एक थिए प्रोफेसर, अर्को थानेश्वर- ब्लग - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
पुस्तक अंश

एक थिए प्रोफेसर, अर्को थानेश्वर

मलानी अर्थात् भारतका एक जना चर्चित वरिष्ठ वकिल राम जेठमलानी । मुम्बईमा हिरो बन्न हिँडेको थानेश्वरको भेट कसरी भारतकै नामी वकिलसँग भयो ? र मलानीसँग जोडियो ? कथा फिल्मी खालको छ ।
सञ्जय घिमिरे

काठमाडौँ — प्रोफेसर भन्नेबित्तिकै सम्झिन्छु, ती प्रोफेसर, जो साँच्चै प्रोफेसर जस्ता थिए, जो बितेर गए— प्रा.डा. दुर्गाप्रसाद भण्डारी । यसरी बितेर गए, जो जीवनका पछिल्ला दिनमा न शरीर चल्यो, न सम्झना । यस्तो पनि हुँदो रहेछ मान्छेको जिन्दगी ।

मान्छेको स्मृति र शरीर दुवै हार्दो रहेछ, कुनै बखत ।

मान्छेको स्मृति–ताकत र शरीर–ताकत दुवै थाक्दो रहेछ कुनै बखत ।

थाक्यो । गल्यो । र, ढल्यो ।

त्यो प्रोफेसर । सहरको एउटा प्रोफेसर ।

देशकै एउटा प्रोफेसर ।

जुन प्रोफेसरसँग साताको एक दिन मृगस्थलीका जङ्गल अनि जे कृष्णमूर्तिको बाक्लो किताब बोकेर शिवपुरी आश्रमतिर डुलिन्थ्यो ।

ती प्रोफेसर जो, मृगस्थलीका उकालाका प्वालतिर हात छिराएर मलाई ‘अन्यथा कुरा’ सुनाउँथे ।

एक खालको उन्मत्तता थियो, त्यो जीवनमा ।

म लुरे बबुरो, जो प्रोफेसरको चेतनाको भारबाट थिचिएको थिएँ, उनले जसो भने, त्यसै गर्न कोसिस गरें ।

अक्सर शनिबारका दिन मध्याह्न, हामी मृगस्थली हुँदै शिवपुरी आश्रम छिथ्र्याैं ।

त्यहाँ हुन्थे— ऊ बेलाका दरबारका सचिव, सरकारका सचिव र उच्चपदस्थहरु । मेरा लागि त्यो चेतनाको महासागर थियो ।

कुरा हुन्थ्यो— शिवपुरी बाबाका अनेक सन्दर्भ र शिक्षाको । मलाई भने मध्याह्नको निःशुल्क प्रसाद बढी मीठो लाग्थ्यो ।

त्यहाँबाट बाहिर निस्किएपछि भने मेरा लागि प्रोफेसर नै प्रिय थिए, जसले मलाई त्यो पशुपति र मृगस्थलीको विचरण गजबसँग गराउँथे । हाय, ती प्रोफेसर, जो बितेर गए ।

गरे के थाहा छ ?

अमेरिकाबाट कसैले पठाइदिएको काठको मान्छेको सानो मूर्तिको लिङ्ग एकदिन शिलालाई छुन लगाए । यसरी कि, त्यहाँ कुनै अश्लीलता झल्किँदैनथ्यो ।

प्रोफसरहरुको यही कुरा मलाई मन पर्छ, जो जे पनि अदबसाथ गर्छन् ।

यस्ता प्रोफेसर बिरलै भेटिन्छन् ।

भेटिए पनि कतिपय अवस्थामा सहरभित्र हराउँछन् ती ।

ती हराए, जसलाई तपाईं–हामीले भेटेनौं । भेटे पनि चिनेनौं । चिने पनि बुझेनौं । बुझे पनि भनेनौं ।

हराए हुँदा हुन्, कति प्रोफेसरहरु यो सहरमा ?

