जसले नेपालमा रसायनशास्त्रको जग बसाले

गोविन्द पोखरेल

काठमाडौँ — फुटेको हाँडीमा सिंगो विश्वको नक्सा अटाएको देखेपछि प्राडा छविलाल गजुरेल एकछिन सोचमग्न भए । सन् १९७२ मा अमेरिकाबाट विद्यावारिधि पूरा गरी स्वेदश फर्किएपछि काठमाडौंमा देखेको यस्तो दृश्यले उनलाई धेरै काम गर्न प्रेरित गर्‍यो । त्यसै फ्याँकिएको वस्तुलाई काम लाग्ने बनाएको देखेपछि उनले नेपालमा भएका धेरै चिजलाई प्रयोगमा ल्याउन सकिने देखे ।

जसले नेपालमा रसायनशास्त्रको जग बसाले

त्यसका लागि उनले धेरै खोजी र अनुसन्धान गरे । अन्तत: परम्परागत रुपमा प्रयोग भएका नेपालका मौलिक सीपलाई जनमनाससम्म पुर्‍याउने संकल्पका साथ तयार भयो ‘नेपालका परम्परागत प्रविधि’ पुस्तक । जुन पुस्तकले १९८०मा मदन पुरस्कार पायो । नेपालमा प्रयोग भएका परम्परागत सीप र ज्ञानलाई विश्वमाझ फैलाउन पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो ।

शनिबार ८२ वर्षको उमेरमा रसायशास्त्रका प्राध्यापक गजुरेलको निधन भयो । गत असोजमा प्राध्यापक दीनेशराज भुजुसँगै म पनि उहाँलाई भेट्न तीनकुनेस्थित निवासमा पुगेको थिएँ । सन् २००२मा त्रिविबाट अवकाश भएपछि उनको दिनचर्या अध्ययन, अनुसन्धान र लेखनमा बित्यो । उनको अध्यात्मसँग सम्बन्धित पुस्तक ‘इर्मोटल स्टोरिज’ प्रकासित भएको रहेछ । प्रा डा गजुरेल रसायनशास्त्रका प्राध्यापक मात्रै नभएर नेपालको शैक्षिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान गरेका छन् ।

कोरोना महामारीका बाबजुद गजुरेल सरसँगको उक्त भेट अस्मरणीय हुन पुग्यो । त्रिवि रसायनशास्त्र केन्द्रीय विभागका संस्थापक गजुरेल नेपालको शैक्षिक गुणस्तर बढ्न नसकेको अवस्थाप्रति चिन्तित देखिन्थे । त्यसो त त्रिविसँगै खुलेका विश्वका अन्य विश्वविद्यालयहरूले धेरै उचाइ हासिल गरिसके । नेपालमा भने जस्ताको त्यस्तै अवस्था । ‘नेपालमा व्यक्तिगत इच्छामा, पेपरमा मात्रै हुने’ उनको भनाइ थियो । प्रयोगात्मक काम नगर्ने तर सैद्धान्तिक कुरामा मात्रै अल्झँदा शिक्षा क्षेत्रले गति लिन नसकेकोप्रति उनी चिन्तित देखिन्थे ।

नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान नास्ट निर्माणमा प्राडा गजुरेलको महत्वपूर्ण योगदान छ । रोनास्टको ब्लू प्रिन्ट तयार गर्दा तत्कालीन समयमा निकै हलचल आएको थियो । उनीसहित प्राडा तीर्थराज श्रेष्ठ र सुरेशराज शर्माले नास्टको परिकल्पना गरेका थिए ।

000

सन् १९८९मा काठमाडौंमा नोबेल पुरस्कार विजेता भौतिशास्त्रीद्वय अब्दुस सलाम र फिलिप एन्डरसन नेपालमा भौतिक ग्रिष्मकालीन कक्षा सञ्चालनका लागि आएका थिए । नेपालसहित बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतका नयाँ पुस्ताका भौतिकशास्त्रीहरूलाई लक्षित कार्यक्रम थियो । कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा उद्घाटन कार्यक्रम थियो । त्यस कार्यक्रममा प्रमुख अतिथि थिए तत्कालीन राजा वीरेन्द्र । मास्टर अफ सेरेमोनी(एमसी) थिए, प्रा डा भुजु । प्रा डा भुजु स्मरण गर्दै भन्छन्,‘मैले गजुरेल सरलाई त्यही कार्यक्रममा देखेको थिएँ । तत्कालीन सरकारको उहाँ राष्ट्रिय शिक्षा समितिको सदस्य सचिव हुनुहुन्थ्यो ।’

उक्त कार्यक्रममा नोबेल पुरस्कार विजेता सलामले राजा वीरेन्द्रलाई ‘सर’भनेर सम्बोधन गर्दै नेपालमा साइन्स एकेडेमी खोल्न सुझाव दिएका थिए । शाही नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (रोनास्ट)भन्दा फरक प्रकृतिको संस्था आवश्यकता औंल्याएपछि राजाबाट आदेश भयो । शिक्षा समितिको सदस्य सचिव भएकाले प्रा डा गजुरेललाई जिम्मेवारी सुम्पियो । अध्ययन प्रतिवेदन तयार भयो । हरेक क्षेत्रका लागि विशिष्टिकृत केन्द्रीय प्रयोगशाला स्थापना गर्ने कुरासहितको रिपोर्ट तयार भयो ।

