एक थिए प्रोफेसर, अर्को थानेश्वर

काठमाडौँ — प्रोफेसर भन्नेबित्तिकै सम्झिन्छु, ती प्रोफेसर, जो साँच्चै प्रोफेसर जस्ता थिए, जो बितेर गए— प्रा.डा. दुर्गाप्रसाद भण्डारी । यसरी बितेर गए, जो जीवनका पछिल्ला दिनमा न शरीर चल्यो, न सम्झना । यस्तो पनि हुँदो रहेछ मान्छेको जिन्दगी ।

मान्छेको स्मृति र शरीर दुवै हार्दो रहेछ, कुनै बखत ।
मान्छेको स्मृति–ताकत र शरीर–ताकत दुवै थाक्दो रहेछ कुनै बखत ।
थाक्यो । गल्यो । र, ढल्यो ।
त्यो प्रोफेसर । सहरको एउटा प्रोफेसर ।
देशकै एउटा प्रोफेसर ।
जुन प्रोफेसरसँग साताको एक दिन मृगस्थलीका जङ्गल अनि जे कृष्णमूर्तिको बाक्लो किताब बोकेर शिवपुरी आश्रमतिर डुलिन्थ्यो ।
ती प्रोफेसर जो, मृगस्थलीका उकालाका प्वालतिर हात छिराएर मलाई ‘अन्यथा कुरा’ सुनाउँथे ।
एक खालको उन्मत्तता थियो, त्यो जीवनमा ।
म लुरे बबुरो, जो प्रोफेसरको चेतनाको भारबाट थिचिएको थिएँ, उनले जसो भने, त्यसै गर्न कोसिस गरें ।
अक्सर शनिबारका दिन मध्याह्न, हामी मृगस्थली हुँदै शिवपुरी आश्रम छिथ्र्याैं ।
त्यहाँ हुन्थे— ऊ बेलाका दरबारका सचिव, सरकारका सचिव र उच्चपदस्थहरु । मेरा लागि त्यो चेतनाको महासागर थियो ।
कुरा हुन्थ्यो— शिवपुरी बाबाका अनेक सन्दर्भ र शिक्षाको । मलाई भने मध्याह्नको निःशुल्क प्रसाद बढी मीठो लाग्थ्यो ।
त्यहाँबाट बाहिर निस्किएपछि भने मेरा लागि प्रोफेसर नै प्रिय थिए, जसले मलाई त्यो पशुपति र मृगस्थलीको विचरण गजबसँग गराउँथे । हाय, ती प्रोफेसर, जो बितेर गए ।
गरे के थाहा छ ?
अमेरिकाबाट कसैले पठाइदिएको काठको मान्छेको सानो मूर्तिको लिङ्ग एकदिन शिलालाई छुन लगाए । यसरी कि, त्यहाँ कुनै अश्लीलता झल्किँदैनथ्यो ।
प्रोफसरहरुको यही कुरा मलाई मन पर्छ, जो जे पनि अदबसाथ गर्छन् ।
यस्ता प्रोफेसर बिरलै भेटिन्छन् ।
भेटिए पनि कतिपय अवस्थामा सहरभित्र हराउँछन् ती ।
ती हराए, जसलाई तपाईं–हामीले भेटेनौं । भेटे पनि चिनेनौं । चिने पनि बुझेनौं । बुझे पनि भनेनौं ।
हराए हुँदा हुन्, कति प्रोफेसरहरु यो सहरमा ?