प्रोफेसर मात्र किन, अरुहरु पनि ।

कहिलेकाहीँ त भरियाहरु सडक पेटीमा निद्रामा छन् कि घोर निद्रामा, यो पनि थाहा हुँदैन ।

विचित्र चरित्र हुन्छ सहरको ।

चरित्र एउटै भने हुँदैन । सहरको एउटै रुप हुँदैन । सहरको एउटै गुण वा अवगुण हुँदैन । झन् काठमाडौंका रुप त कति छन् कति । पशुपतिनाथ र स्वयम्भूका बीचमा अरु कति रुप, रङ र स्वभाव ।

अग्लो स्वयम्भूका त आँखा छल्छन् मान्छेहरु । पशुपति त घरैघरले घेरिएको छ ।

मन्दिरहरुका बीचमा, तिनका अन्तरकुन्तरमा अनेक विचार, रुप, अवतार, भाव र चरित्रका मान्छे छन् । जुधिरहन्छन् ती एकअर्कामा ।

रैथाने सहरिया छन्, रैथानेका आफ्ना मान्यता, विश्वास र हेराइ छन् । तिनका छोराछोरीका कुरा त बेग्लै । ती जन्मिँदै आधुनिक भएर जन्मिछन् । जो गाउँमा जन्मिए र पछि काठमाडौं भित्रिए, ती आधुनिकता पछ्याउँछन् मात्र । रैथाने सहरियाका छोराछोरी आधुनिकताको नेतृत्व गर्छन् । तिनको बोल्ने तरिका, शैली र हाउभाउ, ओहो । ती टोफल, गलफ्रेन्ड, म्युजिक भिडियो, ¥याप, अमेरिका, अस्ट्रेलिया, क्लब, च्याट आदिका कुरा गर्छन् । फेसबुक र ट्विटरमा हराउँछन् । ती अङ्ग्रेजी नामका नेपाली कलेजहरुमा पढछन् । कति अमेरिका, अस्ट्रेलिया पुग्छन् । गलफ्रेन्ड र ब्यायफ्रेन्ड बनाउनु उनीहरुको अनीवार्य बिजनेस हो । ती राजनीति जान्दैनन् । बाँकी जेमा पनि तर्क गर्न खोज्छन् ।

“यु डन्ट नो मम ।”

सायद घरमा यही वाक्य बढी प्रयोग गर्दा हुन् ती । फ्रस्टेसन वा डिप्रेसन भए ड्रगको सहारा लिन्छन् । ती, जो काठमाडौंमा छन्, ती पनि सन्तुष्ट छैनन् । ती, जो अमेरिका वा अस्ट्रेलिया गए, ती पनि त्यहाँ सन्तुष्ट छैनन् ।

सहरमा को छैनन् ? माग्नेदेखि दिनेहरुसम्म । लुट्नेदेखि पोस्नेहरुसम्म ।

डाक्टरदेखि बिरामीहरुसम्म । जो बिरामी देख्यो, त्यसको अनहार हेरिरहन मन लाग्छ । उसका विगत र भविष्यका आशा केलाउन मन लाग्छ । उसका पीडा र तत्काल उर्लिएका भाव समात्न मन लाग्छ । के सोचेको थियो ? के भयो ? र के हुने हो ?

अस्पतालको बाहिरपट्टि त्यसै परिरहेको शव, भर्खरै आफन्त गुमाएको चोटमा रूवाबासी गरिरहेका परिवारजन, कसैको पीडा र छटपटीमा पैसाको हिसाबकिताब गरिरहेका डाक्टर, दुःखे पनि उसैलाई हो भनेर सुई घोच्ने नर्स, औषधि बेचेर पैसा कमाउने व्यापारी, अनेक छन् । अस्पतालभित्रै पात्रहरुको खानी छ कि जस्तो लाग्छ ।

मन्दिर छन् । पशुपतिनाथ छन् । जोगी पनि त्यहीँ, भोगी पनि त्यहीँ ।

हेर न, कसरी भजनकीर्तनमा मस्त भएका— मन्दिरका वरिपरि ईश्वरका नाम मात्र जपिरहनेहरु, बौद्ध गुम्बाका वरपर लम्पसार पर्नेहरु । ओहो, सानोतिनो समर्पण नभई कसरी झ्याप्पै लम्पसार पर्न सकिन्छ र ? भगवान्का अगाडि लम्पसार पर्दा सबैको मन र दिमागमा एउटै भाव हुन्छ वा प्रत्येक मान्छेपिच्छे फरक भाव ? वा कोही बिलकुल शून्य हुँदा ?

