कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

भूकम्प पीडितमा कहाँ बस्ने, के खाने भन्ने प्रश्न छ 

कुलचन्द्र न्यौपाने

काठमाडौँ — भूकम्प जानेबित्तिकै जाजरकोट र रुकुममा ठूलो क्षति भएको जानकारी जिल्लाहरुबाट साथीहरुले गराउनुभएको थियो । जानकारी पाउने वित्तिकै जिल्लाका अन्य नेताहरुसँग सम्पर्क र समन्वय गर्न सुरु गरेका थियौं । माओवादीका नेताहरुसँग सम्पर्कमा थियो । प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि सम्पर्कमा थियौं । हामी बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुग्यौं ।

भूकम्प पीडितमा कहाँ बस्ने, के खाने भन्ने प्रश्न छ 

प्रधानमन्त्री घटनास्थलतर्फ जान तयार भइसक्नु भएको रहेछ । हामी ६ बजे नै आर्मीको हेलिकप्टरमा जाजरकोट उड्यौं । त्यसको सवा घण्टामा हामी जाजरकोटमा पुगेका थियौं । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरुसँग त्यहाँको परिस्थितिको बारेमा प्रधानमन्त्री दाहालले छोटो ब्रिफिङ लिनुभयो । त्यसपछि सदरमुकामस्थित जिल्ला अस्पतालमा गएर घाइतेहरुलाई भेट्यौं । घाइतेहरुले अस्पताल भरिएको थियो । धेरैजसोको हात र खुट्टामा चोट थियो । गम्भीर घाइतेलाई सुर्खेत र नेपालगन्ज तत्काल लैजाने व्यवस्था भयो । खलाङ्गमा तीन जना गम्भीर खालका बिरामी थिए । धेरैजसो त डेथ बडी नै थियो ।

त्यहाँपछि हामी जाजरकोटकै दल्ली भन्ने नलगाड नगरपालिकाको सेन्टरमा पुग्यौ । त्यहाँ ठूलो क्षति भएको थियो । नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको निधन भएको थियो । त्यहाँको अस्पतालमा कहालीलाग्दो अवस्था थियो । गम्भीर बिरामी धेरै थिए । घाइतेहरुलाई हेलिकप्टरमा राखेर सुर्खेत र नेपालगन्ज पुर्‍याउने काम भयो । त्यसपछि रुकुमको चौरजहारी गयौं । त्यो बेलासम्म आर्मीको स्काई ट्रक र अरु दुईटा हेलिकप्टर पनि आइसकेका थिए । चौरजहारी मिशन अस्पतालमा घाइतेहरुलाई भेट्यौ । त्यहाँका गम्भीर बिरामीलाई पनि सुर्खेत र नेपालगन्ज पुर्‍याउने प्रबन्ध मिलाइयो ।

त्यसपछि रुकुमको सानो भेरीमा गयौं । त्यहाँ ९ जनाको डेथ बडी थियो । गम्भीर बिरामीलाई सदरमुकाम मुसीकोटमा लगेको रहेछ । त्यहींबाट मुसीकोटतर्फ गयौं । अन्तभन्दा रुकुम सदरमुकाम अस्पतालमा अलि राम्रो व्यवस्था थियो । धेरै घाइतेहरुलाई राति नै अस्पताल ल्याइसकिएको रहेछ । भूकम्पले कतै बाटो चिरिएको त कतै भत्किएको रहेछ । त्यस्तो ठाउँबाट घाइतेलाई ल्याउन अलि ढिलाई भएको रहेछ । जाजरकोटकै अर्को स्थान राडीमा गयौं । जाजरकोटमा सबैभन्दा बढी क्षति सदरमुकाममै भएको छ । सदरमुकामको एउटा भागमा बढी क्षति पुगेको र अर्को भागमा कम क्षति पुगेको अवस्थ छ । भेरी नगरपालिकाको एउटै वडामा सबैभन्दा बढी डेथ बडी थिए । घाइते पनि त्यहीं बढी थिए । जाजरकोटको दल्लीकाको माथिपट्टी पनि क्षति पुगेको थियो ।