प्रोफेसर मात्र किन, अरुहरु पनि ।
कहिलेकाहीँ त भरियाहरु सडक पेटीमा निद्रामा छन् कि घोर निद्रामा, यो पनि थाहा हुँदैन ।
विचित्र चरित्र हुन्छ सहरको ।
चरित्र एउटै भने हुँदैन । सहरको एउटै रुप हुँदैन । सहरको एउटै गुण वा अवगुण हुँदैन । झन् काठमाडौंका रुप त कति छन् कति । पशुपतिनाथ र स्वयम्भूका बीचमा अरु कति रुप, रङ र स्वभाव ।
अग्लो स्वयम्भूका त आँखा छल्छन् मान्छेहरु । पशुपति त घरैघरले घेरिएको छ ।
मन्दिरहरुका बीचमा, तिनका अन्तरकुन्तरमा अनेक विचार, रुप, अवतार, भाव र चरित्रका मान्छे छन् । जुधिरहन्छन् ती एकअर्कामा ।
रैथाने सहरिया छन्, रैथानेका आफ्ना मान्यता, विश्वास र हेराइ छन् । तिनका छोराछोरीका कुरा त बेग्लै । ती जन्मिँदै आधुनिक भएर जन्मिछन् । जो गाउँमा जन्मिए र पछि काठमाडौं भित्रिए, ती आधुनिकता पछ्याउँछन् मात्र । रैथाने सहरियाका छोराछोरी आधुनिकताको नेतृत्व गर्छन् । तिनको बोल्ने तरिका, शैली र हाउभाउ, ओहो । ती टोफल, गलफ्रेन्ड, म्युजिक भिडियो, ¥याप, अमेरिका, अस्ट्रेलिया, क्लब, च्याट आदिका कुरा गर्छन् । फेसबुक र ट्विटरमा हराउँछन् । ती अङ्ग्रेजी नामका नेपाली कलेजहरुमा पढछन् । कति अमेरिका, अस्ट्रेलिया पुग्छन् । गलफ्रेन्ड र ब्यायफ्रेन्ड बनाउनु उनीहरुको अनीवार्य बिजनेस हो । ती राजनीति जान्दैनन् । बाँकी जेमा पनि तर्क गर्न खोज्छन् ।
“यु डन्ट नो मम ।”
सायद घरमा यही वाक्य बढी प्रयोग गर्दा हुन् ती । फ्रस्टेसन वा डिप्रेसन भए ड्रगको सहारा लिन्छन् । ती, जो काठमाडौंमा छन्, ती पनि सन्तुष्ट छैनन् । ती, जो अमेरिका वा अस्ट्रेलिया गए, ती पनि त्यहाँ सन्तुष्ट छैनन् ।
सहरमा को छैनन् ? माग्नेदेखि दिनेहरुसम्म । लुट्नेदेखि पोस्नेहरुसम्म ।
डाक्टरदेखि बिरामीहरुसम्म । जो बिरामी देख्यो, त्यसको अनहार हेरिरहन मन लाग्छ । उसका विगत र भविष्यका आशा केलाउन मन लाग्छ । उसका पीडा र तत्काल उर्लिएका भाव समात्न मन लाग्छ । के सोचेको थियो ? के भयो ? र के हुने हो ?
अस्पतालको बाहिरपट्टि त्यसै परिरहेको शव, भर्खरै आफन्त गुमाएको चोटमा रूवाबासी गरिरहेका परिवारजन, कसैको पीडा र छटपटीमा पैसाको हिसाबकिताब गरिरहेका डाक्टर, दुःखे पनि उसैलाई हो भनेर सुई घोच्ने नर्स, औषधि बेचेर पैसा कमाउने व्यापारी, अनेक छन् । अस्पतालभित्रै पात्रहरुको खानी छ कि जस्तो लाग्छ ।
मन्दिर छन् । पशुपतिनाथ छन् । जोगी पनि त्यहीँ, भोगी पनि त्यहीँ ।
हेर न, कसरी भजनकीर्तनमा मस्त भएका— मन्दिरका वरिपरि ईश्वरका नाम मात्र जपिरहनेहरु, बौद्ध गुम्बाका वरपर लम्पसार पर्नेहरु । ओहो, सानोतिनो समर्पण नभई कसरी झ्याप्पै लम्पसार पर्न सकिन्छ र ? भगवान्का अगाडि लम्पसार पर्दा सबैको मन र दिमागमा एउटै भाव हुन्छ वा प्रत्येक मान्छेपिच्छे फरक भाव ? वा कोही बिलकुल शून्य हुँदा ?