पशुपति मन्दिर परिसरमा घन्किइरहेको छ— लैजाऊ शिव मलाई नि... ।

कृष्ण मन्दिर परिसरमा घन्किइरहेको छ— लैजाऊ कृष्ण मलाई नि... ।

हरेक देवतालाई हरेकका आग्रह छन् ।

बल्लबल्ल पाएको जीवन कति सजिलै लैजाऊ भनिरहेका होलान् ! नलैजाऊ कृष्ण वा शिव पो भन्नुपर्ने ! किन वाक्क भएका होलान्, जीवनदेखि यतिसारो !

त्यही जीवन कहिले लोभलाग्दो, कहिले वाक्कलाग्दो ।

चेतनाको खेल हो कि भोगाइको ?

काठमाडौंका साँघुरा सडक, अझ भित्री काठमाडौंमा त सडकैपिच्छेका मन्दिर र त्यसका वरिपरि घुम्ने मान्छे । कहाँ पुग्न हिँडेका हुन् ? कहाँ पुगेर फर्किएका हुन् ? वा त्यसै चक्कर मात्रै मारिरहेका छन् ?

त्यसै चक्कर मात्रै मार्छ कहिलेकाहीँ त जिन्दगीले ।

चक्कर मार्दामार्दै बाटोहुँदी नै जिन्दगी सकिन्छ ।

हिजोसम्म हरेक दिन मर्निङ वाकमा कतै न कतै बाटोमा देखिने मान्छे भोलिपल्टदेखि देखिन छाड्छ । त्यसपछि कहिल्यै देखिँदैन ।

“के भो ?”

“ऊ त बित्यो ।”

बित्यो । यसको मतलब अब ऊ यो बाटोमा मात्र होइन, कहीँकतै छैन ।

बाटो छ, अरु मान्छे छन्, ऊ छैन । मन्दिर छन्, फूलपाती बेच्नेहरु छन् । किन्नेहरु पनि छन् । तर किन्नेमा ऊ छैन । जो पनि एक दिन यो सहरबाट यसैगरी हराउँछ ।

एक दिन मान्छेहरु सोध्छन्, “देखिँदैन नि आजकाल ?”

अर्को वा अझै अर्को दिन थाहा हुन्छ— उ त बित्यो ।

सकियो ।

सहरमा मान्छे र मान्छेका आवाज बिस्तारै बिस्तारै विलीन हुँदै जान्छन् ।

सहरले न कसैलाई सम्पूर्ण आफ्नो बनाउँछ, न कोही सहरसँग सम्पूर्ण रुपले नजिक हुन्छ ।

सम्बन्धहरु पनि खोक्रिँदै खोक्रिँदै जान्छन्, सहरमा । बाहिर ‘हाईहेलो’को ठूलै फेद देखिन्छ, भित्र त के हुनु ?

खोक्रो ।

कहिलेकाहीँ यस्तो लाग्छ— माग्ने र दिनेहरुको ठाउँ हो, काठमाडौं ।

माग्नेहरु पनि यहीँ छन् । दिनेहरु पनि यहीँ छन् ।

दिनेहरु नभएको भए सायद माग्नेहरु हुँदैनथे ।

माग्नेका रुप र चरित्र पनि अनेक— कोही एक्लै माग्छन्, कोही सामूहिक ।

एक्लै माग्ने, माग्ने मात्रै हुन्छ, सामूहिक माग्नेहरु आन्दोलनकारी ठहरिन्छन् ।

सामूहिक माग्दा आन्दोलन हुन्छ, एक्लै माग्दा केही न केही । सामूहिक माग्दा सडक रोक्न पाइन्छ । पसल बन्द गर्न पाइन्छ । घरका झ्यालका सिसा फुटाउन पाइन्छ । मोटरमा आगो लगाउन पाइन्छ । मौका परे खानेकुरा लुटपाट गर्न पाइन्छ ।

