काजलकलीप्रति जागेको करुणा- ब्लग - कान्तिपुर समाचार

काजलकलीप्रति जागेको करुणा

रमेशकुमार पौडेल

चितवन — काजलकली नाम गरेको पोथी हात्तीको अन्तिम अवस्थाप्रति धेरैले चासो दिए । हात्ती सम्बन्धी जानकारहरुका अनुसार यो काजलकली बुढो भएर नै मरेको हो । उमेर पुगेको हात्ती मर्दा मान्छेमा यत्रो करुण किन जागेको होला ?

कान्तिपुरको अनलाइन संस्करणमा काजलकलीको मृत्यु भएको समाचार आइतबार साँझ प्रकाशित भएको घन्टा/ दुई घन्टा नहुँदै १० औं हजारले त्यो खबरको लिंक सेयर गरेका छन् । र, यो संख्या सोमबार सबेरै १६ हजार नाघेको थियो । काजलकलीको मृत्युको खबर यसरी फैलनुको कारण के होला ?

काजलकली घरमा पालेको हात्ती हो । यो यसै पालेर मात्रै राखिएको थिएन । चितवनको सौराहा नेपालकै मुख्य पर्यटकीय गन्तव्यमा पर्दछ । सौराहामा हुने अनेक पर्यटकीय गतिविधिमध्ये हात्ती सफारी पनि एक हो । हात्तीमाथि राखेको विशेष हौदामा चार जना बसेर जंगल डुल्न जान्छन् । निकुञ्जभित्र डुल्न पाइँदैन । निकुञ्जसँग सिमाना जोडिएका मध्यवर्ती सामुदायिक वनहरुले यसरी हात्तीमाथि पर्यटक राखेर जंगल डुलाउँछन् । हात्ती सफारी यसैलाई भनिन्छ । जंगल डुल्दै गर्दा गैंडा, चित्तल लगायतका जिव, जनावरहरु देखिन्छ । काजलकली सफारीमा प्रयोग भएको हात्ती थियो ।

पशु कल्याणको क्षेत्रमा सक्रिय अभियन्ताहरुले हात्ती सफारीलाई राम्रो मान्दैनन् । यो नेपालबाट सुरु भएको अभियान पनि हैन । जर्मन संस्था ‘प्रो वाइल्ड लाइफ’ले सन् २०१४ को डिसेम्बर १८ मा प्रेस विज्ञप्ति नै निकालेर पर्यटनमा हात्तीको प्रयोग ‘क्रुर व्यपार’ भएको टिप्पणी गरेको थियो । संस्थाले हात्ती सवार सम्बन्धी पर्यटकीय गतिविधि कटौती गर्न विश्वभरका टुर अपरेटरहरुलाई अपिल गरेको थियो । सायद यसैको प्रभावले होला सौराहा आउने युरोप, अमेरिकाका पर्यटक हात्तीमा चढ्दै चढ्दैनन् ।

पछिल्ला वर्षहरुमा सौराहाको हात्ती सफारी मुख्य रुपमा स्वदेशी र भारतीय तथा चिनीयाँ पर्यटकका कारणले मात्रै चलेको छ । नेपाल बाहिर नै चलेको अभियानले हात्ती सफारी प्रभावित हुँदा यहाँका व्यवसायीहरु भने पशु कल्याणका क्षेत्रमा सक्रिय देशका र खास गरेर स्थानीय अभियन्ताहरुप्रति आक्रोशित भए । सौराहा नजिक रत्ननगरका युवक सुराजन श्रेष्ठ पशु अधिकारका क्षेत्रमा सक्रिय छन् । २६ वर्षीय सुराजनले सौराहामा हुने हात्ती दौडका विषयमा आवाज उठाए । उनले हात्ती दौड हात्तीको स्वभाव र क्षमता विरुद्धको कार्यक्रम हो भन्दै अभियान चलाए । पछि यसमा सुधार त भयो तर व्यवसायीहरु एक जना हुर्कँदो अभियन्ताप्रति नकारात्मक बन्दै गए । काजलकलीको पछिल्लो तस्बिर पनि उनै सुराजनले बाहिर ल्याएका हुन् ।

