१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

इन्धनमा आपतकाल

राजु चौधरी

काठमाडौं — भारतले अघोषित रूपमा नाकाबन्दी गरेपछि इन्धनमा आपतकालीन स्थिति लागू गरिएको छ । नाकाबन्दीका कारण आपूर्ति व्यवस्था ठप्प भएपछि आपतकालीन अवस्था सिर्जना भएको हो ।

इन्धनमा आपतकाल

‘नेपाल आयल निगमसँग सीमित इन्धन मौज्दात छ । आपूर्ति व्यवस्था सहज बनाउन कोटा प्रणालीको निर्णय गरिसकेका छौं,’ गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने, ‘इन्धनमा कोटा प्रणाली लागू हुनु भनेको आपतकालको अवस्था हो ।’ निगमसँग सीमित मात्रामा इन्धन भएकाले त्यसको व्यवस्थापनामा गृहले सहयोग गर्ने उनले बताए ।

‘निगमसँग इन्धन छ । कुन/कुन स्थानमा वितरण गर्ने गृहलाई पत्राचार गर्छ,’ ढकालले भने, ‘सोहीअनुसार सुरक्षाको प्रतिबन्ध मिलाउँदै आएका छौं ।’ इन्धन मौज्दातको कमीले सरकारले शनिबारदेखि लागू हुने गरी सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली र सोमबारदेखि इन्धन वितरणमा कोटा प्रणाली लागू गरिसकेको छ ।

कोटा प्रणालीअनुसार दुईपांग्रे सवारी साधनले सातामा ३ लिटर, निजी सवारी (कार) ले सातामा १० लिटर, ट्याक्सी दैनिकले १० लिटर, सार्वजनिक सवारी ठूलो बसले ३० लिटर, मिनी बसले २० लिटर, स्कुल कलेजका बसले २० लिटरसम्म इन्धन पाउने जनाइएको छ ।

निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले अहिलेको विशेष परिस्थितिमा गृह मन्त्रालयको निर्देशनअनुसार अघि बढ्ने बताए । ‘निगमसँग भएको इन्धन सहज व्यवस्थापन गर्न गृहको निर्देशनअनुसार कोटा लागू भएको छ । तीन दिनसम्म गृहको निर्देशनअनुसार अघि बढ्छौं,’ उनले भने । उनका अनुसार सोमबार ३ सय ४८ किलो लिटर इन्धन वितरण गरिएको थियो । जसअनुसार १ सय ८ किलोलिटर पेट्रोल वितरण गरिएको छ ।

यो सामान्य दिनको तुलनामा ५० प्रतिशतभन्दा बढीले कम हो । यसअघि दैनिक ३ सय २५ किलोलिटर पेट्रोल वितरण हुन्थ्यो । सोमबार वितरण भएको पेट्रोल सुरक्षाकर्मी र साझा गरी ११ पम्पबाट वितरण भएको छ ।

निगमका प्रवक्ता दीपक बरालका अनुसार निजी क्षेत्रले सुरक्षा कारण देखाउँदै वितरण गर्न नचाहेकाले सरकारी पम्पबाट पेट्रोल वितरण गरिएको हो । निगमको तथ्यांकअनुसार सोमबार हल्चोक फ्युल सेन्टरलाई ८ हजार, साझा भण्डार लिलाई ४ हजार, नेसनल ट्रेडिङ लिलाई ८ हजार पेट्रोल वितरण गरिएको छ । रिपुमर्दिनी पेट्रोल स्टेसन २० हजार, प्रहरी कल्याणकारी कोष पेट्रोल पम्पलाई २० हजार, साझा सेवा बल्खुलाई ४ हजार, साझा सेवा पुल्चोकलाई २० हजार लिटर इन्धन वितरण गरेको छ ।

इन्द्रायणी आयल स्टोर प्रालिलाई ४ हजार, शक्तिदेवी पेट्रोल स्टेसनलाई ८ हजार, मध्यपुर आयल सप्लायर्सलाई ४ हजार र गुह्येश्वरी फ्युल स्टेसनलाई ८ हजार पेट्रोल वितरण गरिएको निगमले जनाएको छ । कोटा प्रणालीको अवधिभर ११ पम्पबाट पेट्रोल वितरण गरिने निगमले जनाएको छ ।

