वृद्ध घरभेटी- ब्लग - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
ब्लग

वृद्ध घरभेटी

गणेश राई

काठमाडौँ — जिज्ञासुलाई ‘म काठमाडौंमा बस्छु’ भन्दै आएको पनि ३२ वर्ष भयो । कान्तिपुर दैनिकमा आबद्ध भएकै २२ वर्ष पुग्यो । कहिलेकाहिँ समय कता गायब भयो झैं पनि लाग्छ । गायब भएकै भने होइन, समयको वेगसँग आफ्नो तालमेल नमिलेको हुन सक्छ । 

यत्तिका वर्ष काठमाडौंमा के–के गरियो, त्यसको फेहरिस्त आक्कलझुक्कल प्रसंग आउँदा सम्झिने हो । यो पक्का हो कि, डेरा जिन्दगीलाई बिदाइ गर्न भने धेरै नै मुस्किल पर्‍यो ।

डेराको अन्तिम बास टुंग्याउँदै २०७९ असोज २८ गते निजी निवासमा सर्दै थियौं । डेरामा बसेको घरको गेट बाहिर निसान ट्रकमा सामान भारी लाउने काम भइरहेको थियो । उमेरले ७० वर्षीया घरबेटी आमा कतै बाहिर जाँदै हुनुहुन्थ्यो । आमाले मूल बाटोमा पुगेर फर्किएर भन्नुभयो‚ ‘बाबु, मैले यो छाता उघार्न खोजेको सक्दै सकिनँ । उघारिदेऊ न !’

मैले सोधें‚ ‘टाढै जान लाग्नुभयो आमा ?’

उहाँले भन्नुभयो‚ ‘वडा कार्यालयमा बा र मेरो वृद्धभत्ता बुझ्न जान लागेको थिएँ, घामले साह्रै पोल्यो । छाता ओढौं भनेको उघार्नै सकिनँ बाबु । माथि बालाई भित्रै बस्नू भनेर एकछिन निस्केको ।’

मैले छाता उघारेर दिएँ । आमा अघि बढ्नुभयो । तर, आमाको यो सामान्य समस्या बोध गर्दै गर्दा म भावुक भएँ । उमेर घर्किँदै जाँदा हाम्रो पनि यही हाल हुने हो । कसै न कसैको सहारा चाहिने रहेछ ।

घरभेटी दम्पतीको घरको भुइँतलामा डेरा बसेको तीन वर्ष नाघिसकेको थियो । घरबेटी बा र आमा माथिल्लो तलामा बस्नुहुन्छ । उमेरले ९१ वर्षीय घरभेटी बा मेरो परिवारलाई ‘असल मान्छे’ भनेर असाध्यै तारिफ गर्नुहुन्छ । ‘म बाँचुन्जेल मेरै घरमा बस्नू है बाबु,’ भन्नुहुन्थ्यो । मेरी पत्नीले बेलाबेलामा बा र आमाको ब्लडप्रेसर जाँचिदिन्थिन् । बुढापाका दयाको पात्र नभई आवश्यक परेको बेला सहयोग गर्ने हो भन्ने लाग्छ । बालाई मैले प्रस्ट भन्नै सकिनँ कि म घर सर्दैछु भनेर । घर बनाउँदै छु मात्र भनें । किनभने उहाँ आँसु बर्बरी झार्नुहुन्छ । म आफू पनि उमेरले ५० नाघिसकेको छु । घरमा ७४ वर्षकी मेरी आमा र ८५ वर्षकी सासुआमा हुनुहुन्छ । बुढाबुढीको मनमा ठेस लाग्छ कि भन्ने भित्री मनमा परिरहन्छ ।

घरबेटी बा र आमा ललितपुरको स्थानीयबासी हुनुहुन्छ । छोरा, बुहारीहरू, नातिनातिनी, पनातिपनातिनीको धनी हुनुहुन्छ । जेठो छोरो मूल घरमा बस्छन् । माइलो र कान्छोले बनाएको घरमा बा-आमा बस्नुहुन्छ । माइलो परिवारसहित बेलायतमा बस्छन् भने कान्छो परिवारसहित अमेरिकामा । उहाँहरूको दैनिकजसो भाइबरमार्फत संवाद हुन्छ । जेठो छोरो र बुहारी आउजाउ गरिरहन्छन् । आपतै परेको बेला एक-दुई रात बास बसेर सघाउँछन् ।

घरभेटी बालाई उच्च रक्तचापका कारण एकपटक स्ट्रोक भइसकेको छ । घरबेटी आमा आन्द्राको अप्रेसन गरेर बाँचेकी व्यक्ति हो । तर, उहाँ आफ्नो मात्र नभई पतिको पूर्ण ख्याल राखेर खाना पकाउने, खाने, खुवाउने गर्नुहुन्छ । नुहाई धुवाई, दाह्रीजुँगा खौरी दिने, समय मिलाएर औषधि सेवन गराउनेलगायत सबै काम बुढी मान्छे आफैं गर्नुहुन्छ ।

हामी भन्ने गर्छौं नि, ‘सुका माना घिउ’ खाएका उहिलेका मान्छे बलिया हुन्छन् । ठ्याक्कै त्यस्तै हुनुहुन्छ आमा । शान्त, सौम्य, आत्मबलले पूर्ण, शालीन व्यवहारले दीर्घायु बाँचिरहेको छ, दम्पती ।

