कबीरदास हिन्दु थिए कि मुसलमान ?- ब्लग - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कबीरदास हिन्दु थिए कि मुसलमान ?

दुर्गाप्रसाद श्रेष्ठ

काठमाडौँ — कबीरबारे राजनीतिक विश्लेषक सीके लालको ‘कोसेली’ मा अग्रलेख 'कहत कबीर सुनो भाई साधो !' पढ्ने सुअवसर प्राप्त भयो । कता–कता दालमा नुन नपुग्याजस्तो लागेर केही लेख्न मन लाग्यो ।


कबीर दासको समयमा भारतमा मुगल साम्राज्य थियो । शासकहरु हिन्दु धर्मको सट्टा मुस्लिम धर्म फिजाउन लागेका थिए । जबर्जस्ती धर्म परिवर्तन पनि गरिए । कहाँसम्म भने औरंगजेबको समयमा लगभग ८४ हजार साना-ठूला हिन्दु मन्दिर भत्काएर मस्जिदमा परिवर्तन गरिए । उदाहरणका लागि काशीको विश्वनाथ मन्दिर लिन सकिन्छ । गुजरातको सोमनाथ मन्दिर सरदार वल्लभ भाइ पटेल गृहमन्त्री हुँदा पुनर्निर्माण गराएका हुन् ।

भनिन्छ— दिल्लीको कुतुबमीनार र लालकिल्ला हिन्दूहरूको पूजास्थल भत्काएर बनाएका हुन् । अयोध्याको मस्जिद पनि राम मन्दिर थियो भनेर उत्तरप्रदेशमा भाजपा शासनका बेला भाजपा नेताहरूले प्रोत्साहित गरेर भत्काइएको हो ।

कबीरदास एउटी विधुवी ब्राह्मणीबाट जन्मिएका थिए । उनले लोकलाजले शिशु कबीरलाई लहरतारा (बनारस) तलाउको किनारमा लगेर छाडिदिइन् । जुलाहा दम्पतीले लगेर पाले । जुलाहाले पालेकाले उनी पनि जुलाहा भए ।

कहत कबीर सुनो भाई साधो !

कबीरकै कालमा भारतमा हिन्दु धर्मको पुनर्जागरण प्रारम्भ भइसकेको थियो । तुलसीदासले रामचरितमानस लेखे, सूरदारले कृष्ण–गीत गाए । उता महाराष्ट्रतिर सन्त तुकाराम आदि कैयौं सन्त कवि जन्मिए । काशीमै सन्त रैदास, तैलंगु स्वामी तथा राजस्थानमा मीराबाईले भक्तिरसको गंगा बगाए । रसखान मुसलमान भएर पनि कृष्णभक्तिले ओतप्रोत भजन गाउँथे । उनको एउटा प्रसिद्ध भजन छ—

मानुष हौं तो वही रसखान

बसौं निज गोकुल गााव कै द्वारन,

जौं पशु हौं तो बसौं

गोकुल–धेनु मझारन,...आदि–आदि ।

०००

त्यसैबेला महाराष्ट्रको मालवा राज्यमा अहिल्याबाई जन्मिइन् । एउटा सानो गाउँकी केटी मालवाकी महारानी हुन पुगी । उनले मुसलमान शासकविरुद्धको युद्धमा ससूरा र लोग्ने गुमाइन् । महारानी भएपछि राजदरबार त्याग गरेर महेश्वर भन्ने ठाउँमा पवित्र गोदावरी नदीको किनारमा एउटा सानो किल्लामा जीवनयापन गरिन् । राज्यको आम्दानीको ८० प्रतिशत मुसलमानले भत्काएका मन्दिरहरुको पुनर्निर्माणमा लगाउँथिन् । ती मन्दिरमध्ये काशीको विश्वनाथ मन्दिर, उत्तराखण्डको बद्रीनारायण मन्दिर आदि पर्छन् । उनैको देखासिकी, मध्यप्रदेशकै टीकमगढकी महारानीले जनकपुरको जानकी मन्दिर बनाइदिएको हो । अहिल्याबाईको धार्मिक सुकार्यले गर्दा त्यसबेलाका धर्माचार्यहरूले उनलाई ‘पुण्यश्लोक’ को उपाधि प्रदान गरे ।

