अन्तर्राष्ट्रिय उडानले आजदेखि तेल नपाउने

सुरज कुँवर

काठमाडौं — नेपाललाई बाँकी विश्वसँग दैनिक जोड्ने अन्तर्राष्ट्रिय उडानले मंगलबार मध्याह्नदेखि हवाई इन्धन नपाउने भएका छन् । १४ वटा मुलुकका २६ विमान कम्पनीले नेपाल उडान भर्छन् । यी वायु सेवा कम्पनीलाई आयल निगमको एयरपोर्ट डिपोले मंगलबार मध्याह्नदेखि लागू हुने गरी इन्धन नेपालबाहिरबाटै भरेर आउन भनेको छ ।

अन्तर्राष्ट्रिय उडानले आजदेखि तेल नपाउने

‘अन्तर्राष्ट्रिय उडानले आज दिउँसोदेखि हवाई इन्धन नपाउने भएका छन्,’ अन्तर्राष्ट्रिय उडान भर्ने अपरेटरहरूको संस्था एयरलायन्स अपरेसन कमिटी–नेपाल (एओसी–एन) का अध्यक्ष भरत श्रेष्ठले भने । उनका अनुसार नेपालमा इन्धन अभाव भएको कारण देखाउँदै निगमले अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई बाहिरबाटै तेल भरेर आउन अनुरोध गरेको हो ।

काठमाडौंमा तेल आपूर्ति सहज नभएसम्म अन्तर्राष्ट्रिय उडानहरूले भारतको लखनउ, दिल्ली, बंगलादेशबाट तेल भर्ने छन् । यसलाई उड्डयनको भाषामा टेक्निकल ल्यान्डिङ भनिन्छ ।

नेपाल वायु सेवा निगमका एक जना वरिष्ठ पाइलटका अनुसार अन्तर्राष्ट्रिय विमानहरूले टेक्निकल ल्यान्डिङ गर्नुपरेको यो दोस्रो घटना हो । ‘२०४५ सालमा भारतले नाकाबन्दी लगाउँदा पनि अन्तर्राष्ट्रिय उडानहरूले नेपालमा इन्धन अभाव झेल्नुपरेको थियो,’ ती पाइलटले भने । उनका अनुसार त्यसबेला निगमको बोइङ ७३७ जहाजले ढाकाबाट इन्धन ल्याएर मुलुकभित्र आपूर्ति गरेको थियो ।

नेपालमा उडान भरिरहेका अन्तर्राष्ट्रिय विमान कम्पनीहरूमध्ये मस्कट–काठमाडौं सिधा उडान भर्ने ओमन एयर, फ्लाई दुबईलगायत खाडी मुलुकका अरू २/३ वटा विमानहरूले लखनउ विमानस्थलमा अवतरण गरेर इन्धन मात्रै भर्ने छन्,’ एओसी अध्यक्ष श्रेष्ठले भने ।

त्यसैगरी काठमाडौंलाई युरोपसँग जोड्ने टर्किस एयरलायन्स, इत्तिहादलगायत केही विमान कम्पनीहरूले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल दिल्लीमा अवतरण गरी तेल भर्ने तालिका मिलाएको एओसी नेपाललाई जानकारी दिएका छन् । त्यस्तै कोरियन, चिनियाँलगायत पूर्वी रुटमा उडान भर्ने जहाजहरूले ढाका बैंककमा तेल हाल्ने तालिका मिलाएका छन् ।

नेपाल वायुसेवा निगमले एयरबसको दाँजोमा इन्धन क्षमता बढी भएको बोइङलाई दिल्ली, बैंग्लोर र मुम्बई उडाउने जनाएको श्रेष्ठले बताए । निगमका बोइङको इन्धन क्षमता ३४ टनसम्म हो भने एयरबसको करिब १९ टन हो । ‘संकट व्यवस्थापन गर्नुपर्ने भएकाले लोडअनुसार बाहिरी मुलुकबाट तेल भरेर ल्याउने सल्लाह भएको छ,’ निगमका प्रवक्ता रामहरि शर्माले भने । त्यसैगरी कतार एयरलायन्सले तेल अभावको समस्या समाधान गर्न वाइड बडी ( ठूलो आकारका विमान) ल्याउने (उडाउने) निर्णय गरेको छ ।

इन्धनका लागि हुने टेक्निकल ल्यान्डिङले अन्तर्राष्ट्रिय उडानहरूको खर्च बढाउने छ । ‘यात्रु/कार्गो घटाउनुपर्नेछ यो भनेको आर्थिक रूपमा घाटा बेहोर्नु हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘तेल भर्न जहाज अवतरण गर्दा ल्यान्डिङ/पार्किङको शुल्क पनि थपिने भयो ।’ विमान कम्पनीहरूले हालको खर्चमा ३० देखि ४० प्रतिशत थप खर्च बढ्ने भनेका छन् । हाल नेपालमा दैनिक आउने र जाने गरी ५० देखि ६० वटा अन्तर्राष्ट्रिय उडान भइरहेका छन् ।

यसैबीच आन्तरिक उडानका लागि भने एक महिनासम्मलाई इन्धनको व्यवस्था मिलाउने निगमले बताएको छ । ‘आन्तरिक उडान भर्ने विमान र हेलिकप्टर कम्पनीहरूसँग आइतबार बैठक भएको थियो,’ तारा एयरका म्यानेजर भीमराज राईले भने, ‘निगमले हामीलाई महिना दिनसम्मका लागि पुग्ने इन्धन रहेको जानकारी गराएको छ ।’

 

प्रकाशित : आश्विन १२, २०७२ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?