पशुपति मन्दिर परिसरमा घन्किइरहेको छ— लैजाऊ शिव मलाई नि... ।
कृष्ण मन्दिर परिसरमा घन्किइरहेको छ— लैजाऊ कृष्ण मलाई नि... ।
हरेक देवतालाई हरेकका आग्रह छन् ।
बल्लबल्ल पाएको जीवन कति सजिलै लैजाऊ भनिरहेका होलान् ! नलैजाऊ कृष्ण वा शिव पो भन्नुपर्ने ! किन वाक्क भएका होलान्, जीवनदेखि यतिसारो !
त्यही जीवन कहिले लोभलाग्दो, कहिले वाक्कलाग्दो ।
चेतनाको खेल हो कि भोगाइको ?
काठमाडौंका साँघुरा सडक, अझ भित्री काठमाडौंमा त सडकैपिच्छेका मन्दिर र त्यसका वरिपरि घुम्ने मान्छे । कहाँ पुग्न हिँडेका हुन् ? कहाँ पुगेर फर्किएका हुन् ? वा त्यसै चक्कर मात्रै मारिरहेका छन् ?
त्यसै चक्कर मात्रै मार्छ कहिलेकाहीँ त जिन्दगीले ।
चक्कर मार्दामार्दै बाटोहुँदी नै जिन्दगी सकिन्छ ।
हिजोसम्म हरेक दिन मर्निङ वाकमा कतै न कतै बाटोमा देखिने मान्छे भोलिपल्टदेखि देखिन छाड्छ । त्यसपछि कहिल्यै देखिँदैन ।
“के भो ?”
“ऊ त बित्यो ।”
बित्यो । यसको मतलब अब ऊ यो बाटोमा मात्र होइन, कहीँकतै छैन ।
बाटो छ, अरु मान्छे छन्, ऊ छैन । मन्दिर छन्, फूलपाती बेच्नेहरु छन् । किन्नेहरु पनि छन् । तर किन्नेमा ऊ छैन । जो पनि एक दिन यो सहरबाट यसैगरी हराउँछ ।
एक दिन मान्छेहरु सोध्छन्, “देखिँदैन नि आजकाल ?”
अर्को वा अझै अर्को दिन थाहा हुन्छ— उ त बित्यो ।
सकियो ।
सहरमा मान्छे र मान्छेका आवाज बिस्तारै बिस्तारै विलीन हुँदै जान्छन् ।
सहरले न कसैलाई सम्पूर्ण आफ्नो बनाउँछ, न कोही सहरसँग सम्पूर्ण रुपले नजिक हुन्छ ।
सम्बन्धहरु पनि खोक्रिँदै खोक्रिँदै जान्छन्, सहरमा । बाहिर ‘हाईहेलो’को ठूलै फेद देखिन्छ, भित्र त के हुनु ?
खोक्रो ।
कहिलेकाहीँ यस्तो लाग्छ— माग्ने र दिनेहरुको ठाउँ हो, काठमाडौं ।
माग्नेहरु पनि यहीँ छन् । दिनेहरु पनि यहीँ छन् ।
दिनेहरु नभएको भए सायद माग्नेहरु हुँदैनथे ।
माग्नेका रुप र चरित्र पनि अनेक— कोही एक्लै माग्छन्, कोही सामूहिक ।
एक्लै माग्ने, माग्ने मात्रै हुन्छ, सामूहिक माग्नेहरु आन्दोलनकारी ठहरिन्छन् ।
सामूहिक माग्दा आन्दोलन हुन्छ, एक्लै माग्दा केही न केही । सामूहिक माग्दा सडक रोक्न पाइन्छ । पसल बन्द गर्न पाइन्छ । घरका झ्यालका सिसा फुटाउन पाइन्छ । मोटरमा आगो लगाउन पाइन्छ । मौका परे खानेकुरा लुटपाट गर्न पाइन्छ ।
काठमाडौं कहिल्यै शान्त रहेन । गरिब देशका ठूला सहर सायदै कमै शान्त रहँदा हुन्, काठमाडौं जस्तै । यसैले त यस्ता ठूला सहरका नजिकका जङ्गलतिर सक्नेहरुले रिसोर्ट बनाउँछन्, शान्तिका लागि ।
