अन्तराष्ट्रिय विमानले भारतमा तेल भर्न थाले- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

अन्तराष्ट्रिय विमानले भारतमा तेल भर्न थाले

आन्तरिकका लागि २५ दिनसम्मलाई पुग्ने इन्धन
सुरज कुँवर

काठमाडौं — विमानहरुलाई हवाई इन्धन उपलब्ध गराउने सिनामंगलस्थित आयल निगमको हवाई इन्धन डिपोले २५ दिनसम्मका लागि पर्याप्त इन्धन रहेको बताएको छ । डिपो प्रमुख प्रदीप यादवका अनुसार, भारतले गरेको नाकाबन्दीका कारण इन्धन आपुर्तीमा समस्या आइलागे पनि आन्तरिक उडान, चार्टर र हेलिकप्टर उडानका लागि करिब एक महिनालाई पुग्ने इन्धन छ ।

विमानहरुलाई हवाई इन्धन उपलब्ध गराउने सिनामंगलस्थित आयल निगमको हवाई इन्धन डिपोले २५ दिनसम्मका लागि पर्याप्त इन्धन रहेको बताएको छ ।

डिपो प्रमुख प्रदीप यादवका अनुसार, भारतले गरेको नाकाबन्दीका कारण इन्धन आपुर्तीमा समस्या आइलागे पनि आन्तरिक उडान, चार्टर र हेलिकप्टर उडानका लागि करिब एक महिनालाई पुग्ने इन्धन छ । ‘आन्तरिक उडानमा जतिसुकै भए पनि २५ दिनसम्मलाई पुग्ने इन्धन जगेडा राखेका छौं । आन्तरिक यात्रुका लागि दसैं लक्षित उडानलाई समस्या हुने छैन,’ डिपो प्रमुखले भने ।

उनले हाल भइरहेको आन्तरिक उडानको संख्या साविकभन्दा वृद्धि भए पनि जगेडा इन्धनले कम्तिमा पनि २५ दिन थेग्ने बताए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार, दसैं आसपासमा दैनिक आउने/जाने गरी ३ सय हाराहारी आन्तरिक उडान हुने गरेका छन् । यसपटक तराईमा भइरहेको बन्दका कारण उडान संख्या अघिल्लो वर्षको दाँजोमा बढ्ने अनुमान व्यवसायीहरुले गरेका छन् । विनाशकारी भुकम्प र नाकाबन्दीको प्रभाव कायमै भएकाले अहिले २ सय हाराहारी आन्तरिक उडान भइरहेका छन् ।

यसैबीच मंगलबार १२ बजेपछि काठमाडौं उडान गर्ने अन्तर्राष्ट्रिय विमानहरुले कलकत्ताबाट इन्धन आपुर्ति थालेका छन् ।

एयरलायन्स अपरेसन कमिटी नेपालका अध्यक्ष भरत श्रेष्ठका अनुसार, मंगलबार मध्यान्नदेखि अन्तराष्ट्रिय उडानहरुले कलकत्ताबाट इन्धन भरेर तथा काठमाडौंबाट फर्किदा कलकत्तबाट इन्धन लिई गन्तव्यतर्फ जान थालेका छन् । ‘हामीले नागरिक उड्यन प्राधिकरणको सिफारिसमा मंगलबार मस्कटका लागि उडान भर्ने ओमन एयर र चीनबाट आएको एउटा एयर एम्बुलेन्सलाई मात्रै इन्धन उपलब्ध गरायौं,’ यादवले भने । उनका अनुसार, ओमनलाई १२ सय लिटर र एयर एम्बुलेन्सलाई ११ सय लिटर इन्धन दिइएको थियो ।

विमानस्थलमा रहेको डिपोबाट सबैभन्दा धेरै इन्धन किन्नेमा युरोपबाट काठमाडौं आउने टर्किस विमान हो । यसले एउटा उडानमा ३० हजारदेखि ४० हजार लिटर इन्धन भर्छ । टर्किसपछि धेरै उडान भर्नेमा कोरियन एयर हो । यसले २५ हजार लिटर हाराहारी इन्धन खरिद गर्छ । सार्क क्षेत्र आपपासका क्षेत्रीय विमानहरुले १० हजारदेखि १५ हजार लिटर हाराहारी तेल भर्ने गरेका थिए ।

तर, मंगलबारदेखि अन्तराष्ट्रिय उडानहरुले भारतको कलकत्ता र दिल्लीबाट तेल भर्न टेक्निकल उडान गर्न थालेका छन् । डिपोले राष्ट्रिय ध्वजावहाकलाई पनि नेपाल बाहिरबाटै तेल भरेर आउन अनुरोध गरेको छ । ‘निगमलाई बाहिरबाटै तेल भनेर ल्याउन अनुरोध गरेका छौ, यसलाई इन्धन आपुर्तीमा रोकिहालेका छैनौं,’ डिपो प्रमुख यादवले भने ।

