मैले पाएको त्यो बेकसुर सजाय 

डाक्टर यादव बेकसुर पक्राउ परेर छुटेको खबर सुन्दा मलाई १५ वर्षअघिको घटना सम्झनामात्रै भएन, हाम्रो प्रहरी र प्रशासन अझै सुध्रिसकेको रहेनछ भन्ने महसुस भयो । राज्यका निकायबाट हुने यस्ता गल्तीबाट आम नागरिकले भोगेको मानसिक प्रताडनाको क्षतिपूर्ति के होला ?
रवीन्द्रसिंह बानियाँ

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली डाक्टरको आरोपमा सक्कली डा. रञ्जितकुमार यादव पक्राउ गरेको कुरा उनी छुटेपछि मात्र आमजनले थाह पाए । पक्राउपछि उनले कसरी मानसिक प्रताडना खेपे, यस घटनामा राज्यका संयन्त्रहरु कसरी गैरकानुनी काम गरे भन्ने बहस पनि यसपछि धेरथोर सुरु भयो । 

मैले पाएको त्यो बेकसुर सजाय 

सर्वसाधरणलाई बेकसुर पक्राउ गर्ने, थुनामा राख्ने वा अपमानजनक व्यवहार गर्ने सरकारी शैली विगतका पनि नदेखिएको होइन । डाक्टर यादव बेकसुर पक्राउ परेको घटनापछि मलाई १५ वर्षअघिको एउटा यस्तै घटनाको सम्झना आयो । यो घटनाको भुक्तभोगी अरु कोही थिएन, स्वयं म आफैं थिए ।

त्यतिबेला म गुरुकुलको विद्यार्थी थिएँ । अभिनयमा भर्खर पाइला सुरु गरेको थिएँ । विराटनगरको हाटखोलामा हाम्रो आरोहण नाटक महोत्सव चलिरहेको थियो । आफ्नो टिमको नाटक नपरेको दिन पारेर नाट्यकर्मी साथी रामहरि ढकाल र मैले धनकुटाको भेडेटार घुम्ने योजना बनायौं । त्यसका लागि हामीले एउटा साथीको बाईक पनि मागिसकेका थियौं । बाईकमा हामी भेडेटार जाँदै थियौं । खनार पुलमा पुग्दा फिल्मीशैलीमा पुलिसको गाडीले हाम्रो अगाडि आएर बाटो छेक्यो । हामी अलमलमा पर्यौं । कुनै ठूलै अपराधी झैं पुलिसले हामीलाई चारैतिरबाट घेरे । एउटा पुलिसले आएर थप्पड लाउला झैं गरेर हात उझ्यायो । अनि रुखो स्वरमा भन्यो- 'रोक्दा रोक्दै भाग्ने ?' त्यही पुलिसले भनेपछि हामीले थाह पायौं, इटहरीतर्फ लाग्ने क्रममा निमुवा चौकी पुग्दा त्यहाँको डिउटी पुलिसले हामीलाई रोक्ने इसारा गरेको थियो रे ! मैले मनमनै सोचें, हामी नयाँ ठाउँ जाने उत्साहमा मख्ख पर्दै आफ्नै सुरमा थियौं सायद त्यही भएर याद भएन कि ?

प्रहरीले रामहरिलाई बाईकबाट झारेर गाडीमा हाल्यो अनि मेरो बाईक पछाडि एउटा हतियारधारी जवान बसेर उर्दी गर्यो, लौ हिँड ! चौकी । मैले प्रतिवाद गर्दै सोधे, ‘भयो चाहिँ के ? किन हामीलाई यो अपहरण शैलीमा पक्रेको ?’ उसले रुखो स्वरमा भन्यो, ‘त्यहिँ गएर थाहा पाउछस् ।’

हामीले केहि सोच्न पनि नभ्याउँदै हामीलाई निमुवा चौकी पुर्‍याइयो । त्यहाँ पुग्दा थानेदारले बडो रवाफकासाथ सञ्चार सेटमार्फत् कतै जानकारी दिँदै थिए, ‘सर ज्यानमाराहरु भाग्दै गर्दा पिछा गरेर समात्न सफल भयौं ।’

रामहरिको अनुहारतिर पुलुक्क हेरें, पुरै विस्मयादिबोधक चिन्ह जस्तो ठडिएको नाक मात्र देखे । डर र विस्मयले म पनि केहि सोच्नै सकिरहेको थिईनँ । सञ्चार सेटमार्फत् भईरहेको संवादबाट मैले थाह पाएँ, हामीलाई अब जिल्ला प्रहरी कार्यालय विराटनगर चलान गरिँदैछ ।

