२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५
ब्लग

अमलटारीमा गैंडासँग जम्काभेट

शब्द, तस्बिर:अंगद ढकाल

काठमाडौँ — अघिल्लो बुधबार साँझ सहकर्मी सुरज कुँवरले 'वन्यजन्तुको फोटो खिच्न जाने' हो भन्दै फोन गर्नुभयो । चितवन राष्ट्रिय निकुञ्जको अमलटारीबाट जिप सफारी सुरु हुने भएकाले उहाँलाई प्रस्ताव आएको रहेछ ।

अमलटारीमा गैंडासँग जम्काभेट

पर्यटन प्रवर्द्धनका लागि भनेर टेम्पल टाइगर रिसोर्टले यो क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुलाई चितवन लैजाने तयारी गरेको रहेछ । रिपोर्टिङका लागि उहाँ अन्यत्र जानुपर्ने भएकाले मलाई उहाँले प्रस्ताव गर्नु भएको थियो । विगतमा चितवन गए पनि फेरि नयाँ फोटो खिच्ने अवसर हुने भएकाले मैले जाने निश्चित गरें ।

र, भोलिपल्ट बिहीबार बिहानै हाम्रो चितवन यात्रा सुरु भयो । मुग्लिङ नारायणगढ सडकखण्ड अन्तर्गत पुल निर्माणको कामले गर्दा दैनिक ५ घन्टा सडक बन्द हुने भएकाले हामीले ११ बजे अघि नै सडकखण्ड पार गर्‍यौं । यो सडक निर्माणका कारण दैनिक मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुनेगर्छ ।

हामीलाई उक्त ३६ किमी सडकखण्ड पार गर्न दुई घन्टा लाग्यो । काठमाडौंबाट चितवन दूरीको हिसाबले धेरै टाढा होइन। तर कहिले सडक विस्तार त कहिले बाढी पहिरोले बिगार्ने गर्दा यो क्षेत्रको सडकयात्रा प्राय: कष्टकर हुनेगर्छ । तर पनि नयाँ रोमाञ्चक यात्रा हुने भएकाले बाटोको दु:खको मलाई धेरै वास्ता थिएन । यसै पनि म बेला बेलामा काठमाडौं बाहिर र दुर्गम ठाँउमा रिपोर्टिङ गर्नका लागि पुगिरहन्छु । जसले सडकका जस्तै कठिन यात्रा पनि मेरा लागि रोमाञ्चक नै हुन्छन् ।

हाम्रो टोलीमा फोटोपत्रकार म मात्र भएको हुँदा केही खल्लो पो हुने हो कि भन्ने चाहिं लागेको थियो । कमल, बसन्त र अरु साथीहरुसँगको सामिप्यताले हाँस्दै, गीत गाउँदै र रमाइलो गर्दै चितवन पुगियो ।

फोटो पत्रकारिता गरिरहँदा सौराहा कतिपटक पुगेँ याद छैन । जिप सफारीमा पनि धेरै गएँ । तर बाघलाई जिप सफारीको दौरान देखेको छैन । यसपटक सौराहा हैन, पश्चिम चितवन अमलटारीबाट जिप सफारीका लागि जाँदै थियौं । बाघ देखिन्छ कि भन्ने झिनो आशा थियो । जिप सफारीका क्रममा देखिन्छ कि भनेर मेरो क्यामेरा 'स्टेन्डबाइ थियो । मेरो नजर सफारीबाट झाडीमा हुन्थ्यो ।

चितवन पुगेर फ्रेस भएपछि हाम्रो टोली सामुदायिक वन जाने भयो । गाइड दाईले जंगल सफारीसँगै यससँग सम्बन्धित कथा तथा कहानीहरु हामीलाई सुनाउँदै सुरक्षा सतकर्ता र संवेदशिलता सम्झाइरहनुभयो । हामी सचेत पनि थियौं ।

जंगलको भित्री क्षेत्र पुगेपछि सामुदायिक वनभित्र निर्माण गरिएको पोखरीमा गैंडा आहाल खेलिरहेको देख्यो । गैंडा धाप, सिमसार तथा हिलो भएको क्षेत्रमा आहाल गर्न रुचाउँछ । आहाल खेलेको गैंडा हेर्दाहेर्दै हामीले क्रस गर्यौं । चालक दाइलाई जिप ब्याक गर्न भनेपछि हामी गैंडा नजिकै भएको ठाउँमा पुग्यौं ।

