कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

महानगरको सौन्दर्य चेत 

जनकराज सापकोटा

काठमाडौँ — बुधबार मध्यान्ह काठमाडौं महानगरपालिकाले आधा दर्जनभन्दा धेरै कर्मचारी लगाएर रत्नपार्कको आकाशे पुलमा बनाइएको मुरल कला मेटेको खबर सार्वजनिक भयो । कोभिड फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी र सरसफाईमा खटिएकाहरुको सम्मानमा बनाइएको मुरल कला मेट्न महानगरपालिकाले देखाएको हतारो कुनै नौलो थिएन । 

महानगरको सौन्दर्य चेत 

गत वर्षको भदौमा कोरोना संक्रमितहरुलाई राख्न महानगरले एउटा गतिलो आइसोलेसन सेन्टर बनाउन नसकिरहेका बेला आफू भने संक्रमित भएपछि सपरिवार सोल्टी होटलको आइसोलेसनमा बस्न रुचाउने कम्युनिष्ट दलका विद्यासुन्दर शाक्य मेयर भएको सहरमा यस्तो हुनु कुनै किञ्चित अनौठो घटना थिएन ।

प्रत्येकजसो बिजुलीका पोलमा गुजुल्टिएका तारहरू, ठाउँ कुठाउँ पैदलयात्री अल्झाउन लत्रिएका तारहरू, केहीबेरको बर्षापछि भलमा परिणत हुने बाटोघाटो, सार्वजनिक भित्तामा बर्षौदेखि नमेटिएका राजनीतिक दलका नाराहरू सबैले महानगरको सौन्दर्य बढाएकै थिए । बेलाबखत सहरका चोक कुनामा थुप्रिराख्ने फोहोर, हलक्कै हुर्किएका घासले भरिएका पार्कहरु, सानाठूला खाल्डाको धरापले भरिएको सडक पेटीहरु सबैले सहरको आभा बढाइरहेकै थिए । सहरी सौर्न्दयको यस्तो मानक बनाइरहेको महानगरपालिकाले एउटा मुरल कला मेट्ने हतारो देखाउनु कुनै नयाँ कुरा थिएन ।

सहरको सौर्न्दय जोगाउने नाममा महानगरले यसअघि पनि सडक छेउछाउका गीत गाएर दुई चार पैसा जम्मा पार्ने दृष्टिविहीनहरुलाई पटकपटक खेदेर आफ्नो ‘सक्रियता’ देखाएको थियो । दृष्टिविहीनहरुले कुन दुःखले जोरेको माईक र स्पिकर खोस्दै उनीहरुलाई लेखेटेर आफ्नो बहादुरी देखाएको धेरै महिना बितिसकेको छैन । फुटपाथमा दुईचार घोगा मकै बेच्नेहरुलाई खेद्ने तर ठूला होटलले सडकमै पार्किङ बनाएको पटक्कै नदेख्ने महानगरले बुझेको सौर्न्दयको मानक के हो हामीले देखिसकेका छौं । रानीपोखरीमा डोजर चलाउँदा, कमलपोखरीको कंक्रिट थुपार्दा, माइतीघर मण्डलमा झिलिमिली बत्ती हाल्दा र अनि मण्डलको एकछेउमा कलाको हुर्मत काढ्ने शैलीको नेपालको नक्साको फलामे प्रस्तर आकृति ठड्याउँदा हामीले महानगरको सौन्दर्य देखिआएकै हो ।

सार्वजनिक भित्तामा कुनै पनि नाफामूलक प्रयोजन नभएको कला मेट्न महानगरले देखाएको हतारो अर्थपूर्णमात्रै छैन, त्यसले महानगर हाँक्नेहरुको कलाचेतको गरिबी पनि देखाइरहेको छ । के महानगरले कुनै दल विशेषले सर्मथन वा विरोधमा, जयजयकारमा वा आलोचनामा सार्वजनिक भित्तामा केही नारा लेखेको भए यसैगरी मेट्नसक्ने थियो ? बेलाबखत सहरका कुनाकुनामा कुनै धर्मभिरुले उस्तै खाले नारा पोतेको, कुनै सनकी नेताका कार्यकर्ताले शक्तिको तुजुक देखाउन राजनीतिक नारा लेखेको हामीले देखिआएकै हो । बिजुलीका कुनचाहिँ पोल सद्दे छन् जहाँ कुनै पम्प्लेट नटासिएको होस् ! कुनचाहिँ चोकका कुन भित्ता खाली छन्, जहाँ कसैले कुनै विज्ञापनको बोर्ड नझुण्ड्याएको होस् । यी सबै कुरुप दृश्यहरुले नबिझाएका महानगरका आँखा केही कलाकारले कैयन घन्टाको मिहनेतपछि तयार भएको एउटा कलामा पर्‍यो ।

