारले नै चलाउँदै आएको छ । ‘छानबिनमा संलग्न अधिकारीहरू मन्त्रालयबाटै निर्णय गराउँदै विदेश जाने गरेका छन्, भर्खरै तारा एयरको टुइनअटर छानबिनमा संलग्न दुई जना सदस्य पनि क्यानडा पुगेर आए,’ ती व्यवसायीले भने ।

एयर काष्ठमण्डपको जहाज दुर्घटना जाँच आयोगमा संलग्न एक सदस्य उक्त एयरलाइन्सको आन्तरिक विवादका कारण जाँच प्रभावित भइरहेको बताउँछन् । ‘एयर काष्ठमण्डपको जहाजमा ब्ल्याक बक्स थिएन । यस घटनामा सत्यतथ्य पत्ता लागाउने एउटै माध्यम इन्जिन मात्रै हो । हामीले पहिलो पटक नेपालबाट इन्जिन जाँच्न पठाउनुपर्ने भयो तर कम्पनीले खर्च त के धरौटीसमेत राख्न सकेन,’ ती सदस्यले भने ।

पर्यटन मन्त्रालयका अनुसार काष्ठमण्डपले इन्जिन पठाउने खर्च बेहोर्न नसक्ने भएपछि इन्जिन उत्पादक कम्पनीले नै आफ्नै खर्चमा इन्जिन नेपालबाट झिकाएको थियो । तर, इन्जिन पठाउँदा भन्सारमा राख्नुपर्ने २ लाख रुपैयाँ धरौटी काष्ठमण्डपले बुझाउन नसक्ने भएपछि पर्यटन मन्त्रालयले भन्सारलाई ग्यारेन्टीपत्रमार्फत सहयोग गरेको थियो । काष्ठमण्डपले ३ महिनाभित्र क्यानडाबाट इन्जिन ल्याउने लिखित कागज गरेपछि भन्सारले जहाजको इन्जिन उत्पादक कम्पनीलाई पठाइदिएको थियो ।

उक्त इन्जिन क्यानडा पुगेको एक महिना बित्न लागिसक्यो तर यताबाट जानुपर्ने आयोगका सदस्य नगएकै कारण उता कम्पनीका इन्जिनियरहरूले इन्जिन खोलेर अध्ययन गर्ने कार्य सुरु गरेका छैनन् । ‘उनीहरू बोलाएको बोलाई छन्, हामी पैसा अभावका कारण जान सकिरहेका छैनौं ।’ यो जहाज गत फागुन १४ गते कालिकोटको चिल्खयामा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा ९ जना यात्रु बाँचेका थिए भने चालकदलका दुई सदस्य क्याप्टेन दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ २७, २०७३ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?