सम्झनामा कीर्तिमानी पर्वतारोही तामाङ- ब्लग - कान्तिपुर समाचार

सम्झनामा कीर्तिमानी पर्वतारोही तामाङ

अम्बर तामाङ

२०४० को दशकमै हो सिन्धुलीको लदाभीर माविमा पढ्दै गर्दा विद्यालयमा अत्यावश्यक धेरै कुराको कमी थियो । विद्यार्थीको गुणात्मक विकासको लागि आवश्यक अतिरिक्त क्रियाकलापहरु नगन्य रुपमा मात्र हुन्थे । 

आयोजना गर्न खर्च र अन्य सामाग्रीको आवश्यकता नपर्ने हाजिरीजवाफ प्रतियोगिता भने हरेक वर्ष एकपटक आयोजना गरिन्थ्यो । त्यसरी हुने प्रतियोगितामा सोधिने अनेकन प्रश्नमध्ये एउटा प्रश्नले मेरो किशोर मनलाई तरंगित पारेको थियो—विश्वको सर्वोच्च शिखर सगरमाथा सबैभन्दा कम उमेरमा आरोहण गर्ने पर्वतारोही को हुन् ? सगरमाथा शिखर पुग्दा उनको उमेर कति थियो ? उक्त प्रश्नको स्वाभाविक उत्तर थियो— शम्भु तामाङ, उमेर १८ वर्ष !

विश्व कीर्तिमानधारी व्यक्तिको रुपमा एक तामाङ रहेको कुरा पढ्दा मलाई कतै मेरै काका, बाउ वा कोही सिनियर आफन्तले नै त्यस्तो नाम राख्ने काम गरेको होकी जस्तो अनुभूति भएको थियो । पञ्चायती व्यवस्थाको समयमा आदिवासी तामाङ समुदायका व्यक्तिहरु राज्यको कुनै उच्च ओहोदामा पुग्नु अत्यन्त दुर्लभ भएर नै मलाई त्यस्तो अनुभूति भएको पछि बुझ्न कठिन भएन । जे भएपनि हाजिरी जवाफमा सुनिएको त्यो प्रश्न र उत्तरसँग जोडिएको नाम मेरो मानसपटलबाट कहिल्यै हटेन ।

एसएलसीपछि उच्च शिक्षाका लागि राजधानी आएपछि पढाइ धान्नकै लागि काम गर्नुपर्ने बाध्यता थियो । स्कुले जीवन सिन्धुलीमा बिताए पनि मेरो जन्म र स्थायी घर सोलुखुम्बु हो । सोलुखुम्बु पर्वतीय पर्यटन खासगरी ट्रेकिङ र पर्वतारोहणको लागि पर्याय थियो नै । आफन्तहरु र छिमेकी शेर्पा दाइहरुको सहयोगमा म पनि ट्रेकिङ गर्दै पढ्थेँ । पढाइ टिकाउन पर्यटनमा लागेको म जानीनजानी पथप्रदर्शक हुँदै व्यवसायी बन्दासम्म यही क्षेत्रमा सक्रिय रहेका शम्भु तामाङसँग साक्षात्कार हुने मौका मिल्यो । मेरो मानसपटलमा एक हिरोको रुपमा अविस्मरणीय रहेका ती व्यक्ति व्यवहारमा पनि साँच्चिकै हिरो रहेछन् भन्ने तथ्य उनीसँग संगत गर्दै गएपछि थाहा भयो ।

शम्भु तामाङ नेपालको पर्वतारोहण क्षेत्रका चम्किला नक्षत्र थिए । सिन्धुपाल्चोकको ह्रिस्याङ्गो (हाल लिसंखु पाखर गाउँपालिका) मा सन् १९५५ मा जन्मेका उनी १४ वर्षको कलिलो उमेरमा छात्रावृत्ति पाई इटालियन भाषा अध्ययन गर्न इटली पुगेका थिए । जहाँ उनी आफैं इटालेली साथीहरुको लागि आकर्षण बन्न पुगे । नेपाल विश्वकै अग्लो चुली सगरमाथा र बृहत् हिमालय पर्वतको घर हो भन्ने युरोपको आल्पस् पहाड रहेको देशका बासिन्दा इटालेलीहरुलाई थाहै थियो । हिमालयका ठिटो आफ्नै टोलछिमेकमा भेटेपछि इटालेली भाषाको साथमा शम्भुका साथीहरुले उनलाई पर्वतारोहण तथा हिउँमा खेलिने चिप्लेटी (स्की) को पनि आधारभूत ज्ञान लिन लगाए । उनले युरोपको आल्पस् पहाडमा त्यतिबेला उच्चस्तरमा विकास भइसकेको आधुनिक पर्वतारोहण कला (माउन्टेनियरिङ) को व्यवस्थित ज्ञान लिए ।

