कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५
ब्लग

'बाँचेका एलबीहरू'को चित्कार !

'मरेपछि बयानको गीत गाउने संसारको रीतलाई एलबीले बाँचेका बेला थाहा पाइसकेको हुनुपर्छ । एलबीको मृत्युसँगै मृत्युशय्यामा लय र शब्द भर्ने दुनियाँले उनको अस्वस्थताको खोजी किन गरेन ?'
सुशीला तामा‌ङ

‘मर्नेहरु सम्झना छोडेर जान्छन् । तिनका वियोगमा बाँच्नेहरुलाई पो गाह्रो हुन्छ । मर्नेहरू त त्यसै मरे, बाँच्नेलाई बचाउनु हाम्रो अभिभारा होइन र ?’ मनमा आएका यिनै तर्कनाले म मानसिक रूपमा असाध्यै विक्षिप्त भएकी छु ।

'बाँचेका एलबीहरू'को चित्कार !

टीभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एलबी विश्वकर्माको निधनले बिहीबार सामाजिक सञ्जाल जसरी तातियो त्यसरी नै मेरो मथिङ्गल तातिएको छ । एलबीसँग मेरो नजिकको चिनजान र भेटघाट नै नभए पनि एकै पेसाले भावनात्मक सम्बन्ध भने रहने रहेछ । त्यही सम्बन्धले आइसोलेसनबाट यो ब्लग लेख्दैछु । होम आइसोलेसनको बसाइ एक हप्ता हुँदै छ ।

सूचनाकै लागि भेटघाट, कुराकानी, छलफलमा दिन काट्नेहरूका लागि आइसोलेसनको बसाइँ साँच्चै कठोर रहेछ । संक्रमण पुष्टि भएपछि आइसोलेसनमा एक्लो भएकी म शारीरिक रुपमा केही तङ्ग्रिँदै थिएँ । एलबीको मृत्युले भने मानसिक रूपमा नराम्रो झट्का दिएको छ । जति जति सामाजिक सञ्जालहरूमा पोस्ट भएका शब्दहरू पढ्दै गएकी छु, त्यति नै मलाई असह्य पीडा हुँदै छ ।

सामाजिक सञ्जाल यतिबेला एलबीको मृत्युशोकमा छ । एलबीका गुण, अक्षर र उनले सञ्चार जगतमा छोडेका पदचापबारे एकदिने शोक मनाउने धेरै छन् । उनीहरूले उनको गरिबी र अभावको शोक धून गाउँदै हिँडेका छन् । यतिसम्म कि एकै हजार नोटको अभावले मृत बनेर लडेको एलबीको शरीरदेखि पशुपति आर्यघाटसम्मको खबरलाई बेपर्बाह उनका आफ्नै हुँ भन्नेहरुले हावाको वेगमा उडाइरहेका छन् । त्यही हावाको वेगमा उडेको एलबीको आत्माले सायद पत्रकारिता क्षेत्रलाई कुरीकुरी गरिरहेको होला ।

कठै ! त्यसैबेला पत्रकारिता र पत्रकारको हित, संरक्षणका लागि पहरेदार बन्छु भनी खडा भएको नेपाल पत्रकार महासंघलाई भने स्तब्ध र दु:खी बनाएको छ । महासंघले एलबीकै नाममा लेखिदियो ‘पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील, जुझारु युवा पत्रकार गुमाएको छ ।’ यति लेख्न पनि महासंघले सायद दुई चार घण्टा सामाजिक सञ्जालको सर्भे गर्‍यो होला भन्ने ठान्छु । ‘के एलबी साँच्चिकै पत्रकार नै थिए ?’ पत्रकारिता क्षेत्र र पत्रकारकै नाममा खडा भएका महासंघ जस्ता निकायले कुनै कलम ढलेपछि मात्र पत्तो पाउँछ । एलबीको मृत्यु, महासंघको शोक विज्ञप्ति सायद यो कुनै नौलो अभ्यास पक्कै होइन ।

पत्रकारिताका एलबीहरू ढली नै रहेका छन् । तिनका मृत्युगान दुई/चार दिन दुनियाँले गाइदिन्छन् । त्यसपश्चात् गुमनाम हुन्छन् एलबीहरू र तिनका योगदान । जसले जीवनभर आफ्नो आवाज दबाएर अरुको आवाज उठान गरिरहन्छ, त्यसैको मृत्यु गुमनाम हुनु यो देशको, पत्रकारिताको कत्रो दु:खद पक्ष । मृत्युपछि मात्र श्रमजीवी पत्रकार थिए भनेर चिनाउनुपर्ने यो कस्तो विडम्बना ? बाँचेका 'एलबी'हरूले अब कोबाट के आशा राख्ने ?

