१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चिनियाँ राष्ट्रपति सीको कृषिमोह, नेपाली नेताहरूका लागि पाठ

नेपालमा नेता र नीति निर्माताहरूले मुखले होइन, मनले जप्नुपर्ने अबको मन्त्र यस्तो रहोस् - ‘यदि नेपाल बलियो हुन चाहन्छ भने कृषि बलियो हुनुपर्छ; यदि नेपाल सुन्दर हुन चाहन्छ भने ग्रामीण क्षेत्र सुन्दर हुनुपर्छ; यदि नेपाल धनी हुन चाहन्छ भने किसान धनी हुनुपर्छ।’
लक्ष्मी लम्साल

‘यदि चीन बलियो हुन चाहन्छ भने कृषि बलियो हुनुपर्छ; यदि चीन सुन्दर हुन चाहन्छ भने ग्रामीण क्षेत्र सुन्दर हुनुपर्छ; यदि चीन धनी हुन चाहन्छ भने किसान धनी हुनुपर्छ,’ चीनका राष्ट्रपति सी चिनफिङले देशको गौरवमा किसानलाई यसरी जोडेका छन्।

चिनियाँ राष्ट्रपति सीको कृषिमोह, नेपाली नेताहरूका लागि पाठ

ग्रामीण मुद्दाहरुलाई प्रथम प्राथमिकतामा राख्नु, नयाँ परिस्थितिमा ग्रामीण सुधारको प्रवर्द्धन गर्नु, ग्रामीण समन्वयलाई सुदृढ पार्नु, किसानहरुलाई बलियो र लाभान्वित तुल्याउनुजस्ता चिनियाँ कम्युनिष्ट पार्टीका नीतिले आज सिंगो चीन गरिबीमुक्त भएको छ जसको सिको गर्न विश्वका विकासोन्मुख मुलुकहरू लालायित छन्।

बर्सेनि कुनै न कुनै साना ठूला कृषि गतिविधिमा सक्रिय भइरहने चीनका राष्ट्रपति सीले किसानको हौसला बढाइरहेजस्तै अहिले भर्खरै नेपाली नेताबाट पनि किसानहरूले उस्तै अपेक्षा गरिरहेका छन्। अप्रत्यासित बाढी वर्षाका कारण भित्र्याउन ठिक्क पारिएको फसल डुबानमा परेर टुसाउन थालेको छ। ‘म सत्ता हूँ, म सत्ताघटक हूँ, म पार्टीको सुप्रिमो हूँ, मद्वारा परिचालित हनुमान नै कृषिमन्त्री हो। किसानका जे जस्ता समस्याहरू छन्, ती पूरा गरिदिन सरकारसँग माग गर्दछु।’ यस्तो आशयका गोहीको आँशुजस्तो रोदन नक्कली भएको भनेर किसानले त बुझिसकेको हुनुपर्छ। तर विकल्पविहीन किसानले यिनै नेताबाट काम चलाउनुपर्ने बाध्यता अर्कोतिर छ।

सामान्यतया नेपालको कृषि क्षेत्रमा के कस्ता समस्या छन् भन्ने कुरासँग कुनै नेता अपरिचित छैन होला। कुनै माथिल्लो पदमा पुग्नेबित्तिकै ‘किसानको छोरो’ भन्ने विशेषणका साथ वाहवाही गरिन्छ। अहिले पनि सत्तामा रहिरहेका र राजनीतिको वरिपरि चक्कर लगाइरहेका हेरकजसो वरिष्ठ नेताहरू कृषि पृष्ठभूमिबाट आएका हुन्। जब उनीहरू सुकिला मुकिला भए तब किसान, कृषि क्षेत्रका समस्यामा आँखा चिम्लिन सक्षम भएका मात्रै हुन्।

बर्सेनि उखु किसान आफ्नो पसिनाको मूल्य नपाएर सिंहदरबारलाई गुहार्छन्। समयमा मल, बीउबिजन, सिंचाइ कुलो नपाएर किसानहरू पुर्पुरोमा हात लगाइरहन्छन्, तर कस्तै समाजवादी नेताहरू यस्ता समस्यामा एक मिनेट नस सायदै खर्चिन्छन्। बरू मजाकका लागि सारा राजनीतिक जीवन बिताइरहेको देखिन्छ। नेपालका नेताहरूमा ‘कृषिको सम्मान गरेमा सानो भइन्छ’ भने हीनताबोध देखिन्छ। किसानकै नामबाट पार्टी खोल्नेहरू पनि नयाँ पुस्तालाई ‘धान कताबाट आउँछ? भन्ने पाठ सिकाउन असमर्थ देखिन्छन्।

‘कहिल्यै पनि कृषिलाई वेवास्ता गर्नुहुँदैन, किसानलाई बिर्सनुहुँदैन, ग्रामीण क्षेत्रलाई बेवास्ता गर्नुहुँदैन’ भनेर हाल चीनका लागि सबैभन्दा सर्वोच्च नेता सी चिनफिङ भनिरहन्छन्। उनले मुलुक शक्तिशाली, सुन्दर र धनी बन्नका लागि कृषि, गाउँ र किसान धनी र बलियो हुनुपर्ने वकालत गरिरहन्छन्। युवावस्थामा काँधमा कोदालो बोकेर श्रमिक पृष्ठभूमि तयार पारेका सी चिनफिङले कृषिको सम्मान गरिरहँदा संसारले कहीँ कुनै कोणबाट आलोचना गरेको त सुनिँदैन। बरू उनको गाउँ गाउँ चहार्ने बानीले चीनको कृषि क्षेत्र जागरुक र उत्साहित बन्दै गएको छ। गत वर्ष सन् २०२० मा चीनको शरदऋतुको बालीरोपण क्षेत्रफल १ अर्ब २९ करोड मू. (चिनियाँमा) अर्थात् ८६ लाख हेक्टरभन्दा बढी रह्यो।

