विदेशीलाई सांस्कृतिक स्वाद चखाउने चिनियाँ काइदा- ब्लग - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
ब्लग

विदेशीलाई सांस्कृतिक स्वाद चखाउने चिनियाँ काइदा

लक्ष्मी लम्साल

बेइजिङ — दुई नम्बर सब-वेको हफिङमन स्टेसन। सी एक्जिटबाट निस्केपछि मोबाइल खोलेर जीपीएस जोडें । मध्यशरद पर्वको उपलक्ष्यमा विदेशी मित्रहरूको जमघट तथा ‘हाइ बेइजिङ’ नामक गतिविधिको शुभारम्भ कार्यक्रम भएकाले बेइजिङस्थित विदेशीको रुपमा आमन्त्रित थिएँ म । तर कुनै अपरिचित ‘भेन्यु’मा पुग्नुपर्‍यो भने हत्तपत्त हिम्मत नआउनेमा म पनि एक हुँ ।

एक्लै भएका बेला यसपटक अलिअलि जान्ने-सुन्ने आफैँ हुनुपर्ने भयो । नक्साअनुसार सब-वेबाट निस्केपछि धेरै टाढा नभएको बुझिन्थ्यो । त्यसैले ‘चङ् यी टेम्पल थिएटर’ भन्ने शब्दलाई चिनियाँ सहकर्मी सी फेइ याङले मान्डारिनमै लेखिदिएकाले तुरून्तै सर्चमा हालें । नक्साले हिँडेर ५ मिनेटजति लाग्ने देखायो, तर गँड्यौलाजस्तो मार्ग अलि धेरै गुडुल्किएको जस्तो छ । तथापि पछ्याउँदै यता र उता हिँडेपछि जीपीएस सुन्दरीले भन्न थालिन्, ‘दायाँ जानुस्, सय मिटरपछि मोडिनुस्, अनि सिधा अगाडि जानुस् इत्यादि ।’

अचेल धेरै मानिसहरू जीपीएस नेभिगेसनमा निर्भर छन् भन्दा पनि हुन्छ । झन् सन् २०२० देखि चीनले आफ्नै स्याटलाइट नेभिगेसन सिस्टम, पेइतौलाई पूर्णता दिएर सर्वसुलभ बनाएको छ । अचेल कुनै पनि विदेशीले चीनका अन्तरकुन्तर खोतल्न जीपीएस प्रयोग गर्छन्, त्यसैले धेरैका विचारमा अब अमेरिका मात्रै ‘जीपीएस शक्ति’ होइन । चीनको पेइतौ पनि विश्वका चार ग्लोबल स्याटलाइट नेभिगेसन नेटवर्कहरू अमेरिकाको जीपीएस, रसियाली ग्लोनास, इयूको ग्यालिलियो र भारतको कन्स्टेलेसन (नेभआईसी) जत्तिकै शक्तिशाली भएको छ ।

धेरै सवारी चालकहरूले अचेल आफ्नो खुबीले गन्तव्य भेट्न छोडिसकेका छन् । हरेक ट्याक्सी चढेपछि ठाउँको नाम बताउनुपर्छ, चालक नक्साअनुसार हुँइकिन्छ, ट्राफिक लाइट बलेको बेलामा मात्रै रोकिने हो । सामान्यतया अरू मानिसहरू पनि मोबाइलमा घोप्टिएर हिँडेको देखिन्छ, तीमध्ये कतिपय त जीपीएस नक्साअनुरुपको बाटोमा हिँडिरहेको छ/छैन भनेर जाँच्न पनि हुन सक्छ ।

नक्सा पछ्याउने मामिलामा कमजोर भए पनि बाटोमा भेटिएका मान्छेलाई सोध्दै हिँड्ने मेरो एउटा राम्रो बानी छ । आत्मविश्वास भएपनि केही पाइला हिँड्दै गर्दा फुर्सदिलो सुरक्षा गार्ड देखेकाले सोध्न मन लागिहाल्यो । उसले नक्साअनुसार चोर औंलाले देखायो, ‘यो गल्लीबाट त्यहाँसम्म जाने; त्यहाँबाट दायाँ मोडिने र फेरि त्यहाँबाट पनि दायाँ मोडिने; ठ्याक्कै पुगिन्छ ।’

अरूलाई मूर्ख बनाउने सिलसिलामा बाटो देखाउनेहरूले यस्तै प्रकारका उट्पट्याङ तरिका सिकाएका कुरा सामाजिक संजालहरूमा हेरिन्थ्यो, कता कता शंका लाग्ने । तथापि नक्सा सुन्दरीको आवाजलाई पछ्याउँदा सही बाटोमै हिँडिरहेको देखियो ।

