कहाँ छ र चराको घर‍‍

गोविन्द पोखरेल

काठमाडौँ — गत साउन १४ गते भक्तपुर दरबार क्षेत्र नजिकै अवस्थित पद्म माध्यमिक विद्यालयको सिमानामा रहेका धुपी प्रजातिको रुखका हाँगा धमाधम छिमल्न थालियो । तिनैमध्येको एउटा रुखको हाँगामा बकुल्लाको गुँड थियो । त्यही गुँडमा थिए केही हुर्किँदै गरेका र केही रौं पलाउन बाँकी भएका बकुल्लाका बचेरा ।

कहाँ छ र चराको घर‍‍

तिनै केही फुलमा कोरलिने अवस्थाका बच्चा थिए । रुख छिमल्दै गर्दा ती बचेराहरू पनि हाँगासँगै भुईंमा बजारिए; केही मरे पनि ।

साउन ८ गते भक्तपुरको दूधपाटीमा गुडिरहेको बस र स्कुटरमाथि रुख ढल्दा ३ जनाको मृत्यु र १२ जना घाइते भएपछि सडक छेउछाउका जोखिममा रहेका रुखहरू काट्ने र हाँगा छिमल्ने आवश्यकता औंल्याइएपछि भक्तपुरका विभिन्न स्थानमा पनि रुखहरू काट्ने र जोखिमका रुखहरु छिमल्ने काम भइरहेको थियो ।

पद्म माध्यमिक विद्यालयका पर्खाल छेवैमा रहेका अग्ला धुपीका रुखका हाँगाले बिजुलीका तार छोएका थिए । विद्यालयका प्राचार्य राम हाडाका अनुसार बिजुलीको नाङ्गो तारसँग रुखका हाँगा जोडिएपछि छिमल्ने क्रममा गुँडमा क्षति भएको थियो । टोलवासी र नगरपालिकाको आग्रहमा जोखिम हटाउने उद्देश्यले रुखको हाँगा छिमल्ने काम भएपछि त्यसको नकारात्मक असर भने चराका गुडँमा पुगेको थियो ।

प्राचार्य हाडाले रुखमा भएका बाँकी बचेरा र गुँडलाई अन्यत्रै सारिएको दाबी गरे पनि उक्त घटनाका प्रत्यक्षदर्शीसमेत रहेका संरक्षणकर्मी सनीजप्रसाद सुवाल भने जानाजान यसो गरिएको बताएका छन् । चरा संरक्षणकर्मीहरूले उक्त घटनाको विषयलाई लिएर चासो देखाएका छन् ।

सुवालका अनुसार स्कुलले नै ठेक्का दिएर रुखका हाँगा छिमल्ने काम भएको र स्थानीयले बकुल्लाले बिस्ट्याइदिँदा दुर्गन्ध फैलिएको भन्दै रुखका हाँगा छिमल्नका लागि सिफारिस भएको हो । हाँगा छिमल्ने स्वीकृति पाए पनि त्यहाँ रहेका गुँड र बचेराबारे कसैले चासो देखाएको पाइएन ।

संरक्षणकर्मीहरूले रुखका हाँगामा रहेका सबै पात काटिदिएको र बच्चा कोरल्न चरालाई समय नदिएकाले चराले पृथ्वीमा बाँच्न पाउने अधिकार हनन भएको बताइरहेका छन् । उनीहरूको भनाइअनुसार धुपीले मात्रै नभएर विद्यालयको पर्खालमा उम्रिएका झारले पनि बिजुलीको तारलाई छोएको छ । यदि तार छोएर जोखिम भएको भए रुख छिमल्ने क्रममा सँगसँगै पर्खालमा उम्रिएको झार पनि सफा गर्नुपर्ने थियो । तर‚ झार सफा गरिएको छैन । तिनलाई सफा नगरी रुखचाहीँ छिमल्ने क्रममा गल्ती भएको देखिन्छ ।

मासिएका गुँड, बचेरा र फुलचाहीँ ‘क्याटल इग्रेट’ प्रजातिको बकुल्लाको हो । क्याटल इग्रेट प्रजाति घरगाउँमा देखिने प्रजाति हो । नेपालमा क्याटल इग्रेट, लिटल इग्रेट, इन्टरमिडिएट इग्रेट र ग्रेट इग्रेट गरेर चार प्रजातिका बकुल्लाहरु पाइन्छन् । बकुल्ला प्रजाति प्राय: समूहमा गुँड बनाउने र बस्ने गर्छन् । यो प्रजाति तराईदेखि मध्यपहाडी क्षेत्रसम्म पाइने गर्छ । यो खतराको सूचीमा छैन । चराविज्ञ हेमबहादुर कटवालका अनुसार यिनीहरूको ब्रिडिङको समय भनेको मेदेखि अक्टोबरसम्म हो । रुख काट्ने बेलामा पक्कै पनि उनीहरूले गुँड र बचेरा देखेका थिए होलान् तर त्यसलाई त्यति गम्भीर रुपमा लिइएको देखिएन । कम्तीमा बच्चालाई हुर्कन दिएपछि छिमल्न सकिन्थ्यो । अति आवश्यक नै थियो भने गुँडलाई सुरक्षित स्थानमा राखिदिन सकिन्थ्यो । यी प्रजातिले बचेरा करिब ३ हप्तामा कोरल्छन् ।