इटालेली भाषा सिक्दै हिउँमा चिप्लेटी खेल्दै गरेका शम्भु सन् १९७१ मा स्वदेश फर्किए र मकालु हिमाल आरोहण गर्ने फ्रेन्च आरोहण दलमा सहभागी भए । त्यसलगत्तै अर्को वर्ष सन् १९७२ मा उनी अर्जेन्टिनाको सगरमाथा आरोहण दलमा सहभागी भए । शम्भु यी दुवै आरोहण अभियानमा समुद्र सतहभन्दा ८ हजार मिटर माथिसम्म उक्लिए तर दुवै आरोहण अभियान असफलतामा टुंगिएकाले उनी शिखरसम्म पुग्न सकेनन् ।

संसारकै अग्ला दुई हिमाल आरोहणमा असफलता हात लागेपनि किशोर शम्भुले जोखिमपूर्ण हिमाल आरोहण खेलसँग हार र डर मानेनन् । लगतै सन् १९७३ मे ५ (वैशाख २३, २०३०) को दिन उनको जीवन र विश्व पर्वतारोहण इतिहासमै एक ऐतिहासिक घटनाको रुपमा अंकित भयो । उक्त दिन नेपाल—इटली मैत्री सगरमाथा आरोहण दलका शम्भुसहित ४ सदस्यले सगरमाथाको शिखर चुमे । दुई नेपाली र दुई इटालेली सफल आरोहीहरु क्रमशः शम्भु तामाङ, लाक्पा तेञ्जिङ शेर्पा, रिनाल्डो कारेल र मिरको मिनुज्जो थिए ।

सञ्चारका साधानहरु सीमित मात्र रहेको त्यो समयमा उनीहरुले सफलतापूर्वक सगरमाथा आरोहण गरेको समाचार नेपाली सञ्चार माध्ययममा कसरी प्रसारित भयो वा भएन भन्ने बारे शम्भुलाई केही थाहा भएन । त्यतिबेला हिमाल आरोहणपछि अहिले जस्तै केही दिनमै सहर फर्कन पाउने सुविस्ता थिएन । सगरमाथाको सफल आरोहण भएको हप्तौंपछि घर फर्किँदा आरोहणबारे के चर्चा भयो त्यो एक किसिम बासी भइसकेको थियो । यद्यपि उनले आफूसहितले सगरमाथा आरोहण गरेको घटना अल इन्डिया रेडियोको समाचारमा प्रसारित भएको कुरा साथीभाइबाट थाहा पाए । त्यसरी समाचार प्रसारित हुँदा सफल आरोहीहरुको नाम, राष्ट्रियता र उमेर उल्लेख भएको थियो ।

अहिले पनि इन्टरनेटमा मे ६, १९७३ (उक्त आरोहणको भोलिपल्ट) प्रख्यात समाचार संस्था एपीको समाचार साभार गरी अमेरिकाको न्युयोर्क टाइम्स दैनिकमा प्रकाशित अंग्रेजी समाचार पढ्न पाइन्छ । त्यसमा चारै जना आरोहीको नाम, देश र उमेर उल्लेख गरिएको देखिन्छ । समाचारमा शम्भुको उमेर १८ वर्ष उल्लेख भएको हुँदा विश्वका अन्य पर्वतारोहीमाझ शम्भुको चर्चा सुरु भएकोे थियो । त्यत्ति कलिलो उमेरमै सगरमाथाको शिखर पुग्ने साहसिक कार्यले विश्वभरका पर्वतारोहीहरुलाई अचम्मित पारेको थियो ।

फलस्वरुप सगरमाथा आरोहण गरी विभिन्न रेकर्ड राख्ने पर्वतारोहीको पंक्तिमा उनको नाम सबैभन्दा कान्छो उमेरमा सगरमाथा आरोहण गर्ने आरोहीको रुपमा गिनिज बुकसहित सामान्य ज्ञान सम्बन्धी पुस्तकहरुमा प्रकाशित भएका थिए ।