झाडी तथा बुट्यान भएको खोल्सोमा आहाल खेलिरहेका बेला मैले लुकेर प्राकृतिक अवस्थामा रमाइरहेका गैंडाको तस्बिर खिच्ने निधो गरेँ । जिपबाट ओर्लिएँ । माउ र बच्चा गैंडा रहेछन् । गैंडा मभन्दा त्यस्तै करिब २५ मिटरको दूरीमा थिए । मलाई राम्रो तस्बिर लिनु थियो । झाडीमा भएकाले मैले एंगल पाइरहेको थिइनँ । माउ र बच्चासँगै भएको बेला नजिक जानु हुँदैन भन्ने मलाई थाहा थियो । तर सुरक्षा खतरालाई इन्कार गरेर राम्रो तस्बिर खिच्ने भोकले ज्यानको प्रवाह नै नगरी मैले खोल्समा गएर खेलिरहेका गैंडाको तस्बिर लिने दुस्साहस गरेँ । क्यामेराको सटर बटन थिच्न मात्रै के सुरु गरेको थिएँ, गैंडा त म भएतिर आएर लखेट्न थालिहाल्यो ।

मतिर झम्टिदै आए पनि म हामफालेर जिपतिर भागेँ । साथीहरु पनि जिपमा चढिहाले । गाइड दाइले भुईंमा लाठी बजारेर आवाज निकालेपछि गैंडा रोकियो र फर्कियो । यो बेलासम्म मेरो खुट्टा लगलग कामिरहेको थियो । मन आत्तिएको थियो भने सँगै रहेका साथी कमल लघुशंका गरिरहेका बेला त्यतिकै भागेर गाडीमा चढेका थिए ।

जिपमा बसिरहेको बेला गाइडदाइले ऊ ऊ गैंडाले खेदायो भन्न थालेपछि ड्राइभरले सफारी स्टार्ट गरेर अगाडि बढाउन थाले । पछाडि हेर्दा अघि फर्किएको गैंडाले आफ्नो बच्चासहित हामीलाई खेदाउँदै थियो । यो क्षण साह्रै नै भयानक थियो । माउ र बच्चा गैंडाले हामीलाई लखेटेको क्षणको दृश्य कैद त गरेँ तर यसले केही पाठ पनि सिकायो ।

जंगल सफारीका बेला जिपबाट ननिस्कने र प्राकृतिक अवस्थामा रहेका वन्यजन्तुको छेउछाउ नजाने । सकेसम्म टाढै बसेर हेर्ने र उनीहरु लाई डिस्टर्भ नगर्ने । प्राकृतिक अवस्थाबाट नियाल्नुपर्ने र गाइडले भनेको कुरा राम्रोसँग ख्याल गर्नुपर्ने ।

संकटापन्न वन्यजन्तुको सूचीमा रहेको यो जीव हेर्नका लागि नेपालसहित विश्वका विभिन्न देशहरूबाट आउने गर्छन् । सन् २०२१ को गैंडा गणना अनुसार नेपालमा ७५२ वटा गैंडा छन् । तीमध्ये चितवनमा मात्रै ६९४ वटा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । यो संख्या भारतको काजीरंगा निकुञ्जपछि एकसिंगे गैंडाको संख्या धेरै चितवनमा छ । यसले पर्यापर्यटनका लागि महत्वपूर्ण योगदान गरेको छ । जैवीक विविधता सन्तुलन राख्न पनि यसको भूमिका बढी हुन्छ ।

गैंडाका लागि पर्याप्त घाँसे मैदान तथा झाडी आवश्यक पर्छ । यस्तै, पानी पिउन र आहाल खेल्न पानीको घोल आवश्यक पर्छ । चितवनमा यी दुवैको अनुकूलता रहेकाले यहाँ धेरै गैंडा पाइएको हो ।

गैंडाहरू प्रायः एकलकाँटे स्वभावका हुन्छन् । तर, चर्दा र आहाल बस्दा भने सँगै देखिन्छन् । केटो/केटी एकदेखि तीन वर्षसम्म आमासँगै बस्छन् । गैंडा ‘के–सेलेक्टेड’ प्रजाति हो । सन्तान उत्पादन दर कम, तौल धेरै, वृद्धि र विकास ढिलो हुने भएकाले यसलाई ‘के–सेलेक्टेड’प्रजातिमा राखिएको हो ।

सौरहामा पनि विगतमा एकपटक गैंडासँग जम्काभेट त भएको थियो तर यस किसिमको थिएन । अमलटारीमा जंगल सफारी गरेको पहिलो पटक नै मेरो लागि अस्मरणीय रह्यो । नारायणी नदी तरेर पहाडको फेदै फेद जिप सफारी गर्दा अर्कै खालको अनुभव त भयो नै । शान्त वातावरण रुचाउनेका लागि अमलटरी उपयुक्त गन्तव्य हुन सक्छ ।

प्रकाशित : फाल्गुन ६, २०७९ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एक वर्षमै कांग्रेससँगको गठबन्धन भत्कियो, नयाँ गठबन्धन कति दिगो रहला ?