सुनिश्चित उपभोक्ता अधिकार- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनिश्चित उपभोक्ता अधिकार

राजु चौधरी

काठमाडौं — नयाँ संविधानले पहिलोपटक उपभोक्ताको अधिकारलाई सुनिश्चित गरेको छ। राष्ट्रपती रामवरण यादबले आइतबार जारी गरेको ‘नेपालको सविद्यान २०७२’मा पहिलो पटक उपभोक्तका अधिकारका विषय समावेश गरेर त्यसको सुनिश्चितता भएको हो।

संविधानमा उपभोत्ताका हक,हित र क्षतिपूर्ती सम्बन्धी स्पष्ट लेखिएको छ। धारा ४४ को दफा १ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने हक हुने उल्लेख गरिएको छ। धारा ४४को २ मा गुणस्तरहिन वस्तु वा सेवाबाट
क्षति पुगेको व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुने उल्लेख छ।
जनकारहरूका अनुसार अघिल्लो संविद्यानमा उपभोक्ताको हक/हितका बारे उल्लेख थिएन। ‘उपभोत्ता अधिकारको विषयमा पहिलोपटक नयाँ संविधानमा लेखिएको हो,’ उपभोक्ता हित सरक्षण मन्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘यो ठुलो उपलब्धी हो। उपभोक्ताको अधिकार/हकका लागि युग परिवर्तन भएको छ।’ मौलिक हक उल्लेख हुदा उपभोक्ता ठगिएको महसुस भए अदालत जान सहज हुने उनले बताए।
यसले उपभोक्ताको हित र अधिकारमा परिवर्तन ल्याउने आशा गरेको उनले बताए। नयाँ सविद्यानले स्वच्छ बजार हुने उपभोक्ताबादीहरूको भनाई छ। उपभोक्ता अधिकारका बारेमा नितीमा पनि पारेको छ। सविद्यानको घारा ५१ घ को ७ मा कालोबजारी, एकाधिकार, कृत्रिम अभाव सिर्जना गर्ने र प्रतिस्पर्धा नियन्त्रण जस्ता कार्यको अन्त्य गर्दै राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्प्रर्धी बनाई व्यापारिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ताको हित सरक्षण गर्ने उल्लेख छ। यो विषय पनि पहिलो पटक समाबेश भएको उपभोक्ताबादीहरू बताए।
‘गुणस्तरीय सेवामा सबैको सहज, सुलभ र समान पहुच सुुनिश्चित गर्ने,’ धारा ५१ ज ६ मा भनिएको छ। धारा ३६ को दफा १ मा प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुने उल्लेख छ। धारा ३६ कै दफा २ मा प्रत्येक नागरिकलाई खाद्यबस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरिक्षत हुने हकको व्यवस्था गरिएको छ। त्यस्तै दफा ३ मा प्रत्येक नागरिकलाई कानुन बमोजिम खाद्य सम्प्रभुताको हक हुने उल्लेख गरिएको छ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले पनि मौलिक हकमा समाबेश हुन ठुलो उपलब्धी भएको बताए। ‘सविद्यान उपभोक्ता मैत्री छ। उपभोक्ताको अधिकार मौलिक हकमा रुपमा समावेश गर्नु उत्कृष्ट हो,’ उनले भने, ‘अब कार्यन्वयनमा जोड दिनुपर्छ।’ उपभोक्ताको हितका कुरा संविधानमा उल्लेख नहुँदा उपभोक्ताहरू आफ्नो अधिकारबाट वञ्चित हुँदै आएका थिए। यातायात लगायत उपभोग्य वस्तुमा दैनिक ठगिएका छन्। सरकारी निकायले अनुगमन गरे पनि कालोबजारी र सिन्डिकेट कार्टेलिङ गर्ने व्यवसायीलाई कारबाही नहुँदा उपभोक्ताले सास्ती झेल्नुपरेको थियो।

प्रकाशित : आश्विन ४, २०७२ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्

कार्यान्वयनमा जोड देऊ : निजी क्षेत्र

कान्तिपुर संवाददाता

काठमाडौं — नयाँ संविधान जारी भएकामा स्वागत गर्दै निजी क्षेत्रले तत्काल कार्यान्वयनमा लैजानुपर्ने जनाएका छन्।निजी क्षेत्रका विभिन्न संघसंस्था, उद्योग प्रतिष्ठानले संविधान जारी भएको विषयमा खुसियाली मनाउँदै कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका हुन्।

