अलबिदा विजय !- ब्लग - कान्तिपुर समाचार

अलबिदा विजय !

पर्वत पोर्तेल

गत बिहीबार राति ९ बजेर उकालो लागिसकेको थियो । बिछ्यौनामा पल्टिएको मात्रै के थिएँ, म्यासन्जरमा साथी वीरेन बस्नेत (वीरु) को कल आयो; उठाएँ । हतासिएको स्वरमा भन्यो, ‘म के सुन्दैछु यस्तो ? कस्तो के भएको; हत्तेरी !’ 

सोधें, ‘के भयो र ?’

उसले थप्यो, ‘हाम्रो विजयलाई रेलले हानेको हल्ला सुनें त, बुझ्नुपर्ने भयो ।’

वीरुको कुरा पत्यार लागेन तर पनि मनमा चिसो पस्यो । उसलाई बुझेर फोन गरूँला भनेर फोन राखें । एकछिनअघिसम्म हपहपी गर्मी थियो; खबरले शरीर चिसियो ।

लगत्तै नेपाल प्रहरीको सम्पर्क भएका एक जनालाई सोधें ।

तिनले फोन उठाएर आफू घटनास्थलमै रहेको तर घटनामा मृत्यु भएकाको नाम, वतन भन्न नमिल्ने बताए । ‘इन्स्पेक्टर साबलाई सोध्नुस् न; मैले भन्न मिल्दैन’, उनले यसो भनेपछि मैले फोन राखेर डीएसीपी ज्ञानकुमार महतोलाई फोन गरें । महतोले घटनाको संक्षिप्त जानकारी दिए, ‘बिहीबार राति करिब साढे ८ बजे । मृतकको नाम विजय श्रेष्ठ । उमेर अन्दाजी ३० । ठेगाना‚ मेचीनगर-६ । बिहारबाट सिलिगुडी जाँदै गरेको रेलले ठक्कर दिएको ।’

डीएसपीको जानकारीले अघि विरुले भनेकै हाम्रो अनन्य मित्र विजयको मृत्युको कुरा पुष्टि गर्‍यो । डीएसपीसँगको कुराकानी सक्दा/नसक्दै मेसेन्जरमा विजयको शवका तस्बिरहरू आए । अविचल पल्टेको विजयको तस्बिरले हतप्रभ बनायो । ऊ बितेको सबैले थाहा पाए, फेसबुकमा श्रद्धाञ्जलीको श्रृंखला सुरु भयो ।

यस्तो बेला म बोल्न सक्दिनँ । ऐंठन भए झैं भयो । कविताजी (श्रीमती) र मेरो फोनमा लगातार साथीहरूले फोन गर्न थाले; कसैसँग राम्रोसँग बोल्न सकिनँ । मभन्दा केही वर्ष कान्छो भए पनि हामी साथसाथै खेलेर हुर्किएका थियौं । विजय मेरो एकदमै नजिकको प्यारो साथी थियो । साथीकै मृत्यको समाचार लेख्नु कति गाह्रो हुँदो रहेछ, थाहा पाएँ । जसोतसो विवरण लेखेर अनलाइनमा पठाएपछि बिछ्यौनामा त पल्टिएँ । विजयसँगका वर्षौं पुराना र हालसालैका दिनका सम्झना फिल्मको रिलझैं घुम्न थाल्यो ।

विजयसँग फेसबुकमा मेरो खासै गफ हुँदैनथ्यो । चाडबाडका बेला उसले शुभकामनाका कार्डहरू म्यासेन्जरमा पठाउँथ्यो । मैले पनि ‘सेम टु यु’ भन्थें । त्यति हुन्थ्यो हाम्रो गफ तर गएको जेठ १४ गते शनिबार म काठमाडौमा थिएँ । रातको ७:३२ बजे म्यासेन्जरमा अचानक विजयको मेसेज आयो ।

‘पर्वत कहाँ हो यार ? यदि तिमिलाई मे.न.पा प्रेस सल्लाहकार नियुक्ति दियो भने उपयुक्त होला कि नाइँ...?’

‘बस्न मिल्दैन यार ।’

‘ए होर ! बट, ह्वाई ?

‘कान्तिपुरसँग सम्बद्ध छु; त्यसैले कुनै संस्था या व्यक्तिको सल्लाहकार बस्न मिल्दैन । फेरि, यस्तो सल्लाहकार बस्ने कुरामा बिल्कुल रुचि पनि छैन यार ।’

‘द्याट् साउन्ड्स गुड, उपयुक्त राम्रा मान्छे जति सबै जना यसरी पन्छियो भने परिवर्तन कहिले आउँछ यार । पार्टी होइन तर देशका लागि पनि केही योगदानको खाँचो छ नि !

मैले उसको जवाफ पढें तर उत्तर दिइनँ । त्यो रात उसले मलाई किन यस्तो प्रश्न सोध्यो, थाहा छैन ।

जेठ २० गते मेरो बुबाको वार्षिकी थियो, पूजा पनि थियो । त्यसै दिन झिसमिसेतिर विजयसँग भेट भयो । म साँझपखको हिंडाइबाट फर्किंदै थिएँ । उसको दाजु विधानको डेरा अघिल्तिर जम्काभेट भयो । ऊ निलो भेस्ट र हाफपेन्टमा थियो; सँगै दाजुको छोरो पनि थियो । ऊ स्कुले साथी भवानी निरौलासँग गफिँदै थियो । यी दुईको गफ बिथोल्ने गरी म टुप्लुक्क पुगेको थिएँ । भवानी छोरालाई अघिल्तिर राखेर स्कुटरमा थियो । मैले विजयतिर इंगित गर्दै भवानीलाई जिस्काएँ, ‘साथीहरू यस्तो टिपटप भएर वाकमा निस्किन्छन्, तँ चै स्कुटर चढेरै मर्निङ वाकमा ?’ दुवै गलल्ल हाँसे ।