यस वर्ष सन् २०२१मा अन्नबालीको वार्षिक उत्पादन ६ खर्ब ५० अर्ब किलोग्राम पुग्ने अनुमान छ। चीनको कृषि क्षेत्र झन् झन् बढी यान्त्रिक उपकरणले सजिएको छ। कृषिको आधुनिकीकरणको बाटोबाट चिनियाँ ग्रामीण क्षेत्रको पुनरुत्थान भइरहेको छ। यस वर्षकै वसन्त ऋतुको खेतीपातीमा ३० हजार भन्दा बढी मानवरहित विमान प्रयोग गरिएका छन्। गत वर्षको अन्तिममा गरिबी निवारणको युद्ध कृषिकै कारण सफल भएको हो। ९ करोड ८९ लाख ९० हजार नागरिक गरिबीबाट मुक्त हुनुमा कृषिकै दाहिने हात छ। सन् २०२० मा ‘एक गाउँ, एक दृश्य’ भन्ने चिनियाँ अभियानबाट १२ सय १६ वटा सुन्दर गाउँ सुधार गरिएका छन्। कामको खोजीमा जन्मथलो छोड्ने किसानहरू फर्किएका छन्, जुन संख्या १ करोड १ लाखभन्दा बढी थियो।

चीनले ग्रामीण क्षेत्रको पुनरुत्थानका लागि परम्परागत कृषि प्रणाली परित्याग गर्न पहल गरेको छ। त्यसको अगुवाई सत्ता संचालक कम्युनिष्ट पार्टीले गरेको छ। जसमा देखिने खालको उपलब्धि प्राप्त भएको छ। कुनै पनि मुलुकको शासकीय प्रणाली भनेको सो मुलुकको बाँच्ने आधारशीला खाद्यान्नको समस्या टार्नु हो र कुनै पनि असल राजनीतिक पार्टीको क्षमता किसानसँग माटोमा खेल्नुमा दर्शिन्छ। कृषि के हो र विकासको लक्ष्य के हो भन्ने नारा घोषणापत्रमा उल्लेख गर्नाले मात्रै हुन्न। कृषि र गाउँप्रति आकर्षण नबढाएसम्म नेपालको समृद्धिको बाटो पहिल्याउन अझै कठिन छ।

देशमा भूकम्प, कोरोना महामारीपछि बाढीवर्षाले दरिद्रताको अर्को बज्र परेको छ जुन कुनै नै कुनै स्वरूपमा सारा नेपालीको टाउकोमा बज्रिनेछ। मौसम पूर्वानुमानमा लापर्वाही गर्ने निकायले आफूलाई सच्याउन कति वर्ष लगाउँछ, यकिन छैन। उठिवास भएका किसानको आँशु पुछ्ने अभिभावक को बन्छ, खोजेर भेटिँदैन। नेपाल कृषिप्रधान मुलुक हो भनेर पाठ्यपुस्तकमा अझै कति वर्षसम्म लेखिन्छ, स्पष्ट छैन। व्यवहारमा सबैभन्दा प्रताडित क्षेत्रमध्ये कृषि नै भएको कहिलेसम्म स्वीकार्नुपर्ने हो, पत्तो छैन। मालदार मन्त्रालयको सूचिमा कृषि मन्त्रालय कहिले पर्ने हो, भन्न सकिन्न।

विज्ञान प्रविधिको यति तीव्र विकासमा पनि नेपालको कृषि क्षेत्र पछौटे हुनुमा नेता र नीति निर्माताहरूमा ‘ग्ल्यामर’ को दृष्टिदोष हो भन्दा अत्युक्ति हुँदैन। नेपालका लोकप्रिय नेताहरू वा कलाकार ‘सेलिब्रिटी’हरू कृषि क्षेत्रको प्रचारका लागि समय खर्चिन सक्दैनन्। असार/साउनमा किसानले रोप्न ठिक्क पारेका हिलोखेतमा लडीबुडी खेल्ने बाहेक उनीहरूको योगदानले एउटा गेडो उम्रिएको देखिँदैन। हो, अचेल सी चिनफिङले खेतबारीमा डल्ला फुटाएको देखिन्न तर पनि उनको अभिभावकीय सान्त्वनाले चिनियाँ किसानहरू धमाधम कृषिबाट आफ्नो र देशको कायापलट गरिरहेका छन्। नेपालमा जनताको सुखदुःखका पहरेदार ठानिने अनगिन्ती नेताहरू छन्। यिनीहरूले चाहने हो भने हप्तादिनमै सत्ता ढाल्ने ल्याकत राख्छन्। त्यसैले शक्तिशाली स्वनामधन्य नेताहरू आफैँ हिलोमैलोमा नहोमिएलान् तर कृषि र किसानको उत्थानका लागि सानोतिनो वकालत गरिदिए मात्रै पनि ठूलो ढाडस मिल्नेछ, अहिलेका लागि।

नेपालमा नेता र नीति निर्माताहरूले मुखले होइन, मनले जप्नुपर्ने अबको मन्त्र यस्तो रहोस् - ‘यदि नेपाल बलियो हुन चाहन्छ भने कृषि बलियो हुनुपर्छ; यदि नेपाल सुन्दर हुन चाहन्छ भने ग्रामीण क्षेत्र सुन्दर हुनुपर्छ; यदि नेपाल धनी हुन चाहन्छ भने किसान धनी हुनुपर्छ।’

प्रकाशित : कार्तिक ४, २०७८ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?