कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

नोबेल शान्ति पुरस्कार विजेता पत्रकार रेसासँगको त्यो भेट  

‘यो पत्रकारिता गर्ने सबैभन्दा राम्रो र सबैभन्दा खराब समय हो ।यदि हामीले यो समयमा पत्रकारितालाई बचाइराख्न सक्यौं भने सबैको लागि राम्रो हुन्छ ।'
जगदीश्वर पाण्डे

न्युयोर्क,अमेरिका — सेप्टेम्बर २९ । संयुक्त राष्ट्रसंघमा सन् २०२३ मा विश्वका विभिन्न क्षेत्रका मुलुकहरु आएका हामी १२ पत्रकारको अन्तिम दिन थियो । किनकी हामी ‘रेहम अल–फरा मेमोरियल जर्नालिज्म फेलेपिल’ मा छनौट भएर संयुक्त राष्ट्रसंघको लागि आएको कार्यक्रम त्यहि दिन सकिँदै थियो ।

नोबेल शान्ति पुरस्कार विजेता पत्रकार रेसासँगको त्यो भेट  

उक्त कार्यक्रमको नाम सन् २००३ मा इराकको राजधानी बगदादमा राष्ट्र संघको मुख्यालयमा भएको बम आक्रमणमा मारिएकी जोर्डनकी २९ वर्षीय ‘पब्लिक इनफरमेसन अफिसर’ लाई उल्लेख गर्दै राखिएको हो ।

अन्तिम दिन भएकोले सबै कार्यक्रम पूरा गरेर अन्त्यमा राष्ट्र संघकै मूख्यालयभित्रै प्रमाणपत्र हस्तान्तणदेखि बेलुकी खानाको पनि व्यवस्था गरिएको थियो ।

हामीलाई हौसला दिनको लागि उक्त कार्यक्रमकी अतिथिको रुपमा एक जना छोटो कदकी एक हँसिली महिला पनि आएकी थिइन् । ब्याइज कट कपाल, कोट र साइडमा झोला भिरेकी उनी अरु कोहि नभएर सन् २०२१ मा नोबेल शान्ति पुरस्कार पाएकी फिलिपिनो–अमेरिकी पत्रकार मारिया रेसा थिइन् । त्यस वर्ष उनीसँगै रुसी पत्रकार दिमित्री मुरातोभले उक्त पुरस्कार पाएकी थिइन् ।

रेसा र मुरातोभले अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको प्रयासका लागि नोबेल शान्ति पुरस्कार दिइएको थियो । प्रजातन्त्रको पूर्वसर्त र शान्तिका लागि अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण भएको र त्यसको रक्षाका लागि उनीहरुले उल्लेख्य भूमिका निर्वाह गरेको नोबेल पुरस्कार छनोट कमिटीले जनाएको थियो ।

उनले सन् २०२१ मा उक्त पुरस्कार जिते लगतै मैले मारियाकै समाचार संस्था ‘र्‍यापलर’ मा काम गर्ने मेरो साथी मारा सेपेडासँग इमेल मागेर संवाद गर्ने कोसिस गरेको थिएँ । तर पुरस्कार पाउने बित्तिकै उनी व्यस्त भएको कारण कुराकानी हुन सकेन । फिलिपिन्सकी पत्रकार मारालाई मैले सन् २०२१ कोभिड–१९ को कारण भर्चुअल रुपमा भएको ‘रेहम अल–फरा मेमोरियल जर्नालिज्म फेलेपिल’ कै दौरान चिन्ने मौका पाएको थिएँ ।

यस पटक कस्तो संयोग पर्‍यो भने म र मारा दुवै भर्चुअलबाट न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालमा हुने छात्रवृत्ति कार्यक्रममा छनोट भयौं (भर्चुअलमा छनोट भएका मध्ये केहिलाई मात्र यस पटक फेरि छनोट भएर न्युयोर्क आउने अवसर मिलेको थियो) । हाम्रो १८ दिने कार्यक्रम सकिने अन्तिम समयमा नोबेल पुरस्कार विजेता रेसा पनि न्युयोर्क नै आइपुगेकी रैछिन् । रेसाले भने अनुसार उनी राष्ट्रसंघको अर्को एउटा कार्यक्रमसहित अहिले प्रविधिको दुनियाँमा आफ्नो न्यूज अनलाइन ‘र्‍यापलर’ कसरी प्रभावकारी बनाएर लाने लगायतको विषयमा प्राविधिक टोलीहरुसँग छलफल गर्न आएकी पनि रैछिन् ।

उनकै समाचारको कक्षमा काम गरेकी मारा (जो अहिले सिगांपुरको ‘द स्ट्रेक्स टाइम्स’ को लागि फिलिपिन्सबाट काम गर्छिन्) र राष्ट्रसंघका उच्च पदाधिकारीहरुसँग पनि राम्रो चिनजान भएको कारणले गर्दा हाम्रो १२ जना पत्रकारको१८ दिने कार्यक्रमको ‘ग्राजुएसनम’ मा आइन् । सेप्टेम्बर २९ मा न्युयोर्कमा लगातार ठूलो पानी पारेपछि आपत्तकालिन अवस्था घोषणा गर्दै घरबाट बाहिर ननिस्कनको लागि स्थानीय सरकारले आग्रह गरिरहेको थियो । त्यसका बावजुद पनि मारासँगको लगातार सम्पर्कमा रहेर हाम्रो कार्यक्रममा आइपुगिन् ।