भनाइको अर्थ के भने, कुनै पनि देशमा नराम्रोबाट राम्रो देखाउन युगानुकूल महापुरुषहरूको पदार्पण हुन्छ । कबीरको पदार्पण त्यही नियमअनुसार भएको हो । न उहाँ खानदानियाँ हुनुहुन्थ्यो न त विद्वान् । तर युगानुसार नयाँ चेतना ल्याउन सुषुप्तलाई बिउँझाउन काफी हुनुहुन्थ्यो ।

एउटा अनपढले युगान्तकारी काम कसरी गरे ? उनले मुसलमान (जन्मिदै होइन) भएर त्यो बेलाका नामूद गुरु रामानन्दलाई आफ्नो गुरु कसरी बनाए ? यसको पनि रोचक कथा छ—

रामानन्दजीको बयान सुनेरु कबीरले उनैलाई गुरु बनाउन चाहे । तर रामानन्दजीले स्वीकार गर्नुभएन तर ‘धुन का पक्का’ कबीरले त उनलाई नै गुरु बनाउन दृढ निश्चय गरिसकेका थिए ।

उनले पत्ता लगाए— रामानन्दजी सधैं बिहान झिसमिसेमै पचगंगा घाटमा गंगा–नुहाउन जान्छन् । पचगंगा घाट जानलाई माथिबाट लगभग सयवटा भर्‍याङ ओर्लनुपर्छ । कबीर दासजी गएर एउटा भर्‍याङमा लम्पसार परेर पल्टे । आध्यारोमा रामानन्दजीले देख्नुभएन र कबीरमाथि खुट्टा टेक्नुभयो । झसंग भएर उनले ‘राम–राम’ भने ।

कबीरदासजीलाई पुगिहाल्यो । रामानन्दजीलाई नै आफ्नो गुरु माने र ‘राम–राम’ गुरुमन्त्र । उनले भने—

‘गुरु गोविन्द दोऊ खडेकाको लागों पाया,

बलिहारी गुरु आपनो, गोविन्द दीयो देखाय ।’

कबीरदासले त्यस बेला पाखण्डी हिन्दु धर्मको निकै धज्जी उडाएका छन्—

माला तोक र में फिरे

जीम फिरे मुख माहीं,

मनवा तो चहुँ दिसि फिरै

यह तो सुमिरन नाहीं ।।’

०००

‘करका मनका गरी दे

मनका मनका फेर ?’

कबीरदास हिन्दु थिए कि मुसलमान ? त्यो बेला के अहिले पनि ‘काशी मरणांम मुक्ति’ भन्ने उक्ति प्रचलित र मान्य छ । तर उनी भन्छन्—

‘जो कबीरा काशी मरै

रामै कौन निहोरा ?’

उनको अन्तिम काल नजिक आएपछि उनले आफूलाई मगहर (गंगापारि, काशीभन्दा टाढा) लैजाने निर्देशन दिए । उनको मृत्युपछि उनका चेला एक जना हिन्दु र एक जना मुसलमान झगडा गर्न लागे । हिन्दु चेला लास जलाउनुपर्छ भन्ने तर मुसलमानले ‘दफन’ (गाड्नु) गर्नुपर्छ भन्ने । केही सीप नलागेर दुईजनाले लास आधा–आधा बाँड्ने निर्णय गरे । लास दुई टुक्रा गर्न रामनामी कात्रो उघार्दा मित्र गुलाबका फूलहरू थिए ।

०००

त्यसबेला धार्मिक अवस्था देखेर उनी हाँस्थे—

‘पानी बीच मीन पियासी

सुन सुन कबीरा हाँसी ।’

भगवान् त हाम्रो चारैतिर छन् होइन ? फेरि हामी मन्दिर–मस्जिद किन खोज्छौं ?

कबीरदासको जीवनको सन्देश यही हो । यसलाई बुझ्न हामीले दुनियाँभरका ग्रन्थ किन पढ्नुपर्‍यो ?

