१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
ब्लग

बाघ पनि बढून्, मान्छे पनि नमरून्

'बाघको संख्या बढेको जस लिन सरकार, गैरसरकारी निकाय र समुदायका अगुवाबीच होडबाजी चल्छ । तर भदैजस्ता स्थानीयले दिएको ‘बलिदानी’ हामी सबैले बिर्सेका छौं । उनका सन्तानहरू बेवास्ताको सिकार भइरहने हो भने संरक्षण कसका लागि भन्ने प्रश्न उठ्न सक्छ ।'
रमेशकुमार पौडेल

नाम : भदै महतो
लिंग : पुरुष 
उमेर : ६६ 
ठेगाना : खैरहनी नगरपालिका–१३ 
यो विवरण बाघको आक्रमणबाट मृत्यु भएकाले तयार पारिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा वन्यजन्तु आक्रमणमा गत वर्ष मात्र २४ जनाको मृत्यु भएको छ । त्यसमध्ये १६ जनाको बाघ आक्रमणमा परी मृत्यु भएको हो । 

बाघ पनि बढून्, मान्छे पनि नमरून्

बाघका कारण यसअघि यसरी मान्छे सायदै मारिएका थिए । यो अकल्पनीय आक्रमणको सिलसिला भदैबाट सुरु भयो । गत वर्षको साउन ३० गते खैरहनीको कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र बाघको पाइलैपाइला भएको र माडिएको ठाउँमा मानव अंगको अवशेष फेला पर्‍यो । त्यसका आधारमा मान्छे चिन्न सकिँदैन थियो तर वरपर कपडा छरपस्ट थिए ।

भदै महतो साउन २५ बाट हराइरहेका थिए । कपडा भदैका नै थिए । यही आधारमा निकुञ्जले आर्थिक वर्ष ०७८/७९ मा वन्यजन्तु आक्रमणमा परेर मृत्यु हुनेहरुको विवरण राख्न सुरु गर्‍यो । आर्थिक वर्षको अन्तिममा मृत्यु हुने व्यक्तिलाई पनि बाघले नै आक्रमण गरेको थियो ।

कुमरोज मध्यवर्ती सामुदायिक वनमा मात्रै बाघले भदैसहित ६ जनालाई आक्रमण गर्‍यो । यति धेरै घटना निकुञ्ज आसपासको अन्य वनमा भएको छैन । आक्रमणमा परेका ६ जनामध्ये चारजनाको ज्यानै गयो । कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशबहादुर श्रेष्ठका अनुसार यहाँ यसअघि यस्ता घटना कहिल्यै भएका थिएनन् । बाघले मान्छे मार्ने घटना यसअघि पनि नभएका हैनन् तर ती फाट्टफुट्ट थिए ।

वनको क्षेत्रफल ६९१ हेक्टर रहेको छ । यो ठाउँ पहिला खाली थियो । कुमरोजआडैमा राप्ती नदी बग्छ । राप्तीपारि निकुञ्जको घना जंगल छ । ४१ सालमा राप्तीमा ठूलो बाढी आयो । जहाँ–जहाँ रुख र बाँस थिए त्यहाँ बाढीले वितण्डा गर्न पाएन । अरु ठाउँमा नोक्सान पुर्‍यायो । गाउँलेलाई लाग्यो रुख बिरुवा भए बाढीबाट गाउँ जोगिँदो रहेछ । अनि वृक्षरोपण सुरु भयो । बिरुवा हुर्के, खाली जमिन हराभरा वन बन्यो ।

‘राप्तीमा बेला बेलामा बाढी आइरह्यो । वन नभएको भए अहिले यो हाम्रो कुमरोज गाउँ धेरै जसो बगर हुन्थ्यो होला । वनले बाढी रोक्यो नि,’ अध्यक्ष श्रेष्ठले वनले दिएको फाइदा बताए । वनले राप्तीको बाढी मात्रै रोकेन । पर्यटकको बाढी पनि ल्यायो । कोरोनाभन्दा अगाडि पर्यटनका कारण वर्षमा तीन करोड रुपैयाँ हाराहारीमा आम्दानी भएको उनी बताउँछन् ।