काठमाडौं कहिल्यै शान्त रहेन । गरिब देशका ठूला सहर सायदै कमै शान्त रहँदा हुन्, काठमाडौं जस्तै । यसैले त यस्ता ठूला सहरका नजिकका जङ्गलतिर सक्नेहरुले रिसोर्ट बनाउँछन्, शान्तिका लागि ।

काठमाडौं एक प्रकारले विरोधाभासको सहर हो । यस्तो विरोधाभास, जहाँ असाध्यै सम्पन्न र असाध्यै विपन्न, एउटै सडकमा ओहोरदोहोर गरिरहन्छन् ।

काठमाडौंको मात्र के कुरा, प्रायः ठूला सहरमा यस्तै हुन्छ ।

खासमा ठूला र पुराना सहरले समयक्रममा आफ्नो लय हराउँदै गएका छन् । काठमाडौंले जस्तै । काठमाडौंलाई मन्दिरै मन्दिरको सहर भनिन्थ्यो ।

टाढाटाढाबाट पनि मन्दिरहरुमा परेवा उडेका देखिन्थे ।

मन्दिरहरुमा घण्ट बजेको टाढाटाढा पनि सुनिन्थ्यो ।

दसैंका मङ्गलधुन परपरसम्म पुग्थे ।

मन्दिरमा बालिएको अगरबत्तीको सुगन्धले घरघरलाई छोएर जान्थ्यो ।

अब कठै ! त्यो काठमाडौं पनि रहेन ।

त्यो काठमाडौंको नेवारी संस्कृति र सभ्यता ! ओहो, कति रहरलाग्दो पो थियो त ।

संस्कृति र सभ्यता जति टिकाउन सक्यो, त्यति धनी हुने हो ।

अहिले त टिकाउन होइन, बिकाउन रहर मान्छौं हामी ।

होड बिकाउनमै छ ।

टिकाउभन्दा बिकाउ चाहिएको छ हामीलाई ।

मालसामान बिकाउ । चेतना र विचार बिकाउ ।

गजब छ— हामी ह्विस्की पुरानो खोज्छौं ।

जीवनशैली र सभ्यता भने हामीलाई नयाँ चाहिएको छ ।

जाबो रक्सी (ह्विस्की) हामीलाई पुरानो चाहिने ।

रक्सी पुरानोमा स्वाद रे ।

अनि जीवनशैली र चेतनामा नि ?

हिजोआज काठमाडौं गँजडीहरुको सहर जस्तो लाग्छ ।

दीपक बज्राचार्यले गाए जस्तो— आफैं मनमगन ।

कुनै आत्मिक वा दार्शनिक भावमा चुर्लम्म डुबेर काठमाडौं यसरी मनमगन भएको होइन ।

एकअर्काप्रतिको आस्था, प्रेम, सम्मान र भाव कमजोर भएपछि यस्तै हुन्छ ।

अग्ला र जथाभावी बनेका भौतिक संरचनाले जसरी सर्लक्कै निलिदिए, त्यो मन्दिरै मन्दिरको सहर काठमाडौंलाई, त्यसरी नै त्यहाँको सम्यता र संस्कृतिलाई पनि सर्लक्कै निलिदिएको छ— अर्कैको सभ्यता र संस्कृतिले ।

स्वास्नी मात्र होइन, संस्कृति र सभ्यता पनि अर्कैको राम्रो लाग्ने रहेछ क्या हो ?

के भएको हो हामीलाई ?