नयाँ संविधान जारी भएकामा स्वागत गर्दै निजी क्षेत्रले तत्काल कार्यान्वयनमा लैजानुपर्ने जनाएका छन्।

निजी क्षेत्रका विभिन्न संघसंस्था, उद्योग प्रतिष्ठानले संविधान जारी भएको विषयमा खुसियाली मनाउँदै कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्र संघसंस्थाका पदाधिकारीहरूले नयाँ संविधान तत्काल कार्यान्वयनमा लैजाँदै आर्थिक समृद्धिको बाटो खुला गर्नुपर्ने धारणा राखेका हुन्। ‘तराईमा भइरहेका घटनाको पीडाका बाबजुद नयाँ संविधानलाई स्वागत गर्छौं,’ महासंघ अध्यक्ष पशुपति मुरारकाले भने, ‘मुलुकभरका उद्योग वाणिज्य संघहरूलाई दीपावली गर्न पत्राचार गरेका थियौं।
तराईका जिल्लाबाहेक सबै ठाउँमा दीपावली भएको छ।’ तराईमा भने आन्दोनका कारण सम्भव नभएको उनले बताए। ‘तराईको आवाज तत्काल सम्बोधन गर्न माग गर्छौं,’ उनले भने, ‘हामी हरेक हिसाबले शान्ति चाहान्छौं।’
निजी क्षेत्रका सबै संघसंस्था सोमबार सैनिक मञ्चमा गर्ने भनिएको सभामा पनि सहभागी हुने भएका छन्। सभालाई प्रमुख तीन दलका शीर्ष नेताले सम्बोधन गर्दै छन्।
निजी क्षेत्रले सबैलाई सहभागी हुन आह्वान गरेको छ। ‘हाम्रो लामो समयदेखिको सपना साकार भएको छ,’ परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले भने, ‘संविधानमा समावेश गरिएका विषय कार्यान्वय भएको हेर्न चाहान्छौं।’ संविधान कार्यान्वयनसँगै तीव्र विकासमा लाग्नुपर्ने शर्माको धारणा छ। ‘हामीले विकासका लागि धेरै समय खेर फालिसकेका छौं। खेर फालेको समयको समेत उपयोग हुने गरी अब विकास गर्नुपर्छ,’ उनले भने, ‘तीव्र गतिको विकासको काम गर्न हामी आतुर छौं।’ उनले पनि तराईमा भएको आन्दोलनलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए।
राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) का महासचिव सुरेन्द्रवीर मालाकारले संविधानले निजी क्षेत्रका केही मुद्दा सम्बोधन गरे पनि सम्बन्धित ऐन/कानुन सुधारमा जोड गरे। ‘सम्बन्धित
ऐन कानुन सुधार नगरी लगानीको बाटो संविधानले मात्रै खोल्दैन,’ उनले भने, ‘झन्डै तीन दर्जनभन्दा बढी ऐन कानुन सुधारमा रोकिएर बसेका छन्। संविधान कार्यान्वयन सँगसँगै ऐन कानुनमा सुधार गर्नुपर्‍यो।’
चेम्बरका महासचिव कमलेश अग्रवालले अत्यन्त खुसीको विषय रहेको जनाउँदै आर्थिक समृद्धिको ढोका खोलेको प्रतिक्रिया दिए। ‘तर, संविधान जारी हुँदा तराई असन्तुष्ट छ। तत्काल वार्ताद्वारा सम्बोधन होस्। संशोधन गरेर भए पनि
नयाँ संविधान कार्यान्वयनमा लैजानुपर्छ,’ उनले भने, ‘तराई एक महिनादेखि बन्द छ। बन्दले निरन्तरता पायो भने अर्थतन्त्रमा थप असर गर्नेछ। अर्थतन्त्र चलायमान गर्ने आयात निर्यातको बाटो नै तराई हो। अर्थतन्त्रलाई गतिदिन पनि तराईको माग सम्बोधन गरिनुपर्छ।’

प्रकाशित : आश्विन ४, २०७२ १०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×