के आपत् आई लाग्यो ? हामी अब के गर्ने भावमा मुखामुख गर्यौं । तत्कालीन जिल्ला प्रहरी प्रमुख देवेन्द्र सुवेदी हुनुहुन्थ्यो । त्यही दिन बिहानमात्र सुनिल पोख्रेल सर, अनिल पोखरेल दाजुसँग गएर हामीले उहाँसँग भेटघाट गरेका थियौं । मैले हत्तपत्त मोबाईलमा फोटो खोजेर त्यहाँको पुलिसलाई देखाएँ ।

एकै सासमा आफू नाट्य कलाकार भएकोदेखि चिने जानेका नाम, थाहा भएका ठूलाबडाको नाम लिएँ । यति गर्दा पनि ती हवल्दारको अनुहारमा खासै परिवर्तन देखिएन । बरु ती हवल्दार हामीतिर मुन्टो नफर्काई बोले, यो सबै कुरा उतै गएर भन्ने । मेरो डिउटी तपाई|हरुलाई जिल्ला कार्यालय बुझाउनु मात्रै हो । ल हिड्नुस् ।

मैले हात जोड्दै सोधें, ‘भएको चाहिँ के हो ? हामी कसरी ज्यानमारा भयौं ?’

हवल्दारले मुन्टो बटारेरै बोल्यो, हस्पिटल रोड अगाडि एउटा बच्चीलाई ठक्कर दिएर भाग्ने अनि अहिले केहि थाहा नपाए झैं गर्ने ? बडो कलाकार हुनुहुँदो रहेछ । तपाईंको कला नाटक घरमै देखाएको राम्रो ।

हामीलाई अनौठो आपत् आईलाग्यो । कहाँको दुर्घटना ? कहाँको बच्ची ? हामीले केही मेलोमेसो पाउने कुरै थिएन । मनमनै सोच्यौं, अब हामीले जिल्ला प्रहरी कार्यालय गएरै सबै सत्य बताउनु पर्नेभयो ।

अपराधी झैं लुरुलुरु जानुको विकल्प हामीसँग थिएन ।

जिल्ला प्रहरी कार्यालयको प्रांगणमा अन्य ५/७ जना मानिसहरु उभिएका थिए । तिनीहरु घटनाको प्रत्यक्षदर्शीहरु रहेछन् । एउटा प्रहरीले हामीलाई देखाउँदै ती मानिसहरुलाई भन्यो, ल हेर्नुस् त यिनै होइनन् त तपाईंले देख्नु भएको बाईक र केटाहरु ?

सबैले हामीलाई पालै पालो घुमीघुमी नियाले ।

त्यही बेला मैले एकपटक फोन गर्न अनुमती मागेर अनिल पोखरेल दाजुसँग सम्पर्क गर्ने प्रयास गरें । तर फोन उठे पो ! झल्यास सम्झिए बुढा त नाटकमा पो छन् र सायद स्टेजमै संवाद बोल्दै होलान् । गुरुकुलका अरु २/४ जना साथीलाईलाई पनि फोन मारे । नाटकमा डिस्टर्व होला भनेर सायद सबैको फोन मौन मोडमा थियो ।

बिहान ११ बजेतिर हामीलाई नियन्त्रणमा लिएको थियो । प्रत्यक्षदर्शी माझ लैजानेबेलासम्म ३ बजिसकेको थियो । हामीले त्यहाँ सबै कुरा बतायौं । तर कुरा यतिमै सकिएन । हामीले खासखुस कुराबाट थाह पायौं, घाईते बच्चीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको रहेछ । केस झनै जटिल बनिरहेको रहेछ । घटना गराउनेलाई पक्राउ गर्न नसकेकोमा प्रहरीले स्थानीयबाट चर्को दबाब झेलिरहेका रहेछन् ।

हामी कुनै अपराधी झैं प्रहरी कार्यालयको एउटा कुनामा उभ्याईएका थियौं । बेला बेला नयाँ-नयाँ प्रत्यक्षदर्शी आउँथे र हाम्रो अडिसन लिएर जान्थे । हामीलाई कतिबेला छाडने हो कुनै टुंगो थिएन । मैले प्रहरी प्रमुख देवेन्द्र सुवेदीलाई नै भेटर कुरा राख्छु भनेर प्रहरीलाई भनें । तर उहाँ जिल्लामा ठूलै नेता आएकाले सुरक्षामा गएको थाह भयो । साँझ पर्न थालिसक्यो । तर हामीलाई छोडने कुनै सुरसार छैन । मैले अब त अत्ति भयो भनेर भनें, अहिले जो सिनियर छन् उनैलाई भेटेर कुरा राख्छु भनें । तर त्यस्तो मौका पनि पाईएन ।

प्रत्यक्षदर्शीको कुरा सुनेपछि र उनीहरुले हाम्रो घटना गराउनेको हुलिया हाम्रोसँग नमिलेको बताएपछि हामीले राहतको लामो सास फेर्‍यौं ।

रामहरिले लामो सास तान्दै भन्यो, कुन साईत मा हिँडिएछ नि घुम्नलाई ?