०००

अलि भित्र पुगेपछि पुरानो पुरानो गल्ली र होचा होचा घर अनि अलि फुर्सदिला मान्छेहरू बसिरहेको स-साना आँगन देखापरेपछि थाहा भयो, यो त ‘हुथोङ्’ रहेछ । नेपालीमा ‘पुरानो गल्ली’ भन्ने हो भने घाम र उज्यालो नछिर्ने अँध्यारा र चिसा गल्ली भन्दा हुन्छ । बेइजिङका यी छिँडीहरू गल्ली मात्रै नभएर प्राचीन चीनका परिचायक हुन् ।

रासायनिक तत्त्व हावी हुँदा अर्गानिक खाद्यपदार्थ दुर्लभ हुन गएजस्तै बेइजिङको विकासले गगनचुम्बी टावरहरू पाएको छ । कुनै बेलाको बेइजिङभरिको सर्वोच्च टावर भनिने ‘श्वेत चैत्य’ नै पुड्को भएको छ । जुन चीनको ‘हुथोङ्’ सम्पदाभित्र अवस्थित छ । अत्याधुनिक र तीव्र विकासका कारण बेइजिङ पनि अछुतो रहेन र प्राचीन चीन तथा रहनसहन भेट्न मुस्किल हुने भयो । आफूलाई पाँच हजार वर्ष पुरानो सभ्यताको अनुयायी बताउने चीनले त्यही प्राचीन सभ्यताको ‘मार्केटिङ’का लागि जोगाएर राखेको सम्पदा नै ‘हुथोङ’ हो । त्यहाँ ठ्याक्कै पुरानो चीनको झल्को पाइन्छ । यही हेर्नका लागि विदेशीहरू यस्ता गल्लीमा भौतारिन्छन् । पुरानो र नयाँ चीनबीचको अन्तर हेरेर छक्क पर्छन् । यस्ता दर्जनौ गल्लीहरू बेइजिङको केन्द्रभागमा जोगाइएका छन् । यस्ता पुराना गल्लीमा बस्नेहरू चाहीँ नवधनाढ्यहरू हुन्, जो कोहीले यस्ता क्षेत्रमा सानो टुक्रा किन्ने हैसियत राख्दैनन् । नयाँ पुस्ताका लागि र पुरानो चीनको झल्को मेटाउन चाहने संसारका लागि चीनले बचत गरी राखेको सम्पदास्थलको रुपमा पुरानो गल्लीलाई लिँदा न्यायोचित हुन्छ ।

सन् १९४९ मा नयाँ चीनको स्थापनापछि पनि बेइजिङमा हुथोङको संख्या ६ हजारभन्दा बढी थियो तर बढ्दो जनसंख्या, आर्थिक विकास र सहरीकरणले नाम परिवर्तन वा पुनर्निर्मित भए । अझै पनि बेइजिङमा ४ हजारभन्दा बढी प्रसिद्ध हुथोङहरू छन् । यदि तिनीहरूलाई जोड्ने हो भने ग्रेटवालभन्दा पनि लामो हुनसक्ने बताइन्छ ।

०००

करीब ३ सय वर्ष पुरानो इतिहास बोकेको हुथोङको ‘चङ यी छ्’ मा यसपालिको मध्यशरद पर्वको निम्तो मान्न विभिन्न देशका पाहुना आइरहेका थिए । आयोजनास्थल बाटोमै पर्ने भएकाले नक्साले गन्तव्यमा पुगेको जानकारी दियो । विदेशीहरूको चहलपहल देखेपछि त यसै पनि सही ठाउँमा पुगेको अवगत भइहाल्यो नै ।

हुथोङमा छिरेपछि कता कता नेपालीपनको झल्को आउँछ । त्यहाँ धेरै कुराहरू तुलनात्मक अपरिष्कृत हुन्छन् । आँगन, कोठाचोटा, वरिपरिको वस्तुस्थितिले कता कता भक्तपुर, पाटनतिरका धार्मिक कुनाकाप्चाको झल्को दिन्छन् । नाटकघर लेखिएको घरभित्र छिर्ने बित्तिकैको साँघुरो पेटीमा लहरै टेबुलहरू राखिएका थिए । गाँठो पार्ने, मुकुन्डो र अन्डाजस्तो गोलो वस्तुमा पेन्टिङ गर्ने अनि पेपर काट्ने काममा विदेशीहरू तल्लीन थिए ।