हेर्नुस् कबीरको दर्शनः

बुरा जो देखन मैं चला, बुरा न मिलिया कोय,

जो चित देखौं आपना, मुझसा बुरा न कोय ।


प्रकाशित : कार्तिक १३, २०७८ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्

बनारस ब्लुज

दुर्गाप्रसाद श्रेष्ठ

काठमाडौँ — म जनकपुरको सबेला बजारमा जन्मिएँ । बुबा काशीबहादुर (‘उदय’ का संस्थापक सम्पादक) ले आमा गर्भवती भएपछि ससुराली लिएर जानुभएको थियो । दुई सन्तान जन्मिनेबित्तिकै कालकवलित भएकाले म गर्भमा आएपछि ‘रिस्क’ लिन चाहनुभएन । ससुरा महोत्तरी मालमा मुखिया थिए । त्यहीं थिए आनन्दबहादुरका पिताजी ।

सुब्बा बुबाको चिनजान आनन्दबहादुरसँग त्यहीं भएको हो । यही चिनजानको परिणाम १९९३ सालमा ‘उदय’ उदायो । म १९९५ सालमा ।

हजुरआमाले मेरो नामकरण गर्नुभयो– ‘दुर्गाप्रसाद’ । सबेला बजारमा दसैंमा स्थापना गरिने ‘दुर्गोत्सव’ मा उहाँले दुर्गाजीलाई भाकल गर्नुभएको थियो रे । म पाँच वर्ष भएपछि मात्र सासूले ज्वाइँलाई स्वास्नी–छोरा बनारस लैजाने अनुमति दिनुभयो रे !
सात वर्षको भएपछि मलाई गंगा किनारस्थित ‘संकटा मन्दिर’ अगाडि ‘बालनिकेतन’ स्कुलमा भर्ना गरियो । त्योबेला एलकेजी, यूकेजी भन्ने थिएन । ‘शिशु कक्षा’ मा भर्ना भएँ । त्यहाँ पाँच कक्षासम्म पढेपछि घरनजिकै ‘अग्रवाल महाजनी हाइस्कुल’ मा भर्ना गरिदिए । ‘महाजन’ भनेको व्यापारी हो । त्यहाँ धेरैजसो विद्यार्थी ‘महाजनी हिसाब’ पढ्थे, यो भनेको गन्ती, दुनोटको अलावा सवैया, डेढा, अढाइया इत्यादि हो । ‘डेढा’ अर्थात् साढे एक, ‘अढाइया’ अर्थात् साढे दुई– यसलाई पनि दुनोटजस्तो कण्ठ गर्नुपर्थ्यो । जस्तो ‘डेढा’ को २ अर्थात् तीन, ‘अढाइया’ को दुई अर्थात् पाँच । हिसाब गर्न सजिलो होस् भनेर मुखाग्र गराउँथे ।

बुबा बनारसको ‘क्विन्स कलेज’ मा इन्ट्रेन्ससम्म पढ्नुभएको थियो । बीपी कोइराला यहीं पढ्थे रे । उनका बुबा व्यापारी थिए, त्यसैले नामी स्कुलमा पढाए । म सम्पादकको छोरा भएकाले ‘महाजनी पाठशाला’ मै पढें । हाइस्कुल पास गरेपछि आईएस्सीमा नाउँ लेखाएँ । हरिश्चन्द्र इन्टर कलेजमा । डाक्टर बन्छु भन्ने रहरले जीवविज्ञान लिएर साइन्स पढें । त्योबेला दूधविनायकतिर नेपालीको बाक्लो बसोबास थियो । र, हजुरबुबाहरू काशीबास बसेका हुँदा उनका नातिहरू पढ्न यहीं बसे ।

रामघाटमा कुलचन्द्र गौतम (विद्वत्शिरोमणि) पनि बस्थे । उनका नाति सुशीलचन्द्र मसँगै पढ्थे । उनका भाइ प्रसन्नचन्द्र पनि यहीं बसेर पढ्थे । कुलचन्द्र गौतम संस्कृतका उद्भट विद्वान् । संस्कृत पण्डितहरूको जमातमा उनको ठूलो मान थियो । संस्कृत विश्वविद्यालयमा संस्कृतमा आशु कविता प्रतियोगितामा विजयी भएका थिए र शास्त्रार्थमा विजयी हुँदा विद्वत्शिरोमणिको उपाधि पाएका थिए । कविशिरोमणि लेखनाथ जाडो छल्न दूधविनायकको धर्मशालामा आएर बस्थे । हामी उहाँलाई भेट्न जान्थ्यौं ।

