कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

...अनि ‘ट्री हाउस’ मा भुसुक्कै निदाएँ

विद्या राई

मैले घुम्न, डुल्नलाई धेरैदिनको योजना बनाउनुपर्दैन । कार्यालयमा काम सकेर डेरा फर्किंदै गर्दा कोटेश्वर चोकमा पुगेपछि ‘आउटिङ’ जाने सोच बनिदिन्छ । अनि म डेरा नगएर धुलिखेल पुगिरहेको हुन्छु । 

...अनि ‘ट्री हाउस’ मा भुसुक्कै निदाएँ

योपालि भाइटिकाको दिन यस्तै भयो । बिहान ९ बजेतिर फेसबुक स्क्रोल गर्दै थिए, तारकेश्वरस्थित ‘बर्डहिल फार्म स्टे’ मा अघिल्लो बेलुकी देउसीभैलो खेलेको, पिङ खेलेको पोस्ट देखेँ । कोभिड महामारीकै (दुई वर्षअघि) बेला सुरु भएको फार्मको बारेमा थोरबहुत जानकार नै थिए । मैले फार्मका सञ्चालक आरके (थापा) दाइलाई मेसेन्जरमा मेसेज लेखिहालेँ । ‘दाइ, आज नि फार्म खुल्छ ?’ जवाफमा उनले भने, — ‘खुल्छ ।’ तिहार बिदाको दुई दिन डेरामै बसेको भएर बाहिर कतै निस्किउँ भइरहेको थियो, फार्म खुल्ने भएपछि मैले तत्कालै ‘आउटिङ’ को सोच बनाए । आरके दाइलाई फार्म आउन लागेको खबर गरे ।

‘लोकेसन सेट’ गर्न गुगल गरेँ । फार्म बालाजु बाइपासदेखि ९ किलोमिटर मात्रै टाढा भए पनि मेरो डेरादेखि १९ किलोमिटर टाढा रहेछ । खाना खाइवरी बिहानको साढे १० बजेतिर डेराबाट निस्किएँ । सोह्रखुट्टेमा कफी पिएँ । बालाजु बाइपास पुगेपछि स्कुटर गुगल म्यापमा देखाएकै बाटोमा मोडेँ । मध्यान्ह १२ बजेतिर नेपालटार, धर्मस्थली, चिसापानी, तीनपिप्ले हुँदै फार्म पुगे । खाजा खाएँ ।

पारिलो घाम लागेको थियो । जाडो मौसममा घाम असाध्यै प्यारो लाग्छ । फार्मवर्तिर चौरमा बसेर घामको न्यानो तापे । वरपरको दृश्य नियालेँ । सहरदेखि ९ किलोमिटर मात्रै भित्र छिर्दा गाउँ पुगेको भान भयो । पहाडहरूको फेदीजस्तो भान पर्ने फार्मको वरपर गाउँ डुले । रहर लाग्दा बाला लागेको हरियो कोदोबारी । घाममा बसेर नुनखुर्सानीसित साँधेर खाने खालका अमिलोका दाना बोटैभरि लटरम्म फलेका । परालका कुन्यु । खेतका फाँटमा लहरै मलका थुप्रा । चराको चिरबिर । पारिपट्टि शिवपुरी राष्ट्रिय निकुञ्जको हरियाली जंगल । दृश्य साँच्चिकै मनमोहक ।

फार्मभित्र सागसब्जी, अकबरे खुर्सानीको करेसाबारी । बाख्रा पालन, लोकल कुखुरा पालन, कालिज पालन । बाख्रा पाठा खोरबाट घरी न घरी निस्किन्थे । करेसाबारीमा पुगिहाल्थेँ । सर्दै गरेको साग फेदै उखालेर खाइदिन्थेँ । आरके दाइ घरी बाख्रापाठा सम्हाल्न पुग्थे । घरी कुखुरा, कालिजलाई चारो हाल्न । ‘पाहुना’ हरूलाई अर्डर अनुसारको खानपिन पुर्‍याउन । फार्ममा उनका दुई जना सहयोगी रहेछन् । भाइटीका मनाउन भनेर बाहिर गएका रहेछन् । त्यही भएर उनैले सम्हालिरहेका थिए । मचाहिँ नजिकैको लिंगे पिङमा टहलिँदै यी सब परिवेशको अवलोकन गर्दै थिएँ । यसैगरी दिन पनि बित्यो ।

साँझ घाम अस्ताएको दृश्य झनै मनमोहक देखियो । घामको सुनौलो प्रकाश फार्मको ‘ट्री हाउस’ र शेर्पा कटेजमा ठोक्किँदै अस्तायो । भाइटीका मनाउन गएका फार्मका सहयोगी बेलुकीपख फर्किए । चिसो बढिरहेको थियो । ‘क्याम्प फायर’ थाल्यौं । गफियौं । आरके दाइ, कला क्षेत्रमा परिचित नाम हो । खासगरी उनले कार्टुन र ‘इलुस्ट्रेसन’ विधामा काम गर्दै आएको एक दशक बढी भइसकेको छ ।

फार्म व्यवसायमा लाग्नुको जिज्ञासा राखेँ । उनले ‘सहरिया व्यस्त जीवनबाट फुत्किन गाउँमा फार्म खोलेको’ प्रतिक्रिया दिए । कोभिड महामारी अगाडि ठमेलमा दुई वटा ‘आर्ट ग्यालरी’ थिए । कार्टुन, ‘इलुस्ट्रेसन’का कामको चापाचापले गर्दा दिमागले सहज जीवनयापन खोजिरहन्थ्यो । सिर्जनशील र शान्त स्वभावका उनलाई आतिथ्य सेवामा काम गर्ने रुचि पनि भइरहन्थ्यो ।