मैले भने, अब त अत्ति भो । हामीलाई यसरी बिनागल्ती दु:ख दिने ?

त्यत्तिकैमा ठक्कर दिने बाईक समातिएको खबर आयो । बिहान समातेको बाईक होइन रैछ भन्ने खबर थियो। हामीले थाह पायौं, दुर्घटना गराएर भाग्ने बाईक र हामीले चढेको बाईक दुवैको कलर एउटै रहेछ- निलो । अनि बाईकको नम्बर पनि एउटै रहेछ, मात्रै लट फरक ।

एकैछिनमा एकजना प्रहरी आएर भने, मानवीय त्रुटी को कारण तपाईंहरुले दु: ख पाउनु भो 'सरी' !

उनले 'सरी' भनेपनि हामीले एकदिन गुमाईसकेका थियौं ।

‘देख्नु भो बिनाकारण दु:ख दिएर’ यसपाली चाहिँ म साँच्चिकै रिसाएँ, ‘हामी गयौ अब । धनकुटा होइन अब आज भेडेटारमा बास बस्नु पर्ला ।’

रामहरिले हुन्छको भावमा मुन्टो हल्लायो । अनि जतिसक्दो छिटो यहाँबाट निस्कौं भन्ने आशयले ईसारा गर्‍यो ।

उता गुरुकुलमा केटाहरु प्रहरी खोरमा छन् भन्ने हल्ला चलेछ । । हामीले फोन नउठेर म्यासेज जो छोडेको थियौं, ‘तुरुन्त कल पाउ, इटस अर्जेन्ट ।’

हामी अब मुक्त भयौं भन्ने भावले निस्कन लागेका थियौं । त्यही बेला एकजना प्रहरी जवान आएर हामीलाई रोकेर भने, ‘कहाँ जान लाग्नु भएको ? यत्तिकै कहाँ जान मिल्छ ? हिँड्नुस् माथी ।

हामी एक अर्कालाई हेराहेर गर्दै रुनु न हाँस्नुको अवस्थमा पुग्यौं ।

अब फेरि के भो ? हामी निर्दोष साबित भैसकेको होइन र ?

जवान बोल्यो ‘प्रक्रिया पुर्‍याएर छोड्न पर्‍यो नि ! ल हिड्नुस् माथी ।’

हामी हाकिमको कोठामा पुग्यौं । उनले हामीलाई बुझाउँदै भने, 'हेर्नुस् तपाईंहरुलाई अधिकारिक रुपमा पक्राउ गरे पछि आज यत्तिकै छोड्दा भोलि तपाईंका आफन्त आएर खै हाम्रो मान्छे भनेर हामीसँग मागे भने के भन्नु ? त्यसैले प्रक्रिया त पुर्‍याउनै पर्छ ।

यो प्रक्रियाले अर्को १ घण्टा खायो । सक्कल तीनपुस्ते सहितको विवरण खुलाएर हामीलाई एक अर्काको रहोबरमा छोडेको कागज गराएर ५ बजेतिर बिदा गरे ।

डाक्टर यादव बेकसुर पक्राउ परेर छुटेको खबर सुन्दा मलाई १५ बर्षअघिको घटना सम्झना मात्रै भएन, हाम्रो प्रहरी र प्रशासन अझै सुध्रिसकेको रहेनछ भन्ने महसुश भयो । राज्यका निकायबाट हुने यस्ता गल्तीबाट आम नागरिकले भोगेको मानसिक प्रताडनाको क्षतिपूर्ती के होला ? उनीहरुले भोगेको मानसिक यातना, उनीहरुको छवीमा पुगेको दाग र वर्षौंपछिसम्म यस्ता घटनाले दिने मानसिक हैरानीको क्षतिपूर्ति के हुन्छ ? जबसम्म यस्ता घटनामा क्षतिपूर्तीको व्यवस्था हुँदैन तबसम्म मैले जस्तै, डाक्टर यादवले जस्तै बेकसुर दुःख पाउने घटना दोहोरिरहन्छ ।

प्रकाशित : श्रावण ३०, २०८० १८:४३
प्रतिक्रिया
पठाउनुहोस्