त्यसबेला काशी नेपाली पुस्तक र पत्रिका प्रकाशनको ‘हब’ नै थियो । सुब्बा केदारनाथ, बाबु माधवप्रसाद शर्मा, विश्वराज हरिहरनाथ आदि प्रकाशकहरू प्रसिद्ध थिए । धार्मिक पुस्तकबाहेक पत्रपत्रिकाको प्रकाशनको पनि बनारसबाटै सुरुआत भएको हो । मोतीराम भट्टले ‘भारत जीवन पत्रिका’ तथा अन्य पत्रपत्रिकाहरूको इतिहास ‘नेपालको छापाखानाको इतिहास’ मा गृष्मबहादुर देवकोटाले यस विषयमा विस्तृत रूपमा उल्लेख गर्नुभएको छ ।

सुब्बा होमनाथ केदारनाथका एकजना नाति देवेन्द्र मसँगै आईएस्सीमा पढ्थे । उनीसँगै उनको घर जाँदा एक दिन ‘प्रगति’ का सम्पादक नारायण बाँस्कोटासँग भेट भयो । उहाँ ‘प्रगति’ छपाउन आउनुभएको रहेछ र नाता पर्ने हुँदा त्यहीं बस्नुभएको थियो । मेरो पनि एउटा कविता ‘प्रगति’ मा छपाइदिनुभयो र ०१७ सालमा सुब्बा होमनाथ केदारनाथको नातिनीको बिहाका लागि म काठमाडौं जाँदा मलाई ‘प्रचार विभाग’ मा तान्नुभयो ।

कम्युनिस्ट नेता र प्रधानमन्त्रीसमेत भएका मनमोहन अधिकारीले बनारसमै पढ्नुभयो । उहाँ बनारस हिन्दु युनिभर्सिटीमा पढ्नुहुन्थ्यो र स्नातक भएपछि नेपाल फर्कनुभयो । मनमोहनले यहीं पढ्थे । भूपी शेरचनले आईए गरे, मोहनराज शर्माले नेपालीमा एमए गरे, मदन भण्डारीले संस्कृतमा शास्त्री गरे ।

म पनि सन् ६१ मा बनारस हिन्दु युनिभर्सिटी पढ्थें । त्यसबेला पूरा बनारस नै नेपाली छात्रमय देखिन्थ्यो । मातृका कोइरालाका दुई छोरा विमल र कमल तथा छोरी सविता यहीं पढ्थे । दूधविनायकबाहेक रामापुरा टोल पनि नेपालीको बस्तीजस्तो देखिन्थ्यो । धरणीधर शर्मा पनि रामापुरामै कोठा भाडामा लिएर परिवारसहित बस्थे । उनकी कान्छी छोरीसँग पछि नगेन्द्र शर्मा (सम्पादक ‘अभिव्यक्ति) ले बिहा गरे ।

दाङ, चैनपुर, धरान, धनकुटा, पाल्पा, विराटनगर, सप्तरी, लहान आदिका विद्यार्थीहरू छ्यापछ्याप्ती हुन्थे । सूर्यबहादुर थापाका भतिजाहरू यहीं पढ्थे । गर्मीको बिदामा घर जाँदा मलाई सँगै घुमाउन लैजान्थे । मातृकाबाबुको घरमा एक साता बसेर म धरानमा एक जना मारवाडी विद्यार्थीको घर धरानमा बसें । त्यहाँबाट धनकुटा पुगें । उनका भतिजाहरूको घरमा बसें । सूर्यबहादुरजीसँग पनि भेटघाट भयो । उनीसँग खिचाएको एउटा फोटो पनि छ । यो ०१५–१६ सालतिरको कुरा हो । चैनपुरको साथीसँग चैनपुर जाँदा एक जना दाहाल साथीले मादी लिएर गए । त्यहाँ एउटा स्कुलमा गर्मीको छुट्टीभरि पढाएँ पनि । ५० रुपैयाँ पारिश्रमिक पनि पाएँ ।
बनारस पढ्न आउने विद्यार्थी यहाँ २ वर्ष बसेर पढेको भन्ने व्यहोराको ‘एफिडेभिट’ दिनुपर्ने रहेछ । अभिभावकको रूपमा म उनीहरूसँग कचहरी (कोर्ट) मा जान्थें र उनीहरूको जिम्मा लिन्थें ।

