कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एनबी इन्स्योरेन्सको कारोबारमा रोक

काठमाडौ — बिमा समितिले निर्जीवन बिमा कम्पनी एनबी इन्स्योरेन्सको सबै व्यवसायमा पुनः रोक लगाएको छ । कम्पनीले निर्देशन पालना गर्न नसकेर वित्तीय अवस्था नाजुक हुँदै गएपछि समितिले आइतबार कम्पनीको कारोबार रोक्ने निर्णय लिएको हो ।

यो सँगै १७ महिनामा एनबीको दोस्रो पटक कारोबारमा रोक लागेको छ ।
२०६९ साउनमा विभिन्न कानुन मिचेको पाएपछि समितिले पहिलो पटक एनबीको कारोबार रोकेको थियो । उक्त वर्ष असोजमा विभिन्न सर्त राखेर कारोबार फुकुवा गरिएको थियो । तर दिइएका सर्त पूरा नभएर वित्तीय अवस्था बिग्रँदै गएपछि पुनः कारोबार रोकिएको हो ।
'कारोबार फुकुवा गर्दा ३ महिनाभित्र विभिन्न सर्त पूरा गर्नुपर्ने प्रावधान थियो,' बिमा समितिका प्रवक्ता राजकुमार अर्यालले भने, 'त्यो नभएपछि र कम्पनीको अवस्था बिग्रँदै गएपछि कारोबारमा रोक लगाएका हौं ।'
पछिल्लो समय इन्स्योरेन्सका सञ्चालक समितिमा भएकामध्ये अधिकांशले राजीनामा दिइसकेका छन् । प्रमुख कार्यकारी अधिकृतसँगै व्यवस्थापनमा जिम्मेवार व्यक्ति पनि छैनन् । जसले गर्दा कम्पनीको जवाफदेहितासँगै वित्तीय अवस्था पनि बिग्रँदै गएको छ । कम्पनीले दाबी भुक्तानी गर्न बाँकी रकम र अन्य विवरणबारेको स्पष्ट जानकारी समितिसँग पनि छैन । लामो समयदेखि कम्पनीले समय समयमा बुझाउनुपर्ने विवरण नदिएकाले जानकारी नभएको हो । पछिल्लो समय कम्पनीले निर्देशनअनुसार पुँजीसमेत थप्न सकेको थिएन ।
'बिमक एनबी इन्स्योरेन्स कम्पनीले बिमा व्यवसाय सञ्चालन गर्दा बिमा ऐन २०४९ तथा बिमा नियमावली २०४९ बमोजिम अपनाउनुपर्ने प्रक्रिया सम्बन्धमा एवं समय समयमा समितिबाट जारी भएका निर्देशनहरू पालना नगरेको तथा समितिमा पेस गर्नुपर्ने वासलात, हिसाब विवरण तथा वित्तीय विवरण पेस नगरेको' बिमा समितिको सूचनामा भनिएको छ, 'तोकेको चुक्ता पुँजी कायम नगरेको बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाबमोजिम कार्य गरेको विवरण पेस नगरेको कारण बिमा ऐन, २०४९ को दफा २ को उपदफा १ बमोजिम उक्त बिमकले गर्दै आएको सम्पूर्ण निर्जीवन बिमा व्यवसायमा रोक लगाइएको छ ।'
समितिले कम्पनीको विस्तृत वित्तीय अवस्था पत्ता लगाउन डिउ डेलिजेन्स अडिट गर्ने तयारी गरेको छ । जसका लागि प्रस्ताव आह्वान भइसकेको छ । 'सुधार भएसम्म गर्ने हो,' अर्यालले भने, 'नभए अन्य विकल्पमा जानुपर्ने हुन्छ ।' कम्पनीले कारोबार रोक लगाएको समय दाबी भुक्तानीमा समस्या नहोस् भनेर छुट्टै संयन्त्र बनाएको अर्यालले बताए ।
कम्पनीमा सञ्चालक र व्यवस्थापक दुवैको अभाव देखिएपछि थप कारबाही कस्तो गर्ने भन्नेबारे स्पष्ट भइसकेको छैन । विस्तृत अध्ययनपछि देखिने अवस्थाले आगामी कारबाही र सुधारको प्रक्रिया स्पष्ट हुनेछ ।
यसअघि ०६९ साउनमा एनबीले घरभाडा बुझाउँदा नियम मिचेको, एयरमार्क गरेर राख्नुपर्ने पर्याप्त रकम नराखेको र जथाभावी लगानी गरेको पाएपछि समितिले कारबाही थालेको थियो । उक्त समय कारोबारसँगै बैंक खाता पनि रोकिएको थियो ।
समितिको कारबाही चलिरहँदा कम्पनीको दाबी भुक्तानीमा समेत समस्या देखिएको थियो । कम्पनीका प्रमुख लगानीकर्तामध्ये पर्ने एनबी समूहका अधिकांश व्यक्ति फरार छन् । सोही समूहको प्रवर्द्धन रहेको तात्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको अनियमिततामा संलग्न भएको पाइएपछि सञ्चालक फरार भएका हुन् । बजारमा सूचीकृत एनबी इन्स्योरेन्सको सेयर मूल्य पछिल्लो कारोबार दिनमा ८० रुपैयाँ छ । कम्पनीको १४ लाख १९ हजार कित्ता सेयर सूचीकृत छन् ।





 

प्रकाशित : पुस १५, २०७० १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?