हाम्रो कार्यक्रम राष्ट्रसंघमा रिपोर्टिङ गर्ने पत्रकारहरुको संस्था ‘युनाइडेट नेसन्स करेसपोन्डेन्ट्स एसोसिएसन’ को हलमा भएको थियो । म हलमा प्रवेश गर्दा राष्ट्रसंघकी उपमहासचिव तथा हाम्रो छात्रवृत्ति कार्यक्रमलाई हेर्ने विभाग ‘डिपार्टमेन्ट अफ ग्लोबल कम्युनिकेसन्स’ की प्रमुख मलिसा फ्लेमिङ, उक्त विभागका निर्देशक माहेर नासेर र फिलिपिन्सकी साथी मारा कुराकानी गरिरहेका थिए । उनीहरुसँगै उही हँसिली नोबेल पुरस्कार विजेता पत्रकार कुराकानी गरिरहेकी थिइन् ।

त्यसपछि माराले हामी सबै साथीहरुलाई एकपछि अर्को गर्दै चिनाउन थालिन् । मेरो पालो आयो । मैले आफ्नो परिचयसहित नेपालबाट आएको बताएँ । उनले हार्दिकतापूर्वक ‘तपाईंलाई भेट्न पाउन खुसी लाग्यो’ भनिन् । त्यसपछि हामी सबैले एकपछि अर्को गर्दै पत्रकार रेसासँग फोटो खिचाउने काम गर्यौं । उक्त अवसरमा हामीसँग उनी पनि उत्साहित रुपमा फोटो खिच्नको लागि तयार भइन् । मैले नोबेल शान्ति पुरस्कार विजेता भेटेको यो दोस्रो पटक थियो । यस अघि भारतमा बालबालिकाहरुको संरक्षण गर्ने र अधिकारको लागि संघर्ष गरेका कैलाश सत्यार्थीलाई भेट्ने अवसर पाएको थिएँ । सत्यार्थीले सन् २०१४ मा पुरस्कार पाएपछि नेपालको भ्रमण गरेका थिए । त्यस अवसरमा मैले उनको नेपाल भ्रमणको रिर्पोटङ गरेको थिएँ । साथै, त्यस अवसरमा उनले मलाई अन्तर्वार्ता पनि दिएका थिए । रेसा जस्तै सत्यार्थी पनि सरल र मिलनसार स्वभावका थिए ।

यी दुवै नोबेल पुरस्कार विजेतासँग भेट्दा मैले कुनै पनि घमन्ड पाइँन । बरु उनीहरुले मलाई नै आनन्दित रुपमा कुरा गर्ने र सोधेका प्रश्नहरुमा जवाफ फर्काउने काम गरे ।

हाम्रो कार्यक्रममा उपस्थित भएकी रेसालाई प्रमाण पत्र वितरण अघि उपमहासचिव फ्लेमिङले मनतव्यको लागि बोलाइन् । त्यसपछि फ्लेमिङले एकपछि अर्को गर्दै पत्रकारिकताको बारेमा प्रश्नहरु पनि गरिन् । त्यहि दौरानमा रेसाले फिलिपिन्समा पत्रकारिताका गर्दा दौरान भइरहेको समस्याको बारेमा मात्र सुनाइन्, साथै अब कसरी अगाडि बढ्नु पर्छ भन्ने बारे पनि सुझाव दिइन् । उनले विगत १० वर्षमा आफ्नो संस्था ‘र्‍यापलर’ लाई अन्तर्राष्ट्रिय सहयोग नभएको भए अहिले टिक्नको लागि गाह्रो पर्ने बताइन् ।

उनले आफूले राज्यद्वारा लगाइएका धेरै मुद्दाहरुमा अझै दुईटा बाँकी रहेको उल्लेख गरिन् । साथै, सरकारको तर्फबाट समाचार कक्षमा पटक पटक भएका चेकिङको बारेमा पनि सुनाइन् । ‘सरकारले कति बेला, के कारणले हाम्रोमा सुरक्षाकर्मी पठाउँछ थाहा हुन्न । त्यसैले हामीले पटक–पटक त्यस्तो अवस्थालाई मध्यनजर गरेर समाचार कक्षामा तालिम पनि गर्छौं, पूर्वतयारीको रुपमा,’ उनले भनिन्,‘एक पटक त पूर्व तयारीको लागि गरिएको अभ्यास एक जना साथीको कारण लाइभ भएछ । त्यसलाई लिएर हामीले आफ्ना पाठक र ग्राहकहरुसँग क्षमा माग्नु नै पर्यो ।’

रेसाले अहिलेको विश्वमा कोहि पनि एक्लै जान नसक्ने उल्लेख गर्दै मिलेर अगाडि बढेमात्र समस्याको समाधान गर्न सक्ने बताइन् ।

उनले अबको १ देखि २ वर्ष पत्रकारिकताको लागि सबैभन्दा चुनौतिको वर्ष भएको ठहर गरिन् । ‘यदि हामीले यो समयमा पत्रकारितालाई बचाइराख्न सक्यौं भने सबैको लागि राम्रो हुन्छ,’ उनले भनिन्,‘हाम्रो पत्रकारिताको महत्त्वपूर्ण छ ।’ पत्रकारिता गर्दा सबैभन्दा कठिन समस्या भोग्छु भनेर गर्दा राम्रो हुने उनको ठम्याई छ । उनले पत्रकारितालाई बलियो बनाउन संयुक्त राष्ट्र संघले भूमिका खेलिरहेको र अझै थप भूमिका निर्वाह गर्ने पर्ने बताइन् । अन्त्यमा, नोबेल शान्ति पुरस्कार विजेता रेसाले थपिन्,‘यो पत्रकारिता गर्ने सबैभन्दा राम्रो र सबैभन्दा खराब समय हो ।’

प्रकाशित : आश्विन २१, २०८० १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?