पशु कल्याण सम्बन्धी चासोलाई सफारीका लागि हात्ती पाल्नेहरुले ‘डलर खाएर’ सौराहाको पर्यटनविरुद्ध चलेको अभियान भन्ने आरोप लगाउँदै आएका छन् । यसमा व्यपारी मात्रै हैन सरकारी अधिकारीहरु पनि स्वर मिलाएर बोल्छन, बेला बेलामा । काजलकली सौराहामा सफारीकै लागि प्रयोग भएको हात्ती थियो । कोरोनाअघि त पर्यटक बोक्न उसलाई पनि भ्याइनभ्याइ थियो होला नि ? तर कोरोना आएर पर्यटन ठप्प भएपछि साहुले काजलकलीलाई भारतीय व्यक्तिलाई बिक्री गरे । भारु ४५ लाखमा बेचेको भन्ने खबरहरु नआएका हैनन् ।

हात्तीको बिक्री अन्तर्राष्ट्रिय सन्धि साइटिसको प्रवधान विपरीत हो । भारत जान लागेको खबर सार्वजनिक भयो र यो कार्य रोकियो । अर्थात किनेको भनिएका भारतीयको हातमा यो हात्ती पुगेन । तर फर्काएपछि बेचेको भनिएका सौराहाका व्यपारीले पनि यसलाई जिम्मा लिएनन् । हात्ती पालेका सौराहाका अर्का होटल व्यवसायी श्रीलाल परियारले आफ्नो हात्तीसारमा यसलाई आश्रय दिए । किनेको भनिएका भारतीयले नै हात्तीको सुसारका लागि दुई जना माहुते खटाए । बुढो भएपछि, दाँत झरेपछि, घाँस खान नसकेपछि र खाएको पचाउन पनि नसक्ने भएपछि हात्ती गल्दै गयो । कमजोर भएको यो हात्ती यसअघि पनि ढलेको थियो । तर यो पटक ढलेर कहिल्यै नउठ्ने गरी असार १२ गते आइतबार संसारबाट बिदा भयो ।

हात्ती बुढो भएर स्वभाविक मृत्यु भएको दाबी अहिले सरकारी अधिकारीहरु पनि गर्दछन् । तर यति बुढो हुँदासम्म पनि के यो हात्तीले मान्छे नै बोकी रहेको थियो ? बुढो र अशक्त भएको हात्ती बिक्री गरेर कमाउने लोभ किन गरियो ? यसको उत्तर दिन सायदै कोही तयार होलान् । सौराहामा चल्ने चर्चा सुन्दै जाँदा कोरोनाका बेला कामै नगरी बस्दा पनि यति दुरावश्स्थामा पुग्ने हात्तीले दुई वर्षअघि त मन्छे नै बोकेर हिँडेको बुझिन्छ । र हात्ती तगडा छ भनेर नै एक वर्षअघि लाखौंमा यसलाई अरुलाई बेच्न खोजियो । हात्ती बुढो भएर त मर्‍यो तर भारत हिँड्नुअघि यो हात्ती सौराहामा कसले राखेको थियो ? ऊ खुलेर आउन किन डराउँछ ?

पशु कल्याणको आवाज उठाउँदा डलर लिएर विरोधमा उत्रेको आरोप लगाउँदै हात्तीलाई परिवार सरह माया दिएर पालेको जवाफ लगाउने व्यवसायीसँग छ त यसको उत्तर ? विदेशबाटै सफारीको विरोध हुँदा स्थानीय युवाप्रति खनिएर बसेका व्यवसायीले अब सोच्नु परेको छ । सौराहाको हात्तीप्रति नेपाली पर्यटक पनि संवेदनशील हुँदै गएका छन् । पशु कल्याणका विषयलाई बेवास्ता गरेर पर्यटन चल्न अब गाह्रो हुन सक्छ । तर व्यपारीले यो विषयमा चिन्तन मन्थन सुरु गरेका छैनन् । उनीहरु सुराजनप्रति नै खनिएका छन् । आहारा, स्याहार र उपचार दिँदादिँदै पनि बुढो भएर ढलेको र मुत्युको मुखमा पुगेको हात्तीको फोटो सार्वजनिक गरेर अनावश्यक उत्तेजना फैलाएको आक्षेप सुराजनले झेल्नु परेको छ ।

