कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

छाउपडी समाचारको १६ पन्ने खण्डन !

मेनुका ढुंगाना

अछाम — मेरो हातमा एउटा अर्ध-वार्षिक पत्रिका थियो । अछामी भाषाको संरक्षण र अछाम चिनाउने अभियान चलाएका युवाहरू संगठित भएर प्रकाशन गरेकाले पनि त्यो पढ्न म उत्साहित थिए । पत्रिकाको नाम थियो-नौखुवा । यसका सम्पादकले मलाई पत्रिका हातमा थमाउँदै भनेका थिए-'अछामी भाषा र संस्कृतिको जगेर्ना गर्न निकालेका हौं । पढेर प्रतिक्रिया दिनुहोला ।' 

छाउपडी समाचारको १६ पन्ने खण्डन !

बौद्धिक विमर्श कमै हुने अछामबाट यस्ता पत्रिका निस्कनु आफैंमा सुखद् कुरा थियो । युवाहरूले नै यस्तो प्रयत्न थाल्नु झनै सुखद् कुरा थियो । तर‚ पत्रिकाको पाना पल्टाउन थालेपछि मेरो खुसी धेरैबेर टिकेन ।

‘अछामी संस्कृतिको पुनः संकथन प्रयास : एक क्रिटिकल डिस्कोर्स एनालाइसिस्’ शीर्षकको आलेखमा पुगेर म टक्क अडिएँ । १६ पेज लामो यो लेखमा त मैले २०७२ सालदेखि २०७८ सालसम्म कान्तिपुरमा अछामको छाउपडी कुप्रथाको बारेमा लेखिएका विभिन्न ४७ वटा समाचारका शीर्षकहरु संकलन गरेर राखिएको रहेछ । अनि तिनै शीर्षकलाई आधार मानेर छाउपडीसम्बन्धी समाचार लेखेर कान्तिपुरले अछामको बदनाम गरेको कुरालाई मुख्य रुपमा उठान गरिएको रहेछ । यो लेखमा छाउपडीलाई संस्कारको रुपमै व्याख्या गर्दै अछामीले छोरीलाई देवीको रुपमा व्याख्या गर्ने तर्क अघि सारिएको थियो ।

लेखिएको थियो- ‘अछामीको फरक के हो भने अछामी समाजमा छोरीलाई लक्ष्मीस्वरुप मानिकन घरका काममा लगाउनाइन ...।’

छोरीलाई लक्ष्मी र देवीको रुपमा व्याख्या गरेका लेखक र सम्पादक समूहले छाउपडी प्रथालाई प्रचार गर्न नहुने र सकेसम्म यस्ता कुरालाई लुकाउनु पर्नेमा जोड दिएका छन् ।

‘अछाममा संस्कृतिमा कति कुडा सबैले सिक्ना पड्ने किसिमका छन् । तिनुल कैल्यै प्राथमिकता नपाउने तर जाँडले र छाउपडीले मात्रै कान्तिपुर जसा चल्या पत्रिकाउनी झिक प्रथामिकता पाउनु पड्ने केन भए होला ...।’ आलेखको मजबुन थियो- मदिरा र छाउपडीको समाचार लेख्नु गलत हो । अछामको बदनाम गर्दै एकोहोरो प्रहार गर्नु भएन ।

सरसर्ती आलेख पढेर म फिस्स हाँसें । किनभने छाउ बार्न गोठमा बसेका बेला हजारौं सपनासँगै प्राण त्यागेका महिलाको बारेमा ती लेखक र सम्पादकलाई शायद जानकारी भएन होला । कलिलो उमेरमा कथित छाउपडीको नाममा दर्जनौं महिलाले ज्यान गुमाएको कुरा पनि लुकाउनपर्छ भन्ने चेतना कसरी लेखक र सम्पादकलाई जायज लागेको होला ?

यो आलेख पढेपछि छाउगोठमा अनयासै मृत्यु भोगका दर्जनौं किशोरी र आमाहरूको अनुहार आँखा अघि आयो । छाउभित्रै सर्पदंश वा अन्य भवितव्य भोगेकाहरूको निर्दोष अनुहार सम्झनामा आयो । छाउ कुप्रथा हटाउन संघर्ष गर्दा अपमान खेपेका तमाम परिवर्तनका पक्षधर महिलाहरूको नाम याद आयो ।

समाजले संस्कारको रुपमा अपनाएको छाउपडी कुप्रथाका बारेमा लेख्ने पत्रकारहरूलाई संगिठत भएर खेद्ने प्रवृत्ति नयाँ भने होइन । कुप्रथाबारे लेख्ने पत्रकारमाथि कहिले धर्म, कहिले संस्कृति वा देवीदेउताका नाममा बारम्बार प्रश्न उठाउने र हतोत्साहित तुल्याउने गरेको मलाई सम्झना छ ।