उनी सहभागी भएको सगरमाथा अभियानले इटालीको लागि पहिलोपटक इटालेली आरोहीहरुलाई विश्वको सर्वोच्च शिखरमा पुर्‍याएको कीर्तिमान पनि थियो । आफ्नो देशका आरोहीहरुलाई सहयोग गरी उक्त कीर्तिमानको भागिदार बनाउन योगदान दिएबापत इटाली सरकारले त्यहाँको प्रतिष्ठित पदक क्याभलरीले शम्भु तामाङलाई सम्मान गरेको थियो । यसबाट इटाली र नेपालबीचको दौत्य सम्बन्ध थप मजबुत हुनुमा पनि शम्भु तामाङको नाम जोडिन पुग्दछ । नेपालको तत्कालीन सरकारले पनि उनलाई सुप्रवल गोरखा दक्षिणवाहु र हुलाक विभागले स्मारक खाम (कमेमोरेटिभ कभर) प्रकाशित गरी सम्मान गरेको पाइन्छ ।

युरोपको आल्पस्‌मा आरोहण सम्बन्धी ज्ञान लिँदा अल्पाइन क्लबहरुको गतिविधि र त्यसबाटै थप व्यवस्थित पर्वतारोहण विकास गर्न सकिने बुझेका शम्भुले नेपालमा पनि त्यस्तै एक संस्था खोल्नुपर्ने कुरा गर्न तत्कालीन समयमा पर्यटन मन्त्रालय नभएकोले पर्यटन हेर्ने परराष्ट्र मन्त्रालय अन्तर्गतको शाखाका अधिकृत यादवकान्त सिलवाल (पछि सार्कका महासचिव) कहाँ पुग्दा उनकै सल्लाहमा खेलखुद परिषद्‍का तत्कालीन सदस्यसचिव कुमार खड्ग विक्रमको साथ पाई उनकै अध्यक्षतामा नेपालको अल्पाइन क्लबको रुपमा नेपाल पर्वतारोहण संघको स्थापना भएको थियो ।

संघको संस्थापक तदर्थ समितिका ५ जनामध्ये शम्भु तामाङ एक थिए । देशको पर्वतारोहण इतिहासमा विशेषगरी दक्ष जनशक्ति (आरोही) उत्पादनमा पर्वतारोहण संघको अहम् भूमिका छ । नेपाल पर्वतारोहण संघ विश्वकै प्रतिष्ठित अल्पाइन क्लबहरुमध्येमा पनि पर्छ । संघले दक्ष पर्वतारोही तयार गर्ने पहिलो ब्याचको तालिम सन् १९७९ को पनि पहिलो दुई नेपाली प्रशिक्षकमध्ये एक शम्भु तामाङ नै थिए । यसबाट देशमा व्यवस्थित पर्वतारोहणको जग बसाउनमा उनको ठूलो भूमिका रहेको प्रष्ट हुन्छ ।

आरोहण पेशालाई निरन्तरता दिने क्रममा सन् १९८५ मा उनले उत्तरी मोहडा तिब्बत (चीन) तर्फबाट पनि सगरमाथाको सफल आरोहण गरेका थिए । सन् १९८८ मा नेपाल—चीन—जापान त्रिदेशीय मैत्री सगरमाथा आरोहण अभियान आयोजना गरिएको थियो । उक्त अभियान सफल पार्न शम्भुले समग्र टोलीको उपनेताको जिम्मेवारी पाएका थिए । उत्तर चीनबाट नेपालतर्फ र नेपालबाट चीनतर्फ सगरमाथाको शिखर छिचोलिएको उक्त आरोहणले सर्वप्रथम नेपाली सेनाका हिमाल आरोहीहरुलाई सगरमाथाको शिखरमा उभ्याएको थियो । उक्त घटना नेपाली सेनाले हासिल गरेको एक ऐतिहासिक उपलब्धी पनि थियो ।

सक्रिय पर्वतारोहण पेशाबाट निवृत्त भएपछि उनी पर्यटन पेशामा संलग्न रहे । पर्यटन क्षेत्रमा संलग्न रही श्रीमती, एक छोरी र एक छोरासहितको परिवारको अभिभावकत्व सम्हालिरहेका शम्भु विभिन्न समाजिक काममा सक्रिय थिए । आफैंले परिकल्पना गरेको नेपाल पर्वतारोहण संघलाई आजीवन सल्लाहाकारको भूमिकामा रही मागनिर्देश गरेका शम्भु प्रतिष्ठित तिलगंगा आँखा अस्पतालको स्थापनामा पनि सक्रिय थिए । उक्त अस्पतालको सञ्चालक समितिमा सुरुदेखि संलग्न उनी पछिल्लो समय कोषाध्यक्षको जिम्मेवारीमा थिए ।