घाइेतेहरु धेरैजसोलाई बिहानसम्म अस्पताल ल्याइसकिएको थियो । स्थानीय राजनीतिका दलका नेताहरुले यो र उ पार्टी नभनीकन उद्धारमा सक्रियता देखाएको पाइयो । सुरक्षाकर्मीहरु पनि रातिदेखि नै उद्धारमा लागिसकेका रहेछन् । हामी बिहान अस्पताल पुग्दा धेरै बिरामीहरु आइसकेका थिए । जाजरकोटमा सीडीओकै क्वार्टर भत्किएको रहेछ । सीडीओको टाउकोमा समेत चोट लागेको रहेछ । काठमाडौं जस्तो होइन । जाजरकोटमा पहाडमा बत्ती छैन । सडक राम्रो छैन । त्यस्तो ठाउँमा उद्धार गर्न धेरै कठिन थियो । पुराना घर सग्लो देख्न मुश्किल पर्छ । बस्न लायक छैनन् । पछिल्ला पटक बनेका पक्की घरहरुमा सग्लो देखिएका छन् ।

भुकम्पबाट ज्यान जोगाएकाहरु सबै बाहिर छन् । खुला आकाशमुनि रात गुजार्नुपर्ने अवस्था छ । टुकी बाल्दै रात गुजारौं भनेर भन्थे । अब नयाँ व्यवस्था नहुँदासम्म धेरै घरबारविहीन छन् । उद्धारको काम करिब–करिब सकिएको छ । काठमाडौंदेखि प्रदेशका अस्पतालबाट प्रशस्त औषधिसहित चिकित्सक पुगेका छन् ।

प्रधानमन्त्री नै सक्रिय भएर उद्धारका लागि जे गरियो त्यसका लागि धन्यवाद दिनुपर्छ । सरकारले अबको फोकस उनीहरुको तत्कालको गाँस, बाँस र राहतमा हुनुपर्छ । रुकुममा करिब २ हजार घर भत्किएका छन् । जाजरकोटमा त्यो भन्दा बढी भत्किएको प्रारम्भिक रिपोर्ट छ । राज्यले कति राहत दिने ? बिचल्लीमा परेका परिवारको व्यवस्थापन कसरी गर्ने ? तत्कालै बस्नका लागि घर छैन । खानाका लागि अन्न छैन । जाडोमा खुला आकाशमुनि रात गुजार्न कठिनाई छ । खाद्यान्न, पाल र न्यानो कपडा तत्काल जुटाउनु पर्नेछ । बिरामीहरुको गम्भीर भएमा सुर्खेत र नेपालगन्जमा स्टान्डबाई हेलिकप्टर छन् । उनीहरुको उद्धार गर्न अब कठिनाइ छैन ।

अब राज्य र विभिन्न संघसंस्थाहरुको फोकस नै खुला आकाशमुनी बस्न बाध्य परिवारको राहतमा केन्द्रित हुनुपर्छ । अहिले घटनास्थलमा जान राजनीतिक दलका विभिन्न भ्रातृसंस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाहरु जान खोजिरहेको पाइएको छ । जानका लागि जानभन्दा पनि त्यहाँको तत्कालको आवश्यकतालाई हेरेर राहतको सामग्री लिएर जानका लागि म आग्रह गर्दछु । तत्कालका लागि चिकित्सकको टोली पनि आवश्यक देखिँदैन । चिकित्सकहरु जाने भएमा पनि केही समयपछि गएर शिविर चलाउन उपयुक्त हुन्छ । तर भूकम्प पीडितमा कहाँ बस्ने, तत्काल के खाने भन्ने प्रश्नहरु छन् । बस्नका तत्काल प्रबन्ध गरिदिनुहुन अनुरोध गर्नुभएको छ । अब हामीले ती ढलेका घरहरु उठाउने, खुला आकाशमुनी बसेका पीडितहरुलाई तत्काल अस्थायी बसोबास र खानाको व्यवस्था गर्न लाग्नुपर्छ ।

(भूकम्प प्रभावित क्षेत्र रुकुम र जाजरकोट पुगेर फर्किएका प्रदेश सांसद शाहसँग ईकान्तिपुरका लागि कुलचन्द्र न्यौपानेसँगको कुराकानीमा आधारित)

प्रकाशित : कार्तिक १८, २०८० २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?