म सोचिरहेकी छु । सायद सरम हुनुपर्ने हो एलबीलाई आफ्नो भनी दाबी गर्नेहरूलाई । ‘ओ हो ! छल गर्‍यौ यार, कति निठुरी बनेर गयौ, हिजो, अस्ति मात्र भेटेको, कुरा गरेको, समस्या के छ भनेको भए हुने यति दु:खद हुने थिएन,.....!’ सामाजिक सञ्जालमा ओकेलिएका यस्तै शब्दहरु पढेर मलाई भाउन्न छुटेको छ ।

एलबीको शरीर विलीन भएपछि जे भने पनि या जे लेखे पनि यो दुनियाँलाई छूट छ । मरेपछि बयानको गीत गाउने संसारको रीतलाई एलबीले बाँचेका बेला थाहा पाइसकेको हुनुपर्छ । एलबीको मृत्युसँगै मृत्युशय्यामा लय र शब्द भर्ने दुनियाँले उनको अस्वस्थताको खोजी किन गरेन ? के उनको गरिबी र अभावलाई नजिकबाट नियाल्ने तिनीहरूमध्ये कोही थिएनन् ? यदि थिए भने यो अनावश्यक हल्ला कसका लागि ?

एलबी तिमीले कसैलाई नभनिकन गएको भए पनि ठीकै गर्‍यौ । यो दुनियाँले गर्ने भनेकै सामाजिक सञ्जालबाट व्यक्त गर्ने उही रेडिमेड ‘टेक केयर’ र ‘गेट वेल सुन’ मात्र हो । त्यो पनि धेरैको जबरजस्ती देखावटी आउला । जुन कुरा मैले आइसोलेसनमा भोगिरहेको छु । मानसिक, आर्थिक तथा सामाजिक रूपमा म निसास्सिएको कुरा यहाँ कसलाई पर्वाह हुन्छ । पत्रकारिता क्षेत्रमा मेरो केही छ भन्नु नै दुई/चार वटा बाइलाइन नै हुन् ।

वास्तवमा एलबीहरुलाई केही गरी सुख छैन । मरेर जाने एलबीले नामसँगै पत्रकारको संज्ञा पायो तर तीन वर्षे छोरोलाई टुहुरो बनायो । के यसको बारेमा मिडिया उद्योग खोल्ने मालिक र महासंघले सोच्नुपर्दैन ?, शोक विज्ञप्ति मात्र निकालेर पञ्छिन मिल्छ ? अब बाँच्नेहरुलाई बचाउने जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? यो अहिले तत्कालै दिनुपर्ने जवाफ ठान्छु म ।

आज महामारीबाट शिथिल बनेको देशमा थुप्रै बाँचेका एलबीहरू भोकै कलम समातिरहेका छन् । एउटा मास्कको भरमा माइक र बुम समातेर लडिरहेका छन् । एलबीहरूलाई घर भाडा, रासन, ग्यास, परिवारको लानलपालनसँगै देशको चिन्ता छ । अधिकांश एलबीहरूको मुटुमा आर्थिक भारको ज्वाला दिनदिनै बढिरहेको छ । आर्थिक तथा मानसिक चपेटाको बाबजुद दौडिरहेका कतिपय एलबीहरूको जीउ, ज्यानको सुरक्षा छैन । कतिबेला, कुन ठाउँमा कसरी ढलिन्छ भन्ने एलबीहरूको टुंगो छैन ।

दिनभरि भोको पेटको कथा लेख्ने एलबीहरू राति भान्सामा खाना नपाक्दा रोएका छन् । संक्रमित यति छन्, यस्ता छन् भनेर दुनियाँलाई सुनाउने एलबीहरूले म पनि मान्छे न हुँ, मलाई पनि गाह्रो हुन्छ भन्ने फुर्सद पाएका छैनन् । एलबीहरूको पीडामा मस्त छ पत्रकारिताको घर हाँक्नेहरू । यसरी नै एलबीहरू तिम्रो घरबाट अस्ताउँदै जाने हो भने पक्का एकदिन मसानघाट बन्ने छ ।

एलबीहरूलाई कठिन छ भन्ने कुरा जताउन लासै प्रमाण देखाउनुपर्ने पत्रकारिता क्षेत्रमा पत्रकारलाई यो कस्तो न्याय हो ? पत्रकारितामा अझै कति पुस्तासम्म एलबीहरूले आहुति दिइरहनुपर्ने हो ? पत्रकारिताका नाममा एलबीहरूमाथिको राजनीति अब नगर ।

प्रकाशित : माघ ८, २०७८ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?