कति सुन्दर हुँदो हो, डाँडाका वरिपरि कापकापमा घर बनाएर सहरभित्र मन्दिरहरुलाई मात्रै ठडिन दिएको भए ? मन्दिरका वरिपरि कि त पैदल, कि त साइकलसम्म चलाउन मिल्ने गरी काठमाडौंलाई छाडिदिएको भए कसले जित्दो हो, त्यो सहरलाई ? न रोमले ? न पेरिसले ? युरोपका मै हुँ भन्ने पुराना ऐतिहासिक सहरलाई पनि सोझै माथ गराउन सक्ने तागत थियो, काठमाडौंमा ।

लुरे बन्दै गएको छ, यो सहर पनि ।

अब त के बाँकी छ र ? पैसाको भोक, जुगाड र भीडबाहेक ? उहिले उहिलेको वसन्तपुर, ओहो मन्दिर, परेवा, एकादुई रिक्सा र सफा मन लिएर हिँडेका मान्छेहरु ।

अग्र्यानिक थिए मान्छे र मान्छेका मनहरु ।

अहिले ?

दुवै रासायनिक । शरीर पनि, मन पनि ।

अहिले ?

न बाटा सफा छन्, न मान्छेका मन ।

तैपनि मान्छेहरु केही भेटे जस्तो वा केही खोजे जस्तो यताउति गरिरहेका छन् ।

आउजाउ निरन्तर चलिरहेको छ, कमिलाको ताँती जस्तो ।

विपरीत दिशातिर हिँडेका कमिला खै किन हो कुन्नि, यसो मुख जोडेर आआफ्ना बाटो लाग्छन् ।

मान्छे त मुख होइन, आआफ्ना अहम् जुधाएर आआफ्ना बाटा लाग्छन्, काठमाडौंमा ।

काठमाडौं जस्ता सहर हेरेर प्रश्न गर्न मन लाग्छ— गुमाएको चीज राम्रो कि पाएको ?

कहिलेकाहीँ यस्तो पनि हुँदो रहेछ— प्राप्तिभन्दा गुमाएको ठूलो ।

तर जिन्दगी कहाँ यति गहन हिसाबकिताबमा चल्छ र ?

यो त, उसै हावाको गतिमा चल्ने पात जस्तो न हो ।

सहरका मान्छेका जीवन हावामा उड्ने सुकेका पात जस्तै हुन् । उडाउने र हिँडाउने कुराको निर्धारण हावाले गर्छ, पात स्वयम्ले होइन ।

मान्छेहरु सपना लिएर आउँछन् । रहर लिएर आउँछन् । एकादुईका सपना पूरा हुन्छन्, जसले अरु बाँकी हजारौं–लाखौंलाई लोभ्याइरहन्छन् ।

काठमाडौं, क्यासिनोहरुमा हुने स्लट मेसिन जस्तै हो । यस्तो मेसिन, जुन मेसिनले एक हजार पचाएपछि सय फिर्ता दिन्छ । र हजार गुमाउनेले गुमाएर जान्छ । सय प्राप्त गर्नेले ओहो भन्ठान्छ ।

मेसिन घाटामा छैन । तर धेरैजसो खेलाडी घाटामा छन् ।

ठीक यही हो, काठमाडौं । र काठमाडौंका मान्छेहरु ।

सपना सकिएकाहरु पनि यहीँ छन्, सपना लिएर आउनेहरु पनि यहीँ छन् ।

मेरो एउटा मित्र छ, थानेश्वर ।

ऊ सपना सकिएपछि काठमाडौं छिरेको हो ।

अक्सर मान्छेहरु सपना लिएर काठमाडौं छिर्छन् । ठीक उल्टो, थानेश्वर आफ्ना सपना रित्याएर काठमाडौं छि¥यो ।

यसै पनि ऊसँग काठमाडौं सपना थिएन ।

काठमाडौंसँग कुनै आस पनि थिएन सायद ।

सायद उसलाई लागेको हुँदो हो— के रस बाँकी छ र काठमाडौंलाई लुछ्न ? वा चुस्न ?

यसैले ऊ गैंडाकोटबाट भागेर काठमाडौं आएन ।

एक रात मुम्बईको सपना देख्यो, ब्युँझियो, जुरूक्क उठयो । र हिँड्यो ।

हिँडेको के भन्नु ?

घरबाट भाग्यो ।

गयो मुम्बई ।

त्यो पनि हिरो बन्ने सपना लिएर ।

लरक्कको जीउ, मिथुनको जस्तो कपाल ।

उमेर, जोस, आँट र सपनाले ऊ यसरी सुरियो कि, त्यो अर्को सपनाको महानगरी मुम्बई आफैंलाई पर्खिएको छ झैं उसलाई भान भयो ।

तर सपनाहरु कहाँ सही बाटोमा हिँड्छन् र ?

