२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कबीरदास हिन्दु थिए कि मुसलमान ?

दुर्गाप्रसाद श्रेष्ठ

काठमाडौँ — कबीरबारे राजनीतिक विश्लेषक सीके लालको ‘कोसेली’ मा अग्रलेख 'कहत कबीर सुनो भाई साधो !' पढ्ने सुअवसर प्राप्त भयो । कता–कता दालमा नुन नपुग्याजस्तो लागेर केही लेख्न मन लाग्यो ।

कबीरदास हिन्दु थिए कि मुसलमान ?


कबीर दासको समयमा भारतमा मुगल साम्राज्य थियो । शासकहरु हिन्दु धर्मको सट्टा मुस्लिम धर्म फिजाउन लागेका थिए । जबर्जस्ती धर्म परिवर्तन पनि गरिए । कहाँसम्म भने औरंगजेबको समयमा लगभग ८४ हजार साना-ठूला हिन्दु मन्दिर भत्काएर मस्जिदमा परिवर्तन गरिए । उदाहरणका लागि काशीको विश्वनाथ मन्दिर लिन सकिन्छ । गुजरातको सोमनाथ मन्दिर सरदार वल्लभ भाइ पटेल गृहमन्त्री हुँदा पुनर्निर्माण गराएका हुन् ।

भनिन्छ— दिल्लीको कुतुबमीनार र लालकिल्ला हिन्दूहरूको पूजास्थल भत्काएर बनाएका हुन् । अयोध्याको मस्जिद पनि राम मन्दिर थियो भनेर उत्तरप्रदेशमा भाजपा शासनका बेला भाजपा नेताहरूले प्रोत्साहित गरेर भत्काइएको हो ।

कबीरदास एउटी विधुवी ब्राह्मणीबाट जन्मिएका थिए । उनले लोकलाजले शिशु कबीरलाई लहरतारा (बनारस) तलाउको किनारमा लगेर छाडिदिइन् । जुलाहा दम्पतीले लगेर पाले । जुलाहाले पालेकाले उनी पनि जुलाहा भए ।

कहत कबीर सुनो भाई साधो !

कबीरकै कालमा भारतमा हिन्दु धर्मको पुनर्जागरण प्रारम्भ भइसकेको थियो । तुलसीदासले रामचरितमानस लेखे, सूरदारले कृष्ण–गीत गाए । उता महाराष्ट्रतिर सन्त तुकाराम आदि कैयौं सन्त कवि जन्मिए । काशीमै सन्त रैदास, तैलंगु स्वामी तथा राजस्थानमा मीराबाईले भक्तिरसको गंगा बगाए । रसखान मुसलमान भएर पनि कृष्णभक्तिले ओतप्रोत भजन गाउँथे । उनको एउटा प्रसिद्ध भजन छ—

मानुष हौं तो वही रसखान

बसौं निज गोकुल गााव कै द्वारन,

जौं पशु हौं तो बसौं

गोकुल–धेनु मझारन,...आदि–आदि ।

०००

त्यसैबेला महाराष्ट्रको मालवा राज्यमा अहिल्याबाई जन्मिइन् । एउटा सानो गाउँकी केटी मालवाकी महारानी हुन पुगी । उनले मुसलमान शासकविरुद्धको युद्धमा ससूरा र लोग्ने गुमाइन् । महारानी भएपछि राजदरबार त्याग गरेर महेश्वर भन्ने ठाउँमा पवित्र गोदावरी नदीको किनारमा एउटा सानो किल्लामा जीवनयापन गरिन् । राज्यको आम्दानीको ८० प्रतिशत मुसलमानले भत्काएका मन्दिरहरुको पुनर्निर्माणमा लगाउँथिन् । ती मन्दिरमध्ये काशीको विश्वनाथ मन्दिर, उत्तराखण्डको बद्रीनारायण मन्दिर आदि पर्छन् । उनैको देखासिकी, मध्यप्रदेशकै टीकमगढकी महारानीले जनकपुरको जानकी मन्दिर बनाइदिएको हो । अहिल्याबाईको धार्मिक सुकार्यले गर्दा त्यसबेलाका धर्माचार्यहरूले उनलाई ‘पुण्यश्लोक’ को उपाधि प्रदान गरे ।