काठमाडौं एक प्रकारले विरोधाभासको सहर हो । यस्तो विरोधाभास, जहाँ असाध्यै सम्पन्न र असाध्यै विपन्न, एउटै सडकमा ओहोरदोहोर गरिरहन्छन् ।
काठमाडौंको मात्र के कुरा, प्रायः ठूला सहरमा यस्तै हुन्छ ।
खासमा ठूला र पुराना सहरले समयक्रममा आफ्नो लय हराउँदै गएका छन् । काठमाडौंले जस्तै । काठमाडौंलाई मन्दिरै मन्दिरको सहर भनिन्थ्यो ।
टाढाटाढाबाट पनि मन्दिरहरुमा परेवा उडेका देखिन्थे ।
मन्दिरहरुमा घण्ट बजेको टाढाटाढा पनि सुनिन्थ्यो ।
दसैंका मङ्गलधुन परपरसम्म पुग्थे ।
मन्दिरमा बालिएको अगरबत्तीको सुगन्धले घरघरलाई छोएर जान्थ्यो ।
अब कठै ! त्यो काठमाडौं पनि रहेन ।
त्यो काठमाडौंको नेवारी संस्कृति र सभ्यता ! ओहो, कति रहरलाग्दो पो थियो त ।
संस्कृति र सभ्यता जति टिकाउन सक्यो, त्यति धनी हुने हो ।
अहिले त टिकाउन होइन, बिकाउन रहर मान्छौं हामी ।
होड बिकाउनमै छ ।
टिकाउभन्दा बिकाउ चाहिएको छ हामीलाई ।
मालसामान बिकाउ । चेतना र विचार बिकाउ ।
गजब छ— हामी ह्विस्की पुरानो खोज्छौं ।
जीवनशैली र सभ्यता भने हामीलाई नयाँ चाहिएको छ ।
जाबो रक्सी (ह्विस्की) हामीलाई पुरानो चाहिने ।
रक्सी पुरानोमा स्वाद रे ।
अनि जीवनशैली र चेतनामा नि ?
हिजोआज काठमाडौं गँजडीहरुको सहर जस्तो लाग्छ ।
दीपक बज्राचार्यले गाए जस्तो— आफैं मनमगन ।
कुनै आत्मिक वा दार्शनिक भावमा चुर्लम्म डुबेर काठमाडौं यसरी मनमगन भएको होइन ।
एकअर्काप्रतिको आस्था, प्रेम, सम्मान र भाव कमजोर भएपछि यस्तै हुन्छ ।
अग्ला र जथाभावी बनेका भौतिक संरचनाले जसरी सर्लक्कै निलिदिए, त्यो मन्दिरै मन्दिरको सहर काठमाडौंलाई, त्यसरी नै त्यहाँको सम्यता र संस्कृतिलाई पनि सर्लक्कै निलिदिएको छ— अर्कैको सभ्यता र संस्कृतिले ।
स्वास्नी मात्र होइन, संस्कृति र सभ्यता पनि अर्कैको राम्रो लाग्ने रहेछ क्या हो ?
के भएको हो हामीलाई ?
कति सुन्दर हुँदो हो, डाँडाका वरिपरि कापकापमा घर बनाएर सहरभित्र मन्दिरहरुलाई मात्रै ठडिन दिएको भए ? मन्दिरका वरिपरि कि त पैदल, कि त साइकलसम्म चलाउन मिल्ने गरी काठमाडौंलाई छाडिदिएको भए कसले जित्दो हो, त्यो सहरलाई ? न रोमले ? न पेरिसले ? युरोपका मै हुँ भन्ने पुराना ऐतिहासिक सहरलाई पनि सोझै माथ गराउन सक्ने तागत थियो, काठमाडौंमा ।
लुरे बन्दै गएको छ, यो सहर पनि ।
अब त के बाँकी छ र ? पैसाको भोक, जुगाड र भीडबाहेक ? उहिले उहिलेको वसन्तपुर, ओहो मन्दिर, परेवा, एकादुई रिक्सा र सफा मन लिएर हिँडेका मान्छेहरु ।
अग्र्यानिक थिए मान्छे र मान्छेका मनहरु ।
अहिले ?