मेरो के कुराले चित्त बुझ्यो कि ? विजय अरु बेलाभन्दा बढी र जोडजोडले हाँस्यो ।

मूल घर पुग्दा विजय मभन्दा अघि नै पुगेर गफिँदै थियो । म पनि उसको गफमा जोडिएँ । केही समयअघि उसले हाम्रो स्कुले जीवनको फोटो फेसबुकमा पोस्ट्याएको थियो । त्यो फोटोको प्रसंग चल्यो; उसले अरु साथीहरुलाई फोटो देखाउन खोज्दै थियो । मैले जिस्किँदै भने, ‘सबै कुरा देखाऊ यार‚ त्यो फोटो चै प्लिज नदेखाऊ ।’ ऊ मुर्छा पर्ने गरी हाँस्यो ।

त्यो फोटोमा मदन, विजय, भवानी, अनूप, दीपक र म थियौं । म चाहीँ टाइमा ठाँटिएको थिएँ । ‘घाँटीमा टाई बाँध्ने ठूलो सपना पूरा भएथ्यो यार त्यो बेला,’ यति भनिसक्दा विजय बसिरहेको कुर्सीबाट ठूलो स्वरमा हाँस्दै जुरुक्क उठ्यो ।

त्यो रात मलाई उसको हाँसो विल्कुल भिन्नै लागिरहेको थियो; ऊ त्यसरी हाँस्दैनथ्यो । कसरी बदलियो उसको हाँस्ने तरिका ? ऊ किन यति जोडजोडले बल लगाई लगाई धेरै हाँस्न खोजिरहेको छ ? हाँसो पछिल्तिर पीडा पो लुकेको छ कि ? मनमा आशंका उब्जियो; त्यो भेट विजयसँगको अन्तिम भेट बन्यो ।

विजय सामान्य परिवारमा जन्मियो । दुखजिलो गरेर प्लस टुसम्म पढ्यो । आर्थिक अभावले नै हुनुपर्छ, त्योभन्दा माथि उसले पढ्न सकेन । सबैसँग नम्र भएर बोल्ने, ठूलालाई सम्मान र सानालाई स्नेह देखाउने स्वभावका कारण छरछिमेकीको पनि प्रिय थियो ऊ । ऊ नाच्न र फोटो खिच्नमा अब्बल थियो । कसैलाई गाह्रोसारो पर्दा काँध थाप्न अघि सरिहाल्थ्यो, ऊ धर्मकर्ममा उस्तै श्रद्धा राख्थ्यो ।

वैदेशिक रोजगारीको नशाले उसको लामो समय बर्बाद पारिदियो । चीनको मकाउमा जानका लागि धेरै पटक प्रयत्न गर्‍यो तर खै के नपुगेर हो, उसको मकाउ पुग्ने धोको पूरा हुनै पाएन । अलि महत्त्वकांक्षी पनि थियो, त्यही भएर मकाउबाहेक अरु कुनै देश नजाने र स्वदेशमा पनि सानोतिनो काम नगर्ने दम्भ पालेको थियो ।

पाँच वर्षअघि दिदी अनु (सरिता) को जब अकल्पनीय देहान्त भयो, त्यसपछि विजय अलि बढी तनावग्रस्त भयो जस्तो लाग्छ । साह्रै मायालु दिदीले छाडेर गएपछि उसमा एक किसिमको एक्लोपना पनि देखिन थालेको थियो । झन्डै-झन्डै डिप्रेसनमा गएको थियो कुनै बेला, कसोकसो सम्हालियो ।

धेरै पीडाका बीच आफूलाई र परिवारलाई सम्झाउँथ्यो, थुम्थम्याउँथ्यो । आफैंलाई र अरुलाई पनि सम्हाल्दै, जोगिँदै र जोगाउँदै आएको थियो । अस्ति साँझ एक तमास बत्तिएर आएको रेलसँग ठक्कर खाँदा, सायद सम्हालिन सकेन, अड्न सकेन र हामी सबैलाई सम्झना मात्र छोडेर ऊ गयो ।

अलबिदा विजय !

प्रकाशित : असार ५, २०७९ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्

एक वर्षमा काठमाडौं महानगरका सार्वजनिक जग्गामा २५ वटा पार्क निर्माण

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकामा आर्थिक वर्ष ०७८/०७९ मा महानगरका सार्वजनिक जग्गामा २५ वटा पार्क निर्माण भएका छन् । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र शाहले २२ वटा पार्क निर्माणाधीन पनि रहेको बताए ।

सो आर्थिक वर्षमा ३ वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएका छन् । वडा नम्बर ६, २१, २२ को भवन निर्माण सम्पन्न भएको मेयर बालेन्द्र शाहले बताए । यस्तै, वडा नम्बर १२ र ३१ को भवन निर्माण कार्य अन्तिम अवस्थामा रहेको उनले बताए ।

यस्तै, ३ वटा दमकल पनि खरिद गरिएको उनले जानकारी दिए । सेवामा थप प्रभावकारी बनाउन ६ वटा सहकारी एकीकरण भएका छन् । काष्ठमाण्डप पुनर्निर्माण कार्य सम्पन्‍न भएको र साढे १६ किलोमिटर सडक कालोपत्रे भएको उनले जनाए ।

प्रकाशित : असार ५, २०७९ १९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×