बनारस पढ्न आउने विद्यार्थीका लागि एउटा सहुलियत नै थियो– उनीहरूका हजुरबा, बज्यै यहाँ ‘काशीवास’ बस्न आउँथे । उनीहरू नेपालबाट चाहिने अन्न, घ्यू, तेल ल्याएर काम चलाउँथे । प्रसिद्ध लेखक जगदीश घिमिरेका दुई भाइ दिनेश र मुकुन्द (हाल अभिव्यक्ति पत्रिकाका सम्पादक नगेन्द्र शर्मा) ले पनि यहीं शिक्षा पाएका हुन् । कोषराज रेग्मी, बालकृष्ण पोखरेल, तारानाथ शर्मा, बल्लभमणि दाहाल, चूडानाथ रेग्मी आदि–आदि नेपालीका मूर्धन्य सेवकहरू सबैले बनारसमै शिक्षा प्राप्त गरे ।

त्यो बनारसबाट विद्यार्थी संघको तीनवटा वार्षिक मुखपत्र प्रकाशित हुन्थे– छात्रवाणी, छात्रदूत र छात्रसन्देश । अंग्रेजी मात्र होइन, संस्कृत पढ्ने विद्यार्थी पनि त्यतिकै थिए । अहिले अंग्रेजी माध्यमबाट पढ्ने विद्यार्थीहरू लगभग शून्य छन्, तर संस्कृत पढ्ने विद्यार्थीहरूको भरमार छ ।

कमलमणि दीक्षितले पनि बीएयूमा पढेका थिए स्नातक तहसम्म । सुब्बा होमनाथ केदारनाथको वंशका कोही पनि छैनन् । उनको कम्पनी अहिले उनका म्यानेजरले चलाइरहेका छन् । ‘बाबु माधवप्रसाद शर्मा’ को कम्पनी उनका छोरा सागर रेग्मीले चलाइरहेका छन् भने विश्वराज हरिहरनाथको फर्म अहिले उनका नातिले ‘बम्बई पुस्तकालय’ को नाउँले चलाइरहेका छन् । बडागुरुज्यूको घर पनि बिक्री भइसक्यो । केशरशमशेरको केशर महल, जगदम्बा रानीको भुल्लनपुरको जग्गा, राणा प्रधानमन्त्रीहरूका महल अहिले स्थानीहरूका सम्पत्ति भइसके । गुठी संस्थानको स्वामित्व रहेको नेपाली मन्दिर (रणबहादुर शाहले बनाएको) एउटा बाँचेको छ, जहाँ नेपाली विद्यार्थीहरू संस्कृत पढ्छन् । यहाँ धर्मशाला पनि सञ्चालित छ ।

दूधविनायकमा रानी जगदम्बाले बनाइदिएको नेपाली धर्मशाला अहिले चाडपर्वमा नेपाली यात्रुहरूको आश्रयस्थल भएको छ । कात्तिक महिनामा कात्तिक नुहाउनेहरू, सोह्र श्राद्धमा गयाजी श्राद्ध गर्ने जानेहरूले यो भरिभराउ हुन्छ । तर, त्यो बेलाको बनारसको शान अब छैन । कुनै जमानामा गोदौलिया चौरस्ताको पानदोकानमा पान खायो भने जाडोमा पनि कान तातो हुन्थ्यो । चाटका लागि एक–दुई पसल छन् तर त्योबेलाको जस्तो गल्लीगल्लीमा चाट पसल भेटिँदैन । न त ‘लस्सी’ नै त्यो समयजस्तो देखिन्छ ।
प्रधानमन्त्री मोदीले काशीबाट चुनाव जितेकाले यसलाई ‘स्मार्ट सिटी’ बनाउने घोषणा त गरे तर ‘बनारसीपन’ लोप हुँदै जाँदै छ । पहिलेजस्तो ‘निश्चिन्त’ भएर जे लगाए पनि हुने, जे खाए पनि हुने ‘फक्कड’ मस्ती अब हराउँदै छ । बनारस अब भीडभाडमा हराउँदै छ । ‘आधुनिकीकरण’ मा कहाँ त्यति फुर्सद हुन्छ र !