यस्तै सोमबार निगमको थानकोट डिपोबाट ६० पम्पलाई २ सय ४० किलोलिटर डिजेल वितरण गरिएको छ । मंगलबार योजना बनाएर अन्य पम्पहरूलाई डिजेल वितरण गर्ने बरालले बताए । निगमका अनुसार सोमबार खड्का आयल स्टोरलाई ४ हजार, सीता फ्युललाई ४ हजार लिटर वितरण गरेको छ । एलाईट फ्युल कन्सर्नलाई ४ हजार लिटर, वसुन्धारा आयल स्टोर, तलेजु भवानी ट्रेड, पूजाकोठी पेट्रोल पम्पलाई पनि ४ हजार लिटर डिजेल वितरण गरेको छ ।

पायोनियर लुब्रिकेन्टन्सलाई १२ हजार, कृस्टल सप्लायर्सलाई ४ हजार, चक्रपथ फ्युललाई ४ हजार, हलचोक फ्युललाई ४ हजार, हामा आयललाई ४ हजार, सत्यसाई आयललाई ४ हजार लिटर वितरण गरेको निगमले जनाएको छ । गणपति आयललाई ३ हजार, मकालु आयल ४ हजार, महाशक्ति फ्युललाई ३ हजार, डीएम आयललाई ४ हजार, त्रिशूल आयललाई ४ हजार, बाबा आयललाई ३ हजार लिटर वितरण गरेको छ । जय श्री गणेश आयललाई ४ हजार, थ्री ब्रदर्स आयललाई ३ हजार, हरिसिद्धि आयललाई ३ हजार लिटर वितरण गरेको निगमको तथ्यांकमा छ ।

भ्याली रिकेश सप्लायर्स ३ हजार, न्यु लामा आयाल स्टोर ३ हजार, सलम्ब देवी आयल ३ हजार, माली आयल ४ हजार, नेसलन ट्रेडिङ ८ हजार, रिपुमर्दिनी ८ हजार, त्रिलोचन इन्टरप्राइजेज ४ हजार, न्यु पुष्पाञ्जली आयल ३ हजार लिटर वितरण गरिएको छ । यस्तै, भ्यालु फ्युल ३ हजार, जय श्री गोमा गणेश ३ हजार, प्रहरी कल्याणकारी कोष पेट्रोल पम्प ८ हजार, दक्षिणकाली आयल ४ हजार, त्रिशक्ति फ्युल ३ हजार, शिव आयल ४ हजार, गायत्री देवी आयल ३ हजार, महालक्ष्मी विश्वकर्मा ३ हजार, साझा सेवा ६ हजार, शक्तिदेवी पेट्रोल ६ हजार, कामाख्या आयललाई ३ हजार लिटर वितरण गरेको छ ।

समृद्धि आयललाई ३ हजार, प्रवीण आयल ४ हजार, वाग्मती सप्लार्यस ४ हजार, गुह्येश्वरी फ्युल स्टेसन ४ हजार, न्यु महेश्वरी आयल ४ हजार, पूर्व अरनिको ३ हजार लिटर डिजेल वितरण गरेको जनाएको छ । पनौती आयल ३ हजार, श्री उग्रचण्डी आयल ६ हजार, पाँचकुमारी आयल ३ हजार, भगवती आयल, ६ हजार, भकुन्डेबेंसी आयल ३ हजार, माता भगवती आयल ३ हजार, चामुण्डा आयल ३ हजार, माता पलाञ्चोक ३ हजार, अँधेरी आयल ३ हजार, सुनकोसी आयल ३ हजार, जयमाता वनदेवी ३ हजार, सेराप आयल ३ हजार लिटर डिजेल वितरण गरेको छ ।


पेट्रोल पाइने पम्पहरू
१.    हल्चोक फ्युल सेन्टर, हल्चोक स्वयम्भू
२.    साझा भण्डार लि, स्वयम्भू
३.    नेसनल ट्रेडिङ लि, टेकु
४.    रिपुमर्दिनी पेट्रोल स्टेसन, भद्रकाली
५.    प्रहरी कल्याणकारी कोष पेट्रोल पम्प, नक्साल
६.    साझा सेवा बल्खु, बल्खु
७.    साझा सेवा पुल्चोक, पुल्चोक
८.    इन्द्रायणी आयल स्टोर प्रालि, सानेपा
९.    शक्तिदेवी पेट्रोल स्टेसन, लगानखेल
१०.    मध्यपुर आयल सप्लायर्स, ठिमी
११.    गुह्येश्वरी फ्युल स्टेसन, ठिमी

प्रकाशित : आश्विन १२, २०७२ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?