जुन महानगरमा पिसाबले च्याप्दा पस्ने कुनो छैन, जुन महानगरमा सुस्ताउने गतिलो पाटी छैन, जुन महानगरमा कुम नोठिक्कन पैदल हिँड्ने मार्ग छैन, त्यो महानगरको सौन्दर्य एउटा मुरल कलाले बिग्रन्छ ? सौन्दर्य बिग्रने अरु धेरै कुराहरू छन् महानगरमा । जसलाई गफैमात्र लडाएर पदमा टिकिराखेका मेयरले देख्दैनन्, सुन्दैनन् ।

सहरको सौर्न्दय त्यतिबेलै बिग्रेको हो, जतिबेला २ बर्षमै मेट्रो रेल कुदाउँछु भनेर उनले चुनाव जितेका थिए । सहरको सौन्दर्य त्यतिबेलै बिग्रेको हो, जतिबेला उनले चुनावी वाचाहरु चटक्कै बिर्सिएका थिए र कसैले सम्झाइदिँदासम्म मात्रै पनि उनको अनुहारमा लाजभन्दा क्रोधको रंग मिसिनथालेको थियो ।

सहरको बचेखुचेको सौन्दर्य कोरोनाको पहिलो लहरमा झनै पखालिएको थियो । जतिबेला सडकमा भोकाहरू एक छाक भातको खोजीमा निस्केका थिए । जतिबेला महानगरपालिकाले एक गास भातको आशमा खुलामञ्चमा भेला भएहरुबाट सहरको सौर्न्दय बिग्रने घोषणा गरेको थियो । अनि खुलामञ्चको भूईंमा लस्करै बसेर कागजको प्लेटबाट भात खाइरहेकाहरूलाई तितरवितर पारेको थियो । आफ्नो शक्ति देखाएझैं गरेर महानगरले कैयौं दिनदेखि दाताहरूको सहयोगमा खाना खुवाईरहेकाहरुलाई सहरको सौर्न्दय बिग्रनेगरी खाना नबाड्न आदेश दिएको थियो ।

सहरको सौन्दर्य यहाँका मजदुरहरू भोकै पर्दा खुइलिइसकेको थियो । सहरको आभा यो सहर बनाउने कामदारहरू भोकले च्यापिएर उपत्यका छाडी सयौं किलोमिटर लामो पैदल मार्चमा निस्कँदा मुर्झाइसकेको थियो । सहरको बचेखुचेको सौर्न्दय यहाँका गल्ल्लीको फोहोर बटुल्ने, यहाँका महलको मार्बल घोट्ने, यहाँका शौचालय सफा गर्ने, दिनगन्तीको हिसाब गर्दै मजदुरी गर्नेहरू भोकै पर्दा खुइलिइसकेको थियो ।

यो महानगरले अस्पतालमा बेड र अक्सिजन खोज्दै कुदिरहेका एम्बुलेन्सको लस्कर र छिटो दागवत्ती दिने पालो आउला भनेझैं गरेर आर्यघाटतिर कुँदिरहेका शव वाहनहरूको लस्कर देखेको धेरै दिन भएको छैन । घरभित्रै थुनिएर बसेका महानगरवासीले मृतकका आफन्तको चित्कार र सामान्य उपचारको आशमा भौंतारिइरहेका मानिसको क्रन्दन भुलिसकेका छैनन् । महामारीको सन्नाटा पनि बिलाउन नपाउँदै, दुईचार झर्को पानीले महानगरको दुःख पनि पखाल्न नपाउँदै महानगरपालिकाले देखाएको सौन्दर्य प्रेम ‘विद्या चिन्तन’को अपूर्व आविष्कार हो ।

जुन महानगरमा रात परेपछि भुस्याहा कुकुरहरूको जुलुस निस्कन्छ, जुन महानगरको सडकपेटीमा भोकले दोब्रिएर र चिसोले कठ्याग्रिएर मानिसहरू सुतिरहेको देख्न सकिन्छ, जुन महानगरका फोहोर चोकहरूमा अझै पनि फेन्सिडिल खाइरहेका र डेन्ड्राइट सुँघिरहेका बालबच्चा देख्न पाईन्छ, जुन नगरमा अझै पनि काम नपाएर एक छाक भात खोज्दै सडक नाप्नेहरूका पाईतालाको भोक-संगीत सुनिन्छ, त्यो महानगरले गरेको सौन्दर्यको चिन्ता नालायकीको एउटा श्रृंखला हो ।

प्रकाशित : असार १७, २०७८ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?