दुवै रासायनिक । शरीर पनि, मन पनि ।
अहिले ?
न बाटा सफा छन्, न मान्छेका मन ।
तैपनि मान्छेहरु केही भेटे जस्तो वा केही खोजे जस्तो यताउति गरिरहेका छन् ।
आउजाउ निरन्तर चलिरहेको छ, कमिलाको ताँती जस्तो ।
विपरीत दिशातिर हिँडेका कमिला खै किन हो कुन्नि, यसो मुख जोडेर आआफ्ना बाटो लाग्छन् ।
मान्छे त मुख होइन, आआफ्ना अहम् जुधाएर आआफ्ना बाटा लाग्छन्, काठमाडौंमा ।
काठमाडौं जस्ता सहर हेरेर प्रश्न गर्न मन लाग्छ— गुमाएको चीज राम्रो कि पाएको ?
कहिलेकाहीँ यस्तो पनि हुँदो रहेछ— प्राप्तिभन्दा गुमाएको ठूलो ।
तर जिन्दगी कहाँ यति गहन हिसाबकिताबमा चल्छ र ?
यो त, उसै हावाको गतिमा चल्ने पात जस्तो न हो ।
सहरका मान्छेका जीवन हावामा उड्ने सुकेका पात जस्तै हुन् । उडाउने र हिँडाउने कुराको निर्धारण हावाले गर्छ, पात स्वयम्ले होइन ।
मान्छेहरु सपना लिएर आउँछन् । रहर लिएर आउँछन् । एकादुईका सपना पूरा हुन्छन्, जसले अरु बाँकी हजारौं–लाखौंलाई लोभ्याइरहन्छन् ।
काठमाडौं, क्यासिनोहरुमा हुने स्लट मेसिन जस्तै हो । यस्तो मेसिन, जुन मेसिनले एक हजार पचाएपछि सय फिर्ता दिन्छ । र हजार गुमाउनेले गुमाएर जान्छ । सय प्राप्त गर्नेले ओहो भन्ठान्छ ।
मेसिन घाटामा छैन । तर धेरैजसो खेलाडी घाटामा छन् ।
ठीक यही हो, काठमाडौं । र काठमाडौंका मान्छेहरु ।
सपना सकिएकाहरु पनि यहीँ छन्, सपना लिएर आउनेहरु पनि यहीँ छन् ।
मेरो एउटा मित्र छ, थानेश्वर ।
ऊ सपना सकिएपछि काठमाडौं छिरेको हो ।
अक्सर मान्छेहरु सपना लिएर काठमाडौं छिर्छन् । ठीक उल्टो, थानेश्वर आफ्ना सपना रित्याएर काठमाडौं छि¥यो ।
यसै पनि ऊसँग काठमाडौं सपना थिएन ।
काठमाडौंसँग कुनै आस पनि थिएन सायद ।
सायद उसलाई लागेको हुँदो हो— के रस बाँकी छ र काठमाडौंलाई लुछ्न ? वा चुस्न ?
यसैले ऊ गैंडाकोटबाट भागेर काठमाडौं आएन ।
एक रात मुम्बईको सपना देख्यो, ब्युँझियो, जुरूक्क उठयो । र हिँड्यो ।
हिँडेको के भन्नु ?
घरबाट भाग्यो ।
गयो मुम्बई ।
त्यो पनि हिरो बन्ने सपना लिएर ।
लरक्कको जीउ, मिथुनको जस्तो कपाल ।
उमेर, जोस, आँट र सपनाले ऊ यसरी सुरियो कि, त्यो अर्को सपनाको महानगरी मुम्बई आफैंलाई पर्खिएको छ झैं उसलाई भान भयो ।
तर सपनाहरु कहाँ सही बाटोमा हिँड्छन् र ?
बिपनाको त टुङ्गो हुँदैन । सपनाको त झन् टुङ्गो हुने कुरै भएन ।
थानेश्वर धेरै लर्खरायो मुम्बईमा ।
के गरेन ?
के भएन ?