‘कार्यान्वयनको कुरा परै जाओस् जस लिने होडबाजीका कारण रिपोर्ट गायब भयो, काम हुनै पाएन’ गजुरेलको गुनासो थियो । गजुरेलले उक्त भेटमा हामीलाई भने अनुसार सो प्रतिवेदन अनुरुप काम गर्दा नेपालको विज्ञान क्षेत्रमा धेरै प्रगति भएको हुने थियो । भौतिकशास्त्रका लागि नेशनल फिजिकल ल्याब, बायोलोजिकल ल्याब, नेशनल केमिकल ल्यबोरोटरी लगायत सबै किसिमका स्याम्पल परीक्षण हुने एकै ठाउँमा हुने विशिष्टिकृत अनुसन्धानक केन्द्र स्थापना गर्ने कुरा उक्त प्रतिवेदनमा थियो । रिपोर्ट अन्यको हातमा पुगेपछि अन्य संस्था स्थापना भए पनि काम राम्रोसँग हुन नपाएको उनको गुनासो थियो ।

‘स्टाब्लिसमेन्ट अफ पोलिटेक्निक इन्स्टिच्युट अफ नेपाल’ , ‘डिस्टेन्स एजुकेसन इन नेपाल, १९८९’ उनका चर्चित रिपोर्ट हुन् ।

कागजमा मात्रै सीमित ‘प्लस टु’को अध्ययन गाउँमा पनि गर्नुपर्छ भनेर उनले शिक्षा नीतिमा समावेश गराएका थिए । ‘घरको मानो खाएर आँगनमा उच्च शिक्षा’ नारासहित उनले उपत्यकाबाहिर उच्च शिक्षा कार्यक्रमलाई फैलाउन भूमिका खेलेका थिए ।

१९७४ देखि २००२ सम्म उनले त्रिभुवन विश्वविद्यालय केन्द्रीय रसायनशास्त्र विभागमा अध्यापन गराए । विभागमा उनी सन् १९८४ देखि १९८५ र सन् १९८७ मा अध्यक्षको रुपमा काम गरे । सन् १९८७ देखि १९९१ मा नेपालको मुख्य शिक्षा नीति बनाउने संस्था राष्ट्रिय शिक्षा समितिको सदस्य सचिवको रुपमा कार्यरत थिए ।

आफू मुख्य लेखक भएर उनका दुई दर्जन बढी अनुसन्धनात्मक आलेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकासित छन् । १७ वटा पुस्तकका अलावा दजनौं रिपोर्ट तथा विभिन्न वैज्ञानिक पुस्तकहरू प्रकासनमा उनले समन्वय गरेका थिए ।

पछिल्लो समय उनले रसायनशास्त्र क्षेत्रमा काम गरिरहेका विद्यार्थीलाई प्रोत्साहन गर्न आफैं अक्षयकोष खडा गरी पुरस्कार स्थापना गरेका थिए । रसायनशास्त्र केन्द्रीय विभागले हरेक वर्ष एक जनालाई अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धान कृति छापेका एकजना उत्कृष्ट अनुसन्धानकर्तालाई ‘प्रा डा छविलाल गजुरेल रसायनशास्त्र पुरस्कार’ दिने गरको छ ।

‘नेपालको परम्परागत प्रविधि’, ‘नेपालमा पाइने धातुहरू’, ‘रसायनशास्त्रको भाषा’ उनका चर्चित पुस्तक हुन् । ‘बिना अनुसन्धान प्रध्यापक पेशाको अर्थ छैन । काम गर्दै जाँदा कुरा काट्ने हुन्छन् त्यसलाई वास्ता नगर्नू । प्राध्यापक मूल्याकंन विद्यार्थीले गर्छन्’ अध्यापकहरूलाई उनी सधैं सुझाव दिन्थे ।

त्रिवि रसायनशास्त्र केन्द्रीय विभागका सह-प्राध्यापक डा अच्युत अधिकारी भन्छन्, 'हामीलाई पढाउने बेलामा उहाँ रिटायर्ड भइसक्नुभएको थियो । प्रयोगात्मक परीक्षाको भाइबामा आउनुभएको थियो । नेपालको परम्परागत प्रविधिको विकास र अनुसन्धानमा उहाँले ठूलो योगदान गर्नुभएको छ । उहाँ नेपालको रसायनशास्त्र शिक्षाको क्षेत्रमा जग बसाल्ने महत्वपूर्ण व्यक्ति हुनुहुन्थ्यो ।'

अनुसन्धानमा ‘एकेडेमिक अनेस्टी’ नभए कहिल्यै पनि अनुसन्धान माथि उक्लन नसक्ने तर्क गर्दैआएका प्राध्यापक गजुरलेको निधनसँगै नेपालको रसायन क्षेत्रले एकजना अब्बल अभिभावक र उत्प्ररेक गुमाएको छ ।

प्रकाशित : पुस २४, २०७८ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?