बनारस खाने कुरा, मिठाई, चाटहरूका लागि प्रसिद्ध ठाउँ हो । जाडोमा ‘मलैयो’ (दूधको फिंज काढेर केशर–पेस्ता हालेर बनाएको परिकार) कचौडी खाने मज्जा हुन्थ्यो । ती सब गल्लीहरूमा पाइन्थ्यो । बनारस साहित्यको केन्द्र थियो । प्रेमचन्दजस्ता उपन्यासकार, जयशंकर प्रसादजस्ता महाकवि मात्रै होइन, गोपीनाथ कविराजजस्ता पुरामनोविज्ञानका ज्ञाता, जगन्नाथ प्रसाद मिश्रजस्ता कवि, हजारीप्रसाद द्विवेदीजस्ता विद्वान्को साधनास्थल यहीं थियो ।

लाहिडी महाशय, बाबा किनाराम, ‘मन चंगा त कठौती में गंगा’ भन्ने सन्त रैदास, तैलंग स्वामी, कबीरदास, तुलसीदासजस्ता युगपुरुषहरूको साधनास्थल यहीं थियो । विगत दशकसम्म यो साहित्यको केन्द्र पनि थियो । हिन्दी साहित्यको प्रकाशन केन्द्र मुख्यतः बनारस नै थियो । अहिले साहित्यिक प्रकाशक खोज्दा पनि पाइँदैन । साहित्यिक प्रकाशकको सट्टा स्कुली किताबका प्रकाशक भइसकेका छन् । विद्युतीय उपकरणहरूको पढ्ने–लेख्ने बानी शून्य भइसकेको छ । पुस्तक प्रकाशनको केन्द्र अब दिल्ली भएको छ, जहाँ सरकारी पुस्तकालयमा सप्लाईको भरमा प्रकाशकहरू जेनतेन बाँचिरहेका छन् ।

लागू भएपछि ‘बनारसी साडी’ को व्यवसायले ‘जीएसटी’ आखिरी सास फेर्दर् ैछ । जुन साडी बिहामा नभई नहुने थिए, ती अब महँगा भएर फेसन शोहरूमा मात्र देखिन्छन् । बनारसलाई ‘स्मार्ट सिटी’ बनाउने योजना भइरहेछ । त्यसबेला भएको मूलभूत सौन्दर्य, जसलाई ‘हेरिटेज सहर’ भनिन्छ त्यो रहला ? यसका प्राचीन धरोहर र गौरवलाई मेट्रो, रिङरोड र नवीन सभ्यताले नखाइदेला ?
बनारसलाई ‘क्योटो’ बनाउने सपना देख्नेहरूले त्यस्तै नागरिक र सभ्यता पनि सिर्जना गर्नुपर्छ । सपना भंग पनि हुन सक्छ ।

‘जीएसजी’ ले गर्दा एउटा अर्को फसाद नेपाललाई परेको छ । यहाँबाट आउने धार्मिक किताबको सप्लाई बन्द छ । त्यहाँका प्रमुख प्रकाशक ‘ज्ञान मण्डल लिमिटेड’ लाई सोध्दा भने, ‘कहाँ जीएसटी रजिस्ट्रेसन गराउने ? त्यसको हिसाब राख्न एउटा अर्को एकाउन्टेन्ट राख्नुपर्‍यो । त्यसको तलब जति पनि किताब सप्लाई हुँदैन । बरु नपठाएको आनन्द ! नरहे बाँस, नबजे बाँसुरी !’

प्रकाशित : माघ १८, २०७६ ११:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×