कोरोना आएपछि वनमा बाघ पनि बाक्लै देखिन थाले । ‘कोरोनाभन्दा अगाडि खासै थिएन बाघ । कोरोनापछि कता–कताबाट आए आए । अहिले त सात आठवटा बाघ छन् झैं लाग्छ,’ श्रेष्ठले सुनाए । वनमा बाघ छ भनेपछि पर्यटक झनै हुरुक्क हुन्छन् । गत वर्षकै कुरा सम्झे उनले । भदैलाई बाघले आक्रमण गरेको सुनेपछि स्थानीयले बाघ नियन्त्रणमा लिन आवाज उठाए । निकुञ्जको टोलीले तीन दिन लगाएर बाघ समायो । टोली बाघ लिएर जंगलबाट बाहिर निस्कँदै थियो ।

‘ठ्याक्क टिकट काउन्टरमा घुम्न आउने पर्यटकहरु र बाघ ल्याएको टोलीको जम्काभेट भयो । बाघ खोरमा राख्ने योजनामा थियौं । पर्यटकहरुले फेरि हामी यस्तै बाघ हेर्न यता आउँछौं, तपाईंहरूले यहाँका बाघ समाएर बाहिर पठाउने भने,’ अध्यक्ष श्रेष्ठले भने । पर्यटकको चाहना ख्याल राख्ने कि स्थानीयको आवाज सुन्ने भन्ने दोधार नहुने हैन । तर उनले स्थानीयको हित पनि हेर्नु पर्ने हुन्छ ।

गत वर्ष बाघको आक्रमणमा परि ज्यान गुमाउने सबै घाँस काट्न जंगल गएकाहरू थिए । वन जानु उनीहरुको बाध्यता थियो । बाध्यतामा परेर ज्यान गुमाएको परिवारलाई मल्हम लगाउनु पर्ने हुन्छ । नभए वन संरक्षण, वन्यजन्तुको हित, पर्यटन विकासका कुरा र नाराले मात्रै संरक्षण कार्य दिगो हुँदैन । भदै महतो मरेर गए, उनको परिवार बालबच्चा बेसहारा भए । दु:खको घाउ आलै छ तर राहतको मल्हम आएकै छैन ।

कुमरोज वनको सिमानाभन्दा उत्तर त्यस्तै चार सय मिटरपर खैरहनी नगरपालिका–१३ हर्नरीमा छ भदैको घर । प्लास्टर नभएको ब्लकको गाह्रो भएको सानो घर । खिया लागेको जस्ताले देखाउँछ घर केही पुरानै हो । घरसँगैको १३ धुर जमिनबाहेक खेती गर्ने अरु ठाउँ छैन । यो साँघुरो छाप्रोमा भदैका ६ सन्तान बस्छन् । चार छोरी दुई छोरा छन् भदैका । भदैको घर पुग्दा एकजना महिला पिँढीमा भेटिइन् ।

उनी सुर बेसुर तरिकाले बोल्दै थिइन् । भदैका १७ वर्षका जेठा छोरा अमर पनि घरभित्र रहेछन् । उनी बाहिर आएर भने, ‘आमा बिरामी हुनुहुन्छ । मैले थाहा पाएदेखि यस्तै हो ।’ पिँढीमा पुराना लुगाफाटाको थुप्रो थियो । उनी त्यसैसँग बच्चाझैं खेलिरहेकी थिइन् ।

भदैको न गोठ छ न गाई बाख्रा । किन गए त उनी घाँस खोज्दै जंगल । यसबारेमा वनका अध्यक्ष गणेशबहादुर श्रेष्ठले नै बताएका थिए । छिमेकका एकजना घर छाडेर बाहिर जानु पर्ने भएपछि भदैलाई गाईवस्तुको ख्याल राख्दिनु होला है भनेछन् । तीनै गाईवस्तुका लागि घाँस खोज्दै जंगल गएका रहेछन् उनी । साउन २५ गते जंगल गएका थिए । साँझसम्म नपर्केपछि खोजी सुरु भयो ।

बाघले माडेको घाँस र पाइला परेको ठाउँमा साउन ३० मा भेटियो थोरै मानव अंग र भदैका लत्ता कपडा । केही पर बाघ पनि देखा पर्‍यो । भदैलाई बाघले खाएको पक्का भयो । घटना भएको वर्ष पुग्न अब धेरै दिन बाँकी छैन । यसबीचमा भदैकी जेठी छोरीले गुजाराका लागि सौराहाको एक होटलमा काम गर्न थालिन् । पढाइ जारी राख्ने चाहनाले माइली छोरी भरतपुरमा बसेकी छन् । दुई साना छोरी बछौलीको एउटा होस्टलमा बस्छन् । अमर र उनका भाइको पढाइ त छुटेको छैन तर ध्यान पढाइमा केन्द्रित छैन ।

