२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कञ्चन कर्णालीमा डुबुल्की मार्दा...

जे पाण्डे

कर्णाली — आँखैमा बस्ने सौन्दर्य । उत्तरका हिमाल र अनकन्टार पहाड छिचोल्दै दक्षिणतिर बगिरहेको नीलो र निर्मल कर्णाली नदी । सिर्सिरे चिसो हावा । मनै लोभ्याउने प्राकृतिक दृश्य, त्यसमाथि पनि कर्णालीको चिसो पानी । असारे झरी बर्सिरहे पनि मनोरम चिसापानीको मौसम भने न्यानो थियो । मौसम न्यानो भए पनि सिर्सिर चलिरहेको हावाले शीतलताको अनुभूति भइरहेको थियो । केही युवाहरू ज्यानको जोखिम मोलेर पुलमाथिबाट हाम फाल्दै थिए । 

कञ्चन कर्णालीमा डुबुल्की मार्दा...

मुलुककै लामो नदी हो कर्णाली । कर्णालीमा जलयात्रीहरू छपक्कै देखिन्थे । उत्तरको पहाड छिचोल्दै जलयात्रीसहितका रबरबोटहरू दक्षिण पुलतिर आउने क्रम तीव्र थियो । कर्णाली, सुदूरपश्चिम र लुम्बिनी तीन प्रदेशको सिमाना छुट्याउने नदी पनि हो-कर्णाली । नदीमा जापानी प्रविधिबाट निर्मित ५ सय मिटर लामो पुलमा यात्रीको घुइँचो थामी नसक्नु देखिन्थ्यो । नदीको मनोरम दृश्य हेर्न जम्मा भएका मानिसहरू बाक्लै थिए । बगर र बालुवा पनि मखमली र सयपत्रीको फुलबारीजस्तो लाग्थ्यो । सूर्यका किरणले नीलो कर्णाली चुमिरहेका थिए । नदीमा बाघचाल खेल्दै गरेका जलयात्रीहरूमध्ये कोही किनारतिर आउँदै थिए भने कोही पानीसँगै सलल बगिरहेका थिए ।

नदी छेउमा बसेर जलयात्रा र जलायात्रीपट्टि फर्किएर चिहाइरहेका धेरै जना आगन्तुकमध्ये बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई कस्तो लाग्यो ? भनेर मैले सोधको थिएँ । ‘साहसिक जलयात्रासँगै चिसो पानीमा पाइने माछाको स्वादमा रमाउने पाइने भएकाले पनि यहाँ आएपछि प्रकृतिसँग घुलमिल हुने चाहना र तिर्सना त मेटिनै नै रहेछ । बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुको विचरण देख्न पाइने थलो पनि रहेछ यो‚’ उनको जवाफ थियो ।

उनीसँगै गएका बाँकी प्रशासकहरू नदीतिरको चहलपहल नियाल्दै थिए । र्‍याफ्टिङ गर्दै आउने हुल बढ्दै थियो । सबै जना पुलमुनि भेला भए । अबको यात्रा दक्षिणतिर अघि बढ्यो । सबै सुस्तसुस्त बग्दैछन् । र्‍याफ्टिङमा नदीको गतिसँगै आएका जलयात्रीहरूमा जोस र उमंग देखिन्थ्यो । नदीमा पानीको सतह घटेको भएपनि यात्रामा अनगिन्ति चुनौति पनि छन् । माकुराको जालोझैं फैलिएका जलमार्ग देखिन्थे । जहाँ नयाँ र एक्लो यात्री हराउन सक्छ । कुन भँगालोबाट कहाँ पुगिन्छ भन्ने ठम्याउन कठिन छ । मनोरम प्राकृतिक सुन्दरताभित्रको जोखिम पार गर्ने आँटका साथ यात्रामा निस्किएका यात्रीहरू जलमार्गबाट मृग‚ हरिण उफ्रिएको र मयुर नाचेको दृश्य क्यामेरामा कैद गर्दै थिए ।

नदी किनारमा कतै कतै गैंडा र हात्ती देखिन्थे । डल्फिन उफ्रेर टाउको मात्र देखाउँदै फेरि डुबुल्की मारेर यात्रीलाई स्वागत गर्दै थिए ।