कुनै औपचारिक घोषणा नभए पनि ओपेरा हेर्ने निर्धारित समयको पर्खाइमा विदेशीहरू यस्ता झिनामसिना काममा अल्मलिइरहेका थिए । तथापि यो चानचुने ‘सफ्टपावर’ हैन भन्ने बुझ्नका लागि धेरै कसरत गर्नै पर्दैन । त्यहाँ हस्तकलाका विधामा पारङ्गत चिनियाँहरूले हातमा हात मिलाएर विदेशीलाई सिकाइरहेका थिए । गैरभौतिक सांस्कृतिक सम्पदाको पुनरुत्थान गर्दै रहेका चिनियाँले बच्चालाई कखरा लेख्न सिकाएजसरी विदेशीका हात समाएर मौलिक संस्कृति सिकाइरहेका थिए । हामीले यस्तो गाँठो पार्ने गतिविधि कसैले नसिकाएरै जानेको हो, हातमा कैँची परेका बेला यत्तिकै कागज काटेको हो । तर यस्तै कुरामा गहिरो सांस्कृतिक लेप लगाउने चिनियाँ शैलीले छक्क पार्दछ ।


ओपेरा
पाकिस्तानबाट आएका मोहसिनले एउटा मुकुण्डोमा कालो र रातो मसी पोतेर एउटा मुकुन्डो रंगाए । एक वैज्ञानिकका रुपमा बेइजिङमा कार्यरत उनले चिनियाँ सांस्कृतिक अध्यात्म रहेको ठान्छन् । आफूले पेन्टिङ गरेको मुकुन्डो पनि उनैले पाए । विभिन्न देशका विदेशीहरूले एउटै गतिविधिमा भाग लिए पनि उनीहरूको अनुभूति भने फरक फरक हुन्थ्यो । विगतमा कतिपयले यस्ता कार्यक्रमको अनुभव गरिसकेकाले यसपटक गुरुहरूले सिकाउन मेहनत गर्नुपरेन । अधिकांश विदेशीहरू जसले चीनमा केही वर्ष बिताएका छन्, उनीहरूले चिनियाँ परम्परागत कलाका कुनै न कुनै पक्षमा भाग लिएकै हुन्छन् । आफ्नो देशमा जन्मेदेखि चालीसौं वर्षसम्म रञ्जना लिपी कोर्न नजानेका नेपालीले चिनियाँ कालिग्राफीको अनुभव लिएका हुनसक्छन् ।

चीनमा भाषा पढ्न आउने विदेशी विद्यार्थीहरूले यस्ता सांस्कृतिक अनुभवका अनेकन गतिविधि भोगेका हुन्छन् । चीनले आफ्नो संस्कृतिको प्रभावको प्रचार गर्नका लागि विदेशी दूतलाई यस्ता अभ्यासमा भाग दिलाउने गरेको छ ।

हेर्दाहेर्दै एकैछिनमा विदेशीले कति कलात्मक गाँठो पारे, रंगहीन मुकुन्डोमा सुन्दर पेन्टिङ भरे र विभिन्न मांगलिक जनावरका आकृतिमा कागज कटाइ गरे । कागज कटाइकी चिनियाँ गुरुआमाले सुनाइन्, ‘पहिला पहिला चिनियाँहरू निराश वा विचारशून्य भएका बेलामा कागज काट्थे रे । अहिले पनि धेरै चिनियाँहरू फुर्सदमा वा रचनात्मक स्फूर्ति जगाउनका लागि कागज कटाइ गर्छन् ।’ चाडपर्वका बेलामा झ्याल ढोकामा टाँसिने मांगलिक पेपरहरू अहिले पनि उत्तिकै प्रचलनमा छन् । यस्ता कटिङको ठूलो बजार छ । चीनमा भएका विभिन्न जनावर र तत्वहरू पेपर कटिङका माध्यमबाट विश्वभर पुग्छन् ।

०००

प्राचीन गल्लीमा रहेको थिएटर प्राङ्गणमा विदेशी पाहुनाले ४/५ प्रकारका सांस्कृतिक प्रशिक्षण पाइसकेका थिए । अब हलभित्र लगेर अर्को सम्पदा देखाए । खुनछ्वी चिनियाँ ओपेरा । दुई जना युवतीले परम्परागत पोशाकमा गाउँदै र नाच्दै झन्डै आधा घण्टा मञ्च कब्जा गरे ।