यता घरेलु विमान कम्पनीहरुले उडाउने जहाजहरुले एउटा उडानमा कम्तिमा ४ सय लिटरदेखि २५ सय लिटरसम्म इन्धन खपत गर्छन् । सबैभन्दा थोरै खपत गर्नेमा हेलिकप्टर पर्छ । यसले एउटा उडानका लागि ४ सय लिटरसम्म इन्धन खरिद गर्छ ।

नाकाबन्दीअघिको अवस्थामा विमानस्थलमा रहेको डिपोले आन्तरिक उडानलाई दैनिक ५० हजार लिटर इन्धन बिक्री गथ्र्यो भने अन्तर्राष्ट्रिय विमानहरुलाई दैनिक २ लाख ५० हजार लिटर इन्धन बिक्री गथ्र्यो । तर मंगलबार अरु दिन जस्तो २ लाख ५० हजार लिटर हाराहारी इन्धन बिक्री गरेन । मंगलबारको तथ्यांक अनुसार, डिपोले विमानस्थलमा १ लाख २० हजार लिटर हाराहारी बिक्री गरेको छ ।

प्रकाशित : आश्विन १२, २०७२ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्

अमरेशको कारबाही रोकियो

कुलचन्द्र न्यौपाने

काठमाडौं — कांग्रेस सभासद् अमरेशकुमार सिंहको कारबाही प्रकृया रोकिएको छ । कैलालीको टिकापुरमा सामाजिक सदभाव भड्काउने गरी अभिव्यक्ति दिएकोमा कारबाही गर्ने भन्दै पार्टीको अनुशासन समितिले सिंहलाई एक महिनाअघि २४ घण्टे स्पष्टीकण सोधेको थियो ।

अनुशासन समितिका सदस्यहरुबीच कारबाही गर्ने कि नगर्ने भन्नेमा विवाद बढेको छ । विवादकै कारण समितिको बैठक समेत बस्न सकेको छैन । समितिका अध्यक्ष आमोद उपाध्याय बिरामी भएकाले समितिका कार्यबाहक सभापति दिलवहादुर घर्ती छन् । सदस्यहरुमा सुरेन्द्र पाण्डे, रमेश रिजाल र मिना पाण्डे छन ।
समितिका सदस्य पाण्डे बाहेक अन्य सदस्यहरु तत्काल कारवाही गर्न नहुने पक्षमा उभिएपछि बैठक बस्न नसकेको स्रोतले बतायो । समितिले सोधेको २४ घण्टे स्पष्टीकरणको जबाफ सिंहले भदौ ११ गते बुझाएका थिए । त्यसको भोलिपल्टै घर्तिले बैठक बोलाएका थिए । तर, अचानक बालाइएको बैठक स्थगित भएपछि अहिले सम्म बस्न सकेको छैन ।

प्रधामन्त्री सुशील कोइराला र बरिष्ठ नेता शेरवहादुर देउवाले कारबाही गर्ने सार्वजनिक रुपमा बताउँदै आएपनि समितिले बैठक सम्म राखेको छैन । प्रधानमन्त्री कोइरालाले टिकापुरको भ्रमणमा पनि कारवाही हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।  

अनुशासन समितिले स्पष्टीकरण लिनु अघि प्रधानमन्त्रीको निर्देशनमा मुख्य सचेतक चीनकाजी श्रेष्ठले सिंहसंग स्पष्टीकरण लिइएका थिए । कोइरालाकै निर्देशनमा स्पष्टीकरणको जबाफ सहित कारवाही गर्न पार्टीको अनुशासन समितिमा सिफारिस गरिएको थियो ।

‘किन कारवाही नभएको भनेर हामीलाई सोध्ने गरिन्छ तर समितिको बैठक बोलाउने काम सम्म हुन सकेको छैन,’ समितिका सदस्य पाण्डेले भने,‘स्पष्टीकरण लिने बेलामा ७२ घण्टाको समय दिनुपर्छ भनेर मैले प्रस्ताव राख्दा २४ घण्टा भन्दा बढी दिन मानिएन । तर, अहिले बैठक किन बस्दैन ? प्रकृया अघि बढाइसकेपछि कारवाही गर्ने या नगर्ने एउटा टुंगोमा पुग्नुपर्छ ।’

प्रकाशित : आश्विन १२, २०७२ १९:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×