जंगलमा अचेल बाघको संख्या बढिरहेकाले नदीमा हेलिएर निकुञ्जका बाघहरू पनि टापुमा पुग्छन् । दुर्लभ बाघका लागि बस्ने, खेल्ने र सिकार गर्ने क्षेत्र साघुँरिदै छ । त्यसैले नदी तटीय क्षेत्रको जंगल बाघका लागि जोखिमयुक्त स्थानमा परिणत हुँदै गइरहेका छन् । आपसी लडाइँमा हारेपछि थकित भएका बाघ पानीको तिर्खा मेट्न र एकान्तमा शान्तसँग बस्न नदीका भंगाला पार गर्दै टापुतिर आउने-जाने गरेकाले जलयात्रा थप जोखिमयुक्त बन्दै गएको छ । यस्ता धेरै दृश्य देखिसकेका बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख विष्णु श्रेष्ठले भने, ‘जलयात्रामा त रिस्क हुन्छ नै; त्यसैले यात्रामा आउने-जानेहरूलाई सजग र सतर्क भएर हिँड्न भन्दै आएका छौं । नेचर गाइडहरूलाई बाघ र हात्तीबाट जोगिँदै हिंड्न सल्लाह दिन भनेका छौं ।’

हात्ती, बाघलगायत जंगली जनावरहरू तिर्खा मेट्न र पौडिन जाने भएकाले नदीको पूर्वी भँगालोमा पानीको स्रोत घटेकाले लालमटियामा च्यानलाइज गरेर नदीको पानी गेरुवातिर ल्याइएको छ । त्यसैले नदीका अन्य भँगालाभन्दा गेरुवा तुलनात्मक रुपमा जोखिमयुक्त मानिन्छ । आफ्नो कार्यकक्ष बाहिर बाघसँगै अन्य वन्यजन्तुका रोमाञ्चक दृश्य धेरै पटक देखिसकेका निकुञ्ज प्रमुख श्रेष्ठले भने, ‘हात्ती र बाघले कर्णाली नदी सजिलै वारपार गर्न सक्छन् ।’

सबै जलयात्रीहरू लाइफज्याकेटमा थिए । नदीबीचका टापु सेताम्य देखिएका थिए । चिसो नदी छेउको तातो बालुवामा पनि गोही निदाइरहेका थिए । निकुञ्जबाट नदी पार गर्दै बाघ र चितुवा टापुमामा विचरण गर्दै तिर्खा मेट्न आउने-जाने गरेको क्षणलाई क्यामेरामा कैद गर्दै रमाउनेहरूको झुण्ड पनि अलग्गै थियो । आकाशै ढाक्ने गरी उढ्ने पन्छीले यात्रालाई अझै रोमाञ्चक तुल्याएको भान हुन्थ्यो । हुटिट्याउँ, गौंथली, खोलीधोवा, लालसर, दमैचरा, भुडिफोरजस्ता पन्छीहरू यात्रीको टाउकैमाथिबाट उडिरहेका देखिन्थे ।

केही वर्षयता कर्णाली नदीका चलचर मानव आक्रमणको शिकार हुँदै गएका छन् । मानिसले आफ्नो भोक र स्वाद मेटाउन माछा मार्ने क्रम जारी छ । जसका कारण डल्फिनहरूको अस्तित्व नै आहाराको अभावमा संकटमा परेको छ ।

नदीतटीय बर्दिया राष्ट्रिय निकुञ्ज ९ सय ६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ‚ जहाँ प्रकृतिका अतिसुन्दर छटाहरूको कुनै कमी छैन । तर‚ त्यसलाई खलबल्याउने दुस्प्रयासहरू पनि सँगसँगै भइरहेका छन् ।

निकुञ्ज क्षेत्रलाई सन् १९६७ देखि शाही शिकार क्षेत्रका रुपमा संरक्षण गर्न थालिएको थियो । राजनीतिक व्यवस्था परिवर्तन भएसँगै नामसँगै यहाँको सुन्दरता पनि फेरिँदै गएको छ । पाटेबाघका कारण यो क्षेत्र विश्वप्रसिद्ध छ‚ जहाँ ५३ स्तनधारी जनावरहरू संरक्षण गरिएका छन् । २५ सरीसृप तथा ४ सय प्रजातिका चरा रहेको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित : असार २८, २०७९ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?