बिपनाको त टुङ्गो हुँदैन । सपनाको त झन् टुङ्गो हुने कुरै भएन ।

थानेश्वर धेरै लर्खरायो मुम्बईमा ।

के गरेन ?

के भएन ?

सबै भयो, सिवाय हिरो ।

डाँका भयो । कसैको जीवन रक्षक भयो । नोकर भयो ।

कसैका जुत्ता पालिस ग¥यो । कसैलाई छाता ओढायो । कतिका घुँडा माड्यो ।

सबै भयो । बाहेक हिरो । जे बन्न गएको हो, त्यही मात्र भएन ।

हुन हुन लागे जस्तो हुन्छ । तर हुँदैन ।

भयो भयो जस्तो हुन्छ । तर हुँदैन ।

भाग्य आयो आयो जस्तो हुन्छ, आउँदैन— कब्जियतको दिसा जस्तो ।

मुम्बईका निर्देशकदेखि हिरो–हिरोइनसम्मलाई भेट्यो, तिनका वरिपरि घुम्यो ।

महसुर फिल्म निर्देशक सुभास घईले थानेश्वरको फोटो हातमा लिँदै एक दिन भनेका पनि थिए, “बेटे, तुम्हारे लिए म्याच होनेवाला रोल होगा तो में मलानी साबको फोन करूङ्गा । कन्ट्याक्ट मे रहना ।”

मलानी अर्थात् भारतका एक जना चर्चित वरिष्ठ वकिल राम जेठमलानी । मुम्बईमा हिरो बन्न हिँडेको थानेश्वरको भेट कसरी भारतकै नामी वकिलसँग भयो ? र मलानीसँग जोडियो ?

कथा फिल्मी खालको छ ।

हिरो बन्ने चक्करमा डुलिरहेको थियो, थानेश्वर मुम्बईमा— कहिले यता, कहिले उता ।

एक दिन अटोमा कतै गइरहेको थियो ।

आफू चढेको अटोअगाडिको कारमा थानेश्वरले देख्यो— केही युवकले एउटा कारमाथि आक्रमण गरिरहेको ।

थानेश्वरले अटो रोक्यो । अटोबाट बाहिर निस्क्यो । र निडर भएर आक्रमणकारीहरुका सामुन्ने उत्रियो । आक्रमणकारी भागे । आक्रमणकारीहरुबाट मूच्र्छित बनेको कारभित्रको मान्छेलाई थानेश्वरले अस्पताल लिएर गयो ।

मूच्र्छित त्यो अज्ञात व्यक्तिका परिवारजन अस्पताल आए । सोधखोज गरे ।

गुन्डाहरुको आक्रमणमा बचाइएका ती व्यक्ति सामान्य थिएनन् । थिए— भारतका एक जना वरिष्ठ वकिल राम जेठमलानी ।

होस आएपछि राम जेठमलानीले थाहा पाए— गुन्डाहरुबाट आफूलाई बचाउने ठिटोको नाम हो, थानेश्वर ।

स्वयम् जेठमलानी र उनका परिवारजनका लागि योभन्दा अरु ठूलो कुरा के हुन सक्थ्यो ?

राम जेठमलानीले के वर माग्छौ माग शैलीमा थानेश्वरलाई प्रस्ताव गरे ।

थानेश्वरले भन्यो, “म हिरो बन्ने आएको हुँ, हिरो बन्न सहयोग गरिपाऊँ ।”

राम जेठमलानी फिल्मका भगवान् थिएनन् । यसैले तथास्तु भन्न सकेनन् । तर एउटा चिठी भने लेखिदिए— चलचित्र निर्देशक सुभास घईलाई ।

हो, त्यही चिठी लिएर थानेश्वर सुभास घईकहाँ गएको हो ।

म सोच्छु— थानेश्वरले किन अरु वर मागेन, आफ्नो सपनाबाहेकको, जो तत्कालै पूरा हुन सक्थ्यो ?

