कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

जैतुन तेलको उत्पादन बढ्यो

प्रताप विष्ट

हेटौंडा — थोपा सिँचाइ र उपयुक्त वातावरणले यो वर्ष जैतुनको तेलको उत्पादन वृद्धि भएको छ । हिमालयन प्लान्टेसनले गरेको खेतीबाट गत वर्षको तुलनामा यो वर्ष २ सय लिटरभन्दा बढी तेल उत्पादन बढेको हो । गत वर्ष ३ सय लिटर मात्र तेल उत्पादन भएको थियो ।

यो वर्ष ५ सय लिटर उत्पादन भएको छ । 'थोपा सिँचाइ र यो वर्ष वर्षात अनुकूल भएकाले जैतुनको गेडा राम्रो लागेको थियो,' प्लान्टेसन्सका प्रबन्धक आरके कुमाईले भने, 'गेडा राम्राे लागेकाले तेल पनि गत वर्षको भन्दा बढी भयो ।' मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने चित्लाङ गाविसस्थित विसिङखेलमा १७ वर्षदेखि जैतुन खेती गरिँदै आएको छ । मुलुकमा पहिलोपटक चित्लाङमा व्यावसायिक जैतुन खेती गरिएको हो । यसबाट एक दशकदेखि तेल उत्पादन गरिँदै आएको छ । यो वर्षदेखि चित्लाङमै प्लान्ट राखेर तेल उत्पादन गरिएको छ । हिमालयन प्लान्टेसन्सले चित्लाङमा उद्योग स्थापना गरेको छ । जर्मनी र नेपालको संयुक्त लगानीमा स्थापित कम्पनीले जैतुन खेती सुरु गरेको हो । राजधानीबाट तीन घन्टामा बस यात्रामा पुगिने चित्लाङ ९ विसिङखेलमा २०५२ देखि सुरु भएको जैतुन खेतीले अहिले व्यावसायिक रूप लिएको छ । स्थानीयवासी पनि उक्त खेतीप्रति आकषिर्त भएका छन् । विगत १० वर्षदेखि जैतुनको उत्पादन सुरु भए पनि यस वर्षको उत्पादन राम्रो भएको प्रबन्धक कुमाईले भने । यहाँ १५ प्रजातिका २ हजार ३ सय जैतुनका बोट छन् ।
१० केजी जैतुन पिस्दा एक लिटर तेल उत्पादन हुने गर्छ । जैतुनको तेल बजारमा महँगोमा बिक्री हुन्छ । 'हिमालय प्लान्टेसन्सले उत्पादन गरेको जैतुन तेल प्रतिलिटर २ हजार रुपैयाँमा बिक्री हुन्छ,' प्रबन्धक कुमाईले भने, 'जैतुनको तेलको बजारको समस्या छैन । उत्पादन गर्न सके हुन्छ ।' जैतुनको तेल स्वास्थ्यका दृष्टिकोणले असाध्यै लाभदायक हुने विज्ञहरूको भनाइ छ । यसको सेवन क्यान्सर, मुटुको रोगीलाई फाइदाजन रहेको उनीहरूको भनाइ छ । जैतुन खेतीमा ५ करोडभन्दा बढी लगानी भइसकेकेा कम्पनीले जनाएको छ । जर्मन नागरिक हर्टमुट वाउडरको अगुवाइका जैतुन खेती मात्र गरिएको छैन, जैतुनको बिरुवा उत्पादन गर्न नर्सरी पनि सञ्चालन गरिएको छ ।

प्रकाशित : मंसिर ३, २०६९ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×