छाउ कुप्रथाका समाचार लेख्दा मलाई महिला भएरै यस्ता कुरा लेख्ने भनेर कतिले प्रश्न गरे । कतिले घुमाउरो शैलीमा धाकधम्की देखाए; त्यसको फेहरिस्त मनभरि छ । तर‚ युवाहरू मिलेरै निकालिएको अर्ध-वार्षिक पत्रिकाको १६ पेज खर्चेर छाउप्रथाको बचाउ गरिएको घटना मेरा निम्ति नित्तान्त नौलो थियो ।

पत्रकारिता गर्नु; त्यहीमाथि दुर्गम जिल्लामा बसेर महिलाले पत्रकारिता गर्नु साँच्चिकै सजिलो विषय होइन । हरेक दिन रिपोर्टिङका क्रममा अनेकन अप्रीतिकर सन्दर्भहरूको सामना गर्नुपर्छ; त्यसको कुनै हिसाब छैन ।

केहि महिनाअघि एक जना नातेदार साथीको फोन आयो । हालखबर सोधपुछपछि उनले बेप्रसंग सोधे- ‘तिमी वाइन खान्छौ हो ?’

प्रश्नले म झस्केँ ।

अनि मैले भने- ‘के भनेको हौ? तपाईं ठिक अवस्थामा त हुनुहुन्छ नी ?’

फेरी उनले दोहोर्‍याए -‘साँच्ची भन त तिमी वाइन खान्छौ ? चुरोट खान्छौ ?'

'मादक पदार्थ सेवन गर्छौ ? ’ उनले मलाई लगातार प्रश्न सोधिरहे ।

बेप्रसंगका अनेकन प्रश्न सुनेर म आत्तिए ।

उनले फेरि सोधे- ‘हो कि नाइँ भन ।’

म एकैछिन त आकाशबाट खसेझैं भएँ ।

ती आफन्तीले मलाई किन यस्तो शंकासहितको प्रश्न सोधे भन्ने कुरा एकैछिनमा खुल्यो । केही दिनअघि उनले पत्रकारसहित रक्सी खान बसेका ७/८ जनाको समूहमा केही केटीहरूको चरित्र र बानी-व्यवहारबारे भएको बहस सुनेका रहेछन् । त्यहीबेला कसैले मेरो चरित्रबारे कुरा उठाउँदै एक जनाले मैले वाइन र चुरोट खाएको देखेको धक्कु लगाउँदै यो कुरा शानका साथ अरुलाई सुनाएको रहेछ ।

यो कुरा सुनेर म छक्कै परेँ । तर‚ अचम्म भने मानिनँ किनभने महिला पत्रकारका कुरा काट्ने, खिस्याउने जमातसँग म हरेक दिन जुधिरहेको हुन्छु । कोहीले मैले लेखेको समाचार र एंगलमाथि प्रश्न गर्छन् । त्यतिले पनि नपुगेपछि मेरो बानी-व्यवहारको कुरा काट्छन् । अनि त्यतिले पनि चित्त नबुझेकाहरू मेरो चरित्रमाथि नै प्रश्न उठाउन पछि पर्दैनन् ।

कोही फेसबुकमा घुमाउरो शैलीमा मेरो विरोध गर्छन् । कोही खुलेआम नै लेख्छन् । कोही आ-आफ्ना समूहमा मेरो कुरा काटेर चित्त शान्त पार्छन् । मैले छाउपडी कुप्रथाबारे समाचार लेखेको, बलात्कार र यौन हिंसाबारे लगातार समाचारमार्फत आवाज उठाएको कतिपयलाई मन परिरहेको छैन । अझै मेरो समाचारले कैयन घटनामा सोझै प्रभाव पारेको, पीडितले न्याय पाएको कतिपयलाई झनै चित्त पर्दैन ।

नबुझ्नेहरु त विरोध गरी नै राख्छन् । कुरा काटी नै राख्छन् । तर‚ पढेलेखेकाहरू राजनीतिक रुपमा सचेत भन्न रुचाउनेहरू, पत्रकारितामै लागेकाहरू पनि जब समाचारका विषयमा व्यक्तिगत तहमा ओर्लिन्छन्‚ म जिल पर्छु । अर्ध-वार्षिक पत्रिकाको १६ पाना पल्टाएपछि म त्यसैगरी जिल परेको थिएँ ।

कहिलेकाहीँ स्कुले बैनीहरू मलाई सोध्छन्- ‘पत्रकार बन्न के गर्नुपर्छ ?’

त्यतिबेला उनीहरूलाई के बताउँ भनेर म सोचमग्न हुन्छु ।

धेरैलाई भन्ने गरेको छु- ‘सयौं समस्या, हजारौं चुनौती र लाखौंले अनेकथरि सुनाएका कुरालाई सहन सक्नुपर्छ । हरेक घटनाबाट पाठ सिक्न सक्नु पर्छ । हामी छोरीमाथि सजिलै लगाउन सक्ने चरित्र हत्या र यस्ता आरोपबाट आफूलाई सही सावित गरी कामलाई निरन्तरता दिन सके पत्रकार बन्न सकिन्छ ।’

हामी अरुका हिंसाका कथा लेख्छौं । तर‚ हामी आफूमाथि भएको हिंसाबारे कसले बोलिदिने, कसले खोजिदिने !

प्रकाशित : असार २०, २०७९ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?