सरकारी अधिकारीहरुसमेत यस्तै मान्यता राख्छन् । सुराजनले एउटा प्रश्न सरकारसामु पनि राखेका छन् । कानुनी प्रवधानले बेच्न नमिल्ने हात्ती बेचेका बेला नियन्त्रणमा लिएपछि त्यसको ‘व्यवस्थापनको दायित्व सरकारले लिनु पर्ने हो कि हैन ?’ उनको प्रश्न छ । किन्नेले लान नपाउने, बेच्ने व्यक्ति बेपत्ता हुने र सरकारले पनि जफत गरेर स्याहार्न नसक्ने हो भने भावी दिनमा पनि यस्तो बिजोग हुन सक्छ भनेर सुराजनले उठाएको विषयलाई बेवास्ता गर्न मिल्दैन । किन कि सफारीमा प्रयोग हुने हात्तीको अवस्थाले विदेशी पर्यटकलाई त उहिल्यै झस्काएको थियो अब स्वेदशीमा पनि करुण जागेको बेला छ ।

प्रकाशित : असार १३, २०७९ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्

सुरु भयो बहुभाषिक नाट्य उत्सव

कान्तिपुर संवाददाता

काठमाडौँ — विभिन्न जातिजातिका भाषा तथा संस्कृतिलाई एकै ठाउँमा ल्याई तीनको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्य राखेको बहुभाषिक नाट्य उत्सव सुरु भएको छ ।

थापागाउँस्थित कुञ्च थिएटर आरोहण गुरुकुलमा आइतबार लाप्चा उत्थान मञ्च इलामको प्रस्तुतिमा लाप्चा भाषाको नाटक ‘स्वर्ग जाने बाटो’ मञ्चनसँगै नाट्य उत्सव शुभारम्भ गरिएको हो ।

नाटकमा लाप्चा जातिको इतिहास, सभ्यता, संस्कृति, परम्परा तथा यस जातिको घट्दो जनसंख्या सम्बन्धी कथालाई समेटिएको छ । नाट्य उत्सवमा सहभागी प्राध्यापक अभि सुवेदीले नेपाललाई आदिवासी जनजाति र तिनको भाषा, संस्कृतिको बहुलता भएको धनी देशका रुपमा औंल्याए । उत्सवले ती सम्पूर्ण भाषा तथा संस्कृतिलाई खोतल्न सघाउ पुग्ने उनले सुनाए । नेपालमा बहुल भाषाभाषी भएपनि तिनले स्थान नपाइरहको अवस्थामा नाट्य उत्सवले महत्त्वपूर्ण अवसर दिएको संस्कृतिविद् तथा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति जगमान गुरुङले बताए ।

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र स्कुल अफ थिएटरले संयुक्त रुपमा गरेको उत्सवमा देशभरीका विविध भाषा र संस्कृतिलाई समेटेर तयार गरिएका विभिन्न भाषा–भाषीका ७ वटा नाटकहरु १८ गतेसम्म मञ्चन हुनेछन् ।

सोमबार पुरानो घर समूह रौतहटको थारु भाषाको ‘कनन हरलता’, मंगलबार बाम्बुले राई समाज ओखलढुङ्गाबाट राई भाषाको ‘सुम्निमा’, बुधबार आरोहणबाट नै चाम्लिङ, नेपाली भाषाको ‘सेमुना’, बिहीबार सुम्निमा थिएटर ललितपुरबाट पुमा भाषाको ‘होङ्छा’, शुक्रबार चुलाचुली रंगमञ्च इलामबाट लिम्बु भाषाको ‘सुविउ चरी’ र शनिबार कर्णाली खस संस्कृति संरक्षण केन्द्र जुम्लाबाट अवधि भाषाको ‘कुटिरो’ नाटकहरु मञ्चन हुनेछन् ।

नाट्य उत्सवका लागि डेढ दर्जनभदा बढी नाटकहरु प्राप्त भएपनि भाषा र भौगोलिक महत्त्वअनुसार ७ वटा नाटकहरु छनोट गरिएको थियो ।

प्रकाशित : असार १३, २०७९ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×