आफ्नो ६७ वर्षे जीवनकालमा अभूतपूर्व कार्यहरु गरेका शम्भु तामाङले आफूले पाएका उपलब्धि र समाजमा पुर्‍याएको योगदानबारे चर्चा गर्न चाहेनन् । सन् २००३ मा सगरमाथा शिखरमा मानव पाइला पुगेको स्वर्ण जयन्तीको अवसरमा नेपाल पर्वतारोहण संघले दिएको पुरस्कार रकमलाई उनले संघलाई नै फिर्ता दिएर कुनै अर्थपूर्ण सामाजिक काममा लगाउन अनुरोध गरेका थिए ।

सञ्चार तथा सामाजिक सञ्जालबाट टाढा रहने स्वभाव भएकोले उनीबारे धेरै सञ्चारमाध्यमहरुले पनि चर्चा गरेको विरलै पाइन्छ । विगत दुई महिनाभन्दा बढी क्यान्सरको अन्तिम चरणले गाँजेर नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिमा मृत्युसँग जुधिरहँदा पर्वतारोहण क्षेत्रमा संलग्न र आफूलाई माया गर्ने अरु शुभचिन्तकले त्यहीँ पुगेर तथा अन्य माध्यमबाट उपचारमा आर्थिक सहयोग गर्ने मनसाय राख्दा पनि नेपाल सरकार र नेपाल पर्वतारोहण संघले नै सहयोग दिएमा बाहेक अन्य शुभचिन्तकलाई दुःख दिन आफू र परिवारले नचाहेको बताएका थिए । चिकित्सकहरु र आफन्तको अथक प्रयास र शुभचिन्तकहरुको प्रार्थनाका बाबजुद उनलाई बचाउन सकिएन । उनले गत असार २३ गतेका दिन मृत्युवरण गरे । उनको पार्थिव शरीरको सोमबार अत्येष्टि गरिएको छ । उनको भौतिक शरीर हामीबीच नरहे पनि मुलुकको पर्वतारोहण तथा पर्यटनको इतिहासमा उनको नाम अमर रहिरहने छ ।

(लेखक ताममाङ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वद्वितीय उपाध्यक्ष हुन् ।)

प्रकाशित : असार २७, २०७९ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्

उत्तमको उपलब्धिबारे अन्जान फिल्म क्षेत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — 'पिक्चर लक' भइसकेपछि मात्र साउन्ड डिजाइनर/मिक्सर उत्तम न्यौपाने कहाँ आइपुग्छन्, निर्देशक/निर्माता । त्यतिञ्जेल फिल्मको प्रदर्शन मिति नजिकिसकेको हुन्छ । विदेशतिर बिक्री हुन थालिसकेपछि त फिल्मकर्मीलाई फिल्म सकाउनै हतार । त्यसैले छोटो समयमै उत्तमले ध्वनिको काम सक्नुपर्छ ।

पोस्ट प्रोडक्सनमा अधिकांश फिल्महरु यही हतारोमा आइपुग्छन् । उनीहरु बिर्सन्छन् फिल्मको आधा काम पोस्ट प्रोडक्सनमै हुन्छ भन्ने । कथ्य शैलीमा ध्वनि सशक्त पाटो हो भन्ने फिल्मकर्मीले नबुझिदिँदा साउन्ड डिजाइनर आफ्नो काममा संवेदनशील बन्न नसकेको अनुभव छ उत्तमसँग ।'एउटा फिल्ममा साउन्डको काम गर्न तीन महिना लाग्छ । तर हामीले एक महिनामा सक्नुपर्छ । हामीकहाँ साउन्डको डिपार्टमेन्ट हुँदैन, एक्लैले सबै काम गर्नुपर्छ । फोली रेकर्ड गर्न घण्टौं लाग्छ । समय दिएर काम गर्‍यो भने राम्रो नतिजा निस्कन्छ,'उत्तमले भने,'हामीकहाँ फिल्म लक भइसकेपछि मिक्सिङका लागि ल्याइन्छ । त्यसअघि साउन्डको अन्य प्रक्रिया हुन्छ भन्ने पनि फिल्मकर्मीले बुझ्दैनन् । फिल्म मिक्सिङमा जानुभन्दा अगाडि डिजाइनमा जानुपर्छ । डायलग, साउन्ड इफेक्ट सम्पादन गर्नुपर्छ भन्ने कुराहरु विस्तारै थाहा हुँदैछ । तर, त्यो बुझ्ने पनि सीमित फिल्मकर्मी छन् ।'

प्रकाशित : असार २७, २०७९ १४:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×