अमर कक्षा १० मा पढ्छन् । ठूलो परिवारमा बाबु नभएपछि जस्ले सक्छ थोरै धेरै कमाउनु नै परेको छ । मन लगाएर पढ्ने बेला भए पनि अमर साँझ परेपछि सौराहा पुग्छन् । होटल र कल्चर हाउसमा थारु नाँच देखाउँछन् । महिनाको ६ सात हजार रुपैयाँका लागि उनले थकाइ भन्न पाएका छैनन्, पढाइ भन्न पाएका छैनन् । सरकारले दिने राहतको बाटो हेरेर बसेका छन् । अप्ठ्यारो परेका बेलामा रकम आए ठूलै राहत हुने थियो ।

निकुञ्ज या वनका जंगली जनावर मानव बस्ती या मध्यवर्ती क्षेत्रमा आएर स्थानीयको ज्यान लिएमा सरकारले परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउँछ । प्रहरी मुचुल्का र मध्यवर्ती उपभोक्ता समितिको सिफारिसका आधारमा निकुञ्ज कार्यालयले यो रकम दिन्छ । तर भदैका परिवारले अझै पाउन सकेका छैनन् । डीएनए परीक्षण पनि गर्नु पर्ने भनेपछि कुर्नुको विकल्प रहेन भन्छन् वनका अध्यक्ष श्रेष्ठ ।

‘धेरै नै समय भयो डीएनए टेस्ट गर्नु पर्दछ भनेर हाम्रो पनि रगतको नमुना लगेको । तर रिपोर्ट आएको छैन । त्यही रिपोर्ट नआएर राहत नपाएको हो । रिपोर्ट चाँडै आए हुन्थ्यो । मैले अध्यक्षलाई पनि भनेकै छु, खै कहिले आउला,’ अमरले भने ।

निकुञ्ज आसपासमा यो वर्ष मान्छे मात्रै धेरै मरेनन् वन्यजन्तु पनि त्यति नै मरेका छन् । यहाँ बेला–बेलामा मन्त्री, सचिव र वरिष्ठ अधिकारी ‘भ्रमण’ आएजसरी आउँछन् । उनीहरूसँग यहाँका एकाध जनप्रतिनिधिहरूले पनि भेटघाट गर्दछन् । जनप्रतिनिधिले निकुञ्जका कारण विकास निर्माणमा अवरोध भयो भन्ने मुद्दा खुब जोडतोडका साथ उठाएको सुनिन्छ । तर वन्यजन्तु मृत्युको चर्चा पनि गर्दैनन् । मनव मृत्युका विषयमा पनि बोलेको पाइँदैन । भदै जस्ता ‘निमुखा’को विषय उनीहरुको जानकारीमा पनि नहोला । यसरी अगाडि बढेको संरक्षण कसरी दिगो होला ?

बाघ विश्वमा नै लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । चार वर्षअघि सार्वजनिक नतिजाअनुसार नेपालमा २३५ बाघ छन् । र चितवनमा मात्रै ९३ बाघ छन् । आज बाघ दिवस हो र बाघको नयाँ संख्या पनि सार्वजनिक हुँदैछ । सन् २०१० को तुलनामा सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने सरकारी योजना हो । आज नयाँ तथ्यांक सार्वजनिक हुँदा बाघको संख्या २५० नाघ्यो भने यो लक्ष्य पूरा हुन्छ ।

बाघको गतिविधि र प्रारम्भिक अनुमानले यो लक्ष्य सहजै पूरा हुने देखिन्छ । त्यसैले आज संरक्षण क्षेत्रमा हर्ष थपिने छ । यसको जस लिन सरकार, गैरसरकारी निकाय र समुदायका अगुवाबीचमा होडबाजी चल्न सक्छ । तर भदैजस्ता स्थानीयले दिएको ‘ज्यानको बलिदानी’ हामी सबैले बिर्सेका छौं । उनका सन्तानहरू यसरी बेवास्ताको सिकार भइरहने हो भने संरक्षण कसका लागि भन्ने प्रश्न उठ्न सक्छ ।

प्रकाशित : श्रावण १३, २०७९ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?