पैसा वा अरु कामको वर मागेको भए तत्काल पूरा हुँदो हो । र मुम्बईका गल्लीमा भोकभोकै रात कटाउनुपर्दैनथ्यो । मान्छेको स्वभाव, चरित्र र सपना विचित्रको हुन्छ ।

उसले सपनाको वर माग्यो ।

हो, त्यही वर पूरा हुन्छ कि भनेर ऊ गएको हो, सुभास घईकहाँ ।

सुभास घईले कहिल्यै थानेश्वरका लागि म्याच हुने रोल भेटेनन् । थानेश्वर पर्खिएको पर्खियै भयो ।

त्यसपछि ऊ अरु निर्माता र निर्देशकको पनि खोजीमा लाग्यो ।

दिनभर निर्माता–निर्देशकहरुको घर र अफिसको चक्कर लगाउनु अनि बेलुकीपख मलानीलाई फोन गर्नु उसको दिनचर्या भयो । ऊ भेटे जति प्रत्येक निर्माता–निर्देशकलाई मलानीकै फोन नम्बर दिन्थ्यो ।

प्रत्येक बिहान मुम्बईका देवीदेवताका मन्दिर जान्थ्यो । पुकारा गथ्र्यो, “हे भगवान्÷देवी, हिरो बन्ने मेरो सपना पूरा गरिदेऊ ।”

ग्रहशान्तिका लागि प्रत्येक दिन २० ओटा कागती निचोरेर रस चढाउँथ्यो, भगवान्लाई ।

पछि म जिस्क्याउँथें— भगवान्लाई अमिलो रस चढाएर पनि कहीँ गुलियो फल पाइन्छ त ?

उसले गुलियो फल पाएन मुम्बईमा ।

बरू कागतीको भन्दा कडा अमिला र तीता फल पायो ।

थकित भएर मुम्बईका सडकमा धेरै दिन हिँड्यो ।

एकदमै गलेका बेला कुनै दिन चिया पिउन कुनै होटलमा छिरेको थियो ।

चिया पिउँदै थियो ।

दुई जना केटा आएर होटलको साहुजीलाई थर्काउँदै उसकै टेबलमाथि खुट्टा राखेर बसे ।

थानेश्वरलाई झोंक चल्यो ।

प्रतिवाद ग¥यो ।

केटाहरुले हात जुधाउन भने । जुधायो । थानेश्वरले पछा¥यो ।

केटाहरु प्रभावित भए । भने, “हाम्र्रो ग्याङमा आइज ।”

थानेश्वरले मान्यो । थानेश्वरलाई मुम्बईमा बाँच्नु थियो ।

ग्याङको काम थियो— डकैती ।

थानेश्वर पनि डकैतीमा निस्कियो— पेस्तोल लिएर ।

एउटा घरको डकैतीमा थानेश्वर बाहिरपट्टिको सुरक्षा घेरामा थियो ।

डकैती फेल खायो । थानेश्वर पक्राउ पर्‍यो ।

तीन महिना जेल पर्‍यो ।

जेठमलानीले थाहा पाए ।

छुटाइदिए ।

अनि हिरोको सपना छाडेर थानेश्वर काठमाडौं आयो ।

यसैले भनेको हुँ— थानेश्वर सपना लिएर होइन, सपना रित्याएर काठमाडौं छिरेको हो । (जो आज सपनाको अर्को उडानमा लण्डन–स्कटल्याण्डतिर यायावर बनिरहेको छ ।)

लण्डन, मुम्बई वा काठमाडौं जस्ता सहरमा सपनाको जन्म पनि छिट्छिटो र मृत्यु पनि छिट्छिटै हुन्छ ।

उसो भए केले बचाउँछ त मान्छेलाई अलि लामो समय ?

पछि भन्दै गरौंला । अहिले यत्ति मात्र भनूँ— काठमाडौंमा पनि कोही सिङ्गो पात्र छैन ।

टुटेफुटेका छन् सबै पात्र र परिवेश । यहाँ पनि म सफल भइनँ । पात्रको खोजीमा ।

पात्रको खोजीमा काठमाडौं होइन, मैले देश नै छाडें ।

...