अहिले धेरै प्रजातिका चराहरुको प्रजननको समय हो । उनीहरु फुल पार्ने, बचेरा हुर्काउने कार्यमा यो समयमा व्यस्त हुन्छन् । चराहरुलाई पहिला स्थानान्तरण गरेको भए वा बचेरा कोरलिसकेपछि छिमलेको भए उपयुक्त हुन्थ्यो ।

साउन ८ गतेको घटनालाई लिएर मैले त्यसै दिन साँझ ‘घना बस्ती र सडकमा जीर्ण रुखको जोखिम’ शीर्षकमा रिपोर्टिङ गरेको थिएँ । उक्त समाचारमा हाम्रो सहरमा रोपिएका, रोपिने तरिका र रोपेपछि व्यवस्थापन नगर्ने परिपाटी र त्यसले निम्त्याउने जोखिमको बारेमा केन्द्रित थियो । अध्ययन र परामर्शबिना नै जथभावी वृक्षारोपण गर्दा त्यसले जोखिमसँगै दुर्घटना निम्त्याउने देखिएको छ । जब समस्या आइपर्छ हामी तत्कालै सोचविचार नगरी समाधान गर्न खौज्छौं तर ढंग नपुग्दा पछि पछुताउने गर्छौं । पद्म स्कुल प्रकरण पनि यसैको एक उदाहरण हो ।

जोखिममा रहेको रुख कुन समयमा छिमल्ने, कुन समयमा काट्ने भन्ने एउटा स्पष्ट मापदण्ड आवश्यक देखिएको छ । बकुल्ला खतराको सूचीमा नरहेपनि कहिलेकाहीँ रुखमा अति संकटापन्न सूचीमा रहेका चरा पनि पर्न सक्छन् ।

जस्तो कि तनहुँको शुक्लागण्डकीमा सिमलको गुँडमा ओथारो बसेको सानो खैरो गिद्ध (स्लेन्डर बिल्ड) प्रजातिको गुँड मासिएको प्रकरण एउटा उदाहरण हो । पृथ्वी राजमार्ग विस्तारको क्रममा उक्त रुख जानाजान ढालियो । यो प्रजातिको गिद्धको संख्या नेपालमा सयवटा पनि छैन । एक पटकको प्रजनन समयमा यसले एउटा मात्रै अन्डा पार्छ । त्यसैले महत्त्वपूर्ण हुन्छ । त्यसैले हामीले रुख छिमल्दा यस्ता कुराहरुमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

वर्षदिनमा कुन प्रजातिको रुख कुन महिनामा काट्ने, छिमल्नेजस्ता एउटा तालिका आवश्यक देखिएको छ । रुख छिमल्दा पनि चराको गुँड भए/नभएको, फुल रहे/नरहेको बारेमा पनि थाहा पाउनुपर्छ । सबैभन्दा पहिला वर्षको यस्तो समय जतिबेला चराहरूको गुँड नरहेको बेला, सबै हिसाबले उपयुक्त हुने महिनामा काट्नुपर्ने हुन्छ । वसन्त ऋतुमा रुखबाट पालुवा पलाउँदा, हाँगामा पातहरू झुम्म देखिन्छन् ।

यसैगरी रोप्दा पनि हावापानी र भूगोल सुहाउँदो प्रजाति, सडक सुरक्षा जोखिम मूल्यांकन गर्दा पनि कम क्षति हुन सक्ने खालका प्रजाति उपयुक्त हुन्छ । रुखमा चरालगायत अन्य प्रजाति गुँड बनाएर आश्रित हुन्छन् । तसर्थ, छिमल्दा पनि उपयुक्त समय ख्याल गर्नुपर्ने आवश्यकता देखिएको छ । रुखमा चराको गुँड छ भने छिमल्ने कार्य केही पर सार्न सकिन्छ । सम्भावित जोखिमबारे पहिले अध्ययन गर्दा यस किसिमका क्षति न्यूनीकरण गर्न सकिन्छ ।

पृथ्वीमा हरेक प्रजातिलाई बाँच्न पाउने हक भएकाले हामीले अन्य प्रजातिहरूको पनि अस्तित्व स्वीकार गर्नुपर्छ । जोखिमलाई कम गर्नका लागि कम क्षति के गर्दा हुन्छ भन्नेमा ध्यान जानुपर्ने देखिन्छ । आफ्नो सुविधाका लागि संरचना बनाउँदा अन्य प्रजातिको पनि संरक्षण गर्नुपर्ने आजको आवश्यकता हो ।

प्रकाशित : श्रावण १८, २०७९ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?