भनाइको अर्थ के भने, कुनै पनि देशमा नराम्रोबाट राम्रो देखाउन युगानुकूल महापुरुषहरूको पदार्पण हुन्छ । कबीरको पदार्पण त्यही नियमअनुसार भएको हो । न उहाँ खानदानियाँ हुनुहुन्थ्यो न त विद्वान् । तर युगानुसार नयाँ चेतना ल्याउन सुषुप्तलाई बिउँझाउन काफी हुनुहुन्थ्यो ।

एउटा अनपढले युगान्तकारी काम कसरी गरे ? उनले मुसलमान (जन्मिदै होइन) भएर त्यो बेलाका नामूद गुरु रामानन्दलाई आफ्नो गुरु कसरी बनाए ? यसको पनि रोचक कथा छ—

रामानन्दजीको बयान सुनेरु कबीरले उनैलाई गुरु बनाउन चाहे । तर रामानन्दजीले स्वीकार गर्नुभएन तर ‘धुन का पक्का’ कबीरले त उनलाई नै गुरु बनाउन दृढ निश्चय गरिसकेका थिए ।

उनले पत्ता लगाए— रामानन्दजी सधैं बिहान झिसमिसेमै पचगंगा घाटमा गंगा–नुहाउन जान्छन् । पचगंगा घाट जानलाई माथिबाट लगभग सयवटा भर्‍याङ ओर्लनुपर्छ । कबीर दासजी गएर एउटा भर्‍याङमा लम्पसार परेर पल्टे । आध्यारोमा रामानन्दजीले देख्नुभएन र कबीरमाथि खुट्टा टेक्नुभयो । झसंग भएर उनले ‘राम–राम’ भने ।

कबीरदासजीलाई पुगिहाल्यो । रामानन्दजीलाई नै आफ्नो गुरु माने र ‘राम–राम’ गुरुमन्त्र । उनले भने—

‘गुरु गोविन्द दोऊ खडेकाको लागों पाया,

बलिहारी गुरु आपनो, गोविन्द दीयो देखाय ।’

कबीरदासले त्यस बेला पाखण्डी हिन्दु धर्मको निकै धज्जी उडाएका छन्—

माला तोक र में फिरे

जीम फिरे मुख माहीं,

मनवा तो चहुँ दिसि फिरै

यह तो सुमिरन नाहीं ।।’

०००

‘करका मनका गरी दे

मनका मनका फेर ?’

कबीरदास हिन्दु थिए कि मुसलमान ? त्यो बेला के अहिले पनि ‘काशी मरणांम मुक्ति’ भन्ने उक्ति प्रचलित र मान्य छ । तर उनी भन्छन्—

‘जो कबीरा काशी मरै

रामै कौन निहोरा ?’

उनको अन्तिम काल नजिक आएपछि उनले आफूलाई मगहर (गंगापारि, काशीभन्दा टाढा) लैजाने निर्देशन दिए । उनको मृत्युपछि उनका चेला एक जना हिन्दु र एक जना मुसलमान झगडा गर्न लागे । हिन्दु चेला लास जलाउनुपर्छ भन्ने तर मुसलमानले ‘दफन’ (गाड्नु) गर्नुपर्छ भन्ने । केही सीप नलागेर दुईजनाले लास आधा–आधा बाँड्ने निर्णय गरे । लास दुई टुक्रा गर्न रामनामी कात्रो उघार्दा मित्र गुलाबका फूलहरू थिए ।

०००

त्यसबेला धार्मिक अवस्था देखेर उनी हाँस्थे—

‘पानी बीच मीन पियासी

सुन सुन कबीरा हाँसी ।’

भगवान् त हाम्रो चारैतिर छन् होइन ? फेरि हामी मन्दिर–मस्जिद किन खोज्छौं ?

कबीरदासको जीवनको सन्देश यही हो । यसलाई बुझ्न हामीले दुनियाँभरका ग्रन्थ किन पढ्नुपर्‍यो ?

हेर्नुस् कबीरको दर्शनः

बुरा जो देखन मैं चला, बुरा न मिलिया कोय,

जो चित देखौं आपना, मुझसा बुरा न कोय ।

प्रकाशित : कार्तिक १३, २०७८ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?