तर, यो उमेरकालाई आवश्यक पर्दा छाता उघार्ने तागतवाला साथी पनि चाहिन्छ । ग्याँसको सिलिन्डर, पानीको जार, चामलको बोरा, नुनभुटुन र तरकारी किनेर ल्याइदिने अनि माथिल्लो तलासम्म उचालेर पुर्‍याइदिने व्यक्ति चाहिन्छ । डाक्टरको सल्लाहअनुसारको औषधि किनिदिने कोही सन्तान साथैमा हुनुपर्ने खाँचो खड्किने रहेछ ।

मेरा घरभेटी बा-आमाजस्तै सहरका धेरै धेरै बा-आमाहरू हुन सक्छन् । गाउँघरका बा-आमाहरूको दुःख उस्तै छ । गाउँघरका छोराहरू खाँडी मुलुकतिर त बुहारी, नातिनातिनीहरू सहरतिर छन् । सहरका छोरा-बुहारी सपरिवार युरोप, अमेरिका, अस्ट्रेलिया, जापानतिर छन् । घरमा बुढापाका बा-आमाहरूले कहर खेपिरहेका छन् ।

चिन्ता छ, भोलि म र मेरी पत्नी पनि यस्तै हुने हौँ कि ! ती दिन धेरै टाढा छैन किनभने स्नातक पढ्दै गरेका सन्तानको दिमागमा विदेश पलायन हुने बिज उम्रिन थालिसकेको हुन सक्छ ।

यता देशको राजनीतिक व्यवस्थाले जनसांख्यिक लाभांश उपयोग गर्ने नीति लिएको छैन । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार कुल जनसंख्याको ४० प्रतिशत १६ देखि ४० वर्ष उमेर समूहका छन् । त्यसैगरी ८ दशमलव १३ प्रतिशत ६० वर्षभन्दा माथिका उमेरका छन् । त्यसमा मेरा घरबेटी बा-आमा पनि पर्नुहुन्छ ।

ज्येष्ठ नागरिक ऐन, २०६३ अनुसार ६० वर्ष उमेर पूरा गरेका व्यक्ति ‘ज्येष्ठ नागरिक’ अन्तर्गत पर्दछन् । ज्येष्ठ नागरिकसम्बन्धी नियमावली, २०६५ ले ७० वर्ष उमेर पूरा नगरेका ज्येष्ठ नागरिक, ७० वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक, असहाय ज्येष्ठ नागरिक, अशक्त ज्येष्ठ नागरिक, एकल ज्येष्ठ नागरिक (विधवा, विधुर वा अविवाहित) भनेर वर्गीकरण गरेको छ । ज्येष्ठ नागरिक कल्याण समितिको काम, कर्तव्य र अधिकारको व्यवस्था गरेको छ ।

हरेक जिल्लामा हेरचाह केन्द्र, दिवा सेवा केन्द्र, ज्येष्ठ नागरिक क्लब एवं ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षासम्बन्धी काम गर्ने उल्लेख गरिएको छ । यसैगरी नगरपालिका र गाउँपालिकास्तरमा योजना समिति गठन गरी ज्येष्ठ नागरिकसम्बन्धी योजना तथा कार्यक्रम तर्जुमा गर्ने र कार्यान्वयन गर्ने, गराउने, ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गर्नका लागि आवश्यक कार्यहरु सञ्चालन गर्ने गराउने भनेको छ । तर, मेरा घरबेटी बा-आमा वृद्धभत्ता बुझ्नेबाहेक कहिल्यै कुनै निकायले कतै निजमा निहित ज्ञान, अनुभवबारे कोही पनि बुझ्न आएको पाइनँ । बुढापाकाका निम्ति बनेका कानुन कागजका खोस्टामात्र भएका छन् ।

प्रकाशित : कार्तिक १५, २०७९ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्

पोलका अनावश्यक तार हटाउन इन्टरनेट, केवल अपरेटरलाई प्राधिकरणको ४५ दिने अल्टिमेटम 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले पोलमा टाँगिएका, लत्रिएका अनावश्यक तार हटाउन इन्टरनेट, केवल टीभी तथा दूरसञ्चार संचालकहरुलाई ४५ दिने अल्टिमेटम दिएको छ । सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले ४५ दिनभित्र अनावश्यक तार हटाउन र नहटाएमा प्राधिकरणले नै हटाइदिने चेतावनी दिएको छ ।

सल्यानको सदरमुकाम खलंगामा अव्यवस्थित रूपमा टाँगिएका तार । तस्बिर : विप्लव महर्जन/कान्तिपुर

पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएका तारले शहरलाई नै कुरुप बनाएको, आगलागीजस्ता दुर्घटना समेत बढ्दै गएको भन्दै प्राधिकरणले यसतर्फ ध्यानाकर्षण भएको जनाएको छ । आवश्यक तारहरुलाई भने क्लिप वा रिङ प्रयोग गरी व्यवस्थित गर्न, सडकमा नझर्नेगरी व्यवस्थापन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । सडक वरपर टुटेका तारहरु पनि हटाउन आग्रह गर्दै प्राधिकरणले ४५ दिनभित्र सुधार कार्य नगरेमा सेवा प्रदायकको केवल लगायतका उपकरण प्राधिकरण आफैले हटाइदिने चेतावनी दिएको हो ।


प्रकाशित : कार्तिक १५, २०७९ १३:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×