हस्तक्षेप भयो: एक्यान

काठमाडौ — लेखापरीक्षण गरेको आधारमा एभरेस्ट इन्स्योरेन्सका दुई लेखापरीक्षकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गर्नु हस्तक्षेप भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले जनाएको छ ।
चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ अनुसार स्थापित नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था देशमा लेखा तथा लेखापरीक्षण व्यवसायको विकास, विस्तार तथा नियमन गर्ने अधिकार प्राप्त एक मात्र नियामक निकाय रहेकाले कैफियत देखिए उसैले कारबाही गर्नुपर्ने कानुनी व्यवस्था रहेको संघले उल्लेख गरेको छ । 'देशमा रहेका विभिन्न निकायले कुनै पनि नागरिकउपर जाँच गर्न पाउने अधिकार अविच्छिन्न रहेकामा विवाद रहँदैन,' संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'तर कुनै लेखापरीक्षक उपर पेसागत कार्य सम्पादन सम्बन्धमा जाँचबुझ, अनुसन्धान तथा कारबाही गर्ने अधिकार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा निहित रहेको स्पष्ट व्यवस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ को दफा ११, १४(४), ३५(१) तथा नियमावलीको नियम ८०, ८१ तथा ८३ मा रहेको प्रस्ट गराउन चाहन्छौं ।'
लेखापरीक्षणका कार्य सम्पादन लेखापरीक्षणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य मान्यता तथा लेखापरीक्षणसम्बन्धी विभिन्न ऐन नियमबमोजिम स्वतन्त्र नियमक निकायको अधिकारमा हस्तक्षेप भएको संघले जनाएको छ ।
प्रकाशित : पुस १५, २०७० १०:२५