सबै भयो, सिवाय हिरो ।
डाँका भयो । कसैको जीवन रक्षक भयो । नोकर भयो ।
कसैका जुत्ता पालिस ग¥यो । कसैलाई छाता ओढायो । कतिका घुँडा माड्यो ।
सबै भयो । बाहेक हिरो । जे बन्न गएको हो, त्यही मात्र भएन ।
हुन हुन लागे जस्तो हुन्छ । तर हुँदैन ।
भयो भयो जस्तो हुन्छ । तर हुँदैन ।
भाग्य आयो आयो जस्तो हुन्छ, आउँदैन— कब्जियतको दिसा जस्तो ।
मुम्बईका निर्देशकदेखि हिरो–हिरोइनसम्मलाई भेट्यो, तिनका वरिपरि घुम्यो ।
महसुर फिल्म निर्देशक सुभास घईले थानेश्वरको फोटो हातमा लिँदै एक दिन भनेका पनि थिए, “बेटे, तुम्हारे लिए म्याच होनेवाला रोल होगा तो में मलानी साबको फोन करूङ्गा । कन्ट्याक्ट मे रहना ।”
मलानी अर्थात् भारतका एक जना चर्चित वरिष्ठ वकिल राम जेठमलानी । मुम्बईमा हिरो बन्न हिँडेको थानेश्वरको भेट कसरी भारतकै नामी वकिलसँग भयो ? र मलानीसँग जोडियो ?
कथा फिल्मी खालको छ ।
हिरो बन्ने चक्करमा डुलिरहेको थियो, थानेश्वर मुम्बईमा— कहिले यता, कहिले उता ।
एक दिन अटोमा कतै गइरहेको थियो ।
आफू चढेको अटोअगाडिको कारमा थानेश्वरले देख्यो— केही युवकले एउटा कारमाथि आक्रमण गरिरहेको ।
थानेश्वरले अटो रोक्यो । अटोबाट बाहिर निस्क्यो । र निडर भएर आक्रमणकारीहरुका सामुन्ने उत्रियो । आक्रमणकारी भागे । आक्रमणकारीहरुबाट मूच्र्छित बनेको कारभित्रको मान्छेलाई थानेश्वरले अस्पताल लिएर गयो ।
मूच्र्छित त्यो अज्ञात व्यक्तिका परिवारजन अस्पताल आए । सोधखोज गरे ।
गुन्डाहरुको आक्रमणमा बचाइएका ती व्यक्ति सामान्य थिएनन् । थिए— भारतका एक जना वरिष्ठ वकिल राम जेठमलानी ।
होस आएपछि राम जेठमलानीले थाहा पाए— गुन्डाहरुबाट आफूलाई बचाउने ठिटोको नाम हो, थानेश्वर ।
स्वयम् जेठमलानी र उनका परिवारजनका लागि योभन्दा अरु ठूलो कुरा के हुन सक्थ्यो ?
राम जेठमलानीले के वर माग्छौ माग शैलीमा थानेश्वरलाई प्रस्ताव गरे ।
थानेश्वरले भन्यो, “म हिरो बन्ने आएको हुँ, हिरो बन्न सहयोग गरिपाऊँ ।”
राम जेठमलानी फिल्मका भगवान् थिएनन् । यसैले तथास्तु भन्न सकेनन् । तर एउटा चिठी भने लेखिदिए— चलचित्र निर्देशक सुभास घईलाई ।
हो, त्यही चिठी लिएर थानेश्वर सुभास घईकहाँ गएको हो ।
म सोच्छु— थानेश्वरले किन अरु वर मागेन, आफ्नो सपनाबाहेकको, जो तत्कालै पूरा हुन सक्थ्यो ?