खुन् छ्वी ओपेरा चिनियाँ पुराना ओपेरा विधाहरूमध्ये एक रहेछ‚ जसको उत्पत्ति १४औं शताब्दीमा चीनको खुनशान, सुचौमा भएको थियो । मिङ राजवंशको मध्यदेखि यता करीब ३ सय वर्षदेखि यसले चिनियाँ रंगमञ्चमा प्रभुत्व जमाएको छ । गायन, वाद्यवादन, नृत्य र मार्सल आर्टलाई जोडेर यसले दर्शकलाई एकाग्र बनाउँछ । सन् २००१ देखि मानव जगतको मौखिक र अमूर्त सम्पदाको उत्कृष्ट कृतिका रुपमा युनेस्कोको गैरभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत भएपछि यसको ख्याती विश्वव्यापी भयो । चीनभित्र त हुने नै भयो किनभने भएका संस्कृतिहरूलाई तिखारेर, निखारेर चिटिक्क पारेर परिपक्व बनाउने ध्याउन्नमा सिंगो चीन जो लागिपरेको देखिन्छ । विदेशीका लागि सब-टाइटल राखिएकाले बुझ्न सहज नै थियो । तर ओपेराको महासागरमा डुबीसाध्य कहाँ?

फर्किने बेलामा हरेक विदेशीहरूका हातहातमा झोलाहरू थमाइयो । कुनै चाडपर्व आयो कि चिनियाँ साथीहरूले शुभकामना दिएपछि सोध्ने गर्छन्, ‘फलानो चीज खाइयो?’ कुनै पनि विदेशीका लागि चिनियाँ खानेकुरा चाखिहाल्नुपर्ने कुरामा चासो नै किन र? तैपनि आफ्नो सम्पर्कमा भएका विदेशीलाई परम्परासँग एकाकार गराउन चाहने सबैजसो चिनियाँको यो प्रवृत्ति देखिन्छ ।

साँझदेखि नै शुभकामनाको रफ्तार बढिरहेको थियो । पहिला पहिला कोभिड-१९ महामारीअघि चिनियाँ साथीभाइले उपहारका रुपमा पर्व विशेष वस्तुहरू दिन्थे । हाल कोरोनाले सबैलाई एकअर्कादेखि टाढा बनाएको छ । सामाजिक सञ्जालमा बिहानदेखि नै उस्तै सोधनी दोहोरिन थालेपछि कोसेलीको बट्टा फुटाइयो । गोलो गोलो, बुट्टेदार, पौष्टिक, सानो वस्तुलाई क्वाप्प मुखमा हालेर चिनियाँ नेटिजनलाई जवाफ लेखियो, ‘मैले त मध्यशरद पर्वविशेष खानेकुरा युए पिङ अर्थात् चन्द्ररोटी खाएँ, तपाइँले नि !’


युए पिङ । तस्बिर : पाइतु

प्रकाशित : आश्विन २, २०७९ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्

मानवअधिकार आयोगको टोली सर्वोच्च र जबरा निवासमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवास बाहिर निस्कन रोकेपछि मानव अधिकार आयोगले सर्वोच्च अदालत र जबराको निवास बालुवाटारमा आफ्ना प्रतिनिधि पठाएको छ । सहसचिव तथा प्रवक्ता टीकाराम पाेखरेलकाे नेतृत्वमा टाेली पठाएको आयोग सदस्य लिली थापाले जानकारी दिइन् ।

महाभियोग सिफारिस समितिले जबरालाई महाभियोग लगाउन योग्य रहेको प्रतिवेदन शनिबार संसद्लाई बुझाएको थियो । त्यसपछि जबराले आफूमाथि महाभियोग लगाउने संसद् नै कामय नरहेको अवस्थामा पदमा फर्किनका लागि योग्य भएको भन्दै आइतबार सर्वोच्च छिर्ने तयारी गरेका थिए । तर सरकारले उनी अहिलेसम्म पनि निलम्बित अवस्थामा नै रहेको भन्दै सुरक्षा निकायलाई जबरालाई सर्वोच्च छिर्न रोक लगाउन निर्देशन दिएको थियो ।

सरकारको निर्देशनपछि सर्वोच्च अदालतमा र जबरा निवास बालुवाटारमा सुरक्षााकर्मीको संख्या बढाइएको थियो । जबरा निवासबाट बाहिरिने गाडीहरुलाई प्रहरीले चेकिङ गरेर मात्र बाहिर पठाएको छ । जबराले आफूलाई सरकारले 'नजरबन्द' गरेको भन्दै प्रतिक्रिया सञ्चारमाध्यमलाई दिएका छन् । त्यसपछि आयोगको टोली अवस्था बुझ्न जबरा निवास गएको हो ।

प्रकाशित : आश्विन २, २०७९ १५:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×