कोभिड महामारीले यो अवसर जुराइदियो । ठमेलमा ग्यालरी बेचिदिए । फार्म चलाउनलाई लिजमा जग्गा खोज्दै गाउँ चहारे । अहिले फार्म भएको कोट गाउँमा पुगे । खोँचजस्तै भए पनि मुनि जंगलमा चराचुरुङ्गीको चिरबिरले मन्त्रमुग्ध भए । यहीको पाँच रोपनी जग्गा लिजमा लिए । र फार्मको नाम जुराइहाले — ‘बर्डहिल फार्म स्टे ।’ फार्मका संरचना बनाए । स्थानीय उत्पादनले आतिथ्य दिने उद्देश्यले कटेज र ‘ट्री हाउस’ बनाए । रुखको आडमा बस्ने ठाउँ बनाइने ‘ट्री हाउस’ले मानिसहरूलाई आकर्षण गराउँछ । कटेज र ‘ट्री हाउस’ बाहेक टेन्टमा पनि बस्ने व्यवस्था छ ।

सोह्रखुट्टेस्थित घरमा ओहोरदोहोर गरिरहन झन्झट हुने हुँदा फार्मकै कटेजमा कार्यथलो बनाएका छन् । अर्डर अनुसारका कार्टुन, इलुस्ट्रेसन, पेन्टिङका काम गर्छन् । फार्मको रेखदेख, आतिथ्य सेवा दिन्छन् । आफ्नो अनुकुल जीवनयापन गर्न पाउँदा निकै खुसी देखिन्छन् । ‘काठमाडौंबाट धेरै टाढा छैन, शान्त ठाउँ छ, गाउँकै जीवनशैली, बाल्यकाल महसुस गराउने वातावरणमा आतिथ्य सत्कार गर्ने उद्देश्य हो, आफूले चाहेको काम गर्न पाउँदा, यही बस्न पाउँदा आनन्दित छु,’ उनले भने । फार्मको सजिसजाउमा काम गरिरहेका छन् । जाँतो, ढिकी, डढिया, बल्छी जस्ता परम्परागत सामग्री तथा औजारहरूले सजाउने तरखरमा छन् । कटेजका भित्तामा पेन्टिङ गर्ने सोच बनाएका छन् ।

ह्याङआउट गर्न र ‘नाइट स्टे’ गर्न चाहने परिवारलाई लक्षित गरेर बनाइएको फार्ममा बिहीबारदेखि आइतबारसम्म ‘गेस्ट’ टुट्दैनन् । बालाजुदेखि फार्मसम्म पुग्ने बाटो ठाउँ ठाउँमा कच्ची भएकाले मानिसहरूलाई केही असहज हुन्छ तर स्थानीय खानपान, फार्म र वरपरको दृश्यले ‘गेस्ट’हरुलाई दोहोर्‍याइ तेहेर्‍याइ फार्म पुर्‍याइरहेको हुन्छ । बालाजुबाट यहाँ पुग्ने दुइटा बाटा छन् । नेपालटार, धर्मस्थली, चिसापानी, तीनपिप्ले हुँदै फार्म पुग्ने, अर्को त्रिशूली राजमार्ग हुँदै पुग्ने ।

गफिँदै ‘क्याम्प फायर’ गर्दा चिसो पनि भाग्यो । खाना खाने बेला भइसकेको थियो । तिहारको झिलिमिली बत्ती बलिरहेको कटेजमा बसेर खाना खायौं । लोकल कुखुराको मासु र जिम्बु झानेको दालमा बोटबाट भर्खरै टिपेर ल्याएको अकबरे खुर्सानी कर्‍याप्प पार्दै खाना खाँदाको स्वादले मलाई फेरि घरै पुर्‍यायो । एकछिन ‘क्याम्प फायर’ गरेर सुत्न लाग्यौं । म ‘ट्री हाउस’ तिर लागेँ । चार जना अट्ने ‘ट्री हाउस’ मा म एक्लै थिएँ । नजिकैको पाँच जना अट्ने शेर्पा कटेज पनि खाली थियो । जंगलनजिकै एक्लै भएकाले डर महसुस नभएको त होइन, तर मैले यो अनुभव पनि लिन चाहेँ ।

दिउँसो पुग्नेबित्तिकै मैले ‘ट्री हाउस’ रोजेको थिए । तर अरु नै गेस्टले अग्रिम बुकिङ गरिसकेका रहेछन् । उनीहरु आउने नआउने टुंगो भइसकेको थिएन । फार्ममा आइसकेका अरु तीन जना गेस्टले पनि त्यही रोजिरहेका थिए । संयोगवश बुकिङ गर्ने पनि आएनन् । अरु पनि बसेनन् । मैले पहिलो पटक ‘ट्री हाउस’ मा बस्ने मौका पाउँदै थिए । यसैमा डरलाई भगाए । भएभरका सबै बत्ती बालेँ । पारि गाउँमा अबेरसम्म ठूलो आवाजमा गीत बजाउँदै नाच्दै गरेको सुनिन्थ्यो । म भुसुक्कै निदाएछु ।

भोलिपल्ट बिहान सात बज्नै लाग्दा ब्युँझिएँ । पारिलो घाम सिसाको झ्याल छिचोल्दै ओछ्यानमा पर्‍यो । बाहिर चियाउँदा चहकिलो, निलो आकाशमा रुवाको थुप्रोझैं बादल फैलिएको थियो । चिया पिएँ । पासाङ ल्हामु राजमार्ग भएर शिवपुरी राष्ट्रिय निकुञ्ज, ओशो तपोवन नियाल्दै गाउँबाट सहर फर्किएँ ।

प्रकाशित : कार्तिक ११, २०७९ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?