(डेढ दशकयता अमेरिकाबासी बनेका पत्रकार घिमिरेको शनिबार बिमोचन हुन लागेको सांग्रिला बुक्सबाट प्रकाशित गैर–आख्यान कृति ‘पात्रहरु’को सम्पादित एक अंश ।

प्रकाशित : श्रावण १३, २०७९ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्

बेलहिया-बुटवल सडकको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी 

सन्जु पौडेल

तिलोत्तमा — व्यापारिक मार्ग विस्तार आयोजनाले रुपन्देहीको बेलहिया–बुटवल सडकको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएको छ । सडक विस्तारका लागि सम्झौता भएको लामो समयसम्म पनि निर्माण पूरा नगरेको भन्दै आयोजनाले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएको हो ।

निर्माण सम्झौता भएको ६ वर्ष भईसक्दा पनि सडक निर्माण सम्पन्न नभएपछि सडक विभागले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने कारण पेस गर्न भनेको छ ।

तीन वर्षभित्र सक्ने गरी काम थालिएको बुटवल–बेलहिया सडक विगत १० वर्षदेखि अलपत्र छ । यो सडकलाई व्यापारिक मार्गका रुपमा ६ लेनको बनाउने आर्थिक वर्ष २०६८/६९ बाट निर्माण थालिएको हो । व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकले कार्य प्रगति न्यून भएको, म्याद समाप्त भएका र कुनै समस्याबिना पनि लामो समयसम्म निर्माण रोकिएको भन्दै सूचना प्रकाशित गरेको छ । निर्माण अगाडि बढाउन विभिन्न मितिमा लिखित तथा मौखिक ताकेता गर्दासमेत सन्तोषजनक कार्य प्रगति नभएको, निर्माण कार्य प्रगति गराउन तथा परिमार्जित कार्यतालिका पेस गर्न सम्बन्धित कार्यालयको पत्र, सूचनालाई समेत बेवास्ता गरी निर्माण सम्पन्न नगरेको सूचनामा उल्लेख छ ।

आयोजनाले ठेक्का सम्झौता अन्त्य किन नगर्ने ? ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने कुनै मनासिव कारण भएमा ७ दिनभित्र भरपर्दो कार्यतालिका र विश्वसनीय स्पष्टिकरणसहित आधिकारिक व्यक्तिहरु कार्यालयमा उपस्थित हुन भनेको छ । ‘सार्वजनिक खरिद ऐन,२०६३ तथा नियमावली, २०६४ र ठेक्का सम्झौताको शर्त बमोजिम ठेक्का सम्झौता अन्त्य किन नगर्ने ? ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने कुनै मनासिव कारण भएमा ७ (सात) दिनभित्र भरपर्दो कार्यतालिका र विश्वसनीय स्पष्टिकरणसहित आधिकारिक व्यक्तिहरु यस योजना कार्यालयमा उपस्थित हुन यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ,’ आयोजनाले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

आयोजनाका सूचना अधिकारी सविता ज्ञवालीले बिरुवा–श्रेष्ठ–एपेक्स जेभीका ठेकेदार सुवित श्रेष्ठ काठमाडौंलाई पत्रसमेत पठाएकी छन् । स्पष्टीकरण चित्तबुझ्दो नभएमा ठेक्का सम्झौताका सर्त र सिओसी तथा प्रचलित ऐन–नियमअनुसार कानुनी कारबाही अगाडि बढाउने आयोजनाको भनाइ छ ।

आयोजनाले तीन वटा ठेक्का तोड्ने गरी प्रक्रिया थालेको हो । अरु खण्डको निर्माण गरिरहेका अन्य जेभी निर्माण कम्पनीहरु बिरुवा/श्रेष्ठ/एपेक्स जेभी काठमाडौं र द कञ्चनजंगा/बिरुवा जेभीको पनि ठेक्का तोड्न प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ ।

प्रकाशित : श्रावण १३, २०७९ १८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×