पैसा वा अरु कामको वर मागेको भए तत्काल पूरा हुँदो हो । र मुम्बईका गल्लीमा भोकभोकै रात कटाउनुपर्दैनथ्यो । मान्छेको स्वभाव, चरित्र र सपना विचित्रको हुन्छ ।
उसले सपनाको वर माग्यो ।
हो, त्यही वर पूरा हुन्छ कि भनेर ऊ गएको हो, सुभास घईकहाँ ।
सुभास घईले कहिल्यै थानेश्वरका लागि म्याच हुने रोल भेटेनन् । थानेश्वर पर्खिएको पर्खियै भयो ।
त्यसपछि ऊ अरु निर्माता र निर्देशकको पनि खोजीमा लाग्यो ।
दिनभर निर्माता–निर्देशकहरुको घर र अफिसको चक्कर लगाउनु अनि बेलुकीपख मलानीलाई फोन गर्नु उसको दिनचर्या भयो । ऊ भेटे जति प्रत्येक निर्माता–निर्देशकलाई मलानीकै फोन नम्बर दिन्थ्यो ।
प्रत्येक बिहान मुम्बईका देवीदेवताका मन्दिर जान्थ्यो । पुकारा गथ्र्यो, “हे भगवान्÷देवी, हिरो बन्ने मेरो सपना पूरा गरिदेऊ ।”
ग्रहशान्तिका लागि प्रत्येक दिन २० ओटा कागती निचोरेर रस चढाउँथ्यो, भगवान्लाई ।
पछि म जिस्क्याउँथें— भगवान्लाई अमिलो रस चढाएर पनि कहीँ गुलियो फल पाइन्छ त ?
उसले गुलियो फल पाएन मुम्बईमा ।
बरू कागतीको भन्दा कडा अमिला र तीता फल पायो ।
थकित भएर मुम्बईका सडकमा धेरै दिन हिँड्यो ।
एकदमै गलेका बेला कुनै दिन चिया पिउन कुनै होटलमा छिरेको थियो ।
चिया पिउँदै थियो ।
दुई जना केटा आएर होटलको साहुजीलाई थर्काउँदै उसकै टेबलमाथि खुट्टा राखेर बसे ।
थानेश्वरलाई झोंक चल्यो ।
प्रतिवाद ग¥यो ।
केटाहरुले हात जुधाउन भने । जुधायो । थानेश्वरले पछा¥यो ।
केटाहरु प्रभावित भए । भने, “हाम्र्रो ग्याङमा आइज ।”
थानेश्वरले मान्यो । थानेश्वरलाई मुम्बईमा बाँच्नु थियो ।
ग्याङको काम थियो— डकैती ।
थानेश्वर पनि डकैतीमा निस्कियो— पेस्तोल लिएर ।
एउटा घरको डकैतीमा थानेश्वर बाहिरपट्टिको सुरक्षा घेरामा थियो ।
डकैती फेल खायो । थानेश्वर पक्राउ पर्यो ।
तीन महिना जेल पर्यो ।
जेठमलानीले थाहा पाए ।
छुटाइदिए ।
अनि हिरोको सपना छाडेर थानेश्वर काठमाडौं आयो ।
यसैले भनेको हुँ— थानेश्वर सपना लिएर होइन, सपना रित्याएर काठमाडौं छिरेको हो । (जो आज सपनाको अर्को उडानमा लण्डन–स्कटल्याण्डतिर यायावर बनिरहेको छ ।)
लण्डन, मुम्बई वा काठमाडौं जस्ता सहरमा सपनाको जन्म पनि छिट्छिटो र मृत्यु पनि छिट्छिटै हुन्छ ।
उसो भए केले बचाउँछ त मान्छेलाई अलि लामो समय ?
पछि भन्दै गरौंला । अहिले यत्ति मात्र भनूँ— काठमाडौंमा पनि कोही सिङ्गो पात्र छैन ।
टुटेफुटेका छन् सबै पात्र र परिवेश । यहाँ पनि म सफल भइनँ । पात्रको खोजीमा ।
पात्रको खोजीमा काठमाडौं होइन, मैले देश नै छाडें ।
...
(डेढ दशकयता अमेरिकाबासी बनेका पत्रकार घिमिरेको शनिबार बिमोचन हुन लागेको सांग्रिला बुक्सबाट प्रकाशित गैर–आख्यान कृति ‘पात्रहरु’को सम्पादित एक अंश ।
प्रकाशित : श्रावण १३, २०७९ १८:५३